२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

स्वास्थ्यलाभको कामना

पेसागत दक्षतामा अब्बल वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाका योगदानप्रति हार्दिक आभार व्यक्त गर्छु । जसरी आशा मारिसकेका धेरै बिरामीलाई तिमीले खुसी बनाउन सफल भयौ, लाखौं–करोडौंको शुभकामनाले तिमी जाग्नुपर्छ, देशलाई तिम्रो नितान्त खाँचो छ, प्रिय भाइ ।

काठमाडौँ — डा.उपेन्द्र देवकोटा अहिले आफैले निर्माण गरेको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत छन् । करिब ६ महिनाअघि उपचारका लागि लन्डन गएको सुन्दा हामी आफन्तजन, उनलाई चिन्ने–जान्ने, उनले सेवा पुर्‍याएका मात्र नभई समस्त नेपालीलाई उनी तन्दुरुस्त भएर फर्कन्छन् र पहिलेस्तै आम नेपालीको सेवामा जुट्नेछन् भन्ने आशा लागेको थियो ।

स्वास्थ्यलाभको कामना

त्यसैका लागि सबैले उनले चाँडै स्वास्थ्यलाभ गरुन् भन्ने कामना गर्दै थियौं । ५/६ महिना बेलायत रहँदासम्म उनलाई कुन रोग लागेको हो, सीमित व्यक्तिलाई बाहेक अरूलाई थाहा थिएन । हल्ला अनेक थिए, हल्लामा विश्वास गर्न सकिएन । आजकल उनी आफैले आफ्नो रोगबारे खुलेर बताउँदैछन् ।

आफूलाई लागेको क्यान्सर रोग कहीं गए पनि निको नहुने ठहर गर्दै शेष जिन्दगी आफ्नै देश, आफ्नै परिवेश र आफ्नै शुभचिन्तकहरूका साथ बिताउने उद्देश्य लिएर फर्किएको कुरा स्पष्ट पारेका छन् । डा. देवकोटा मेरा भाइ हुन् । उनी र म एकै स्कुलमा अध्ययन गरेका हौं । उमेरले उनी मभन्दा ४ वर्ष कान्छा छन् र पनि अमरज्योति जनता हाइस्कुल लुइँटेलमा पढ्दा उनी मभन्दा लगत्तै पछिल्लो ब्याचका एक होनहार विद्यार्थी थिए । अर्का त्यस्तै होनहार विद्यार्थी थिए– नयाँ शक्तिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई । २०२६ सालको एसएलसीमा बाबुराम बोर्ड फस्ट र उपेन्द्र बोर्ड टेन्थ भएका कारण नै तत्कालको गोरखाजस्तो विकट पहाडी जिल्लाको लुइँटेलजस्तो खोंँचमा अवस्थित अमरज्योति जनता हाइस्कुलको नाम एक्कासी देशभर प्रकाशमा आएको थियो । वास्तवमा यी दुई होनहार व्यक्ति आजपर्यन्त आफूले अङ्गिकार गरेका क्षेत्रमा अद्वितीय स्थान कायम राख्न सफल छन् ।

‘हुने बिरुवाको चिल्ला पात’ भनेझैं उपेन्द्र सानैदेखि तीक्ष्ण स्वभावका, विवेकशील र तर्कशील व्यक्ति थिए । स्कुलमा पढ्दा मिहेनत कम गरेर पनि सधैं उच्चस्थान हासिल गर्थे । दिनभरि खटेर खेतमा आली खन्ने र आली लगाउने जस्ता काम सकेर बेलुका घर फर्कंदा पनि उही फुर्ती उही हँंसिलोपनमा देखिन्थे । उनको हिँंडाइ र बोलाइमा दिनभरको थकाइको कतै केही आभाष देखिँंदैनथ्यो ।

खेलकुद र मनोरञ्जनमा उनको आशक्ति बिछट्टकै देखिन्छ । परिवारका सदस्यका झुत्राझाम्रा टाला बटुलेर भकुन्डो बनाउँदै घर–आँगन छेउको तगरालाई जाली बनाएर उपलब्ध भए साथीभाइसंँग, कोही नभए एक्लै पनि दिनभरि भलिबल खेल्ने गर्थे । उनको यही लगनशील र जबर्जस्त स्वभाव चिकित्सक पेसामा संलग्न हुँदा पनि अवछिन्न रूपमा देखिन्थ्यो । प्राय: हरेक दिनरातको १२/१ बजेसम्म अपरेसनमा खटिरहन सक्थे । यसरी निरन्तर खटिरहने बानी देखेर म ताजुब हुने गर्थें र बेलाबेला भन्ने गर्थें, ‘भाइ म त ८ बजे सुत्छु, तिमी त हरेक दिन म सुतेपछि ३/४ जनाको अपरेसन गर्न भ्याउँदा रहेछौ ।’ जवाफमा उनी भन्थे, ‘जे गर्दा पनि भित्तो छेडेर काम गर्नुपर्छ, दिदी ।’ अत्यन्त दत्तचित्तसाथ काम फत्ते गर्नुपर्छ भन्ने उनको मान्यता थियो । डाक्टर बन्नु, न्युरो सर्जन बन्नु, अस्पताल खोल्नु, दिनरात अपरेसनमा जुट्नु जस्ता हरेक कार्य साँच्चै उनको भित्तो छेडाइका कार्य थिए । हुन पनि कम मिहिनेत, आलेटाले प्रवृत्तिमा रमाउने भए उनी उच्चकोटीको चिकित्सक बन्ने थिएनन् ।

आफ्नो देश, आफ्नो गाउँ, आफ्नो स्कुल, आफ्नो परिवेशसँग विशेषै खालको लगाव देखाउँछन्, डा. उपेन्द्र । फुर्सद भयो कि आफ्नो गाउँ पुगिहाल्ने, आफूलाई भेट्न आएका विदेशी पाहुना साथीहरूलाई पनि लिगलिग र गोरखातिर डुलाउन लगिहाल्छन् । वास्तवमा यसै प्रकारको आशक्तिले उनलाई नेपाल ल्यायो भन्दा कुनै अर्घेल्याइँ हुँदैन ।

नत्रभने विश्वव्यापीकरणको यो युगमा उनीजस्तै डाक्टरहरू सकिनसकी विदेश पलायन भएका छन् भने बेलायत लगायत विश्वका कुनै पनि विकसित मुलुकमा प्रतिष्ठित काम र यथेष्ट आर्जन गर्नसक्ने सम्भावनालाई त्यागेर जे गरे पनि आफ्नै देशमा देन दिनेछु भन्ने पवित्र हेतु र प्रबल अठोटसाथ नेपाल फर्किएका थिए । जुन उद्देश्यले फर्किएका थिए, त्यो गरेर देखाएका पनि छन् । यसै पटकको उपचारका क्रमको कुरा गर्दा पनि बेलायतको उपचार र थोरै नै सही स्वास्थ्य सुधारका सम्भावनालाई नकार्दै उनी आफ्नै देश र बन्धुबान्धवसँंग समय बिताउने रहरले नेपाल आएका छन् । नेपाल आएर मात्र उनलाई पुगेको छैन । आफ्नो जन्मस्थान लिगलिग बोहरा गाउँ गएर आफ्नै पँधेरो– सिस्नेपानी धाराको पानी खाने इच्छा व्यक्त गर्दैछन् ।

मेरा प्रिय भाइ उपेन्द्रसँंग भएका अनेक अनुभवमध्ये दुइटा प्रसंग सबैसँंग प्रकाश पार्न चाहन्छु । पहिलो हो– न्युरोको कथा । दोस्रो हो– बिरामीको व्यथा । वनमा पाइने न्युरो उनलाई अत्यन्त मनपर्ने तरकारी रहेछ । एक पटक पोखराबाट फर्कंदा बाटामा पर्ने तनहुँबाट न्युरो किनेर ल्याएछन् । खाँदा अत्यन्त मन पर्‍यो रे । त्यसपछि उनले मसंँग तनहुँको न्युरो मगाउन थाले । म र मेरा श्रीमानले पाएसम्म न्युरो ल्याएका बेला उनलाई छुटाएनौं । यसले उनलाई पुगेन । उपेन्द्र डाक्टरलाई जँचाउन खोज्ने मानिसहरू जसले म र उपेन्द्र दिदीभाइ हौं भन्ने थाहा पाएका हुन्थे, मसँंग अस्पतालमा उनले नै हेरिदिउन् भन्ने विशेष आग्रह गर्थे ।

जँचाउन खोज्ने मानिसलाई उपेन्द्रलाई न्युरो ल्याइदिन आग्रह गर्थें, ताकि उनलाई न्युरो धित मारेर खुवाउन सकियोस् । म उनलाई फोन गर्दै भन्ने गर्थें, ‘न्युरो डाक्टरलाई भेट्न न्युरोको कोसेली लिएर बिरामी आएका छन्’, उनी ठट्टा गर्दै भन्ने गर्थे, ‘ल अब उसले विशेष ट्रिटमेन्ट पाउने भए ।’ यतिले पनि उनलाई न्युरोको धित मरेन । आफ्नै बारीमा न्युरो लगाउन बिरुवाहरू मगाउन थाले । उनका भिनाजु अमरराज कैनीले मनग्गे न्युरोका बिरुवा ल्याइदिए । बिरुवा हुर्केर टिप्न हुने भएपछि एकदिन खुसी हुँदै भनेका थिए, ‘अब दिदी–भिनाजुलाई न्युरो ल्याउने झन्झट पर्दैन । बिरामी जाँच्न आउनेले पनि ट्रिटमेन्टका लागि न्युरो कोसेली ल्याउनु पर्दैन ।’ वनको तरकारी न्युरोदेखि न्युरो हस्पिटलसम्म यस्तै प्रबल किसिमको गरिछोड्ने बानी थियो, उनको । त्यति नहुँदो हो त एकाध दशकमा नै न्युरो अस्पतालले यति धेरै उन्नति गर्ने थिएन । काठमाडौंका अधिकांश अस्पतालभन्दा बिरामीको सेवा र हेरचाहमा मात्र अब्बल होइन, यसको व्यवस्थापकीय पक्ष र सरसफाइ नमुना नै छ । यसमा निश्चयै पनि धेरैजनाको हात छ र पनि न्युरो अस्पताल उपेन्द्र देवकोटाको अस्पताल भनेर चिनिन्छ । मननीय कुरोचाहिँं यो हो कि बिना कारण उनलाई विशेष बनाइएन होला ।

२०६१ भदौको घटना हो । मेरा जीवनसाथी अमरराज कैनीलाई अत्यधिक ज्वरो आएका कारण महाराजगन्जस्थित शिक्षण आस्पतालमा भर्ना गरियो । स्थितिमा केही सुधार आएन, बरू अरू खस्कियो । चिकित्सकहरूको लापरबाही प्रत्यक्ष देखियो । स्थिति नाजुक हुँदै गएपछि सघन कक्षमा लगेर अलिक ध्यान दिनुपर्‍यो भनी आग्रह गर्दा डाक्टर र नर्सहरू उल्टै झर्कोफर्को गर्न लागे । ‘तिम्रै मात्र बिरामीलाई हेर्ने ? सयौं बिरामी छन् यहाँ, उनीभन्दा सिरियस पनि छन्’ भन्न पो लागे । बिरामीको गम्भीर स्थिति फोनमार्फत हामीले डा. उपेन्द्रलाई अवगत गरायौं । उनी त्यतिबेला नर्भिक अस्पतालमा कार्यरत थिए । उनले तुरुन्त नर्भिकमा ल्याउने सल्लाह दिए अनुरूप तत्कालै लगियो । नर्भिक अस्पतालमा पुर्‍याउँदा बिरामीको हालत अत्यन्त नाजुक बनिसकेको थियो । सबैले आशा मारिसकेका थिए । स्वयं उपेन्द्र नै पनि थोरै प्रतिशतमात्र आशामा काम गर्दैछु भन्दै थिए । तुरुन्त बिरामीलाई सघन कक्षमा लगियो ।

भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता देखियो अनि उनको नेतृत्वमा ५/७ जना डाक्टर र नर्सहरू रातदिन खट्न थाले । २२ दिनसम्मको लगातारको प्रयत्नपछि बल्ल बिरामीको होश खुल्यो । जापानिज इन्सेफलाइटिसका कारण यो बेहाल भएको रहेछ भन्ने पत्ता लाग्यो । लामखुट्टेबाट सर्ने यो रोग पार्टीको काममा खटिएर पश्चिम तराईका ५/७ जिल्ला डुल्दा संक्रमित भएको रहेछ । २२ दिनको अचेत अवस्था र थप १ दिन वार्डमा बिताएपछि बल्ल उनले घर जाने आदेश दिए । यसका लागि डा. उपेन्द्रको लगनशीलता र रोग निदान गर्नसक्ने विशेष खुबीको हामीले सधैं उच्च मूल्याङ्कन गरेका छौं । आफ्नो विशेषज्ञता इतरको विषयमा पनि उनले सफलता हासिल गरेका यो लगायत सयौं केस छन्, जसले डा. उपेन्द्र भनेको विशेष खुबीवाल डाक्टर हो भनी मजस्ता उनको सान्निध्यमा रहेकाहरूले मात्र होइन, आम नेपालीले चिनिसकेका छन् । त्यसैले त आम नेपाली उनको अस्वस्थ अवस्था देखेर चिन्तित बनेका छन् ।

उपेन्द्र पेसाले एक डाक्टर हुन् र यस क्षेत्रमा उनको खुबीको बयान गरेर सकिँंदैन । यसका अलावा राजनीतिमा पनि हरदम चासो राख्छन् । चनाखो बन्छन् । देशमा देखापरेका हरेक उतार–चढावको मिहिन तरिकाले विश्लेषण गर्ने र कसैले मनपराए पनि नपराए पनि आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् । उनको स्मरणशक्तिको तीक्ष्णता देखेर म ताजुब पर्छु । यतिसम्म कि आफ्नो शैशवकालदेखि अहिलेसम्मका हरेक महत्त्वपूर्ण घटना, तिथि–मितिसहित सवाल–जवाफ गर्न सक्छन् उनी । यस अतिरिक्त उनी एक प्रखर वक्ता पनि हुन् । जहाँ–जहाँ बोल्नुपर्छ, उनी बडो तर्कसंगत हिसाबले निर्भीकतासाथ आफ्ना कुरा राख्न सक्छन् । नेपाली बाहेक अंग्रेजी र संस्कृत भाषाको दक्षता पनि उस्तै बेजोडको देखिन्छ । बोल्न सुरु गर्दा अक्सर अंग्रेजीका नमुनायोग्य उद्धरण अथवा संस्कृतका श्लोकबाट सुरु गरेर श्रोतालाई छक्क पार्छन् । मानिसहरू भन्ने गर्छन्– बेलायततिर अध्ययन गरेका डाक्टरलाई संस्कृतको यो हदको ज्ञान कसरी भयो ?

डा. देवकोटा सबै मानिसको समाजप्रतिको देनलाई सूक्ष्म रूपमा नियाल्ने गुणग्राही पनि हुन् । आजभोलि उनले जीवनमा भोगेका अनुभवहरू संस्मरणको रूपमा पत्रपत्रिकामा आउँदैछन् । तिनमा उनले धेरैजनाको धेरै कुरा गरेका छन्, जसमध्ये मेरी आमा विद्यादेवी देवकोटाले आफ्नो जीवनकालमा गरेका विशेष कामको मुक्तकण्ठले प्रशंसा गरेका छन् । ५ वर्ष पहिले आमाको निधन भएका बेला म निकै विह्वल हुँदा उनले ‘डेथ इज अल्सो अ सेरेमोनी दिदी, यसलाई स्वीकार्नुपर्छ । यो अकाट्य सत्यलाई सहज रूपमा ग्रहण गर्नुपर्छ’ भन्दै सम्झाएका थिए । आजभोलि पनि उनलाई भेट्न जानेहरूमध्ये हामी कतिजना विचलित हुनखोज्छौं, तर उनी जहिले पनि हँसिलो मुद्रामा हुन्छन् । हामीलाई नै सम्झाउँदै छन्, ‘जातस्य ही ध्रुवो मृत्यु’ भन्दै गीताको श्लोकबाट सुरु गरेर शोकाकुललाई आश्वस्त पार्दैछन् । जन्मपछि मृत्यु निश्चित छ भनेर सहसा स्वीकार्न सिकाउँदैछन् ।

अन्त्यमा, पेसागत दक्षतामा अब्बल दर्जामा दरिएका, अस्पताल स्थापना र सञ्चालनमा अद्वितीय क्षमता प्रदर्शन गरेका, प्रतिभाशाली, होनहार सपुत तथा वरिष्ठ न्युरो सर्जनका अनेक योगदानप्रति हार्दिक आभार व्यक्त गर्छु । सास छउन्जेल आस जगाउँदै तिम्रो स्वास्थ्यलाभको हार्दिक कामना गर्छु । जसरी आशा मारिसकेका हजारौं–लाखौं बिरामीलाई तिमीले खुसी बनाउन सफल भयौ, लाखौं–करोडौंको शुभकामनाले तिमी जाग्नुपर्छ, देशलाई तिम्रो नितान्त खाँचो छ, प्रिय भाइ । कथंकदाचित तिमीले अब केही गर्न सकेनौ भने पनि तिमीले समाजका लागि यथेष्ट गरेका छौ । तिम्रो जीवन अत्यन्त सार्थक बनिसकेको छ । यसैमा हामी सबैले गर्व गर्नुपर्छ ।

प्रकाशित : जेष्ठ १२, २०७५ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?