बिहे नगरे पनि आमा !

महिला र पुरुषको सामाजिक अस्तित्व समानताका लागि प्रजनन अस्तित्व स्वतन्त्र हुनु एकदमै जरुरी छ ।
अनुपम रोशी

काठमाडौँ — ‘अब बिहे नगरे पनि महिलालाई आमा बन्ने अधिकार ।’ कान्तिपुरमा यो समाचार पढेपछि म निकै खुसी भएँ । संविधानको धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजनन सम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था प्रस्तावलाई म खुलेर समर्थन गर्छु ।

किनकि आमा हुनुको आस्तित्विक परिचयलाई म स्वतन्त्र देख्छु । मेरो शरीर मेरो अधिकार क्षेत्र हो । र यो विलकुल प्राकृतिक छ । यसलाई न कसैले नकार्न सक्छ, न त परिवर्तन गर्न । तर विवाह मानव निर्मित संस्कार हो । यसलाई मान्छेको सामाजिक अभ्यासले एकअर्का बीचको सम्बन्ध सूत्रभित्र जोडिदिँदै आएको छ । मान्छेले त्यसलाई चाहेर/नचाहेर मान्नुपर्ने बाध्यता हामीकहाँ छ । सरासर हेर्दा यो अभ्यास मानवीय सभ्यताभित्र सामान्य देखिन्छ । तर यसको नियन्त्रण अनुभव गर्न स्त्री भएर बाँच्नुपर्छ । यसो भनिरहँदा विवाह र पुरुषहरूको विरोध भयो भन्ने होइन । तर शक्तिको भरमा स्त्री जातिमाथि हुने शोषणको अन्त्य हुनुपर्छ भन्नेचाहिँ पक्कै हो । महिला र पुरुषको सामाजिक अस्तित्व समानताका लागि प्रजनन अस्तित्व स्वतन्त्र हुनु एकदमै जरुरी छ ।


प्रेम र यौनको सम्बन्धमा ठोस र सर्वमान्य दृष्टिकोण नभेटिएको अवस्थामा विवाह सम्बन्धलाई सर्वमान्य बनाएर सामाजिक सभ्यताका नाममा स्त्री जातिलाई कमजोर बनाउनु न्यायोचित छैन । सन्तानका लागि स्त्री जातिको विकसित पाठेघरको यौन उपयोग चाहिन्छ, नकि लोग्नेमान्छेसँंगको स्वयम्बर ।

Yamaha


यो समाजमा स्त्री र पुरुष प्राकृतिक सत्य उपज दुइटा जीवित तत्त्व हुन् भन्ने सबैलाई थाहा छ । जसको भौतिक तथा अभौतिक संरचना परिपुरक भएरै यहाँसम्म आइपुगेको छ । संसारको जैविक सत्यलाई अध्ययन गर्दा यौन र प्रजननसँंग सम्बद्ध भाले र पोथी जातिको परिभाषा समान रूपले अगाडि बढेको देखिन्छ । तर मानव जातिको लैङ्गिक परिभाषा, यौन र प्रजननसँग मात्रै सम्बन्धित नभएर भावनात्मक र बौद्धिक आयामको विशिष्ट पक्षसंँग पनि जोडिएको छ । तर त्यो भावुकताको सीमा महिला र पुरुष दुवैमा एक समान हुन नसक्नु भने ठूलो पीडाको विषय हो । यहाँनेर प्रश्न आउँछ, महिलालाई नै संवेदनशील बनाउने सभ्यताको विकास कसरी सुरु भयो ?


मानव समाज विकासक्रममा कुनै समय मातृ शासित व्यवस्था पनि थियो भन्ने गरिन्छ । जसरी आज पनि मानिस बाहेकका जीवजन्तुमा प्रजनन अधिकार स्वतन्त्र छ । त्यसरी नै मानिसको प्रजनन अधिकार पनि विलकुल स्वतन्त्र थियो । र हुनुपर्छ । जब प्राकृतिक स्रोतहरूमा मानव अधिपत्य सुरु भयो, तब त्यो ऐतिहासिक परिवर्तनले निजी स्वामित्व र औद्योगिक प्रतिष्ठानलाई जन्म दियो । परिवार, समाज र राज्य प्रथालाई जन्म दियो । स्रोत, साधन र शक्तिका आधारमा राजनीतिक विभेद उदय भयो । जसले नयाँ युग र नयाँ मानव सभ्यताको सुरुवात गर्‍यो ।


निजी स्वामित्वका स्रोतहरू प्रयोग गरेर धन सञ्चय गर्ने सभ्यताको रूपमा विकास भएपछि निजी स्वामित्वका प्रमुख स्रोत परिवार बन्न थाले । जसको परिवार ठूलो हुन्थ्यो, उसैले सबैभन्दा बढी श्रम गथ्र्यो । शक्ति सञ्चय गर्न धेरै सन्तान जन्माउनु प्रमुख कार्य हुनथाल्यो । जसका लागि धेरै स्वास्नी, रखौटी र दासदासीमाथि निजीत्व जमाउन सुरु गरियो । धेरै आइमाई राख्दा इज्जत, रवाफ र शानको जिन्दगी रहने ठहरियो । र ठूलै पुरुषत्व प्राप्त हुने समाजको निर्माण भएपछि महिलाको प्रजनन अधिकारमाथि नियन्त्रण सुरु भयो । शक्ति सञ्चय पूर्णरूपले प्रजननमा आधारित भएपछि सम्पत्ति आर्जनको माध्यम आइमाई हुनथाले । यसरी त्यो सामन्ती युगले महिलालाई शृङ्गार, भोग र सन्तान उत्पादनको स्रोतमा मात्र सीमित गरिदियो । त्यहींबाटै स्त्रीहरूको स्वअस्तित्व धराशायी भएर गयो । लेनदेन र भोग्याको रूपमा स्त्रीत्वको व्यापार हुँदै आयो ।


यो बीचमा मानव र प्रकृति, स्त्री र पुरुष लगायत मानव समूह बीचका आपसी सम्बन्धमा धेरैपटक उथल–पुथलकारी परिवर्तन भए । सामाजिक, राजनीतिक र मनोवैज्ञानिक परिवर्तन भए । सम्बन्धका नयाँ आयामका ढोका खुले । र पनि महिलाको शरीरमाथि उनीहरूको आफ्नै अधिकार सुनिश्चित भएन । बरु नयाँ–नयाँ तरिकाका पुरुष अभ्यासहरू महिला जिन्दगीको निधारमा टाँसिएरै हिँडिरह्यो ।


यी सब कुरा यहाँ किन लेख्दैछु भने १० हजार वर्षपूर्व युरोपबाट सुरु भएको यो प्रक्रिया अहिले पनि जारी छ । मात्रै यसको स्वरुप बदलिएको छ । पहिले बेचबिखनमा आधारित उत्पादन, अब ज्यालादारी, श्रम र मजदुरको रूपमा विकास भएको छ । घर कुटुम्ब उत्पादन र उपभोगको केन्द्रविन्दु रहेको बजारमा अहिले उद्योग र कारखाना उत्पादनका केन्द्र बनेका छन् । समयले औद्योगिक क्रान्ति तथा विश्व पुँजी बजारको चरम उत्कर्षमा यात्रा गरिरहँदा पनि महिलालाई आफ्नै शरीरमाथि आफ्नो अधिकार नहुनु पीडाकै विषय हो । आखिर किन स्वेच्छिक संयन्त्र या सत्ता समीकरणमा महिलाको सोच र सामथ्र्यलाई इंगित गर्न कठिनाइ भइरह्यो ? एक नजर यतातिर दिन सकियो भने फैसलाका लागि प्रशस्त आधार फेला पार्न सकिनेछ ।


२०६८ सालमा प्रकाशित ‘कुमारी आमा’ उपन्यासमा मैले यिनै विषयलाई उठाएकी हुँ । महिलाको प्रजनन स्वतन्त्रतामाथि लेखिएको यस उपन्यासले नेपाली समाजको सेरोफेरोमा रहेर धेरै प्रश्न उठाएको थियो । र आजसम्म पनि मलाई त्यही विषयमा प्रश्न गर्ने गरिन्छ । ती प्रश्नका खतरामध्ये सन्तानले बाबु खोजेको अवस्थामा त्यस कुरालाई कसरी व्यवस्थापन गर्न सक्नुहुन्छ भन्ने प्रसंग मलाई निकै भावनात्मक र प्रभावशाली लागेको थियो । किनकि सन्तान जन्मिइसकेपछि स्वत: सामाजिक अस्तित्वमा जान्छ । र हाम्रो सामाजिक अस्तित्व भनेको आज पनि बाबुआमा सहितको पारिवारिक संरचना हो । त्यस्तो सामाजिक संरचनामा बाबु बिनाको सन्तान जन्माउन कति सम्भव हुन्छ ? भन्ने तर्क वास्तवमै डरलाग्दा छन् । यसले विवाह नगरी सन्तानको कल्पना गर्न निकै ठूलो चुनौती खडा गरिदिन्छ । तर मैले बुझेको समाज भनेको मानवीय स्वभावहरूको निरन्तर अभ्यासले निर्माण भएको संरचना हो । मानिसको स्वभाव, इच्छा र अभ्यासले सबै कुरालाई सामान्य बनाउँदै लगेका उदाहरण विश्व समुदायमा देखिएका प्रयोगहरू हुन् । सामाजिक तथा आर्थिक सुरक्षा यसको पहिलो प्राथमिकता हो ।


म केही महिनाअघि अष्ट्रेलिया भ्रमणमा जाँदा ‘कुमारी आमा’ को विषयमा सोधिएको एउटा प्रश्नबारे कुरा गर्छु । अष्ट्ेरलियाको ब्रिसवेनमा भएको साहित्यिक अन्तरक्रियामा एकजनाले गम्भीर प्रश्न उठाए– ‘युरोप, अमेरिका लगायत अष्ट्रेलियामै पनि एकल आमाको समस्या गम्भीर बन्दै गएको छ । महिलाले बिहे नगर्ने, सन्तान जन्माएर राज्यको भत्ता असुल गर्ने । जति धेरै सन्तान जन्मायो, उति धेरै भत्ता आउने भएपछि एउटै महिलाले ६/७ वटा बच्चा जन्माउने तर विवाह नगर्ने । छोराछोरीका नाममा आउने भत्ता बसी–बसी खाने कुनै काम नगर्ने । यो खालको प्रयोगलाई युरोप, अमेरिकामात्र नभएर अष्ट्रेलियन सरकारलाई पनि थेग्न मुस्किल हुँदै गएको कुरा सर्भेक्षणले बताइरहेका छन् । यस्तो अवस्थामा तपाईले उठाउनुभएको प्रजनन स्वतन्त्रताको मुद्दाले नेपालको भोलिको अवस्थालाई कता लैजाला ?’


बिहे नगरे पनि महिलालाई आमा बन्ने अधिकार चाहिन्छ भन्दै गर्दा उठेको यो प्रश्नले मलाई एकपटक सोच्न बाध्य बनाइदियो । कि एकल आमाको प्रयोग सामाजिक विकासको गतिमा समस्या बन्न सक्छ ? तर नेपालको अहिलेको सन्दर्भमा यसको कुनै औचित्य छैन । किनकि राज्यले यतिबेलासम्म न बेरोजगारी भत्ता तोकेको छ, नत सन्तान जन्माएर हुर्काउने प्रयोजनमा कुनै शुल्क खर्चेको छ । आजसम्म हरेक बाबुआमाले आफ्ना सन्तान जन्माउने, हुर्काउने र तिनलाई शिक्षादीक्षा दिने काम आफै गर्दैआएका छन् । तर भविष्यमा यस खाले प्रयोग नेपाली समाजमा पनि नहोलान् भन्न सकिंँदैन । त्यसैले प्रजनन अधिकार स्वतन्त्र हुनु महिलाका लागि अत्यन्तै खुसीको कुरा हो । तर त्यस विषयको अधिकारमाथि फैसला हुँदै गर्दा यसका सीमा र क्षेत्राधिकारमा पनि सचेत हुनुपर्छ भन्ने मेरो सुझाव छ ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०७:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

छारे रोगका भ्रम

डा. रागेश कर्ण

काठमाडौँ — एक किशोरीलाई अचम्मको रोग लाग्यो । उनी अचानक बेहोस हुन्थिन्, हातखुट्टा फलाम जस्तै कडा भई केहीबेर बिजुलीको करेन्ट लागेझैं हल्लिन्थिन्, सँगसँगै उनको मुखबाट फिँज आउने, कहिले जिब्रो टोकिने र दिसा–पिसाब छुट्ने गर्थ्यो ।

कहिलेकाहीं त उनलाई थाहा नपाईकन एउटै वस्तुमा हेरेको जस्तो हुन्थ्यो त कहिले आफ्नै सुरमा हाँस्ने गर्थिन् वा घरबाट निस्केर केही टाढासम्म पुग्थिन् जसको अनुभूति उनले पाउँदिनथिन् । गाउँका केही मान्छेले उनलाई भूत लागेको भन्न थाले भने केहीले त यो बौलाहा रोग भने । यो पूर्वजन्मको फल भन्नेहरू पनि थिए । यो समस्याले परिवारमा ठूलो तनाव सिर्जना गर्‍यो । यो कुरा अरूले थाहा पाए भने उनको विवाहलाई समस्या पर्ला भनेर कुरो लुकाउन थालियो । बेला–बेला बाँधेर राख्न थालियो । झारफुक पूजापाठ गरिए पनि समस्या हटेन । गाउँकै एक जनाको सल्लाहअनुसार अस्पताल लगियो । त्यसपछि मात्र उनलाई छारे रोग लागेको भन्ने थाहा भयो । अलि ढिलो भइसकेको हुनाले उनको समस्या पूर्णत: नियन्त्रणमा आउन केही महिना लाग्यो । उनी सामान्य जीवन बिताइरहेकी थिइन् । उनी मकहाँ नियमित परामर्शमा आइरहन्थिन् । उनको बिहे भयो । उनको रोगबारे पछि केटा पक्षले अरू आफन्तबाट थाहा पाए । त्यसपछि सँगै बस्दा, खाँदा रोग परिवारका अन्य सदस्यलाई पनि सर्न सक्छ भन्दै सम्बन्धविच्छेद हुने अवस्था आयो । मैले श्रीमान्, श्रीमती दुवैलाई बोलाएर रोगसम्बन्धी जानकारी दिएर सामाजिक भ्रम हटाइदिएपछि उनीहरू सामान्य जीवन बिताउन सफल भए ।


छारे रोग विशेष प्रकारको नसा रोग हो, जहाँ मस्तिष्कको कुनै एक भाग वा पूरै मस्तिष्कमा अत्यधिक विद्युतीय तरंग उत्पन्न भई बिरामी अचानक बेहोस हुन्छ र सँगसँगै आँखा पल्टाउने, हातखुट्टा दह्रो पारी हल्लिन थाल्छ साथै दाँत बाँध्ने, जिब्रो टोक्ने, मुखबाट फिँज आउने आदि हुन थाल्छ । सामान्य भाषामा यसलाई छारे रोग, मिर्गी वा इपिलेप्सी आदि भनिन्छ । प्रत्येक ब्यथाको प्रकरणलाई ‘फिट्स’ वा ‘सिजर’ भनिन्छ । छारे रोग एउटा सामान्य रोग हो । करिब १ प्रतिशत अर्थात् ३ लाख नेपालीलाई यो रोगको समस्या छ । यस रोग समयमा पहिचान भए उपचारद्वारा सजिलै निको पार्न सकिन्छ ।


संसारले सूचना प्रविधिमा यत्रो फड्को मारिसक्दा पनि हाम्रो मुलुकमा यस रोगसम्बन्धी विभिन्न सामाजिक भ्रम वा अन्धविश्वास विद्यमान छन् । यी भ्रमहरू नै यस रोगको उपचारबाट वञ्चित हुनुको प्रमुख कारण हुन् । छारे रोगी उपचारबाट विमुख हुँदा अकाल मृत्यु वा चोटपटकको सिकार हुने, विस्तारै बौद्विकतामा ह्रास आउने, आफ्नै परिवारबाट तिरस्कृत अवस्थामा बस्न बाध्य हुने जस्ता अवस्था आउने गरेका छन् ।


छारे रोग मेडिकल उपचारबाट सजिलै ठीक गर्न सकिन्छ । पूजापाठ तथा झारफुकमा लागेर समय खेर फाल्नु हुँदैन । यो सरुवा रोग होइन । छारे रोगीलाई आफ्नै परिवार र समाजबाट तिरस्कृत गर्नु हुँदैन । छारे ब्यथा भएका बेला बाँधिएको दाँत खोलाउन खोज्नु हुँदैन, औंला वा चम्चाको प्रयोग गरी यसो गर्न खोजे दुर्घटना निम्तिन सक्छ । मुखमा पानी छ्याप्ने तथा पानी खुवाउने गर्नाले पानी सर्केर बिरामीको मृत्युसमेत हुन सक्छ । गनाउने कुरा जस्तै– प्याज, जुत्ता, मोजा सुँघाएर वा नाक, मुख थुन्नाले यो रोग निको हुन्छ भन्ने भ्रम पाइन्छ तर यसो गर्नाले ब्यथा रोकिनको साटो उल्टै लम्बिन्छ तथा मस्तिष्कमा बढी क्षति गराउँछ ।


करिब ७० प्रतिशत बिरामीमा समस्याको किसिम हेरी एउटा मात्र उपयुक्त औषधिको प्रयोगबाट नियन्त्रित गर्न सकिन्छ तर केही बिरामीमा भने समस्या र असर हेरी एकभन्दा बढी औषधि प्रयोग र शल्यक्रिया आवश्यक पर्न सक्छ ।


डा. कर्ण वरिष्ठ नसा रोग विशेषज्ञ हुन् ।

प्रकाशित : जेष्ठ ९, २०७५ ०७:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT