कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गहन सुधार र थप खुलापनतर्फ चीन

चीन अन्तर्राष्ट्रिय समुदायसँग खुलापन र आपसी हितका आधारमा सुधार तथा नवसिर्जनाद्वारा विकासका अवसरको सहउपयोग गर्न, बृहत् विकासको योजना तयार गर्न र सुन्दर भविष्य निर्माण गर्न इच्छुक छ ।
यु हाेङ

काठमाडौँ — चीनमा सुधार तथा खुलापन नीति प्रारम्भ भएको यो चालिसौं वर्ष हो । बितेका चालिस वर्षमा सुधार तथा खुलापन नीतिबाट चीनमा अकल्पनीय परिवर्तन भएको मात्र होइन, यसले सम्पूर्ण विश्वलाई पनि प्रभावित गरेको छ ।

गहन सुधार र थप खुलापनतर्फ चीन

सन् १९७८ मा चीनको अर्थतन्त्र सम्पूर्ण विश्व अर्थतन्त्रको १.८ प्रतिशतमात्र थियो । त्यसबेला चीन हेर्दा विशाल देखिए पनि निकै गरिब तथा पिछडिएको मुलुक थियो । त्यसै वर्ष (स्वर्गीय) तेङ सियाओफिङको नेतृत्वमा चीनमा सुधार तथा खुल्लापन नीतिको ऐतिहासिक प्रारम्भ भएको थियो । विगत चालिस वर्षमा चिनियाँ कम्युनिष्ट पार्टीको सही नेतृत्वमा चिनियाँ जनताले कठिन संघर्ष तथा अथक प्रयासद्वारा एकातिर स्वतन्त्रता तथा आत्मनिर्भरतामा जोड दिँंदै अर्कातिर खुल्लापन तथा सहकार्य र दुबै पक्षको हित हुने कुरालाई पनि विचार गरी चिनियाँ विशेषतायुक्त समाजवादी बाटोको सिर्जना गरेका थिए ।

सन् २०१७ मा चीनको अर्थतन्त्र सम्पूर्ण विश्व अर्थतन्त्रको १५ प्रतिशत पुगेको थियो । तुलनात्मक मूल्यका आधारमा गत चालिस वर्षमा चीनको राष्ट्रिय गार्हस्थ्य उत्पादनको औसत वृद्धिदर लगभग ९.५ प्रतिशत रहेको थियो । हाल चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र, सबैभन्दा ठूलो औद्योगिक देश, सबैभन्दा ठूलो व्यापारिक देश र विदेशी मुद्राको सञ्चय पनि सबैभन्दा बढी भएको देश बनेको छ । चिनियाँ जनताको जीवन पहिलेको स्रोतसाधन अभावको अवस्थाबाट हाल मध्यमस्तरीय सम्पन्नतातर्फ उन्मुख भइरहेको छ । संयुक्त राष्ट्र संघको वर्तमान मापदण्ड अनुसार चीनले ७० करोडभन्दा बढी जनताको सफलतापूर्वक गरिबी निवारण गरिसकेको छ, जुन संख्या उक्त अवधिमा विश्वमा गरिबी निवारण गरिएको जनसंख्याको ७० प्रतिशतभन्दा बढी थियो । चीनको समाजले पूर्ण बन्द अवस्थाबाट अर्ध–खुल्ला हँुदै सम्पूर्ण रूपमा खुल्ला बन्ने महान् सफलता हासिल गरेको छ । लामो समय यतादेखि विश्वको आर्थिक वृद्धिमा चीनको योगदान निरन्तर रूपमा ३० प्रतिशतभन्दा बढी रहँदै आएको छ । यसका साथै चीन विश्वको आर्थिक प्रगतिमा स्थिरता कायम गराउने अग्रगामी शक्तिका रूपमा पनि रहँदै आएको छ ।

चीनको सफलताको अनुभवले आधुनिकीकरणतर्फ लम्कने बाटो एउटैमात्र नभएको पुष्टि गरेको छ । गत चालिस वर्षमा चिनियाँ जनताले साहसपूर्वक आफ्ना पुराना कमी–कमजोरी हटाई नयाँ प्रयोगहरूद्वारा चिनियाँ विशेषतायुक्त समाजवादलाई निरन्तर रूपमा पूर्णता दिलाउनुका साथै विकासको क्रममा देखिएका नीतिगत तथा प्रक्रियागत बाधा–अडचनलाई निरन्तर हटाउँदै लगेका छन् । सुधार तथा खुल्लापन नीति भनेको चीनको दोस्रो क्रान्ति हो । चीनको सुधार तथा खुल्लापन नीति चिनियाँ जनताको विकास सम्बन्धी चाहना अनुकूलमात्र नभई विश्वका विभिन्न देशका जनताका विकास, सहयोग तथा शान्तिजस्ता वर्तमान युगका मागहरूसँग पनि अनुकूल छ । सुधार तथा खुल्लापन नीति सम्पूर्ण विश्वसँगै संयुक्त विकास तथा प्रगति हासिल गर्ने चीनको महान प्रयास पनि हो ।

हाल विश्वमा नयाँ चरणका विकास, सुधार तथा समायोजनका कार्यहरू भइरहेका छन् । ती कार्यमा अनिश्चित तथा अस्थिर कारक तत्त्वहरू धेरै छन् । त्यसैले पारस्परिक सम्पर्क तथा आदान–प्रदानको विस्तार गर्नु र मैत्रीपूर्ण विकासलाई छरितो बनाउनु नै विभिन्न मुलुकका लागि संयुक्त विकास गर्ने एकमात्र विकल्प बनेको छ । हामीले शीतयुद्धको सोचाइ र शून्य प्रतिफलको प्रयास त्यागी शान्तिपूर्ण विकास र आपसी सहयोगद्वारा दुबै पक्षको हितलाई अधिकतम बनाउने प्रयास गर्नुपर्छ ।

‘बेल्ट र रोड’ प्रस्ताव चीनले प्रत्यक्ष विदेशी लगानी भित्र्याउने तथा विश्व व्यापार संगठनको सदस्य बने उप्रान्त फेरि एकपटक सक्रियताका साथ चालेको खुलापन नीतिको एक कदम हो । यो सम्पूर्ण विश्वसँग एकाकार हुनका लागि चीनले गरेको एउटा नयाँ प्रयास पनि हो । यसको विगत चालिस वर्षदेखि साझा विकासका लागि विश्वसँगै संयुक्त रूपमा चीनले गरेको प्रयाससँग पनि घनिष्ठ सम्बन्ध छ । ‘बेल्ट र रोड’ प्रस्ताव आपसी छलफल, संयुक्त निर्माण तथा सहउपभोग गर्ने सुनौलो प्रस्ताव हो । साथै यो एक खुल्ला, समावेशीकरण र सहयोगको मञ्च पनि हो ।

यसले बजार प्रणाली तथा बजारका नियमहरूको पालना गरी अन्तर्राष्ट्रिय नियम अनुसार काम गर्छ । ‘बेल्ट र रोड’ प्रस्तावमार्फत चीन विभिन्न देशको राष्ट्रिय नीति, आधारभूत संरचना, व्यापार, वित्तीय र जनता बीचको आपसी सम्पर्क बढाई आपसी समर्थन तथा प्रबद्र्धनमा आधारित विकासलाई साकार बनाई विश्व शान्तिको अझ राम्रो जगेर्ना, विश्व खुला अर्थतन्त्रको विकासलाई अघि बढाउनुका साथै विश्वव्यापीकरणलाई अझ खुला, समावेशी, उपकारी, सन्तुलित तथा आपसी हितको दिशामा अघि बढाउँदै संयुक्त दायित्व बहन र लाभको सह–उपभोगद्वारा साझा भाग्ययुक्त मानव समुदायको सिर्जना गर्ने आशा गर्छ ।

गतवर्ष अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं महाधिवेशनमा चीनको ऐतिहासिक अवस्थाबारे महत्त्वपूर्ण निर्णय गरिएको छ । चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको छ । सन् २०२० सम्ममा चीनले चौतर्फी रूपमा मध्यमस्तरीय सम्पन्न समाजको निर्माणमा पूर्णता प्राप्त गर्नेछ । यसै क्रममा चीनका अगाडि ठूला जोखिमहरूबाट बच्ने, तीन करोड जनताको गरिबी निवारण तथा वातावरण प्रदूषण नियन्त्रणका तीन ठूला चुनौती छन् । त्यसैगरी सन् २०३५ सम्ममा चीनले समाजवादी आधुनिकीकरण आधारभूत रूपमा पूरा गर्ने भएको छ । र यस शताब्दीको मध्यमा चीन एक समृद्ध, प्रजातान्त्रिक, सभ्य, मेलमिलापयुक्त र सुन्दर समाजवादी आधुनिक शक्तिशाली देश बन्नेछ ।

चीन अझै पनि कठिनतापूर्वक मिहेनत गरिरहेको एउटा विकासोन्मुख मुलुक हो । आफ्नै सुधार तथा विकासको कठिन कार्यभार पनि बाँकी नै छ । राष्ट्रिय आधुनिकीकरणको लक्ष्यलाई साकार तुल्याउन अझै लामो बाटो हिँड्न बाँकी छ । विश्व बैंकको तथ्याङ्क अनुसार सन् २०१६ मा चिनियाँको औसत प्रतिव्यक्ति राष्ट्रिय गार्हस्थ उत्पादन ८,१२३ अमेरिकी डलर थियो, जुन विश्वको औसत स्तर अर्थात् १०,१९० अमेरिकी डलरको करिब ८० प्रतिशतमात्र थियो भने संयुक्त राज्य अमेरिकाको १/७ मात्र थियो, चीन अहिले विश्वको ६८ औं स्थानमा पर्छ ।

लगानीको परिमाणबाट हेर्ने हो भने हाल आधारभूत संरचनामा चिनियाँको प्रतिव्यक्ति लगानी पुँजीको परिमाण विकसित मुलुकहरूको २०–३० प्रतिशतमात्र छ । चीनका पश्चिमी प्रान्तहरू र केही पिछडिएका ठाउँमा यातायात, सञ्चार तथा जलविद्युत आदि आधारभूत संरचनाको निर्माण निकै कममात्र भएको छ । सन् २०१६ मा चिनियाँको प्रतिव्यक्ति व्यय २,५०६ अमेरिकी डलर थियो, जुन विश्वको औसत स्तर अर्थात् ५,९१३ अमेरिकी डलरको आधा पनि पुगेको थिएन भने संयुक्त राज्य अमेरिकाको ७ प्रतिशतमात्र रहेको थियो । चीनको आर्थिक संरचनामा ठूलो परिवर्तन भए पनि व्यावसायिक संरचना र रोजगारी संरचनामा अझ विकास गर्नु जरुरी छ । नवसिर्जनाबाट विकासलाई अघि बढाउने प्रणाली अझ तयार भएको छैन । सहर तथा गाउँबीच, विभिन्न क्षेत्रहरूबीच र समाजका विभिन्न तह बीचको असन्तुलित विकास एउटा ठूलो समस्या बनेको छ । अपर्याप्त विकास पनि तुरुन्तै समाधान गर्नुपर्ने समस्याको रूपमा रहेको छ ।

चीनले आफ्नो शक्ति एकीकृत गरी देशको विकास गर्नुपर्छ, आफ्नो विकास लक्ष्यलाई साकार तुल्याउनुपर्छ । यसका साथसाथै चीनले आफ्नो विकासबाट विश्वमा पर्ने प्रभाव र विकासोन्मुख मुलुकका हैसियतले आफूले बेहोर्नुपर्ने जिम्मेवारीबारे स्पष्ट रूपमा बुझेको छ ।

आगामी दिनमा चीनले उच्च गुणस्तरको विकासको लक्ष्यलाई साकार तुल्याउनेछ, जसका लागि चीनले आफूलाई अझ खुल्ला बनाउँदै लैजानेछ । पोआउ एसिया फोरम २०१८ वार्षिक सम्मेलनमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सुधार तथा खुलापन नीति चीनले विकासको आवश्यकता अनुसार गरिएको रणनीतिक छनोट भएको बताउँदै यसबाट आर्थिक विश्वव्यापीकरणलाई टेवा पुग्ने र सम्पूर्ण विश्वका जनतालाई कल्याण हुने कुरामा जोड दिनुभएको थियो । सो अवसरमा राष्ट्राध्यक्ष सीले केही महत्त्वपूर्ण कदमबारे घोषणा गर्नुभएको थियो, ती कदमहरू यी हुन्– बजार प्रवेशको सहजीकरण, बैंक, सेयर–स्टक र बिमा क्षेत्रमा विदेशी लगानीको सेयर नियन्त्रणलाई कम गर्ने, बिमा व्यवसायलाई अझ खुला बनाउने, उत्पादन व्यवसायको सेयर नियन्त्रणलाई कम गर्ने, अन्तर्राष्ट्रिय व्यापारको नियमसँग चीनलाई जोड्ने, पारदर्शिता बढाउने, उत्पादन सर्वाधिकारको संरक्षणलाई अझ बढी महत्त्व दिने, वर्तमान सरकारी निकायहरूमा ठूलो मात्रामा पुनर्गठन गर्ने, कार्यप्रणाली र व्यवस्थामा रहेका बाधा–अड्चन हटाउने, लगानीका लागि आकर्षक वातावरण सिर्जना गर्ने, बौद्धिक अधिकार संरक्षणलाई मजबुत बनाउने, आयातलाई विस्तार गर्ने । यस वर्षको नोभेम्बरमा चीनको शाङहाई सहरमा चीनको पहिलो अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजना गरिने भएको छ । चीनको विकास विश्वबाट अलग्गिन सक्दैन भने विश्वको विकास पनि चीनलाई अलग्याएर हुन सक्दैन ।

नेपालको नयाँ सरकारको सम्पूर्ण ध्यान विकास तथा निर्माणमा केन्द्रित छ । नेपालको देश निर्माणको नयाँ अवसर पनि आउँदैछ । चीन र नेपालले अहिलेको यस उचित अवसरलाई सदुपयोग गरी दूरदर्शिता अपनाई नीतिगत पक्षमा आपसी छलफललाई बढाउनुपर्छ । विकासको रणनीतिलाई एकाकार गर्दै लगानी तथा पुँजी संकलनका सम्बन्धमा विभिन्न किसिमका मोडालिटी अपनाउनुपर्छ । यसका साथै दुवै पक्षले पारस्परिक सम्पर्क तथा सहकार्यलाई मजबुत पारी व्यापार, पर्यटन, ऊर्जा–स्रोत र मानवीय सांस्कृतिक आदि क्षेत्रको सहकार्यलाई सक्रियताका साथ अघि बढाएर ‘चीन–नेपाल साझा भाग्ययुक्त समुदाय’ निर्माण गर्नुपर्छ । चीन अन्तर्राष्ट्रिय समुदायसँग खुल्लापन तथा आपसी हितको आधारमा सुधार तथा नवसिर्जनाद्वारा विकासका अवसरको सहउपयोग गर्न, बृहत् विकासको योजना तयार गर्न र सुन्दर भविष्य निर्माण गर्न इच्छुक छ ।

यू नेपालका लागि चिनियाँ राजदूत हुन् ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?