१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

भाषामाथि प्रहार किन ?

नेपाली भाषामाथि बेला–बेला हुने प्रहार, विवाद, पाठ्यक्रमबाट यसलाई हटाउने वा छोट्याउने हल्ला कुनै निश्चित जाति, समुदाय तथा क्षेत्रका नेपालीका लागि मात्र नभएर समग्र नेपालीकै स्वाभिमानको प्रश्न हो ।

काठमाडौँ — केही दिनअघि विश्वविद्यालयको परिसरमा केही विद्यार्थी हस्याङ–फस्याङ गर्दैको अवस्थामा भेटिए । नेपाली भाषा बचाउ अभियान चलाइरहेका उनीहरू प्रचार–प्रसारका लागि सञ्चार माध्यमको खोजी गर्दै थिए ।

भाषामाथि प्रहार किन ?

उनीहरूलाई सम्भावित सञ्चार माध्यमबारे बताई पठाएपछि शून्य चौरमाझ उभिएर आफैसँग प्रश्न गरेँ, ‘के नेपाली भाषा ती नेपाली विषय पढेका विद्यार्थीको मात्र हो, जसलाई जोगाउन उनीहरू लागिपरेका छन् ? या यो भाषा हामी नेपाली विषयका शिक्षकहरूको मात्र हो, जुन संकटमा पर्नलागेको देखेर हामी आकुल–व्याकुल भैरहेका छौं ? आखिर यो नेपाली भाषा कसको हो ?

अनि कसले र किन यसलाई मास्ने प्रपञ्च रचिरहेको छ ? अन्यथा बेला–बेला यसलाई जोगाउन किन कसरत गरिरहनुपर्छ ? कहिले यसको खुट्टा काट्ने र नकाट्नेका बीच मारामार पर्छ भने कहिले ह्रस्व–दीर्घ तथा जोड्ने र छुट्याउनेका बीच प्रतिस्पर्धा चल्छ । अहिले भने कक्षा एघार–बाह्रमा रहेको एक सय पूर्णाङ्कको अनिवार्य नेपाली विषयलाई पचास पूर्णाङ्कमा झार्ने कुरा सुनिँदै छ । त्यसैका विरुद्ध सञ्चालित छ, नेपाली भाषा बचाउ अभियान । नेपाली भाषामाथि यी र यस्तै अभ्यास गरिरहन चाहनेहरूलाई सायद थाहा नहोला, यसले सिर्जना गरेको अन्योल नेपाली भाषाप्रति वितृष्णा फैलाउने एउटा माध्यम बन्ने गर्छ । त्यसैले हाम्रो आफ्नो भाषालाई कसैको स्वार्थ सिद्धिको साधन बनाउने दुस्साहस यदि कहीं कतैबाट भैरहेको छ भने त्यस विरुद्ध आवाज उठाउनु हामी सबैको कर्तव्य हो । हामीले निर्माणको नभएर विनिर्माणको संस्कृतिलाई आत्मसात् गर्दै आएका हुनाले केवल भत्काउँदै गयांै, गुमाउँदै गयौं, तर केही पनि बनाउन जानेनौं । प्राप्त गर्न सकेनौं । आफ्ना पहिचानहरू एक–एक गरी छाड्दै गएका हामी अहिले भाषिक पहिचान गुमाउने तरखर गर्दै छौं । सायद भोलि आफ्नो साहित्य–कला–संस्कृति पनि हामीलाई अनावश्यक लाग्नेछ ।

कुनै पनि राष्ट्रलाई कमजोर पार्नुछ भने सबैभन्दा पहिला त्यहाँको भाषा, साहित्य, कला, संस्कृति आदिमाथि प्रहार गर्ने गरिन्छ । फुटाऊ र शासन गर भन्ने रणनीति लिएकाहरूले कुनै पनि राष्ट्रका बहुभाषी तथा बहुसांस्कृतिक पक्षहरूबीच फाटो पारेर एकका विरुद्ध अर्कोलाई प्रयोग गर्ने गर्छन् । तिनीहरू आपसमा लडेर एकले अर्काको अस्तित्व स्वीकार गर्न नचाहने अवस्थामा पुगेपछि त्यहाँ आफ्नो संस्कृति स्थापना गर्न उनीहरू सफल हुने गर्छन् । केही समययता हामीकहाँ पनि यस्तै प्रयास भैरहेको प्रतीत हुन्छ ।

नेपाली भाषालाई कुनै जाति–वर्ग विशेषको भाषा हो भन्ने भ्रम फैलाएर यसप्रति आम नेपालीमा वितृष्णा जगाउने षडयन्त्र भैरहेको छ । हामी नेपाली, हाम्रो साझा घर नेपाल हो भने हाम्रो साझा भाषा नेपाली नभएर अरू के हुने ? या हामीलाई साझा तथा जनसम्पर्कको भाषा नै नचाहिने भएको हो त ? हामीकहाँ मातृभाषामा पठनपाठन हुनुपर्ने आवाज पनि नउठेको होइन ।

यसलाई अस्वाभाविक रूपमा लिन पनि सकिँदैन । तर अंग्रेजी स्कुलहरूले बालबालिकालाई नेपाली बोल्न प्रतिबन्ध लगाएर उनीहरूलाई न नेपाली भाषामा पोख्त हुन दिएको अवस्था छ, नत अंग्रेजी भाषामै उनीहरू दक्ष हुनसकेका देखिन्छन् । सामान्य नेपालीको पहुँच नपुग्ने, अत्यन्त महङ्गा केही निजी विद्यालय बाहेक सामान्य निजी विद्यालयमा पढ्ने बालबालिकाको संवाद सुन्दा हास्य कलाकार मनोज गजुरेलको ‘नेपाङ्ग्रेजी’ शब्दको सम्झना हुन्छ । भाषाप्रतिको पूर्वाग्रही दृष्टिकोणका कारण आज हामी एकातिर आफ्नै भाषालाई उपेक्षा गरिरहेका छौं भने अर्कातिर आफ्नै भाषाप्रति अदक्ष जनशक्ति उत्पादन गरिरहेका छौं । अझै विचारणीय प्रश्न त यो छ कि कुन आग्रहले प्रेरित भएर हामी आफ्फ्नो भाषालाई काउछो ठानी बारम्बार यसलाई मिल्काउने प्रयास गरिरहन्छौं ? मलाई सम्झना छ, बीस वर्षअघि नेपाली भाषा–साहित्य अध्ययन गर्न नेपाली केन्द्रीय विभाग कीर्तिपुर आउँदा त्यहाँ प्रवेश पाउनका लागि प्रवेश परीक्षाको भव्य तयारी गरेको, परीक्षा दिइसकेपछि पनि उत्तीर्ण नभइएला भनेर अत्तालिएको, आफ्नो नाम निस्केपछि खुसियाली मनाएर गर्वले छाती फुलाउँदै झोलाझाम्टा बोकेर कीर्तिपुर आएको । आफ्नो भाषा–साहित्यको विशिष्ट अध्ययनको अवसर आफैमा महत्त्वपूर्ण थियो, साथमा नेपाली भाषा–साहित्यका विशिष्ट व्यक्तिहरूलाई गुरुका रूपमा पाउँदाको गर्व नै बेग्लै ।

कक्षाकोठामा टनाटन विद्यार्थी हुनाले अलि ढिला पुगियो भने त पछाडि उभिएरै पढ्नुपर्ने । कति पटक त हामीले पल्लोपट्टिको अंग्रेजी विषयको कक्षाको पछिल्लो ढोकाबाट छिरेर सुटुक्क कुर्सी बोकेर ल्याएर बस्थ्यौं । चार–पाँच वर्ष अघिसम्म त आफूले पढाउने क्रममा पनि विद्यार्थी संख्या अत्यधिक भएका कारण आवाज सबैतिर पुर्‍याउन पिन माइक भिर्नुपथ्र्याे । तर आज जब म यसै विषयमा विशिष्टता हासिल गरेर पढाउन विश्वविद्यालयको कक्षाकोठामा उभिन्छु, औंलामा गन्न सकिने विद्यार्थीको मात्र उपस्थिति पाउँछु ।

आफूले वर्षौं लगाएर आर्जन गरेको बौद्धिकतालाई धिक्कार्दै म प्रश्न गर्छु, आफैसँग– आखिर कहाँ गए ती नेपाली विषय पढ्न चाहने विद्यार्थी ? विश्वविद्यालयले लागू गरेको सत्र प्रणालीमात्र यसरी विद्यार्थी घट्नुको कारण हो वा यसका पछाडि अन्य कारण पनि छन् ? के साँच्चै हामीलाई नेपाली विषयप्रति वितृष्णा जागेको हो त ? वितिष्णा नै हो भने पनि त यसको कारण पक्कै होला । यस्ता कारणको खोजी गर्नु कसको जिम्मेवारी हो ? यस्ता प्रश्न असंख्य छन्, जसले आज प्रतिउत्तर मागिरहेका छन् ।

नेपाली विषय पढेका अधिकांश विद्यार्थीको प्रश्न हुन्छ, ‘नेपाली पढेर के गर्ने ?’ यस्तै प्रश्न गर्दै आफू पत्रकारिता पढेको बताउने एक विद्यार्थीलाई सोधेकी थिएँ, ‘तिमीले गर्ने पत्रकारिताको माध्यम कुन हो ?’ उसले अलि अप्ठ्यारो मानेर भनेको थियो, ‘नेपाली’ । मैले पुन: प्रश्न गरेकी थिएँ, ‘हामीकहाँ प्रकाशित हुने समाचारपत्र, अन्य पत्रपत्रिका तथा पुस्तक प्राय: कुन भाषामा प्रकाशित हुन्छन् ?’ त्यतिबेला उसको लज्जाबोध सहितको उत्तर म अझै सम्झँदैछु । साँच्ची † यति धेरै अवसर भएर पनि विद्यार्थी नेपाली भाषाप्रति आकर्षित हुन नसक्नु आफैमा विडम्बना हो भने आमसञ्चार क्षेत्रमा देखिने भाषिक त्रुटि तथा लापरबाही यसैको परिणति पनि हो । अत: यसतर्फ पनि सम्बन्धित निकायको ध्यान जानु आवश्यक देखिन्छ ।

नेपाली विषयलाई अनावश्यक ठानेर यसबाट छुटकारा खोज्नुको दुष्परिणाम खोज्न टाढा जानु पर्दैन, सरकारी कार्यालयमा सेवाग्राही भएर पुगेका स्नातकोत्तर युवा पनि सामान्य फारम भर्न र निवेदन लेख्न नजानेर ङिच्च मुख लगाएर बसेको हेरेमात्र पुग्छ । त्यसैले भाषामाथि प्रहार गर्न खोज्ने तत्त्वविरुद्ध आम नेपाली सचेत हुनैपर्छ । जब हामी नेपाली विषयको पठनपाठनलाई अनिवार्य गर्नुपर्ने आवाज उठाउँछौं, तब दक्षिणतर्फ संकेत गर्दै हिन्दी भाषा ऐच्छिक भएको मुलुकले गरेको प्रगतिको बखान पनि सुनाइन्छ । तर उत्तरतर्फ देखाइँदैन, किनकि चिनियाँहरू अंग्रेजी जान्दैनन् र पनि चीन त्यति विकसित छ । यस्तै जापान लगायत अन्य मुलुक छन्, जसले आफ्नै भाषालाई महत्त्व दिएर पनि प्रगति गरेका छन् । विश्वविद्यालयमा नेपाली पढ्न आउने विदेशीमध्ये चिनियाँ र जापानीलाई नेपाली सिकाउन कठिनाइ पर्दाको अनुभव अझै ताजा छ, किनकि उनीहरू अंग्रेजी नबुझ्ने, हामी उनीहरूको भाषा नबुझ्ने । त्यसैले नेपाली भाषालाई प्रगतिको बाधक ठान्नु स्यालले अंगुर अमिलो छ भनेको उखान बाहेक केही हुन सक्दैन ।

केही समययता नेपाली भाषामाथि बेला–बेला हुने प्रहार, यस सम्बन्धी प्रकाशमा आउने अनेक विवाद, पाठ्यक्रमबाट यसलाई हटाउने वा छोट्याउने हल्ला यथार्थमा कुनै निश्चित जाति, वर्ग, समुदाय तथा क्षेत्रका नेपालीका लागिमात्र नभएर समग्र नेपालीकै स्वाभिमानको प्रश्न हो । नेपाली भाषा सिङ्गो नेपालको पहिचान हो । नेपाली साहित्य, कला, संस्कृति र सम्पदालाई चिनाउने माध्यम हो । त्यसैले यसलाई माध्यम बनाएर आफ्नो स्वार्थसिद्धि गर्ने नेपथ्यका नायकहरूदेखि बेलैमा सचेत हुनु आम नेपालीको दायित्व हो ।

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?