यस्तो हुनेछ १० वर्ष पछिको नेपाल

केपी शर्मा ओली

काठमाडौँ — आज कान्तिपुरले एउटा उत्साहजनक कार्यक्रम गरेको छ । हुन त सञ्चार माध्यम पढ्ने–पढाउने, सुन्ने–सुनाउने, सिकाउने, मनोरञ्जन दिने, सूचना दिने र मिलाउने–जुधाउने कामहरूमा रुचि राख्ने ठाउँ हो । यसले कहिले माया पनि पोख्छ, कहिले रिस पनि फेर्छ ।

तर आजको (म्याराथन) कार्यक्रमचाहिँ अलिकति पृथक् ढंगले गरियो । यसभित्र यी सबै पक्षभन्दा फरक एउटा उत्साह र भविष्यको पक्ष रहेको छ । यसले मान्छेलाई शारीरिक, मानसिक स्फूर्ति दिन्छ । मैले आजको कार्यक्रममा नेपालीहरूको सपना र आफ्ना उद्देश्यहरू एकदम संक्षिप्तमा राखें पनि । कोही विदेशी अबको १० वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले सायद यस्तो भन्ने छ :

‘नेपाल मानिस र प्रकृतिले संयुक्त रूपमा सिर्जना गरेको एक स्वर्ग रहेछ । नेपालमा जनतालाई खान–लगाउन कुनै दु:ख छैन । नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ । नेपालीहरू स्वस्थ छन् । आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ । उपचारको राम्रो बिमा भएकाले रोग लाग्दा कसैलाई दु:ख छैन । प्रकृतिको नियम हो– जन्मेपछि मर्नु । तर अभावबाट होइन, नेपालमा प्रकृतिको अकाट्य नियमबाट मात्रै मानिस मर्छन् । नेपालमा छोराछोरी पढाउन नसक्ने कोही छैन । पढाउने क्रममा उनीहरू छोराछोरीको प्रतिभा कुन विषयमा छ भन्ने थाहा पाएर रुचिको विषय मात्रै पढाउँछन्, जसले गर्दा बालबालिकाको प्रतिभा प्रस्फुटित हुन पाउँछ ।

Yamaha

नेपालीहरूको वैज्ञानिक ज्ञानले प्रकृतिको अथाह सम्भावनालाई उचित र उच्चतम ढंगले पहिल्याउन सक्ने सामथ्र्य पाएको छ । प्रकृति र धर्तीभित्र रहेको असाधारण सम्भावनाको उच्चतम प्रयोग गरिरहेको छ नेपालले । समृद्ध देशका बासिन्दा नेपालीहरू सभ्य, मिलनसार र मैत्रीभाव राख्ने खालका छन् ।

नेपालमा बन्दुक पड्काइन्छ कहिलेकाहीँ, तर लडाइँका लागि होइन, शान्तिका लागि । राम्रा कुराको सुरुवात र समापनका हर्षबढाइँहरूमा नेपालमा गोली पड्कन्छ, युद्धका लागि होइन । बाँकी दुनियाँले आफ्ना निर्णय लाद्न बन्दुक पड्काउँछन् । नेपालले चाहिँ खुसियालीमा मात्र पड्काउँछ ।

नेपालका आवासहरू ज्यादै सुन्दर र सफा छन् । नेपालका गल्ली राम्रा र ठिक्कका छन् । पहाडको देश भए पनि बाटाहरू चौडा र सुरुङमा चल्ने रेल छन् । वाग्मती नदी त पिउँ–पिउँ लाग्ने सफा छ । पशुपति परिसरमा धार्मिक हिसाबले मात्रै होइन, फोहोर होला कि भनेर जुत्ता फुकाल्न मन लाग्दोरहेछ । पर्यटकहरूका लागि राम्रा, सुन्दर ठाउँ र आतिथ्यले भरिएका होटलहरू छन् । होम–स्टे झन् सुन्दर छ, जहाँ प्राकृतिक आतिथ्यता झनै लोभलाग्दो छ । म त तीन दिनमा फर्किऊँला भनेर गएको, भिसा थपेर एक महिनै बसेँ । अर्काे साल म तिमीलाई पनि नेपाल लैजान्छु । नेपाल वास्तवमा नघुमी नहुने ठाउँ रहेछ ।

नेपालमा नदीहरू नियन्त्रित छन् । सिँचाइको राम्रो व्यवस्था छ । किसानहरू खुसी छन् । फलफूल र अन्न कसरी फल्छ भन्ने हेर्न नेपाल जानुपर्छ । हिमाली जडीबुटी र हिमाली च्याङ्ग्रा हेर्नपरे नेपालै जानुपर्छ । मैले जडीबुटी मिसिएको हिमाली हावाको शुद्ध पोषणयुक्त अलिकति चीज ल्याइदिएको छु । तिमीलाई उपहार! यसको स्वाद लिऊ । यो स्वाद चाखेर तिमीले नेपाल बुझ्न सक्छौं । हिमाल बुझ्न सक्छौं ।’ यस्तो हुनेछ अबको १० वर्षपछिको नेपाल! कान्तिपुरले यस्तै नेपालको परिकल्पना गरोस् भन्ने म चाहन्छु ।

म पहिलोचोटि २०२७ सालमा काठमाडौं आउँदा त यो कान्तिपुरी अलकापुरी नगरीको हाल बेहाल थियो । उहिले भानुभक्त बुढाले त झन् कस्तो देखे होलान् ? अलिकति असन, अलिकति इन्द्रचोक, अलिकति भेडासिंह, अलिकति रक्तकाली र यतैउतै हनुमानढोका अनि वसन्तपुर । यसो घण्टाघर र रानीपोखरी हेरेर मोहित भएर बुढाले अलकापुरी कान्तिपुरी नगरी लेखे होलान्! अबको १० वर्षपछि पनि अलकापुरी कान्तिपुरी नगरीका बारेमा लेखिनेछ । र, यो संसारका विभिन्न भाषाहरूमा लेखिनेछ । मान्छेहरूले यो कान्तिपुर भन्ने पत्रिका एउटा ऐतिहासिक थापाथली भन्ने ठाउँमा छ भन्नेछन् ।

यो अबको १० वर्षभित्रै हुने कुरा हो । १० वर्षको अवधिमा पनि नभए कहिले हुने ? सहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन । सहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो । सबै कुरा एकै पटक गर्ने हो । लेट्स स्टार्ट! गर्‍यो भने किन हुँदैन ? अहिले हामीले अभियान सुरु गरेका छौं । यसको परिणाम चाँडै देखिन थाल्छ । तपाईंहरूको पत्रिका छाप्ने कागज बनाउने ‘पेपर मिल’ अहिले हामीसँग छैन । तर त्यो नभएको होइन । हामीले सुरु गरिसकेका थियौं । तर हामी उल्टो बाटो फर्कियौं । हामीसँग त्यो भएको भए कोलकातामा कान्तिपुरको कागज रोकिएर ठूलो समस्या हुने थिएन होला ।

एकताका कागज रोकियो । पत्रिका रोकिने अवस्था आयो । समस्या पैदा भयो । म पाखुरा सुर्किंदै आफैं (भारतीय) दूतावास जानुपरेको थियो । ‘के हो यो तमासा ?,’ मैले भन्नुपरेको थियो, ‘हाम्रो भूपरिवेष्टित राष्ट्रको अधिकारमाथि खेलबाड गर्न पाइन्छ ?’ कान्तिपुरसँग मेरो लिनु–दिनु केही पनि होइन । अहिले एक कप चिया खाँदैछु, त्यो पनि दूध–चिनी हालेको होइन ।

हामीलाई चाहिने पेपर उत्पादन गर्न हामी किन नसक्ने ? हाम्रो छाला–जुत्ता कारखाना थियो, कपडा उद्योग थियो । सब समाप्त भयो । हामी चल्ला काढ्ने र अन्डा खानेतिर लागेनौं । दिनैपिच्छे कति एक–एकवटा अन्डा खाने भनेर पक्लक्क पोथी नै काटेर खाइदियौं । यो तरिकाले न हो बर्बाद भएको! अब कपडा उद्योग सुरु गर्ने, कपास खेती सुरु गर्ने । जुत्ता उत्पादन अहिले नै निजी क्षेत्रबाट राम्रैसँग भइरहेको छ । सबै कुरा सरकारले नै उत्पादन गर्नुपर्छ भनेर म भन्दिनँ । जसले गरे पनि हुन्छ, तर देश आत्मनिर्भर हुनुपर्छ । यसका लागि सबैजना लाग्नुपर्छ ।

खानुपर्ने र लाउनुपर्नेजति विदेशबाट ल्याउने अनि व्यापार घाटा भयो भनेर हुन्छ ? माटो यत्रोविघ्न यहाँ छ, हामी अन्तबाट इँटा ल्याउनसमेत बेर लगाउँदैनौं । हामी त सुरा छौं नि, गोर्खा हौं ! बुद्धि पो छैन अलिकति! नेपालबाट सामान लगेर अरूले काम गर्छन्, हामी गर्दैनौं । १० वर्षमा तपाईंले चिज उद्योग खोलेर चिज उत्पादन गर्न किन सक्नु हुन्न ? गाई पालेर डेरी प्रडक्ट किन निकाल्न सक्नु हुन्न ?

सकिन्छ नि! अघि मैले खेलाडीहरूलाई चाहिन्छ कि भनेर ल्याएको चकलेट यूएईमा बनेको रहेछ । बालुवाको भूमिबाट हामीकहाँ चकलेट आउँछ । हामीचाहिँ के गर्दैछौं ? तपाईं पत्रकारहरूलाई मज्जा आउँछ– केपी ओलीको छाला निक्लने गरी हान्न । तपाईंहरूलाई ‘न्युज भ्यालु’ को महत्त्व हुन्छ । मलाई ‘डेभलपमेन्ट भ्यालु’ महत्त्वपूर्ण छ ।

मरुभूमिको यूएईले चकलेट बनाउँछ । मरुभूमिकै इजरायलको दुई प्रतिशत जनसंख्या कृषिमा आधारित छ । त्यहाँ मृतसागर र साढे चार सय मिटर जमिन समुद्र सतहभन्दा गहिरो छ । त्यो एउटा इतिहासबाट नभई सम्झौताबाट निर्मित देश हो । दक्षिण एसियाबाट सबभन्दा पहिले नेपालले मान्यता दिएको देश हो । पहिले–पहिले बाँच्नका लागि लडाइँ गथ्र्याे, अहिले जित्नका लागि गर्छ सायद । तर दुई प्रतिशत कृषिमा आधारित जनसंख्याले इजरायलको शतप्रतिशत मानिसलाई खान पुर्‍याउँछ, आकर्षक पैसा कमाउँछ ।

अस्ति मैले इजरायलका राजदूतलाई भेटेको थिएँ । अनि के निर्यात गरेर पैसा कमाउँदैछौ भनेर सोधेको, उनले यसपटक ‘भ्यालेन्टाइन डे’ मा गुलाब निर्यात गरेर खुब कमाइयो भने । साँझ फूल टिपेर रातारात युरोपका सबै देशहरूमा बिहानै गुलाब पुर्‍याएछन् इजरायलीहरूले । त्यसै गर्नका लागि भनेर उनीहरूले लामो तयारीका साथ फूलबारी लगाएका रहेछन् । एकै दिनमा ठूलो रकम उनीहरूले कमाए । मान्छेको भावनालाई पनि उनीहरूले यसरी नगदमा परिणत गरिदिए ।

आवश्यकता भनेको खान–लाउन मात्रै होइन । मान्छेका अनेक भावनात्मक आवश्यकता हुन्छन् । त्यसलाई पनि इजरायलीहरूले ‘क्यास’ गरिरहेका छन् । हामी पनि यो काम गर्न सक्छौं । तपाईंहरू पहिले आफूलाई विश्वास गर्नु हुन्छ कि गर्नु हुन्न ? इमानदार रहने प्रयास गर्नु हुन्छ कि गर्नु हुन्न ? एक दिन गायक शिशिर योगी र म एउटै कार्यक्रममा पर्‍यौं । योगीले गीत गाउनुभयो– म एउटा देश बनाउने मान्छे खोजिरहेछु ।

मैले सुनें, गीत साह्रै राम्रो थियो । यसो हेरें । शिशिर योगीलाई पल्टाइपल्टाई हेरें । उनले खोजेको मान्छे नै त्यहाँ कराइरहेको छ, गाइरहेको छ । तर उनी आफैं त्यो खोजिरहेका छन् फेरि! अनि मैले भनें, योगीजी! तपाईंले खोजिरहनुभएको मान्छे आज म देखाइदिन्छु । तपाईंको दाहिने, देब्रे, पछाडि, अगाडि सबैतिर तपाईंले खोजेजस्ता मान्छे छन् । ती सबैको बीचमा तपाईं बसेकै सिटमा तपाईंले खोजिरहेको मान्छे बसिरहेको छ । अर्थात् त्यो मान्छे तपाईं नै हो । तपाईं–हामी सबै हौं ।

अन्त किन खोज्दै हिँड्नु हुन्छ योगीजी ? आफैं ‘त्यो मानिस’ किन नहुने ? मैले भ्रष्टाचार नगर्ने मान्छे खोजिरहेछु, तर म आफैंचाहिँ गर्छु भने खोज्नुको के अर्थ हुन्छ ? आफैंबाट सुरु गर्नुपर्छ– म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । हरेक काम गर्नुभन्दा अगाडि सोध्नुस् आफैंलाई, के मैले गरिरहेको काम ठीक छ ? भित्रबाट इमानदार उत्तर ‘ठीक छ’ भन्ने आउँछ भने गर्नुस्, छैन भने रोक्नुस् ।

(कान्तिपुर रनर हाफ म्याराथनको आठौं संस्करणको शनिबार समुद्घाटन गरेपछि प्रधानमन्त्री केपी ओलीद्वारा कान्तिपुरकर्मीसँगको अन्तक्र्रियामा व्यक्त विचारको सम्पादित अंश)

प्रस्तुति : घनश्याम खड्का

Esewa Pasal

प्रकाशित : जेष्ठ ६, २०७५ १३:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इयूको प्रतिवेदन : धर्म परिवर्तन गर्न नदिएपछिको प्रतिशोध

केपी शर्मा ओली

काठमाडौँ — केहीकेहीले पछौटेपन, गरिवीलाई हेरेर जे पनि गरे हुन्छ भन्ने पनि ठान्छन् । युरोपियन युनियनले ‘इलेक्सन अब्जर्बेसन’को प्रतिवेदन पठाएको छ । त्यसले नेपालको सार्वभौमसत्तामाथि अन्डरमाइन्ड गरेको, नेपालका ‘एचिभमेन्टलाई अन्डरमाइन्ड’ गरेको, हेपेको हो नेपाललाई । 

नेपालले यत्रो उपलब्धी लिएको छ। होला सानातिना कमजोरी। तर, नेपाली जनताले संघर्ष गरेर ‘एडभर्स सिचुएसन’ पार गर्दै आएका छन्। मतदाता सचेत छैन भनिएको छ। ८० प्रतिशत मतदान भएको छ। मतदाता सचेत भएरै त्यति धेरै मतदान भएको हो। २० प्रतिशत मत किन खसेन भन्ने प्रश्न होला। घरमै भएर नखसाएको होइन। हाम्रो बाध्यताले कोही अरबमा छौं। कोही मलेसियामा छौं। त्यसकारण नखसेको हो। १५ प्रतिशत मतदाता त देशबाहिर छन्। वैशाख ३१ मा आउन् कि, असार १४ मा आउन् कि असोज २ मा आउन् कि मंसिर १० मा आउन् कि मंसिर २१ मा आउन् कि कहिले आउने? तर पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ।

मतपत्र छ खेताला लगाएर बोक्नेजत्रो। एक्लै बोक्न सकिंदैन। यस्ता ठाउँमा बुढाबुढी अल्मलिन्छन्। तर नेपाली जनताको निर्वाचनप्रतिको सहभागिता असाधारण छ। थोरै खस्दा पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ। नभए ८० प्रतिशत मतदान भएको छ। ठूलो संख्यामा मतदाता बाहिर हुँदा पनि यत्रो संख्यामा मतदान भएको छ।

हाम्रो सामाजिक प्रबन्ध, हाम्रो संविधान, हाम्रा उपलब्धीलाई अन्डरमाइन्ड गर्ने, अपमान गर्ने काम नगरियोस्। यूरोपियन युनियनको ‘इलेक्सन अब्जर्बेसन’का नाममा आएको प्रतिवेदन सच्याउला भनेको झन् जिद्धिपूर्ण अभिव्यक्ति देखियो। म प्रधानमन्त्रीकोरुपमा फेरि पनि भन्न चाहन्छु– नेपाल सार्वभौम देश हो, इयुले निर्वाचन प्रतिवेदनमा पनि विचार गरोस्।

अरुजस्तो धर्मग्रन्थमाथि हात राखेर धर्मनिरपेक्षताको कुरा गरेका छैनौं। एक दुई जनालाई अब्जर्बेसनका नाममा आउने र धर्मनिरपेक्षताको प्रचार गरेको थाहा पाएपछि फिर्ता पठाइयो, त्यसको प्रतिशोध प्रतिवेदनमा दिने होइन। यस प्रकारको कुरामा गम्भीरता अपनाउनुपर्छ।

हामी मिलेर काम गर्न चाहन्छौं। प्रजातन्त्र सबैलाई चाहिएको छ। हामीलाई कम चाहिएको भन्ने होइन। हामी पनि प्रजातन्त्रका लागि लडेका छौं। प्रजातान्त्रिक ढंगले चल्न चाहन्छौं। सामाजिक न्याय र समानताको अभियान अहिले होइन, उहिलदेखि हो।

हामीलाई सिकाएको भन्ने पनि कुरा आउला। म भन्न चाहन्छु– हामीभन्दा एक दुई प्रतिशत महिला सहभागिता त बढाएर हेर्नुस् पहिले। हामी दुनियाँसँग मिलेर विकास र समृद्धिको यात्रा गर्न चाहन्छौं।

निर्वाचन आयोगलाई पनि म केही भन्न चाहन्छु। निर्वाचनको मैदानमा, अखडामा भएकोमध्ये म पनि एउटा हुँ। मैले संविधानको पालना गरेको छु। कानुनको पालना गरेको छु। निर्वाचन आचारसंहिताको पालना गरेको छु। निर्वाचन आयोगलाई आलोचना होइन, सुझाव छ। आयोगले नचाहिने ढंगले डिस्टर्ब गरेको छ।

म निर्वाचन अभियानमा हिंडिरहेको हुन्छु। २४ घण्टाभित्र तपाईंलाई कारबाही किन नगर्ने भनेर पत्र काट्छ– शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री किन भनेको, तपाईंलाई किन कारबाही नगर्ने? २४ घण्टाभित्र स्पष्टिकरण बुझाउनु। यो स्पष्टिकरण सोध्ने विषय हो?

म त नेपाली कांग्रेसलाई हराउन निर्वाचन अभियानमा होमिएकै हो। नेपाली कांग्रेसले एमालेलाई चुनावमा हराउन पाउने। एमालेले कांग्रेसलाई हराउन पाउने नै हो। म चुनावमा कांग्रेसलाई हराउँछु भनेरै गएको हो। मलाई संविधानले, कानुनले, निर्वाचन आचारसंहिताले दिएकै कुरा हो।

शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री हो। अब हुँदैनन् भनेँ। अर्को दिन चुनाव अभियानमा जाँदै गर्दा हातमा पत्र– २४ घण्टाभित्र स्पष्टिकरण देऊ, कारबाही किन नगर्ने? यो कारबाहीको कुरा कहाँबाट आयो? अनि मैले निर्वाचन आयोगलाई भनें– कुन पार्टीको अध्यक्षजस्तो ठान्नुभयो? एमालेजस्तो पार्टीको अध्यक्षले संविधान तोड्दैन, कानुन तोड्दैन, आचारसंहिता तोड्दैन। कसलाई काटेको पत्र हो? एमालेका अध्यक्षको हातमा आयो, गलत ठाउँमा आएछ।

म फेरि पनि भन्छु– म लोकतन्त्रका लागि लडेको हो। म कानुनी राजका लागि लडेको हो। त्यसको कारण को हार्छ को जित्छ होइन। लोकतन्त्र जित्नुपर्छ। म आचारसंहिता उल्लंघन गर्दिन। निर्वाचन आयोगका प्रमुखले माइक समातेर अहिले पनि भन्न सक्नुहुन्छ– ‘यू आर फ्रि।’ मलाई बनावटी कुरा गर्नु छैन। भित्र भित्र पैसा बाँडेर, बाहिर कण्ठी बाँध्ने, भित्र मुसा खाने गर्नु छैन। मेरो क्लियर कुरा हो। डेमोक्रेसीका लागि लडेको हुँ। त्यसरी अगाडि बढ्नुपर्छ। यो आलोचना होइन है।

त्यसका पछाडि सानातिना कारण हुन्छन्। ब्यालेन्स मिलाउनका लागि। एउटाले आचारसंहिता उल्लंघन गर्छ, पत्र काट्यो भने मलाई चाँही काट्छ, अर्कालाई केही गर्दैन भन्छ। उसलाई पनि काटौं न त भन्दा यस्तो ठाउँमा पर्छ। यस्तो हुन्छ कहिलेकाँही।

निर्वाचन आयोग वास्तवमै सशक्त हुनुपर्छ। त्यसलाई लगाम लगाउने गर्नुहुँदैन। निर्वाचनको सम्पूर्ण अधिकार हुन्छ। एउटा नेताले फोन गरेर यसो गर भनेको छ, त्यसै गरेको छ। अर्कोले फोन गरेर यसो गर भनेको छ, त्यसै गरेको छ। निर्वाचन आयोगलाई सशक्त बनाउन जरुरी छ। अहिलेको जस्तो पाराले निर्वाचन स्वतन्त्र, निष्पक्ष हुन सक्दैन। एउटा उदाहरण– निर्वाचन आचारसंहिता लागेको छ, तिमीले मन्त्री नियुक्ति गरेको ठीक छैन। गलत। भोलिपल्ट निर्वाचन आयोगले भन्यो– यो गल्ती सच्याऊ। पर्सीपल्ट चार जना थपिदियो। आयोगले भन्यो– हुन्छ। पाइन्छ। पत्रकारले सोधे– कसरी पाइन्छ? आयोगले भन्यो– ‘अस्ती अस्ती पनि भएको छ।’ भएकै पनि हो। कति सत्य बोलेको छ हेर्नुस् त। अस्ती ठीक छैन भनेर बक्तव्य दियो। सच्याऊ भनेर बक्तव्य दियो। अहिले फेरि पाइन्छ भन्छ।

निर्वाचन आयोगले किन यस्तो भन्यो? खुसीले भन्दैन पनि। हिजो अर्को सरकार थियो। आज म प्रधानमन्त्री छु। तर निर्वाचन आयोगले जो भए पनि यसो गर्नु हुँदैन। आयोगले आचारसंहिता यसलाई भए लाग्ने, उसलाई भए नलाग्ने त्यस्तो गर्नु हुँदैन। कारबाही भनेको झ्यालखानामा हाल्ने त होइन नि। सिन्को भाँच्न नसक्ने पनि हुन्छ? निर्वाचन गराएकोमा धन्यवाद छ, तर पटक पटक अशक्ततता देखिनु हुँदैन। सच्याउनुपर्ने कुराहरु धेरै छन्।

प्रतिस्पर्धात्मक लोकतन्त्र हाम्रो ‘सिभिलाइजेसन’ हो। द्रब्य शाहले तोडेको हो नि। दौडमा जितेर पनि राजा हुने चलन थियो। द्रब्य शाहले मान्छे काटेर राजा भए र प्रतिस्पर्धात्मक विधि तोडे। त्यस बेला पनि निर्वाचन आयोग नभए पनि अर्को कुनै आयोग थियो, जसले यसले जित्यो भन्थ्यो। यो हाम्रो डेमोक्रेटिक सिभिलाइजेसन हो।

अर्को कुरा, निर्वाचनको मिति घोषणा भएपछि एउटा उम्मेदवार मेयरको लागि ठीक्क परेको छ। फलानो उठ्ने भएछ, यताबाट क्षेत्र काटेपछि घर उता पर्छ, त्यो उठ्नै पाउँदैन भनेर त्यसो पनि गरिएको छ। एकपटक होइन, पटक पटक भयो। निर्वाचन यतिमा गर्ने भनेपछि फेरि थपेको छ, यस्तो तमासा पनि भयो। त्यो ठाउँमा चुनाव जित्न त्यसलाई मन्त्री बनाउने, अर्को ठाउँमा चुनाव जित्न अर्को मन्त्री बनाउने, हामी हेरेको हेर्‍यै। आज रामबहादुर, भोलि साहिँलो मन्त्री। हामी कराउँदैछौं, मन्त्री थपिएका थपियै। पक्षधरता र संलग्नता राम्रो होइन।
– राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश:

प्रकाशित : चैत्र ११, २०७४ १५:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT