छारे रोगका भ्रम

डा. रागेश कर्ण

काठमाडौँ — एक किशोरीलाई अचम्मको रोग लाग्यो । उनी अचानक बेहोस हुन्थिन्, हातखुट्टा फलाम जस्तै कडा भई केहीबेर बिजुलीको करेन्ट लागेझैं हल्लिन्थिन्, सँगसँगै उनको मुखबाट फिँज आउने, कहिले जिब्रो टोकिने र दिसा–पिसाब छुट्ने गर्थ्यो ।

छारे रोगका भ्रम

कहिलेकाहीं त उनलाई थाहा नपाईकन एउटै वस्तुमा हेरेको जस्तो हुन्थ्यो त कहिले आफ्नै सुरमा हाँस्ने गर्थिन् वा घरबाट निस्केर केही टाढासम्म पुग्थिन् जसको अनुभूति उनले पाउँदिनथिन् । गाउँका केही मान्छेले उनलाई भूत लागेको भन्न थाले भने केहीले त यो बौलाहा रोग भने । यो पूर्वजन्मको फल भन्नेहरू पनि थिए । यो समस्याले परिवारमा ठूलो तनाव सिर्जना गर्‍यो । यो कुरा अरूले थाहा पाए भने उनको विवाहलाई समस्या पर्ला भनेर कुरो लुकाउन थालियो । बेला–बेला बाँधेर राख्न थालियो । झारफुक पूजापाठ गरिए पनि समस्या हटेन । गाउँकै एक जनाको सल्लाहअनुसार अस्पताल लगियो । त्यसपछि मात्र उनलाई छारे रोग लागेको भन्ने थाहा भयो । अलि ढिलो भइसकेको हुनाले उनको समस्या पूर्णत: नियन्त्रणमा आउन केही महिना लाग्यो । उनी सामान्य जीवन बिताइरहेकी थिइन् । उनी मकहाँ नियमित परामर्शमा आइरहन्थिन् । उनको बिहे भयो । उनको रोगबारे पछि केटा पक्षले अरू आफन्तबाट थाहा पाए । त्यसपछि सँगै बस्दा, खाँदा रोग परिवारका अन्य सदस्यलाई पनि सर्न सक्छ भन्दै सम्बन्धविच्छेद हुने अवस्था आयो । मैले श्रीमान्, श्रीमती दुवैलाई बोलाएर रोगसम्बन्धी जानकारी दिएर सामाजिक भ्रम हटाइदिएपछि उनीहरू सामान्य जीवन बिताउन सफल भए ।


छारे रोग विशेष प्रकारको नसा रोग हो, जहाँ मस्तिष्कको कुनै एक भाग वा पूरै मस्तिष्कमा अत्यधिक विद्युतीय तरंग उत्पन्न भई बिरामी अचानक बेहोस हुन्छ र सँगसँगै आँखा पल्टाउने, हातखुट्टा दह्रो पारी हल्लिन थाल्छ साथै दाँत बाँध्ने, जिब्रो टोक्ने, मुखबाट फिँज आउने आदि हुन थाल्छ । सामान्य भाषामा यसलाई छारे रोग, मिर्गी वा इपिलेप्सी आदि भनिन्छ । प्रत्येक ब्यथाको प्रकरणलाई ‘फिट्स’ वा ‘सिजर’ भनिन्छ । छारे रोग एउटा सामान्य रोग हो । करिब १ प्रतिशत अर्थात् ३ लाख नेपालीलाई यो रोगको समस्या छ । यस रोग समयमा पहिचान भए उपचारद्वारा सजिलै निको पार्न सकिन्छ ।


संसारले सूचना प्रविधिमा यत्रो फड्को मारिसक्दा पनि हाम्रो मुलुकमा यस रोगसम्बन्धी विभिन्न सामाजिक भ्रम वा अन्धविश्वास विद्यमान छन् । यी भ्रमहरू नै यस रोगको उपचारबाट वञ्चित हुनुको प्रमुख कारण हुन् । छारे रोगी उपचारबाट विमुख हुँदा अकाल मृत्यु वा चोटपटकको सिकार हुने, विस्तारै बौद्विकतामा ह्रास आउने, आफ्नै परिवारबाट तिरस्कृत अवस्थामा बस्न बाध्य हुने जस्ता अवस्था आउने गरेका छन् ।


छारे रोग मेडिकल उपचारबाट सजिलै ठीक गर्न सकिन्छ । पूजापाठ तथा झारफुकमा लागेर समय खेर फाल्नु हुँदैन । यो सरुवा रोग होइन । छारे रोगीलाई आफ्नै परिवार र समाजबाट तिरस्कृत गर्नु हुँदैन । छारे ब्यथा भएका बेला बाँधिएको दाँत खोलाउन खोज्नु हुँदैन, औंला वा चम्चाको प्रयोग गरी यसो गर्न खोजे दुर्घटना निम्तिन सक्छ । मुखमा पानी छ्याप्ने तथा पानी खुवाउने गर्नाले पानी सर्केर बिरामीको मृत्युसमेत हुन सक्छ । गनाउने कुरा जस्तै– प्याज, जुत्ता, मोजा सुँघाएर वा नाक, मुख थुन्नाले यो रोग निको हुन्छ भन्ने भ्रम पाइन्छ तर यसो गर्नाले ब्यथा रोकिनको साटो उल्टै लम्बिन्छ तथा मस्तिष्कमा बढी क्षति गराउँछ ।


करिब ७० प्रतिशत बिरामीमा समस्याको किसिम हेरी एउटा मात्र उपयुक्त औषधिको प्रयोगबाट नियन्त्रित गर्न सकिन्छ तर केही बिरामीमा भने समस्या र असर हेरी एकभन्दा बढी औषधि प्रयोग र शल्यक्रिया आवश्यक पर्न सक्छ ।


डा. कर्ण वरिष्ठ नसा रोग विशेषज्ञ हुन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?