खाडी बस्ने नेपाली ग्रिनकार्डको लोभमा छैनन् 

मेघराज सापकोटा

युएई — जीवनभर पलायनबादी भएर देश छोड्नेहरुलाई अमेरिका वा युरोपको ग्रिनकार्ड अनिबार्य चाहिन्छ । नेपालमा भएको बाबुबाजेको पैत्रिक सम्पत्ति बेचेर हुण्डी मार्फत अमेरिका वा युरोपमा लगेर घर किन्ने सोच भएकाले युएईलगायतका खाडी मुलुकहरुमा ग्रिनकार्ड पाइन्न भनेर खिसिट्यूरी गर्नु पनि सामान्य नै हो ।

बिदेशमा कमाएको रेमिटेन्सले नेपाल बनाउनु पर्छ भन्नेहरुको लागि ग्रिनकार्ड एक फगत कागजको टुक्रा हो । उनीहरुलाई यो कागजि टुक्राको माया नलाग्नु स्वभाविक हो । तर के कुरा सत्य हो भने पाखुरामा बल हुन्जेल बिदेशमा तेश्रो दर्जाको नागरिक भएर बस्दा पनि रत्तिभर ग्लानी नहुनेहरुले ग्रिनकार्ड खोज्छन् र मर्ने बेला मातृभुमि नै रोज्छन् । नेपालका धेरै कलाकार र सरकारी कर्मचारी जवानी हुन्जेल अमेरिकाका केएफसीमा नङग्रा खियाएर र बुढेसकाल लागे पछि नेपाल फर्के । यो क्रम अझै पनि जारी छ ।

Yamaha

केही महिना अघि‘अमेरिका हैन युएई आउनुस्’ ब्लग लेखे पछि पक्ष र बिपक्षमा पाठकका धेरै प्रतिकृयाहरु आएका छन् । शम्भु महर्जनले युएईमा वर्षौवर्ष बसे पनि ग्रिनकार्ड नपाईने भन्नु भएको छ । नितेश चौधरीले युएईमा कम्पनीले टर्मिनेट गरेपछि नि? के गर्ने भन्ने प्रश्न तेर्स्याउनु भएको छ । प्रतिक्रियामा महर्जन र चौधरीले लेखेका कुराहरु सत्य कुरा हुन् । युएईमा बस्ने नेपालीहरुलाई ग्रिनकार्डको जरुरत पर्दैन । उनीहरु कुनै न कुनै दिन देश फर्कन चाहन्छन् ।

एक जना पाठक मित्रले ईनबक्स गर्नुभो र भन्नुभो, ब्लगका सबै कुरा सही छन् तर गाउँतिर फलानोको छोरो पनि खाडीमा छ भनेर हेप्छन्, तपाईंको ब्लगले केही राहत मिलेको छ । गाउँ तिर मात्र हेपेको कहाँ हो र मित्र? शहरमा त झनै हेप्छन् । एअरपोर्ट देखि नै सुकिला मुकिलाहरुले हामी खाडीवालाहरुलाई हेप्छन् ।

‘अमेरिका हैन युएई आउनुस्’ब्लग पढेपछि अमेरिकामा हुने भतिजले दुखेसो पोखे,‘अंकल, यति सारो नै नभन्नु भएको भए हुनेथियो । यसले हाम्रो त ईज्जत नै गयो नि ।’ मैले भने,‘यसमा केही गलत छ भतिज ?’

‘गलत त केही छैन तर तपाईंको लेखले अमेरिकाको साख घटायो ।’
‘नभएको साख बढाएर त हुन्न नि भतिज !,’ भतिजलाई तुरुन्तै अर्को प्रश्न तेर्साएँ, ‘अमेरिकामा माग्नेहरु कत्तिको छन् ?’

बिचराले अनकनाइ अनकनाइ उत्तर दिए, ‘धेरै छन्, सायद गल्ली पिच्छे भेटिन्छन् ।’

२०१६ को तथ्यांक मात्र हेर्ने हो भने पनि साढे पाँच लाख अमेरिकीहरु घरबार बिहीन छन् । उनीहरुमध्ये धेरै अमेरिकाको गल्लीमा सुत्ने गर्दछन् । सो भन्दा बढी नै बाटोमा बसेर मागिरहेका भेटिन्छन् । युएईमा मगन्ते सायदै भेटिन्छन् । युएईमा बाटोमा माग्नेहरु भेटिन्नन् भनियो पनि गलत भईन्न ।

अगस्त महिनामा १५ दिनको लागि नेपाल छुट्टी गएको थिएँ । छुट्टी जानको लागि कम्पनीले एक महिनाको तलबसहित आउने जाने टिकट काटिदियो । एक महिनाको तलबले नेपाल बसाइमा हुने खर्च जुट्यो । कम्पनीले गाडीमा हालेर प्लेनसम्म चढाइदियो । म्यानेजरले हिंड्ने बेला हात मिलाउँदै भने,‘ह्याभ अ सेफ जोर्नी’ अर्थात शुभयात्रा ।

पाँच वर्षदेखि युरोपमा बसिरहेका अर्का मित्रले पनि मलाई युरोप र अमेरिकामा बस्नेहरुको ईज्जत जाने भो भनेर यस्तै गुनासो पोखेका थिए । मैले उनलाई धेरै कुरा सोधिन । यत्ती नै सोधें, ‘तिम्रो म्यानेजरले छुट्टी जाने खेर “ह्याभ अ सेफ जोर्नी“ भन्छ ?’
उनले खिस्स हाँस्दै भने, ‘युरोपमा त कम्पनीसँग घण्टा, काम र पैसाको मात्र सम्बन्ध रहन्छ ।’
मैले सोधें, किन ? युरोपमा घण्टाको आधारमा काम पाईन्छ । कामको आधारमा पैसा पाईन्छ । पैसाको आधारमा सवथोक पाईन्छ । गज्जबै रहेछ !

खाडीमा हामी नेपालमा जस्तै ८ घण्टा काम गर्छौं । थप समय काम गर्नुपरे ओभरटाइमको पैसा थाप्छौं । अफिसमा काम गर्नेहरु बिहान ९ बजे देखि ५ बजेसम्म काम गर्छन् । फ्याक्ट्रीमा काम गर्ने र घर बनाउनेहरु कम्पनीले तोकिदिएको समय अनुसार ८ घण्टा काम गर्छन् । सेक्युरिटीमा काम गर्नेहरु ११ घण्टा काम गर्छन् । दोकान र रेस्टुरन्टमा काम गर्नेहरुले ९ घण्टा गरे पुग्छ । हामीलाई त यहाँ ट्रेन वा ट्याक्सी चढेर घण्टा गन्दै भागमदौड गर्न पर्दैन । कम्पनीले यातायातको सुबिधा दिन्छ । अफिसमा काम गर्नेलाई कम्पनीले गाडी नै दिन्छ । लेबर वा अन्य काम गर्नेलाई यातायातको सुबिधा हुन्छ । कुन राम्रो हो ? युरोपका ती मित्रले अन्त्यमा भने, युरोप छाडेर युएई कसरी आउँ? उनलाई अझै पनि युरोपको मोह हुनु अरु केही हैन, नेपालमा युरोपप्रतिको सकारात्मक धारणा नै हो र युएई आउँछु भन्न नसक्नुमा खाडीलाई नेपालमा हेर्ने दृष्टिकोण नै हो । उनलाई युरोपमा बसेर महिनाको नेपाली ५० हजार रुपैयाँ बचाउन पनि हम्मेहम्मे परेको छ ।

नेपालको एअरपोर्टमा खाडी देशमा जाने नेपालीहरुको लामो लाईन लाग्छ । नेपाल सरकारले खाडी जाने र युरोप तथा अमेरिका जाने भनेर एअरपोर्ट ईमिग्रेसनमा दुई लाइन लगाइदिन्छ । युरोप जाने चिल्ला चिल्ला गाला लिएर सम्मानका साथ अनुमति पाउँछन् । खाडी जानेले कम्तीमा ५ वटा प्रश्नको सामाना गर्नु पर्छ । कहाँ जाने, किन जाने, कसरी जाने, के गर्न जाने, कति भो गा’को आदि ईत्यादि । युरोप र अमेरिकामा हुने ‘स्ट्रीट बेगर’लाई छोरी दिनेहरु तीनै प्रश्न सोध्नेहरु नै हुन् ।

पासपोर्टमा मेरो ‘प्रोफेसन’ लेखेको छ । भिसामा पनि लेखेको छ । तर एअरपोर्टको ईमिग्रेसन डेस्कमा बस्ने कर्मचारीले सोधि हाले, के काम गर्नु हुन्छ ? कहिले जानु भएको ? हुँदा हुँदा १० वर्ष देखि बच्चासहित युएईमा ‘फ्यामिली भिसा’ मा रहेकी श्रीमतीलाई रोकेर तपाईं ‘महिला’ हुनुहुँदो रहेछ, हाकिमलाई नसोधी छोड्न मिल्दैन भनेर रोक्छन् । कारण के हो भने हामीहरु युएईमा छौं, युएसएमा हैन । यो सब राज्यका निकायले जनतालाई गर्ने भेदभावपूर्ण ब्यवहारका उदाहरण हुन् । मानव अधिकारको हनन् हो ।

अघिल्लो ब्लगमा चौधरी जीले ‘युएईमा कम्पनीले टर्मिनेट गरेपछि नि ?’ के गर्ने भनेर सोध्नुभएको प्रश्नको उत्तर पनि सजिलो छ । ‘खाडीमा कम्पनीले टर्मिनेट गरेपछि के गर्ने ?’ कम्पनीले टर्मिनेट गरे केही वर्ष बिदेश बस्न मन भए अर्को कम्पनीमा काम खोज्ने, नत्र आफ्नै गाउँ फर्की जाने । अनी चौधरी जी, जिन्दगीले नै टर्मिनेट गरे के गर्ने ? बिदेशमा नै जिन्दगी टर्मिनेट भए के गर्ने ? केही साथीहरुले मलाई पुर्वाग्रही भएर बढाइचढाई गरेर लेख्छ पनि भने । यसपाली म अन्य धेरै कुरामा तुलना गर्न चाहन्न । केवल एउटै शब्दको बारेमा चर्चा गर्छु । जिन्दगीको टर्मिनेट याने की ’मृत्यु ।’

सन २०१५ जुन महिनामा अमेरिकामा एउटा दुखद घटना घट्यो । अमेरिकाको डल्लासमा शमिरा शिवाकोटीलाई लुटेराहरुले मारे । लुटेराहरुले शमिराको पसलबाट पैसा लुटे र शर्मिलालाई गोली हानी हत्या गरे । २ जना साना नानीकी आमा ३१ बर्षीया शमिराको हत्या भएको एक वर्ष पछि उनका श्रीमान् नवराज शिवाकोटीले पीडा सहन नसकी आत्महत्या गरे । अमेरिकामा मृत्यु हुनेहरु मध्ये बिरलैको शव नेपाल लगिन्छ । शिवाकोटी जोडीको शव पनि अमेरिकामै सद्गद् गरियो । तर अपबाद बाहेक खाडीमा मृत्यु हुने हरेक नेपालीहरुले मरे पछि पनि मातृभुमी टेक्न पाउनेछन् ।

अमेरिका मात्र यस्तो देश हो जहाँ विश्वको सबै भन्दा बढी अपराध हुन्छ । अमेरिका मात्र यस्तो देश हो जहाँ सबैभन्दा बढी जनता जेलमा छन् । साढे ३२ करोड जनसंख्या भएको अमेरिकामा २३ लाख मानिस जेलमा छन् । ग्रोसरी होस् या पेट्रोल पम्प मिनेट मिनेटमा जीवनको असुरक्षा उत्तिकै छ । धेरै जसो नेपालीहरुले काम गर्ने ठाउँ पनि त यस्तै ग्रोसरी र पेट्रोल पम्प हो । आजकल अमेरिकामा यस्तो दिन नहोस् कि कुनै दिन कसैको हत्या नहोस् ।

अनी युएईमा नि ? झण्डै ९५ लाख जनसाख्या भएको देशमा १० हजारको हाराहारीमा जेलमा होलान् । युएईमा कहिं कतै अपराधजन्य घटना घट्यो भने अचम्म मान्नु पर्छ । कसैले एकान्तमा लुट्ला र गोली ठोकिदेला भन्ने कहिल्यै पीर मान्नु पर्दैन । अहिलेसम्म एकाध घटना बाहेक यस्ता जघन्य अपराधजन्य घटना घटेकै छैनन् भने हुन्छ । गोली हानी कसैको हत्या गरियो भनेर सुन्नु परेको छैन । अनि जिन्दगी नै टेर्मिनेट हुनसक्ने ठाउँको माया गरेर जागिर टर्मिनेट हुने कुरा के गरिरह्नु र ?

देश गृहयुद्धमा धकेलियो भने कस्तो अवस्था हुन्छ भनेर अफ्रिकाका केही मुलुकहरुलाई हेरे हुन्छ । मध्यपुर्वका केही देशहरुलाई देखे पुग्छ । नेपालमा १० वर्षे माओवादी सशस्त्र युद्ध हुँ0दा पनि नेपाल किन असफल मुलुक हुनबाट जोगियो भन्ने कारणहरु खोजे हुन्छ । हाम्रो देशको कुल ग्राहस्थ उत्पादनको ३० प्रतिशत भन्दा बढी रेमिटेन्सले धानेको छ । यो ३० प्रतिशत ग्राहस्थ उत्पादनको दुई तिहाइ भन्दाबढी रेमिटेन्स पठाउने मुलुक यिनै खाडी मुलुक हुन् । यिनै खाडीका नेपाली कामदारले नेपाललाई धरासयी हुनबाट बचाए । मुलुकले खाडीका मजदुरप्रति माया सम्मान गर्ने कि नगर्ने ? प्रश्न यो हो । खाडीका मजदुरहरुले दयाको भिख मागेका छैनन् तर समान र सम्मानजनक ब्यवहार खोजेका छन् । राज्य, राज्यका निकाय र यी निकायहरुमा काम गर्ने राष्ट्रका नोकरहरुले रेमिटेन्सदाताहरुलाई गर्ने ब्यवहारमा परिवर्तन खोजेका छन् ।

विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा, विश्वकै ठुलो मल दुबई मल, वादी वाटर पार्क जस्ता कयौं पार्कहरु, शेख जायद मस्जिद, दुबई फाउन्टेन आदि विश्वकै नामुद स्थानहरुले युएई प्रख्यात छ । अस्ट्रेलियाबाट ट्रान्जिट मिलाएर ३ दिनको लागि दुबई घुम्न आएका मेरा मित्र चिन्तन ढुङेलले दुबई घुम्न अझै पनि धित नमरेको पटक पटक भनिरहन्छन् । हामी अहिले यस्तो ठाउँमा छौं जहाँ विश्वको ध्यान खिचिएको छ । विश्वका अभुतपुर्ब रेकर्डहरु बोकेको स्थानमा हामी कार्यरत छौं ।

तसर्थ युएई र अन्य खाडी मुलुकहरुमा हुने आम प्रबासी श्रमिक नेपालीहरुलाई ग्रिनकार्ड चाहिएको छैन । उनीहरुले देशको समृद्धि खोजेका छन् । नेपाल आउँदा जाँदा राज्यका निकायहरुको सम्मानपूर्ण ब्यवहार खोजेका छन् । देशका नेता देखि कार्यकर्ता, सिपाहीदेखि आईजीपीसम्मलाई तलब भत्ता खुवाउने रेमिटेन्सको बदलामा पाउने ‘रिटर्न अन इन्भेस्टमेन्ट’ मिठो मुस्कान र आत्मियता खोजेका छन् ।
यो लेखको आसय अमेरिका वा युरोप खराव छ, असुरक्षित छ र युएई राम्रो छ भन्ने पटक्कै हैन । तर खाडीलाई हेर्ने अर्धबुज्रुकहरुको आँखा भने पक्कै खोल्नु छ । उनीहरुलाई खाडीमा काम गर्न जाने नेपालीहरुलाई सम्मान गर्न सिकाउनुछ । र, खाडीमा काम गर्ने नेपालीहरुको मनोबल बढाएर आत्मसम्मान बृद्धि गर्नुछ ।

के नेपालका शासकहरुले उनका अन्नदाताहरुलाई सम्मान गर्न सिक्लान् त ? के खाडीका मजदुर नेपालीहरुले आत्मसम्मान पाउलान् त ? हामीले खोजेको यही हो ।

प्रकाशित : जेष्ठ ६, २०७५ १९:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

तत्कालीन एमालेबाट ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो

कान्तिपुर संवाददाता

काठमाडौँ — तत्कालीन एमालेले एकीकरणपछि घोषणा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो लगाएको छ ।

नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले ४५ केन्द्रीय सदस्यको मनोनयन टुंगो लगाएका हुन् । आधिकारिकरुपमा भने पार्टीले मनोनीत सदस्यको नाम सार्वजनिक गरेको छैन । ‘एकता प्रक्रियामा आएका कतिपय नेताहरुलाई समावेश गर्न सकिएको छैन,’ पार्टी उच्च स्रोतले भन्यो, ‘ती नामको बारेमा पनि छलफल भइरहेको छ ।’

टुंगिएका केन्द्रीय सदस्यहरुमा अर्थमन्त्री, सञ्चार राज्यमन्त्रीदेखि मुख्य मन्त्रीसम्म छन् ।

पार्टी स्रोतका अनुसार अर्थमन्त्री, युवराज खतिवडा, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, युवा संघका पूर्वमहासचिवद्वय रविन्द्र अधिकारी र निरज आचार्य, पत्रकार विष्णु रिजाल केन्द्रीय सदस्यमा मनोनीत हुने भएका छन् ।

पूर्वसांसद तिलकुमार मेन्याङ्बो, तत्कालीन एमाले मोरङका पूर्वअध्यक्ष महेश रेग्मी, सांसद राजेन्द्र गौतम, झापाका पूर्वसचिव देवेन्द्र दाहाल, पूर्वसांसद आनन्दप्रसाद पोखरेल, प्रमोदनारायण यादव केन्द्रीय सदस्य मनोनीत हुने भएका छन् ।

राष्ट्रिय जनता पार्टीबाट एमाले आएका समिम अन्सारी, प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नम्बर ३ का अर्थमन्त्री कैलाश ढुंगेल, सांसद महेश बस्नेत, पुराना एमाले नेता गुरु बराल, अनेरास्ववियुका पूर्वमहासचिव एवं प्रदेशसभा सांसद वसन्त मानन्धर, जिफन्ट अध्यक्ष विनोद श्रेष्ठ, किसान महासंघका केशवलाल श्रेष्ठ, युवा संघका पूर्वउपाध्यक्ष दिलुकुमारी पन्त पनि मनोनयन सूचीमा छन् ।

एमाले सांसद एवं पूर्वमन्त्री खगराज अधिकारी, शारदाप्रसाद सुवेदी, श्रीनाथ बराल, कृष्ण राई, लक्ष्मण ज्ञवाली, नरुलाल चौधरी, विमला घिमिरे, गोविन्द विक्रम शाह, भानुभक्त जोशी, दयालबहादुर शाही, चन्द्रबहादुर शाही पनि मनोनीत हुने भएका छन् ।

नयाँ शक्ति पार्टीबाट केही साताअघिमात्रै एमाले प्रवेश गरेकी पूर्वसांसद लिला भण्डारी, जनमोर्चाबाट आएका साध्यबहादुर भण्डारी, रामेश्वर राना, एकबहादुर राना, अच्युत मैनाली, बलराम बास्कोटा, विनोद ढकाल, गौरी ओली, अइन्द्रसुन्दर नेम्वाङ, नरेश खरेल, देवी ज्ञवाली, रामेश्वर फुयाल, भीम कार्की र पुण्य गौतम पनि मनोनीत केन्द्रीय सदस्यको सूचीमा छन् ।

प्रकाशित : जेष्ठ ६, २०७५ १९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT