३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

के माओवादी विसर्जन भएको हो?

गंगा बीसी

काठमाडौँ — के २०७५ साल जेठ ३ गते माओवादी सकिएको दिन हो? यो प्रश्न अहिले निकै चर्चामा छ । २०५१ मा जन्मिएको माओवादी पार्टी नेपाल कम्युनिस्ट पार्टीमा रुपान्तरण हुन २४ वर्ष लाग्यो । त्यसअघि के त्यो चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङको पार्टी थियो ? थिएन ।

के माओवादी विसर्जन भएको हो?

नामचाहिँ माओको नामबाट राखिएको भए पनि त्यसका नेता नेपालीनै थिए । किन त ? बन्दुकको बलले गाउँदेखि सहर घेर्ने रणनीति माओकै थियो । त्यही नीति लिएकाले पूर्व एकता केन्द्रले माओवादी नाम राख्यो । युद्धकालमा माओको नाम गाँसिए पनि आफ्नो कुनै साइनो नभएको चीनले तत्कालीन राजा ज्ञानेन्द्रलाई भनेको थियो । महामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको पार्टीको नाम माओवादी, मार्गदर्शक सिद्धान्त मार्क्सवाद, लेनिवाद, माओवाद थियो । माओवादी २०६३ मा शान्ति प्रक्रियामा आइसकेपछि माओवाद/विचारधारा भन्ने फुर्को पनि जोडिन पुग्यो ।


माओको रणनीतिमा अंगालेर माओवादी १० वर्ष सशस्त्र युद्ध गर्‍यो । त्यसको अर्को १५ वर्षपछि अर्थात् २५ वर्षपछि माओवादीले माओवाद परित्याग गर्‍यो । माओवादी अध्यक्ष प्रचण्डले न्वारान गरेको माओवादलाई २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा रुपान्तरण गरिदिए । एमाले र माओवादीको एकताबाट नेकपाको जन्म भयो । नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठ थिए । एमाले र माओवादीका संस्थापक अध्यक्ष श्रेष्ठ नै हुन् ।


२०२८ सालपछि बिभाजन भएका एमाले माओवादी ४७ वर्षपछि एउटै भए । यो बीचमा नेपालका कम्युनिस्ट पार्टी निकै टुटफुट भए, एक दर्जनभन्दा बढी चिरामा कम्युनिस्ट बिभाजन भए । तत्कालिन मालेले चालिसको दशकमा माओविचार धारा छाडेको पाइन्छ । माओवादीले भने २०७५ जेठ ३ गतेसम्म अंगालिरह्यो । मार्क्सवाद, लेनिवादको विकसित रुप माओवाद भएको तत्कालिन माओवादीको निश्कर्ष थियो । नेपालका कम्युनिस्ट पार्टीले मार्क्सवादलाई विज्ञानको रुपमा मान्दै आएका छन् । त्यसपछि हुने अरु वाद त्यसकै विकसित रुप भएको उनीहरुको बुझाइ छ । जस्तो: एमालेले मार्क्सवादको विकसित रुप लेनिववाद मान्छ भने माओवादीले मार्क्सवाद, लेनिनवादको विकसित रुप माओवाद मान्छ । ठिक यतिबेला दुबै पार्टीको बुझाइ के हो भने माक्र्सवाद विज्ञानको रुपमा लेनिनवादमा रुपान्तरण भएको छ । त्यसलाई मार्गनिर्देशक सिद्धान्त मानेर समाजवादको बाटोमा जाने सहमति गरेका छन् । एमालेले मान्दै आएको माक्र्सवाद, लेनिनवाद (माले) लाई दुबै दलले आगामी दिनको समाजवादी बाटो भनेका छन् ।


बिगतमा मार्क्सवाद, लेनिनवाद, माओवादमा मतभेद हुँदा धेरै पटक कम्युनिस्ट पार्टी बिभाजन भएका छन् । यसपटक भने माओवादी सहजै माओवाद त्याग्न तयार भयो । किन त ? त्यसको कारण छ । माओवादको मुख्य सिद्धान्त सशस्त्र हिंसात्मक बाटो अवलम्बन गर्नु हो । माओवादमै टेकेर माओवादीले १० वर्षे सशस्त्र युद्ध गर्‍यो, २०६३ मा आएर त्यसलाई समाप्त गर्‍यो । सशस्त्र युद्धको बाटो त्याग गरिसकेपछि माओवादको पुच्छर समाइरहनु वैज्ञानिक थिएन । हालसम्म माओवादीले बाध्यात्मक अवस्थामा माओवादलाई अंगालेको भए पनि त्यो सिद्धान्त त्याग्ने मौका पर्खेर बसेको थियो । एमाले र माओवादीको एकीकरणले माओवाद त्याग्ने मौका मात्र जुराएन, पार्टीको नामनै नेपाली पाराको राख्ने अवसर मिल्यो । माओवादी एमालेबाट नेपाल कम्युनिस्ट पार्टी पुनर्जन्म गराउन पाउँदा यसका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेता सन्तुष्ट हुनुपर्छ । किनकी अब विदेशी नेताको नाममा पार्टीको नाम राखेको आरोप लाग्ने छैन ।


माओवाद त्यागेकोमा पूर्व माओवादीलाई पुछुतो छैन । माओवादका नाममा मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिका कुरा गरिरहने छन् । माओवादीले करीब १२ वर्ष अघि माओले अंगालेको सशस्त्र युद्धको बाटो त्यागिसकेको थियो । माओवादमै टेकेर माओवादीले ‘एक्काइसौ शताव्दीको जनवाद’ र प्रचण्ड पथ विकास गर्‍यो । उसले शान्ति प्रक्रियामा आएपछि प्रचण्डपथ छाडेको थियो । उसले पार्टी एकीकरणसँगै एक्काइसौ शताव्दीको जनवाद र तत्कालीन एमालेले पनि जनताको बहुदलीय जनवादलाई परिमार्जन गरेको छ । दुबैले अब ‘जनताको जनवाद’ अंगाल्ने भएका छन् । जनताको जनवादलाई जनतन्त्र भनेर पनि बुझ्न सकिन्छ । कम्युनिस्ट पार्टी भएको हुनाले जनवाद शव्द प्रिय भएको हुनुपर्छ । लोकतान्त्रिक गणतन्त्रलाई पूर्ण रुपमा अंगिकार गरिसकेको अवस्थामा जनवाद, जनतन्त्र, लोकतन्त्रको तात्विक फरक हुँदैन ।


एमाले र माओवादी दुबै रुपान्तरण भएका हुन्, विर्सजन भएका होइनन् । माओवादी विर्सजन भएको हो, एमाले होइन भन्नुको तर्कमा दम छैन । किनकी पार्टी एकीरकण गर्न दुबैले केही बिषय त्याग गर्नै पर्ने हुन्छ । एमाले र माओवादीले पूर्ववत केही सिद्धान्त त्यागेर सिद्धान्तलाई परिमार्जन गरेका हुन् । दुई रङका नदी मिलेर अर्कै पानी देखिए जस्तै हो यी दुई पार्टी मिलन पछि बनेको सिद्धान्त । त्यसकारण यतिबेला विर्सजनको सवाल नभएर एकीकरण मुद्दा प्रमुख हुन आएको हो । अझै माओवाद अंगालेर मुलुकमा फेरि सशस्त्र हिंसात्मक युद्ध गर्नु छैन । त्यसकारण माओवादीले माओवाद त्यागेकैमा खुशी हुनु पर्ने होइन र?


प्रकाशित : जेष्ठ ८, २०७५ १२:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?