मुलुकको समृद्धिमा पलायन भएका बौद्धिकले खेल्न सक्ने भूमिका 

बीर बहादुर बोहरा

काठमाडौँ — एक सर्वेक्षण अनुसार हरेक ८ जना प्रभावशाली वैज्ञानिकहरु मध्ये १ जना विकासशिल राष्ट्रमा जन्मिन्छन्, जस मध्ये ८० प्रतिशत वैज्ञानिकहरु विकसित देशमा पलायन हुन्छन् ।

दोस्रो विश्वयुद्धको समापनसँगै केहि बेलायती वैज्ञानिकहरु अमेरिका पलायन भए । यस घट्नालाई ब्रिटिस रोयल सोसाइटीले पहिलो पल्ट बौद्धिक पलायन (ब्रेन ड्रेन ) को संज्ञा दियो । साधारणतया विकासशिल देशबाट विकसित देशमा उच्च बौद्धिक जनशक्ति (बिशेषतः वैज्ञानिक, डक्टर, इन्जिनियर) को अस्थायी वा स्थायी बसाई सराईलाई बौद्धिक पलायन भनिन्छ । सन् १९६० पश्चात बौद्धिक पलायन विश्वव्यापी लहरको रुपमा देखिएता पनि हाम्रो जस्तो सानो र विकासशिल मूलुकबाट हुने पलायनले देशको आर्थिक विकासमा उल्लेख्य बाधा पुर्‍याउछ । देशको भौतिक तथा आर्थिक विकासको पर्याय नै विज्ञान तथा प्रविधिको विकास भएकाले वैज्ञानिकहरु उत्पादन र संरक्षणले दिर्घकालीन आर्थिक विकास सम्भव हुन्छ ।

Yamaha

सबै जसो विकासशिल वा गरीब मूलुकहरुले बौद्धिक पलायनको समस्या भोग्ने गरेका छन् । अफ्रिकाका करीब ५० प्रतिशत उच्च जनशक्ति विकसित देशमा पलायन हुने गर्छन् भने गुयना, जमैका र हैटी जस्ता राजनीति तरल रहेका मूलुकहरुले ८० प्रतिशत दक्ष जनशक्ति पलायनको मार खेप्नु परेको छ । प्रायः मध्यम आकारका बिकासशिल मूलुकहरुबाट सबैभन्दा बढी बौद्धिक पलायन हुने कुरा अनुसन्धानले जनाएको छ । सन् २००० मा गरिएको सर्वेक्षण अनुसार संख्याका हिसाबले सबैभन्दा बढी उच्च दक्ष जनशक्ति निर्यात गर्ने विकासशिल देशहरुमा क्रमशः फिलिपिन्स (१.१११ मिलियन), इन्डिया (१.०३८ मिलियन), मेक्सिको (०.९४९ मिलियन), र चीन (०.७८४ मिलियन) हुन् ।

नेपालमा बौद्धिक पलायनबारे विस्तृत अध्ययनको अभाव देखिन्छ । यद्यपी ठूलो संख्यामा बौद्धिक जनशक्ति पलायन हुने कुरा भने निर्विवाद सत्य हो । सन् २००४ मा आइओएम महाराजगन्जबाट उत्पादित डक्टरहरु मध्ये ५० प्रतिशत भन्दा बढी बिदेश पलायन भएका थिए भने समग्रमा ९ प्रतिशत नेपाली डक्टरहरु विदेशिने गरेका छन । त्रिभुवन विश्वविद्यालयको भौतिकशास्त्र विभागबाट सन् २००७ मा ग्रयाजुएट भौतिकशास्त्रीहरु मध्ये करीब ७० प्रतिशत युरोप तथा अमेरीका भासिएका छन् । लगभग यसै हाराहारीमा रसायनशास्त्र, जीवशास्त्र र ईन्जिनियरिङको जनशक्ति पनि बाहिरिएको छ । एकिन तथ्याङ्क नभएता पनि अझ पछिल्ला बर्षहरुमा यो संख्या झन् झन् बढ्दै गएको छ ।

अर्थशास्त्रीहरुले सामान्यतः बौद्धिक पलायनले सम्बन्धित देशको आर्थिक विकासमा नकारात्मक असर पर्ने बताए पनि पछिल्लो समयमा यसका सकारात्मक पक्षबारे पनि बहस हुन थालेको छ । पछिल्ला अध्ययनहरुले उच्च शिक्षा र ज्ञान हाँसिल गरी स्वदेश फिर्ति हुने, विदेशमा रहँदा वैज्ञानिक नेटवर्किङमार्फत नीति निर्माणमा टेवा पुर्‍याउने तथा बिप्रेषण र उत्प्रेरणाले उच्च अध्ययन गर्ने जनशक्ति बढ्ने जस्ता कारणहरुले बौद्धिक पलायनले सम्बधित राष्ट्रको आर्थिक तथा शैक्षिक उन्नयनमा सकारात्मक असर पर्ने औल्याएको छ । त्यसैले अचेल बौद्धिक पलायनलाई मानवीय पूँजी निर्माणको महत्वपूर्ण भागका रुपमा हेर्न थालिएको छ । आजको प्रजातान्त्रिक खुला समाजमा बौद्धिक पलायन पुर्णतया रोक्न त सकिन्न तर उचित नीति अवलम्वन गरी केही हदसम्म कम गर्न र विदेशमै रहेका वैज्ञानिकहरुबाट तिनको सीप दोहन गरी देश निर्माणमा लगाउन भने अवश्य सकिन्छ ।

किन हुन्छ बौद्धिक पलायन

बौद्धिक पलायनका विविध कारण हुन सक्छन् । आफ्नो देशमा कम वेतन, पेशागत विकासको कमि, बेरोजगारी, राजनीतिक अस्थिरता, काम गर्ने वातावरणको अभाव र बसाई सर्ने देशमा रोजगारीको अवसर, उच्च वेतनलगायतका कारणले बौद्धिक पलायन हुने गर्छ । नेपालमा सरकारी, गैरसरकारी र निजी स्तरमा देशमा उत्पादित जनशक्तिका लागि प्रशस्त रोजगारीको वातावरण छैन । विश्वविद्यालयहरुमा वैज्ञानिक प्रयोगशाला र उच्च प्रविधिको अभाव छ । त्यसैले रोजगारीको खोजि र उच्च अध्ययनका खातिर दक्ष जनशक्ति बाहिरिने गरेको छ । बौद्धिक पलायनको अर्को महत्वपूर्ण कारण वेतन हो । नेपालमा एकजना डक्टर, इन्जिनियर वा वैज्ञानिकले सालाखाला प्रति महिना १ लाख रुपयाँ (१००० डलर) कमाउँछ । त्यही काम गर्दा अमेरिकामा न्यूनतम प्रतिमहिना १० लाख नेपाली रुपयाँ (१० हजार डलर) कमाउन सकिन्छ । राजनीतिक अस्थिरता बौद्धिक पलायनको तेस्रो महत्वपूर्ण कारण हो । हामी कहाँ विद्यमान राजनीतिक अस्थिरताले मानिस आफ्नो भविष्य सुरक्षित महसुस गर्दैनन् । साथै सुशाशनको अभावमा मौलाएको भ्रष्टाचार र कमजोर सरकारले कानून नियमन गर्न नसक्दा उत्पन्न बेथितिले बौद्धिक जनशक्ति पलायन हुन बाध्य हुन्छ । यसका अलावा विकसित देशमा उच्च प्रविधियुक्त वातावरण हुने हुँदाँ पेशागत ज्ञान अभिवृद्धि हुने र सुसाशन र राजनीतिक स्थायित्वले बौद्धिक जनशक्तिलाई आकर्षित गर्छ ।

बौद्धिक पलायनलाई देश हितमा कसरी प्रयोग गर्ने

प्रजातान्त्रिक समाजमा कुनै पनि व्यक्ति आफूले चाहे अनुरुप स्वतन्त्रता पूर्वक जहाँ पनि जान सक्छ । त्यसैले बौद्धिक पलायन पूर्णतया रोक्न सकिन्न । तर सरकारले उचित नीति लिन सकेमा बौद्धिक पलायनलाई बौद्धिक उपलव्धिमा बदल्न भने अवश्य सक्छ । यसका लागि सम्भव भएसम्म पलायन बौद्धिक प्रतिभालाई स्वदेश फर्काउने वातावरण मिलाउने, बौद्धिक सञ्जाल निर्माण गरी देश विकासमा प्रयोग गर्ने र बौद्धिक पलायनबाट प्राप्त विप्रेषण सही ठाउँमा लगानी गर्ने वातावरण तयार पार्ने जस्ता कार्य गर्न सके बौद्धिक पलायन अभिषाप होइन राष्ट्रको समृद्धिको महत्वपूर्ण हिस्सा बन्नेछ ।

देशमा राजनीतिक स्थिरता भएर सुशासन कायम हुन सके बिदेशिएको मानव पूँजी स्वदेश फर्किन सक्छ । पंक्तिकारले अमेरिका र यूरोपमा अध्ययनरत तथा कार्यरत नेपाली वैज्ञानिकहरुसंग गरेको अनौपचारिक कुराकानीका क्रममा अधिकांशले उपर्युक्त वातावरण निर्माण हुन सके स्वदेश फर्किने इच्छा व्यक्त गरेका थिए । ति देशहरुमा विज्ञान र प्रविधिमा भएका पूर्वाधार विकास र रोजगारीका सम्भावित अवसरका कारण सन् १९९० देखि १९९९ को अवधिमा अमेरिका र यूरोपमा पिएचडी सकेका १३ प्रतिशत चाइनिज् र १८ प्रतिशत भारतीय वैज्ञानिकहरु आआफ्ना देश फर्किएका थिए । रोमानीयामा सन् २००८ मा गरिएको सर्वेक्षण अनुसार करिव ७१ प्रतिशत विदेशिएका डक्टरहरुले स्वदेश फर्किन चाहेको बताएका थिए । स्मरण रहोस् रोमानीया पूर्व कम्युष्ट मूलूक हो । उपर्युक्त शोधको अभावमा ठ्याक्कै भन्न नसकिएता पनि सरकारले सहि नीति लिन सक्ने हो भने उल्लेख्य मात्रामा नेपाली वैज्ञानिकहरु फर्किने सम्भावना छ । त्यसका निमित्त सरकारले उपर्युक्त वातावरण भने बनाउनु पर्ने हुन्छ ।

सबभन्दा पहिलो कुरा त दवाव र तनाव रहित सम्मानजनक काम गर्ने वातावरण नै हो । सुशासनले यसको ग्यारेण्टी गर्छ । काम अनुसार पदोन्नति, भ्रष्टाचार र नातावादको अन्त्य, श्रेष्ठताका आधारमा मुल्याङ्कनको वातावरण सरकारले निर्माण गर्नुपर्छ । दोस्रो तथा महत्वपूर्ण कुरा आर्थिक सुरक्षा हो । विकसित देशकै अनुपातमा नभएपनि सम्मानजनक जीवन जीउन पुग्ने वेतन हुने हो भने वैज्ञानिक जनशक्ति स्वदेश फर्काउन सकिन्छ । तेस्रो कुरा वैज्ञानिक सामग्रीको उपलव्धता हो । उच्च प्रविधियुक्त प्रयोगशाला निर्माणले एकातिर देश विकासमा टेवा पुग्छ भने हाम्रा वैज्ञानिकहरुले विदेशमा बसेर पाउने ज्ञान र सीप नेपालमै बसेर सिक्न सक्छन् । सम्बन्धित विषयमा अविछिन्न ज्ञान तथा सीप अभिवृद्धि होस् भन्ने चाहना हरेक वैज्ञानिकको हुन्छ । अन्तर्राष्टिय स्तरमा भैरहेको ज्ञान विज्ञानको विकासमा पुहुँच पुर्याउन अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने वातावरण मिलाउने वा आफै आयोजना गरेर सरकारले वैज्ञानिकहरुलाई स्वदेश फर्किन उत्प्रेरित गर्न सक्छ ।

बौद्धिक नेटवर्किङ पलायन प्रतिभाको उपयोग गर्ने सजिलो र प्रभावकारी उपाय हो । बौद्धिक नेटवर्किङ मार्फत नै भारतले सूचना प्रविधि (आईटी) को क्षेत्रमा आमूल फड्को मारेको हो । सन् १९९८ तिर अमेरिकाको सान फ्रान्सिस्कोस्थित उच्च प्रविधि केन्द्र ‘सिलिकन भ्याली’ मा ९ प्रतिशत भारतीयहरु कार्यरत थिए । ति मध्ये धेरैजसो (७०%) सफ्टवेयर इन्जिनियर थिए । तिनको व्यापारमा पनि बलियो पकड थियो । तिनीहरु मध्ये करिब ५२ प्रतिशत व्यापारको शिलशिलामा हरेक बर्ष भारत आउँथे, ४६ प्रतिशतको भारतीय व्यापारीहरुसंग निरन्तर सम्पर्क हुन्थ्यो भने २७ प्रतिशतले रोजगारीका अवसर र व्यापारकाबारे भारतमा आफन्तलाई जानकारी दिन्थे । भारतमा सूचना प्रविध केन्द्र निर्माण हुँदा २७ प्रतिशतले त लगानी समेत गरेका थिए । भारतको सूचना प्रविधिको स्थापना र विकासमा प्रवासी भारतीयहरुको प्रमुख योगदान मानिन्छ । बिशेषतः सिलिकन भ्यालीमा कार्यरत भारतीयहरुले निम्न कार्य गरेर सूचना प्रविधि केन्द्र निर्माणमा योगदान दिएका थिएः १) लगानीकर्ताहरु माझ आफ्नो देशको सस्तो श्रम जनशक्तिबारे जानकारी दिएर भारतमा सूचना प्रविधिको उज्वल भविश्यप्रति भरोसा दिलाउने, २) भारतीय इन्जिनियरहरुसँग बौद्धिक नेटवर्किङ गरी ज्ञान र सीप अभिवृद्ध गर्ने, ३) सूचना प्रविधि केन्द्रको प्रभावकारी स्थापन र आधिकारीक नेटवर्किङमार्फत भारत र संसारभरी चिनाउने । ४) सिलिकन भ्यालीमा थप भारतीय इन्जिनियरहरुलाई काम गर्ने अवसर प्रदान गर्ने (जसले थप अनुभव बटुल्न सघायो) । अमेरिका र युरोपका उच्च प्रबिधियुक्त प्रयोगशालाहरुमा हजारौंको संख्यामा नेपाली बैज्ञानिकहरु कार्यरत छन् । सूचना केन्द्र स्थापना र संचालनलगायत बिज्ञान र प्राबिधिको बिकासमा यो मोडालिटी नेपालले पनि अबलम्बन गर्न सक्छ ।

खाडी मूलुक र दक्षिण कोरियालगायतका मूलुकमा अस्थायी पलायन भएका श्रम जनशक्तिको तुलनामा यूरोप या अमेरिका पलायन भएका वैज्ञानिकहरुले कम बिप्रेषण पठाउने गर्छन् । तर कैयौं देशको उदारण हेर्ने हो भने बौद्धिक पलायनले उच्च शिक्षा अध्ययन गर्नेहरुको संख्यामा बृद्धि भई मानव पूँजीमा अभिबृद्धि भएको देखाएको छ ।

हामी कहाँ साँच्चिकै विकास गर्ने अठोट भन्दा पनि नेताहरु बीच चुनावी अंक गणितका लागि राष्ट्रवादी देखिने मौसमी प्रतिस्पर्धा छ । विदेशिएका वैज्ञानिकहरुलाई स्वदेश फर्काउन वा बौद्धिक सन्जाल निर्माण गरी देशको हितमा लगाउनुको सट्टा भूतपूर्व नेपाली करार गर्न पट्टि लाग्ने हो भने हामीले देश विकासमा महत्वपूर्ण योगदान दिन सक्ने वैज्ञानिक प्रतिभा गुमाउनेछौं । भर्खरै एमाले र माके मिलेर ठूलो कम्युनिष्ट पार्टी बनेको छ, जसको नेतृत्वमा देशले लामो समय पछि स्थिर सरकार पाएको छ । यस्तो बेलामा स्वदेश फिर्ती वा बौद्धिक सर्किटमार्फत विदेश पलायन भएका वैज्ञानिकहरुलाई सहभागी गराई तिनको ज्ञान सीपको सदुपयोग गर्न सके हामीले चाहेको आर्थिक समृद्धि छिट्टै हाँसिल गर्न सहयोग पुग्ने छ ।

Esewa Pasal

प्रकाशित : जेष्ठ ७, २०७५ १३:२३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ, दुई हप्तादेखि ग्राण्डीमा भर्ना

थप उपचारका लागि विदेश लैजाने तयारी
कान्तिपुर संवाददाता

काठमाडौँ — ९९ वर्षिय राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएपछि विगत १५ दिनदेखि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना गरिएका छन् ।

तस्बिर सौजन्य : ग्राण्डी अस्पताल ।

उनको छोरा इन्डिबर घिमिरेका अनुसार आउँदो असोज ७ गते सय वर्ष लाग्ने राष्ट्रकवि क्रोनिक ग्यास्ट्राइटीस र उच्च रक्तचापका कारण थला परेका हुन्। केही समय यता उनको दिशामा रगत देखिन थालेपछि उच्च सतर्कता अप्नाउँदै अस्पतालमा नै भर्ना गरेर राखिएको हो।

‘केही महिनादेखि नै उहाँ बिरामी हुनुहुन्छ तर १५ दिन यता भने भर्ना नै गरेर ग्राण्डीमा उपचार गराइरहेका छौं,’ घिमिरेले फोनमा भने, ‘तर दिशाबाट रगत जान रोकिएन। इन्डोस्कोपी र कोलोनोस्कोपी पनि गरियो। त्यसबाट केही देखिएन त्यसैले कारण पत्ता लगाउनका लागि विदेश नै जानुपर्ने चिकित्सकहरुसँग सल्लाह भएको छ। हामी सोही अनुसारको तयारी गर्दै छौं।’

घिमिरेका अनुसार राष्ट्रकविलाई आफू बिरामी छु भनेर देखाउन मन नलागेकै कारण एक महिनादेखि अस्वस्थ भएर अस्पताल भर्ना भएपनि सो सूचना सार्वजनिक नगरिएको हो।

‘बुवालाई बिरामी भएँ भन्ने लाग्यो भने धेरै चिन्ता गर्नुहुन्छ,’ उनले भने, ‘त्यसैले हामीले कसैलाई पनि भनेनौं। फेरी बिरामी भएको थाह भएपछि भेट्ने मान्छे पनि धेरै आउने त्यसले उहाँलाई आराम गर्नै समस्या हुने देखेर पनि सूचना गुपचुप राखेका हौं।’

उनका अनुसार राष्ट्रकविलाई विदेश लाने भनिए पनि उमेरका कारण सामान्य विमानमा लाने अवस्था छैन। 'एयर एम्बुलेन्स नै बाेलाउनुपर्ने देखिन्छ। त्यसैले कहाँ, कसरी लैजाने भन्ने यकिन भइसकेको छैन,' उनले भने।

अस्पतालका संचार तथा जनसम्पर्क व्यवस्थापक विनोद अधिकारीका अनुसार राष्ट्रकविलाई अहिले ‘हाई केयर युनिट’मा राखेर उपचार गरिँदै छ। ‘राष्ट्रकविको ख्याती, उमेर र रोगका कारण उहाँलाई सहज होस् भनेरै हामीले हाई क्येरमा राखेका हौं,’ उनले भने, ‘उहाँकै लागि मात्र हामीले अहिले चौबिसै घन्टा एकजना चिकित्सक र नर्सलाई रेखदेख गर्न खटाएका छौं।’

विदेश नै लानुपर्ने अवस्था बारे भने उपचारका संलग्न चिकित्सकको टोलीसँग छलफल भइरहेकाे जानकारी दिए।उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेको नेतृत्वमा डा. विवेक शर्मा, डा. अखिलेश कश्यप लगायतका डाक्टरहरुको टोली संलग्न रहेको छ ।

प्रकाशित : जेष्ठ ७, २०७५ १२:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT