स्थानीय सरकारमा सिमरौनगढ

डेटलाइन तराई
पुरातात्त्विक महत्त्वका मन्दिर, पोखरी, गढ, किल्ला, नगरको इतिहास खोजबिन र त्यसको रेखदेखका लागि पुरातत्त्वमैत्री तरिका अवलम्बन गर्नु स्थानीय सरकारको कार्यभार हो ।
चन्द्रकिशोर

काठमाडौँ — उसो त सिमरौनगढको राजनीतिक परिचय अहिले एउटा नगरपालिकाको रूपमा हो । नेपालमा नवसंरचित अनेक नगरपालिका छन् । तर प्रदेश २ अन्तर्गत बारा जिल्लाको दक्षिणी सीमासंँग जोडिएको सिमरौनगढको परिचय यतिमा टुंगिंदैन ।

यस ठाउँको विगतलाई सम्झिँदै शोधकर्मीहरूले भन्ने गरेका छन्– सिमरौनगढ भक्तपुरभन्दा प्राचीन, कान्तिपुर नगरभन्दा सुन्दर र ललितपुरभन्दा पुरातात्त्विक देखिन्छ । कतिपयले गढहरूको महागढ सिमरौनगढ भनी भन्ने र लेख्ने गरेका छन् ।

गढ भन्नाले सामरिक दृष्टिकोणबाट बनाइएको सुरक्षित किल्ला भन्ने बुझिन्छ । भनिन्छ, अन्यत्रका किल्ला शैलदुर्ग, जलदुर्ग र वनदुर्गका रूपमा छन् भने सिमरौनगढमा सबै खाले दुर्ग निर्माण विधिको समिश्रण थियो । यो कुरा त्यो सिमरौनगढबारे भनिएको छ, जहाँ सन् १०९७ मा नान्यदेवले राजधानीको रूपमा स्थापित गरेका थिए । यो एउटा स्वतन्त्र राज्य थियो । सन् १३२६ मा गयासुद्दीन तुगलकको सेनाले आक्रमण गरी ध्वस्त पार्नुभन्दा पहिलासम्म यो वैभवशाली नगर थियो । वर्तमानमा यो एउटा विशाल पुरातात्त्विक स्थल हो । बेला–बेला यहाँ पुरातात्त्विक महत्त्वका सामग्री खनजोतमा भेटिन्छन् । त्यसैले आहान नै छन्, ‘यहाँ त शिला फल्छ ।’

Yamaha

सिमरौनगढको इतिहास उन्नत छ । तर वर्तमानले त्यसको छनक पाउन सकिरहेको छैन । राजधानी पतन भएपछि यो उन्नत सहर उपेक्षाको सिकार भइरह्यो । प्राचीन इतिहासको ज्युँदो प्रमाण सिमरौनगढ अहिलेसम्म लथालिङ्ग छरिएको छ । छरपस्टिएर बसेका यहाँका हरेक वस्तुले आफ्नो ऐतिहासिकताको परिचय दिइरहेका छन् । तर त्यसलाई सुन्ने र गम्ने कोही छैनन् । यो एउटा खुला संग्रहालयको रूपमा छ । तर सिमरौनगढको पुरातात्त्विक महत्त्वको उत्खनन र संरक्षणतिर केन्द्रीय वर्चस्वको सत्ताको ध्यान हिजोको दिनमा भएन । त्यसैले स्थानीयहरू यसलाई इतिहासको एउटा उपेक्षित खण्ड भनेर परिचय दिन्छन् ।

सिमरौनगढ आफ्नो बनोटले गर्दामात्र होइन, काठमाडांै उपत्यकासंँग समतलको सम्बन्ध स्थापित गर्ने सूत्रधार पनि हो । राजधानी पतनपश्चात पलायन भएर यहाँको कर्णाटक वंशीय शासक उपत्यका प्रवेशपश्चात त्यहाँको शासनमा पहुँच र प्रभावको सम्मिश्रण गराएका थिए । उत्तर भारतको संस्कृति तथा कलाको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने सिमरौनगढले नेपालको मध्यकालीन इतिहासमा विशेष महत्त्व राख्छ ।

नेपालको इतिहास लेखनमा सिमरौनगढबारे लेखिएन भने त्यो पूर्ण हुँदैन भनेर जति प्राज्ञिक मञ्चहरूमा अभिव्यक्त भए पनि सिमरौनगढबारे जति हुनुपर्ने थियो, त्यति हुन सकेन । मधेस जागरणपश्चात काठमाडौंसँंगको संघर्षमा सिमरौनगढको विरासत आफूसँंग रहेको खुब व्याख्या गरिन्छ र त्यो अतितलाई गर्वको रूपमा लिइन्छ पनि । मध्यकालीन सिमरौनगढले मध्यकालभन्दा अघिको एउटा लामो मानव अतितलाई आफूभित्र संरक्षित गरेको छ । प्राचीन मिथिला र बुद्धकालीन समयसँंग पनि यो क्षेत्रको साइनो रहेको बताइन्छ । सिमरौनगढको राजनीतिक इतिहासमा मात्र महत्त्व रहेन । कला, साहित्य, संस्कृति, मूर्तिकला, धार्मिक र सामाजिक समन्वय जस्ता पक्षबाट पनि विशिष्टता बोकेको विगत छ ।

यतिखेर स्थानीय सरकार यात्राको जति नै चर्चा गरे पनि कुनै निर्वाचित सरकारले आगामी सय वर्षको तस्बीर कोर्न चाहेका छैनन् र तिनको स्तरबाट त्यो सम्भव पनि छैन । तर यति भनेर सुख छैन ।

सिमरौनगढका वर्तमान निर्वाचित प्रतिनिधिहरू सिमरौनगढको पुन: आविष्कार गर्न जुर्मुराएको देखिन्छ, तर त्यो काफी छैन । आफ्नै थातथलोबारे स्थानीय सरकार क्रियाशील त हुनैपर्छ । तर ऊसंँग विद्यमान क्षमताले अपुग हुनसक्छ । यहाँ अरुकै अग्रसरता र सहयोगमा योजनाहरूको खोजी गर्नुभन्दा नगरपालिकाले आफ्नै सर्त र शैलीमा सञ्चालन गरे, त्यो त्यहीको आवश्यकता अनुरुपको एकीकृत प्रयत्नलाई गति दिन र दिगो बनाउन सक्छ ।

विगतमा केन्द्रीकृत शासन प्रणालीमा निहित केन्द्रीय अहंकार वा अधिनायकत्वको प्रवृत्तिले गर्दा सिमरौनगढका चोरीका मूर्तिहरू मगाउने काम भएनन् । अब स्थानीय सरकारले संकल्प गरेर ती विदेशिएका मूर्तिलाई थातथलोमै फर्काउने सुरुवात गर्नुपर्छ । तर यसका निम्ति स्थानीय सरकार आफ्नो नगरको पहिचानबारे बढी संवेदनशील र सुसूचित हुनुपर्छ । नेपालमा सिमरौनगढको उपस्थिति र भूमिका के कति महत्त्वपूर्ण र उल्लेखनीय छ भन्नेबारे ऊ आफै गौरवान्वित हुनुपर्छ ।

यस आलेखमा सिमरौनगढको सन्दर्भ उठान गरिए पनि पुरातात्त्विक महत्त्वका नगरहरूको उत्थानमा स्थानीय सरकार के कसरी जोडिन सक्छन् र तिनले आफ्नैबाट लिन सकिने प्रस्थानविन्दु के–के हुन सक्छन्, त्यसबारे विमर्शको थालनी गर्नु हो । मुलुक प्रादेशिक संरचनामा गइसके पनि संघीय राजधानी काठमाडौं उपत्यकाका पुरातात्त्विक सम्पदाहरूको रखरखावबारे जति नागरिक विमर्श हुन्छन्, त्यति अन्य ठाउँको भइरहेको छैन ।

आफ्नो नगरबारे कसरी राष्ट्रिय विमर्श चलाउन सकिन्छ, त्यो स्वयं स्थानीय सरकारले लिने रणनीतिमा भरपर्छ । यो भनेको स्थान विशेषबारे आफै गर्नुपर्छ र बढ्नुपर्छ भन्ने अवसर पनि हो ।

स्थानीय सरकारहरूले चाहेको प्रगति पर्यावरण मैत्री छ कि छैन ? उसले ल्याउन चाहेको परिवर्तन पद्धतिमार्फत हुन्छ कि पात्रको प्रमुखतामा ? केन्द्रीय वर्चस्वको जमानामा विगतमा ‘विकास’ शब्द खुब फलाकियो, जसले गर्दा अविकसित इलाका थुप्रै बढे । अब त्यही गोरेटोमा हिँडेर स्थानीय सरकारहरूले आफ्नो लोकमार्ग बनाउने होइन । आफ्नो गाउँघरको इतिहास खोज्ने, सम्भावना नियाल्ने र त्यसलाई वर्तमानको धरातलबाट अगाडि बढाउने र त्यसका निम्ति स्थानीय अनुभवलाई प्राथमिकता दिने हो ।

सिमरौनगढकै कुरा लिउँ, त्यहाँ प्राचीन पोखरीहरू प्रशस्त छन् । अहिले त्यो क्षेत्र तरकारी र माछा बजारको केन्द्र भएको छ । माछा खेतीका निम्ति ‘सुपर क्षेत्र’ घोषित गरिएपछि नयाँ पोखरीहरू त्यतिकै खनिँदैछन् । इँटाभट्टा उद्योग पनि यस क्षेत्रमा कम छैनन् । अहिले तरकारीमा विषादी प्रयोगका लागि गढ नै भएको छ । सिमान्त नगर भएकाले वारिपारिको मूल्यान्तर कारोबारको केन्द्र पनि भएको छ । वर्तमानको सिमरौनगढ विगतको विरासतलाई पनि जोडेर समग्र उन्नतिको सोच राख्छ भने उसले आफैभित्रका विसंगत पक्षहरूलाई सच्याउनैपर्छ ।

सिमरौनगढमा विगतमा पुरातात्त्विक महत्त्वका सम्पदाहरूको उपेक्षा शासकहरूबाट मात्रै होइन, स्थानीयबाट पनि हुँदै गरे । यही कारण हो, केही दशकसम्म देखिने वा उपलब्ध रहेका कतिपय महत्त्वपूर्ण अवशेष मासिएका छन्, अतिक्रमित भएका छन् । अब के गर्ने त ? स्थानीय सरकारले प्रदेश सरकारसँंग समन्वय गरेर पुरातात्त्विक क्षेत्रको सीमांकन गराउनुपर्‍यो, सार्वजनिक जग्गामाथिको अतिक्रमणलाई हटाउनुपर्‍यो, पुरातात्त्विक क्षेत्रमा जथाभावी कंक्रिट निर्माण कार्यलाई रोक्नुपर्‍यो, गाउँका घरदैलोमा रहेका पुरातात्त्विक सम्पदा संकलन गर्नुपर्‍यो र एउटा स्थानीय संग्रहालय बनाउनुपर्‍यो । यसमा संघीय सरकारको पनि सहजीकरण त्यतिकै चाहिन्छ । सिमरौनगढमा ग्रामीण पर्यटनको त्यतिकै सम्भावना छ । मधेसी गाउँको एउटा मौलिक पहिचान र आकर्षण आफूभित्र विकसित गर्नसक्यो भने यो नगर एउटा उत्कृष्ट ग्रामीण पर्यटकीय गन्तव्य बन्न सक्छ । काठमाडांैका संग्रहालयमा रहेका सिमरौनगढका मूर्तिहरू झिकाउनुपर्‍यो । तर त्योभन्दा पहिला यहाँ ल्याइएका मूर्तिहरू सुरक्षित राख्न स्थानीय सरकारले प्रशस्त गृहकार्य गर्नुपर्छ ।

इतिहास छ भनेर कोही बाहिरबाट आफै पैसा खन्याउन आउँदैन । तेस्रो पक्षलाई आकर्षित गर्ने तौरतरिका पनि विकसित गर्नुपर्छ । यसका लागि पहिलो सर्त हो, स्थानीय वासिन्दा सिमरौनगढको वैभवशाली अतितलाई फर्काउन संकल्पित र सहयोगी हुनु । यो पुरातात्त्विक ठाउँ भएको हुनाले यहाँ निर्माण गरिने संरचनाहरूबारे त्यस क्षेत्रका विज्ञहरूले नै बाटो देखाउन सक्छन् । स्थानीय सरकार आएपछि राम्रो पक्ष के हो भने उसले इतिहासलाई देखाएर वर्तमानलाई उँभो गराउन खोजेको छ । तराईकै अन्य पुरातात्त्विक महत्त्वका मन्दिर, पोखरी, गढ, किल्ला, नगरहरूको इतिहासको सही खोजबिन र त्यसको रखरखावका लागि पुरातत्त्व मैत्री तरिका अवलम्बन गर्नु स्थानीय सरकारको कार्यभार हो । हिजोसम्म केन्द्रतिर फर्केर आफ्ना समस्या तिनकै टाउकोमा राखियो । नयाँ स्थानीय तहको प्रस्तावना भनेको पछिल्लो परिशिष्टसंँग परिचित हुँदै आउने आन्तरिक सम्बन्ध सूत्रको स्थापनामा सघाउ पुर्‍याउनु हो ।

सिमरौनगढले आफैले आफैलाई सच्यायो भने यो थलो पर्यटकीय गन्तव्यको थलो बन्न सक्छ । तर कस्तो पर्यटक बोलाउने, ऊ यहाँ आएर के गर्न र हेर्न सक्छ, त्यसवारे पहिला स्थानीय सरकार र स्थानीय जनता आफै प्रस्ट हुनुपर्‍यो । एकछिन कल्पना गरौं, रसायनमुक्त तरकारी खेती होस्, पोखरी सफा र स्वच्छ होस्, माछाका साथसाथै कमलको फूलको खेती गरियोस्, पोखरी र पथको सौन्दर्यीकरण, पुरातात्त्विक सम्पदाहरूको वैज्ञानिक संरक्षण होस्, प्रशस्त आँप बगैंचा होस्, घर–आँगनहरूमा भोजपुरी संस्कृति झल्कियोस्, स्थानीय खानाको स्वाद पाइयोस्, पारम्परिक लोकसंगीत गुञ्जियोस्, अनि पो कोही यहाँ पुग्छन् । अर्थात नमुना मधेसी गाउँ बनाउन गुरुयोजना बनाइयोस् । यो काम एक दिनमा हुँदैन ।

तर अहिलेको स्थानीय सरकारले आफ्नो बाटोको पहिचान र त्यसप्रति त्यहाँको वासिन्दाको अपनत्व प्राप्त गर्न सकियो भने यो ठाउँ फेरि अगाडि आउन सक्छ । चार वर्ष पहिला सदरमुकाम कलैयासँंंग जोडिने बाटो पक्की होस् भनेर गरिएको संघर्षमा स्थानीय युवा जयनारायण पटेल मारिए । त्यो बाटो अझै त्यस्तै छ । स्थानीय सरकारले सिमरौनगढलाई पहिला पुरातात्त्विक नगर घोषित गरोस् । अनि विश्वका अन्य पुरातात्त्विक सहरलाई पुनर्निर्माण र संरक्षण कसरी गरिएको छ, त्यसलाई आफ्नो मार्गचित्र मानोस् । अहिलेको प्रतिस्पर्धाको चुनावी राजनीतिको जमानामा एउटा दीर्घकालीन महत्त्वको निर्णय लिन कहाँ सहज छ र ?

datelineterai@gmail.com

Esewa Pasal

प्रकाशित : जेष्ठ १०, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्

इटहरीमा गोलीसहित २ पक्राउ

इलाममा बन्दुक बरामद
कान्तिपुर संवाददाता

विराटनगर — सुनसरीको इटहरीबाट एसएलआर राइफलको गोलीसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

इटहरी उपमहानगरपालिका–२ पानीपियाका १९ वर्षीय प्रेम आचार्य र सन्देशकुमार सुन्दासलाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट गोली बरामद गरिएको छ ।

उता, इलामको माङसेबुङ गाउँपालिका–३ का गौतम भनिने शनिहाङ साँवाको घरबाट दुईवटा भरुवा बन्दुक बरामद भएको छ ।

प्रहरीले उनको घरमा छामा मारेर बन्दुक बरामद गरेको जनाएको छ । जबर्जस्ती करणी मुद्दाका प्रतिवादी साँवाको घरमा बन्दुक रहेको सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT