१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

नेकपामा ‘पजनी’ र अधिनायकवाद

‘प्राइभेटाइजेसन अफ पोलिटिक्स’ तीव्र र व्यापक भएको राजमा अध्यक्ष–द्वयको सकस शासक वा पुँजीपतिको दु:खभन्दा भिन्न छैन ।
राजेन्द्र महर्जन

काठमाडौँ — साँच्चै पार्टी एकता गर्न कठिन छ कि पार्टीको केन्द्रीय समिति बनाउन ? अहिले यस्तो प्रश्न सोधियो भने पार्टीको केन्द्रीय समिति बनाउन नै गाह्रो भएको उत्तर आउन बेर छैन । किनभने पार्टी एकता गर्नुभन्दा सकसपूर्ण भइरहेको देखिन्छ, पार्टीको केन्द्रमा कुन–कुन नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने काम ।

नेकपामा ‘पजनी’ र अधिनायकवाद

त्यसैले निर्माणाधीन पार्टी ‘नेकपा’ (अन्डरलाइन) का अध्यक्ष–द्वय खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका ‘दु:ख’ देखेर दया नै जाग्छ ।

नेकपाका अध्यक्ष–द्वय ओली र दाहालको सकस हेर्दा अरूलाई त भाउन्न नै हुनसक्छ : कसलाई केन्द्रीय समितिमा राख्ने, कसलाई नराख्ने ? हजारौं पदाकांक्षीबीच कसलाई छनोट गर्ने ? कसलाई काखा गर्ने, कसलाई पाखा गर्ने ? आफ्ना र पराया छुट्याउने कसरी ? आफ्नो स्वार्थ र हित अनुकूल हुनेगरी ‘सेलेक्टेड प्याट्रोनाइजिङ’ (छनोटकारी कृपा) गर्न कति कठिन रहेछ, आफ्नो हात जगन्नाथ गर्न पाएका अध्यक्ष–द्वय र केही शक्तिशाली वरिष्ठ नेताहरूले मात्रै अनुभूत गर्न पाएको दिव्य–ज्ञान निकै अर्थपूर्ण छ । ‘सेलेक्टेड प्याट्रोनाइजिङ’ कुनै माक्र्सवादी अभ्यास होइन, नत पुँजीवादी लोकतान्त्रिक शैली नै हो, यो वास्तविकताको बोध उनीहरूलाई राम्ररी छ । तर उनीहरूले पनि के गरुन्, उनीहरू आफै पनि आफ्ना स्वार्थ, प्रवृत्ति र मनोवृत्तिसामु मजबुर छन् !

शक्तिशाली पार्टीका महाशक्तिशाली अध्यक्ष–द्वयलाई राम्ररी थाहा छ, नेपालका दुई ठूला पार्टीबीच एकता गर्न त आफू दुई जनाबीच मिलेमतो भए पुग्छ, सिंगो पार्टी–पंक्तिको अनुमोदन जरुरी छैन । आफू दुईबीच अध्यक्ष पदको लेनदेन पनि दुईजना अध्यक्षबीच एकबुँदे सहमति भए पुग्छ, अरू नेता–कार्यकर्ताले त ताली ठोक्ने न हो । सचिवालयमा ७ बाहुन, १ नेवार र १ मगर नेताहरूको आरक्षण गर्न पनि पार्टीभित्रका शक्तिशाली व्यक्ति र गुटको समर्थन एवं सहमति भए पुगिहाल्छ, पदाधिकारीहरू र उनीहरूका सेनामेनाले जोडदार समर्थन गरिहाल्छन् ।

उनीहरूलाई सकस त दोस्रो तहका हजारौं नेताबीच ४ सय ४१ केन्द्रीय सदस्य छान्ने हदसम्मको छनोटकारी कृपा गर्नुमा पो रहेछ । अरूका अनेक योग्यता, क्षमता, कला र सीपसँगै अनुभव थाहा पाएर ‘आफू अनुकूल’को टिम बनाउनु पो महाभारत रहेछ । कति कठिन दायित्व रहेछ, पार्टीका अध्यक्ष भएर ‘आफ्नो मान्छे’ छनोट गर्नु र कृपा प्रदान गर्नु † कति गहन काम रहेछ, पुराना शासकहरूले जस्तो आफ्नै नेता–कार्यकर्तालाई शासन गर्नु वा नेता–कार्यकर्ताहरूलाई कज्याउनु । कति ठूलो जिम्मेवारी रहेछ, पुँजीवादी कर्पाेरेसन चलाए जस्तै अनुकूल टिम बनाएर नाफादायी राजनीति गर्नु ! ‘प्राइभेटाइजेसन अफ पोलिटिक्स’ (राजनीतिको निजीकरण) तीव्र र व्यापक भएको राजमा अध्यक्ष–द्वयको सकस शासक वा पुँजीपतिको दु:खभन्दा भिन्न छैन ।

‘चाकडी प्रथा’ र ‘आफ्नो मान्छे’
दुईवटा कम्पनी विलय हुँदाजस्तै होस् या विलय र अधिग्रहण हुँदाजस्तै, नेकपा माओवादीको एमालेकरण हुने क्रममा अध्यक्ष–द्वयको सबैभन्दा ठूलो दु:ख छनोटकारी कृपामै देखिएको छ, जुन अब लगभग समाप्त हुँदैछ । उनीहरूबाट छनोटकारी कृपा पाउनेहरूले केक बाँड्दै फेसबुकमा नियुक्ति–पत्र पोस्ट्याउँदै खुसी मनाउनु अनौठो होइन, तर छनोटकारी कृपा नपाउनेहरूले रुन पनि राम्ररी पाउने अवस्था छैन । गाउँघरमा भन्ने गरिन्छ, हात्तीहरू मिले पनि घाँसकै सत्यानाश, नमिले पनि घाँसकै सत्यानाश † पार्टी विभाजन हुँदा पो ठूलो भाग पाइन्छ, जुट्दा त खाइपाइ आएको भाग पनि खोसिने रहेछ त ।

कोही कसरी एकाएक महासचिवमा नियुक्त हुन्छन्, कोही कसरी वरिष्ठताको वरियतामा पुछारमा पारिन्छन्, मनोनयनमा निमग्न शक्तिशाली अध्यक्ष–द्वय र उदीयमान शक्तिकेन्द्रका रूपमा प्रचारित महासचिवलाई कुनै पत्रकारले सोधेको थाहा छैन । कसैलाई सडकबाट टिपेर कसरी केन्द्रीय सदस्य बनाइन्छन्, कसैलाई केन्द्रीय पदाधिकारी र सदस्यबाट सडकमा पुर्‍याइन्छन्, मनोनीत भएका र नभएका नेताहरूले कत्ति बुझेका होलान्, स्पष्ट छैन । आफू वरियतामा तल पारिएपछि मिडियामा गुनासो गर्ने र धम्क्याउनेहरूले पनि मनोनयनकर्ताहरूका अधिकार तथा छनोटको प्रक्रिया र संस्कृतिबारे सवाल उठाएका छन् कि छैनन्, जानकारी छैन । जे होस्, अज्ञात प्रावधान वा आन्तरिक लेनादेनाकै आधारमा मनोनीतहरूका खुसीको ग्राफ, विज्ञापनबाजीको लहर र आसेपासेका बधाई–शुभकामनाको कार्यव्यापार चुलिएको देखिन्छ । यस्तो दृश्य देख्दा मानवशास्त्री डोरबहादुर विष्टका शब्दमा ‘चाकडी प्रथा’ र ‘आफ्नो मान्छे’को भावनाभन्दा अरू केही मूल्य–मान्यता क्रियाशील रहेको भेउ पाउन कठिन छ ।

शक्ति–पूजकहरूलाई थाहा छ, नेकपाका अध्यक्ष–द्वयको बसाइकै कारण बालुवाटार र खुमलटार नयाँ शक्ति–केन्द्र भएका छन् भने पार्टीचाहिँ उनीहरूको हत्केलामा कैद रहेको सत्ता–शक्ति अभ्यास गरिने ‘तिनिख्य:’ (टँुडिखेल) । भोजभतेर खान वा पार्टी र सरकारमा पद–शक्ति माग्न धाउनुपर्ने शक्तिकेन्द्रको महत्त्व र महिमाबारे पदाकांक्षीहरूभन्दा बेसी अरूलाई कहाँ थाहा होला र † यस्ता शक्तिकेन्द्रमा धाउँदै केन्द्रीय समितिमा सदस्यका लागि दबाब दिन जाने र चाकडी गर्न जानेहरूको लर्काे हेर्नलायकको छ । उनीहरूबीच भएका लेनादेना र मनोनयनकर्ताहरूबीच भएका गोप्य मन्त्रणालाई दस्तावेजीकरण गरिएमा नयाँ शक्तिकेन्द्रहरूले शक्तिको अभ्यास कसरी गर्छन्, वास्तविकता उजागर हुनसक्छ । शक्तिकेन्द्रका कुनै राजनीतिक खेलाडीले संस्मरण लेखे भने ‘नयाँ राजा’हरूले कसरी ‘पजनी’ गर्छन् र ‘आफ्नो मान्छे’ बनाउँछन् भन्ने अधोगति देख्न सकिने अवस्था हुन्छ ।

पजनीको परम्परागत अभ्यास
पार्टीका विधि–विधानमा वा वैधानिक रूपमा ‘पजनी’ शब्द प्रयोग र स्वीकार्य नहोला, तर यसले नै अनेक पार्टीका पदमा छनोट, नियुक्ति, सरुवा–बढुवा, खारेजी र थमौतीको अभ्यासलाई सटिक रूपमा अभिव्यक्त गर्न सक्छ । कुनै जमानामा कर्मचारीहरूको काम दिने वा हटाउने मामिलामा शाह र राणा शासनमा सामन्तवादी अभ्यासका रूपमा गरिने पजनीलाई अब मालिक–दास प्रथा कालको अन्तर–सम्बन्ध र आचरणमात्रै भन्नु उपयुक्त हुँदैन । कुनै शंका छैन, यस्तो ‘प्याट्रोन–क्लाइन्ट रिलेसनसिप’ (संरक्षक–संरक्षित बीचको सम्बन्ध) पुँजीवादी कम्पनी र कर्पाेरेसनमा कायम छ ।

यस्तै सम्बन्ध आफूलाई समाजवाद र साम्यवादको अग्रदस्ता मान्ने कम्युनिस्ट पार्टी र त्यसका अगुवा मान्ने कम्युनिस्ट नेताहरूका आचरणमा पनि व्याप्त छ । अनेक गुटबन्दी र टिकडमबाजीको आधारमा पार्टीको अध्यक्ष हुने, त्यसलाई सत्ता–शक्तिको केन्द्र बनाउने अनि त्यही पार्टी र अध्यक्ष पदको आधारमा लेनदेनको प्रक्रिया चलाउने आचरण सबैतिर देखिएकै छ । यस्ता आचरण र संस्कृतिबाट कमैमात्र पार्टीका अध्यक्ष वा अन्य पदका आकांक्षी नेता मुक्त छन् ।

यस्ता मूल्य–मान्यता र आचरण मनोनयन प्रक्रियासँग जोडिएको वैधानिक र विधिवत प्रश्नमात्रै होइन, यो अध्यक्ष वा नेता वा कार्यकर्ता वा समग्र व्यक्तिको ‘आइडियोलोजी’ (वैचारिकी) को सवाल हो । विचार, संस्कृति, आचरण, मूल्य–मान्यताको समष्टिका रूपमा व्यक्त हुने वैचारिकीको नजरले हेर्दा एरिक फमले भनेझैँ अधिकांश पार्टी नेतृत्व ‘अथोरिटोरियन क्यारेक्टर’ (अधिनायकवादी चरित्र) बाट ग्रस्त भएको पाइन्छ । चाहे परिवारमा होस् या पार्टीमा, चाहे समाजमा होस् या सरकारमा, मालिक वा स्वामीको रूपमा सत्ता–शक्तिको भोक र अभ्यासले यही चरित्रलाई उजागर गरेको देखिन्छ ।

अधिनायकवादी चरित्र
‘अरूमाथि शासन गर या शासित हुन तयार होऊ, अरूलाई अनुशासित गर या अरूबाट अनुशासित हुन तयार होऊ, अरूलाई मान्छे नगन या अरूबाट पनि आफू मान्छे नगनिन तयार होऊ, अरूलाई समर्पण गराऊ या अरूप्रति समर्पित हुन तयार होऊ, अरूलाई अधीनस्थ बनाऊ या अरूबाट अधीनस्थ हुन तयार होऊ †’ मनो–विश्लेषक एरिक फ्रमका शब्दमा यस्तै मूल्य–मान्यता र अभ्यास अधिनायकवादी चरित्रका परिचायक हुन्, जुन वास्तवमा माक्र्सवादी वा लोकतन्त्रवादी होइन, फासीवादी संस्कृति र मनस्थितिका संकेत हुन् । फ्रमका अनुसार परिवार, पार्टी वा ‘प्याट्रोयाटिजम’ (देशभक्ति) को नाममा आफूलाई सम्पूर्णत: होम्नुपर्ने वा आफ्नो व्यक्तित्वको विघटन गर्नुपर्ने हदसम्म समर्पण गर्नुपर्ने वा अधीनस्थ हुनुपर्ने राष्ट्रवादी सिद्धान्त र संस्कृतिमा रहेको छ, फासीवाद । यस्तै फासीवादका अनेक रूपरंग हामीले पनि ब्यहोरिरहेको र बाँचिरहेको अवस्थामा कम्युनिस्ट पार्टीका झिलिमिली साइनबोर्डबारे, तिनका आकर्षक मार्गनिर्देशक सिद्धान्तबारे, तिनका अध्यक्ष र नेताहरूका आचरणबारे मसिनोसँग आलोचनात्मक अध्ययन गर्नु जरुरी छ ।

नेकपा या अन्य कम्युनिस्ट पार्टीका मार्गनिर्देशक सिद्धान्त र विधानमा माक्र्सवाद–लेनिनवादको पूजा गरिएको होला, माओवादको अर्चना पनि गरिएको होला, तर अधिकांश कम्युनिस्ट पार्टीको वैचारिकीमा माक्र्सवाद–लेनिनवाद–माओवाद वा द्वन्द्ववादी विचार होइनन्, अधिनायकवाद र त्यसको चरित्र प्रकट भइरहेको देख्न पाइन्छ । अध्यक्ष एक वा दुई वा तीनको अधीनमा पार्टी र नेता हुने संरचना र सम्बन्ध हुने पार्टी र नेतासँग माक्र्सवादको साइनो घोडा बेचेको जति पनि हुँदैन । अध्यक्षहरूको सिन्डिकेट (गुट) वा अध्यक्षहरूसँग मोलमोलाइ गर्नसक्ने गुटसँग अधीनस्थ सम्बन्ध वा चाकडीको साइनो नभएकाले पद नपाउने दासत्वपूर्ण संस्कृतिसँग समाजवादी लोकतन्त्रको त के, पुँजीवादी लोकतन्त्रको नाता खोज्न कठिन छ ।

पार्टीका मालिकहरूको छनोटकारी कृपा प्राप्त गर्न एकले अर्काको खुट्टा तान्ने भ्यागुते–दौडबीच आपसी माया–ममता र कमरेडपना (मित्रता) भएका कम्युनिस्ट पार्टीहरूबीच एकता भएको गफ पचाउन कठिन नै छ । समृद्धिको बाढी र अधिनायकवादको लहरबीच छनोटकारी कृपाका लागि कुदाइ जारी रहेको बेला पार्टीकै नेता–कार्यकर्ताहरूमा बचेखुचेका नैतिकता, सिद्धान्तनिष्ठता र आलोचनात्मक विवेक सबैभन्दा बेसी खतरामा छ ।

ट्विटर : @rmaharjan72

प्रकाशित : जेष्ठ ८, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?