तेस्रो ‘स’

सिउँडी
अम्लेटको एक ठूलो टुक्रा मुखमा हाले । अनि एउटा लयमा मुख चलाएर भने, ‘हेर्नाेस्, अहिले हामी तीन ‘स’को नीतिमा सावधानीका साथ चलिरहेका छौं ।’
विमल निभा

काठमाडौँ — कमरेड नेकपा अन्डरलाइनको केन्द्रीय सदस्य भएकोमा मलाई खुसी नै लाग्यो । यो उनको कम्युनिष्ट जीवनको अन्डरग्राउन्डदेखि अन्डरलाइनसम्मको सफल यात्रा थियो । र थप खुसीको कुरो के भने कमरेड नेपाल सरकारको एक शक्तिशाली मन्त्रीको सल्लाहकार पनि भएका थिए । अत: एक शुभचिन्तकको नाताले उनलाई तगडा बधाई दिन हिंँडेँ म ।

‘लालसलाम कमरेड ।’ मेरो चालु अभिवादन प्रत्युत्तरहीन भएकोले मैले दोहोर्‍याएर भन्नुपर्ने भयो, ‘लालसलाम कमरेड ।’

‘लालसलाम–फालसलाम छाड्नोस् ।’ उनले मलाई भने, ‘भन्नोस् के काम छ ?’
‘म कुनै कामले आएको होइन कमरेड ।’ मैले भनेंँ, ‘म त यसो भेट्न भनी
आएको हुँ ।’

Yamaha

‘त्यसै भेट्न आउनुभएको हो तपाई ?’
‘हो, म भेटघाट गर्न आएको हुँ कमरेड ।’
‘यहाँ सबै कामका लागि आउँछन् ।’ कमरेडको स्वरमा रुष्टता थियो, ‘तपाई त्यसै बेकाम किन आउनुभएको हो ?’

‘के म त्यसै आउनु हुँदैन कमरेड ?’ म पनि थोरै क्रोधमा आएको थिएँ ।
‘ल, आइहाल्नुभयो भने बस्नोस् ।’ उनले छेउको सोफातिर देखाएर भने, ‘भन्नोस्, के काम छ ?’
‘मैले भनिहालँें नि, म कुनै कामले आएको होइन कमरेड ।’
‘ए, भुसुक्कै बिर्सेछु ।’ उनले मेरो आँखामा हेरेर भने, ‘के साँच्चिकै कुनै
काम छैन ?’

कमरेडको कामप्रतिको यस्तो भक्तिभाव देखेर म दंग परेको थिएँ । के हाम्रा कमरेडहरू यतिका भीषण कामकाजी भइसके त ? यो त राम्रो हो । वास्तवमा मेरो भने कुनै काम थिएन । अब के काम भनु म ? तैपनि कमरेडको ‘कर्मनिष्ठा’लाई साथ दिन कुनै कामजस्तो त निकाल्नैपर्‍यो । यही विचार गरेर मैले भनेंँ, ‘म एक पुरानो पत्रकार भएकोले एउटा ताजा इन्टरभ्यु किन नलिने कमरेडको ?’
‘ए, तपाईको पत्रकारिता जारी छ ?’ कमरेड मुस्कुराए ।
‘जारी त छैन, तर चटक्कै बिर्सेको पनि छैन मैले कमरेड ।’

कुनै बेला हामी पार्टीको अखबारमा सँगै काम गथ्र्याैं । कमरेड भूमिगत पार्टीबाट इन्चार्ज भएर आएका थिए । म अखबारमा समाचार आदि लेख्ने एक खुला कामदार । (म विगतमा पुगेको थिएँ) । एकाएक कमरेडले कराएर कसैलाई केही ल्याउन अह्राए । बिहानको रेडिमेड खाजा वटर टोस्ट, डबल अम्लेट र मिल्क कफी आइसकेपछि मतिर हेरेर भने कमरेडले, ‘खाजासँगै इन्टरभ्यु लिए हुँदैन ?’
‘यो त झन् खासा भयो कमरेड ।’

‘त्यसो भए सोध्नोस्, के सोध्नुछ ?’ उनले तातो टोस्टमा फुर्तीसाथ हात लगे, ‘एउटा कुराचाहिँं याद रहोस् ।’
‘के कमरेड ?’

‘कुनै राजनीतिक प्रश्न नगर्नु होला मसँग ।’
‘किन कमरेड ?’ मैले अचम्म मान्दै भनँें, ‘एक राजनीतिको व्यक्तिसँग राजनीतिक कुरो किन नगर्ने ?’
‘हामी राजनीतिभन्दा धेरै माथि उठिसकेका छौं ।’ उनले परम सन्तुष्ट शैलीमा भने, ‘अब तपाई मसँग कामको कुरा मात्र गर्नाेस् ।’
‘सबभन्दा पहिले नेकपाको केन्द्रीय सदस्य भएकोमा बधाई छ, कमरेड ।’
‘धन्यवाद ।’

‘अनि मन्त्रीज्यूको सल्लाहकार नियुक्त हुनुभएकोमा अर्काे बधाई छ ।’
‘फेरि पनि धन्यवाद ।’ कमरेडको ओठको मुस्कान गाढा भयो ।
अब मलाई के भनुँ के भनुँ भयो । तथापि केही न केही त इन्टरभ्युका लागि कमरेडसँग सोध्नु नै थियो । तर के सोध्ने ? त्यसैले फ्याट्टै भनेँ, ‘के सोधँु
म कमरेड ?’

‘तपाई मसँग हाम्रो कामको विषयमा सोध्न सक्नुहुन्छ ।’ कमरेड मेरो असमञ्जसलाई ध्यानले नियालिरहेका थिए, ‘म एक सल्लाहकार भएर सरकारी कामकाजसँग पुरै जोडिएको छु ।’
‘ठिक छ कमरेड ।’ मैले भनेंँ, ‘तपाईहरूका सरकारी कामकाजको मूल नीति के हो ?’
मेरो प्रश्न सुनेर कमरेड एक्कासी गम्भीर भए । त्यसपछि अम्लेटको एक ठूलो टुक्रा काँटाले टिपेर मुखमा हाले । अनि एउटा लयमा मुख चलाएर भने, ‘हेर्नाेस्, अहिले हामी तीन ‘स’को नीतिमा सावधानीका साथ चलिरहेका छौं ।
‘कस्तो तीन स कमरेड ?’ मैले
तुरुन्तै सोधेंँ ।

‘एउटा स हो, समृद्धि र अर्काे समाजवाद ।’ कमरेडले जोशपूर्वक एक हातको मुठी उचालेर भने, ‘हामी समृद्धिबाट समाजवादमा जानेछौं ।’
‘समृद्धि र समाजवाद ?’
‘हो, समृद्धि र समाजवाद ।’
‘अनि तेस्रो स के हो त कमरेड ?’
मैले भनेँ, ‘कमरेडले दुईवटा स– मात्र भन्नुभयो मलाई ।’

कमरेड कप उचालेर कफीको चुस्की लिन थाले । केही भन्ने प्रयास गरेनन् उनले । कमरेडको अनुहारमा चिन्ताको भाव थियो । यो चिन्तन पनि हुनसक्थ्यो । मैले झ्वाट्टै कुनै अनुमान लगाउन सकिन । त्यसैले उनको अनुहारमा आँखा गडाएर भनँें, ‘के जवाफ दिन मिल्दैन कमरेड ?’
‘मिल्न त मिल्छ ।’ उनले पनि मतिर हेरेर भने, ‘तर यो अलि गोप्य खालको कुरो भएकोले के भन्ने ?’
‘म त कमरेडको पुरानो परिचित ।’ मैले जोड दिएर भनेँ, ‘मसँग के लुकाउने कमरेड ?’
‘लुकाउने कुरो होइन ।’ उनले सुस्तरी भने, ‘तर यसलाई कतै पनि छाप्नुचाहिँं नछाप्नु होला नि †’
‘हुन्छ कमरेड, भन्नोस् ।’

‘मेरो ससुरो सरकारी जागिरबाट रिटायर भइसक्नुभएको छ । उहाँलाई कुनै राम्रो ठाउँमा लगाउनैपर्‍यो । हङकङमा रहेको जेठानको एक्सपोर्ट–इम्पोर्टको बिजनेस छ । अहिले बैंक ठगीको एक केसमा फँस्नु भएकोले उहाँलाई मैले सहयोग नगरी भएन । मेरो सालोको आईएनजीओको काम छ । त्यसलाई अघि बढाउन कसरी मद्दत नगर्ने मैले ? यस्तै साली डाक्टरी पढ्न युएएस जान चाहन्छे । त्यसको पुरै बन्दोबस्त त मिलाउनैपर्‍यो नि !’ उनले एक सासमा भने, ‘अनि सासुको बोर्डिङ स्कुल त्यति राम्ररी चलिरहेको छैन । त्यसको लागि पनि केही न केही गर्नुपरेन त ?’

‘होइन, यो के भनिरहनुभएको हो कमरेड ?’ उनको कुरा सुनेर म अलमलिएको थिएँ, ‘यो सासु–ससुराको
के कुरो हो ?’

‘यही त तेस्रो स हो ।’ उनले विस्तारै भने, ‘तपाईले मसँग तेस्रो सबारे सोध्नुभएको होइन ?’ केही चर्काे भयो आवाज, ‘म आफूलाई नै उदाहरण बनाएर भनिरहेको छु ।’ कमरेडले अन्त्यमा शान्त स्वरमा भने, ‘ससुरालीको स ।’

प्रकाशित : जेष्ठ १२, २०७५ ०७:५२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एब्सट्रेक्ट सोसियोलिजम

सिउँडी
‘समाजवादलाई अमूर्त शैलीमा अभिव्यक्त गर्न खोजेको हुँ मैले ।’ यो पेन्टिङको मूल शीर्षक नै ‘समाजवाद’ हो । एब्सट्रेक्ट सोसियोलिजम ।
विमल निभा

काठमाडौँ — अमूर्त कला प्रदर्शन कक्षमा एक मन्त्री, दुई पुलिस म्यान र केही दर्शकहरूका मूर्त उपस्थिति थियो । सबै कला अवलोकन कार्यमा व्यस्त थिए । सम्पूर्ण वातावरण नै एउटा गहकिलो ह्यान्डस्केपमा परिणत भएको थियो ।

रातो, निलो, कालो, हरियो, सेतो इत्यादि (र कलाकार जस्तै सबै) । एकाएक मन्त्रीज्यू एउटा ठूलो साइजको पेन्टिङनेर टक्क अडिए । र अत्यन्त भावगम्भीर मुद्रामा नियाल्न थाले । त्यसकारण अरुहरूका ध्यान पनि त्यस दिशातर्फ एकत्रित भयो ।

‘यो के हो ?’ मन्त्री उवाच् ।
‘यो मेरो पेन्टिङ हो, हजुर ।’ एक फ्रेन्चकट दाह्री अघि बढेर मन्त्रीसमिप उभियो ।
‘ए, पेन्टिङ..... ।’
‘हो, मेरो नयाँ पेन्टिङ हो, हजुर ।’
‘केही बुझिएन त, रेखाहरू केरमेर–केरमेर र रंग जथाभावी पोतिएको ।’ मन्त्रीले आफ्नो चिउँडोमा हात लगे, ‘कस्तो पेन्टिङ हो यो ?’
‘हजुर, यो एब्सट्रेक्ट आर्ट हो । यसलाई अनुभूत गर्न कलर, लाइन, फर्म र पर्सपेक्टिभमा समग्र दृष्टि दिनुपर्छ । अन्यथा बुझ्न सम्भव छैन ।’ अमूर्त कलाकार विन्ती भावमा निहँुरिएर बुझाउन थाले, ‘एब्सट्रेक्ट आर्ट यस्तै
हुन्छ, हजुर ।’

‘हुँ, एब्सट्रेक्ट आर्ट ।’
‘हजुर, एब्सट्रेक्ट आर्ट ।’
‘के बनाउन खोज्नुभएको हो, तपाईले ?’ मन्त्रीको आँखा कलाकारको अनुहारमा खोपियो, ‘के हो यो ?’
यो सुनेर कलाकारको अनुहार खुम्चियो । केही बेरको मौनता । त्यसपछि आफ्नो व्याख्या प्रस्तुत गर्न उनले मुख खोले । र दाह्री हल्लाएर भने, ‘हजुर, समाजवादलाई अमूर्त शैलीमा अभिव्यक्त गर्न खोजेको हुँ मैले । यो पेन्टिङको मूल शीर्षक नै ‘समाजवाद’ हो । एब्सट्ेरक्ट सोसियोलिजम । यसको थिम अलिकति पोलिटिकल छ । समाजवाद कलाको माध्यम हुनसक्छ । अमूर्त कलाको माध्यम । यो मैले प्रमाणित गर्न खोजेको हुँ हजुर ।’

‘हु, एब्सट्रेक्ट सोसियोलिजम....।’
‘हजुर, एब्सट्रेक्ट सोसियोलिजम ।’
‘यो खतरा सूचक खप्पर र असन बजारको हुलजस्तो के हो नि ?’ मन्त्रीज्यू गहिरिएर पेन्टिङ हेर्न थाले, ‘यताबाट चारखुट्टे कुर्सी देखिन्छ र अर्काे कोणबाट कुनै किङ कोबराको उत्तेजित फणा । कस्तो समाजवाद बनाउनुभएको हो, तपाईले हँ ?’
‘हजुर....।’
‘मलाई त एकदमै मेरो चित्रझैं लाग्यो हजुर ।’ मन्त्रीसँगै एटेन्सन मुद्रामा उभिएको पुलिस म्यानले कलाकारको कुरा काटेर भने, ‘के हतियार बोकेको हवल्दार होइन र ?’
‘होइन, होइन ।’

‘अहिले यो कुनै नयाँ दरबारजस्तो पो देखियो त, तर गहिरिएर हेर्दा हाम्रो छिमेकी भारतको नक्साजस्तो पनि लागिरहेछ मलाई, के हो यो ?’ मन्त्रीज्यूको प्रश्नमाथि प्रश्न जारी थियो, ‘कहिले बगिरहेका कोशी, गण्डकी र महाकाली पनि देखापर्छ भने कहिले अमेरिकी नासाबाट प्रक्षेपित कुनै उपग्रह, हँ, कस्तो खाले समाजवाद हो यो ?’
‘यो समाजवाद होइन ।’ पुलिस म्यानले फेरि मुख खोलेर टिप्पणी गरे, ‘यो कुनै अर्कै चीन हो, हजुर ।’

‘अब भने कलाकार गम्भीर बने । र निधारमा तीन धर्साे पारेर पुलिस म्यानतिर हेर्न थाले । त्यसपछि तुरुन्तै मन्त्रीतर्फ फर्केर भने, ‘हजुर, यो समाजवादको विलकुलै एब्सट्रेक्ट रूप हो । हाम्रो समाजवादको जुन मोडल अस्तित्वमा छ, त्यसलाई क्यानभासमा उतार्ने भरसक्य प्रयत्न हो मेरो । यसलाई टेक्निकल टर्ममा एब्सट्रेक्ट एक्सप्रेसिनिजम भनिन्छ । अर्थात् अमूर्त अभिव्यञ्जनावाद । हामीकहाँ समाजवाद जुन स्टेजमा छ, त्यसको प्रतिनिधित्व गर्न चाहेको हो, पेन्टिङले ।’

‘यसको प्रदर्शन विदेशमा पनि भइसकेको छ, हजुर । बेलायत, अमेरिका, जर्मन, जापान, इजरायल, भारत । विदेशीहरूले मेरो यो पेन्टिङलाई अति नै मनपराए । सबैले यसलाई खरिद गर्न चाहेका छन् । विशेष गरेर संयुक्त राज्य अमेरिकाको रुचि रहेको छ । एब्सट्ेरक्ट सोसियोलिजमका लागि जति पनि डलर तिर्न अमेरिकीहरू तयार छन् । ह्वाइट हाउसमा यो पेन्टिङ झुन्ड्याउँदा खुब सुहाउँछ रे †’ मन्त्रीज्यूलाई मौन मुद्रामा पाएर अमूर्त कलाकारले जोशका साथ थपे, ‘सबै यो पेन्टिङ किन्न चाहन्छन् हजुर ।’

‘अनि किन बिक्री गर्नुभएन त पेन्टिङ ?’ मन्त्रीज्यूले आश्चर्यका साथ प्रश्न गरे, ‘कति मूल्य हो, यसको ?’

‘प्राविधिक कठिनाइ आइपर्‍यो हजुर ।’
‘कस्तो प्राविधिक कठिनाइ ?’

‘हजुर, अमेरिकीहरू भन्छन्, यो पोलिटिकल पेन्टिङ भएकोले तिमीहरूका वर्तमान सरकारको पनि पूराका पूरा स्वीकृति चाहिन्छ । त्यसै खरिद गर्न मिल्दैन । (एकछिनपछि) तिमीहरूका सरकारले स्वीकार गरे हाम्रो राजदूतावास मार्फत पठाइदिनु । र पेमेन्ट चाहिंँ त्यहींबाट लिए पनि हुन्छ । पहिले नै एडभान्स लिन सकिन्छ । तर मुख्य कुरा सरकारी स्वीकृति नै हो । यही समस्याले गर्दा हजुरलाई यहाँ आमन्त्रित गरेको हुँ । यसमा सक्दो सहयोग गरिदिनुपर्‍यो, हजुर । मैले सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि सादर विन्ती चढाएको थिएँ । कुन्नि, किन पाल्नुभएन † ‘फ्रेन्चकट दाह्रीवाल अमूर्त कलाकार नब्बे डिग्री कोणमा निहुरिए । यो लचिलो मेरुदण्डको प्रत्यक्ष प्रमाण थियो । अर्थात् कलाकार अमूर्त कलाका साथै व्यायम कलामा पनि पारंगत भएकोमा कुनै शंका थिएन ।

प्रकाशित : जेष्ठ ५, २०७५ ०७:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT