१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शल्यक्रियाका विकृति

प्रसूति गराउँदा वा पाठेघरको उपचार गर्दा दबाबमा परेर वा कमाउने नियतले अनावश्यक शल्यक्रिया गर्ने प्रवृत्ति नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको ध्यान कहिले जाने हो !
डा. अरुणा उप्रेती

काठमाडौँ — पेसाले नर्स ३२ वर्षीया युवतीले दोस्रो सन्तान जन्माउँदाको अनुभव सुनाइन्, ‘म गर्भवती भएपछि एक निजी अस्पतालमा जाँच गर्न गएँ । ६ महिनापछि त्यही अस्पतालमा कार्यरत नर्स साथीले त्यो अस्पतालले शल्यक्रियाबाटै प्रसूति गराउने बताउँदै प्राकृतिक तरिकाले बच्चा जन्माउन प्रेरणा दिने अस्पतालमा जान सुझाव दिइन् । त्यसपछि म पाटन अस्पताल गएँ ।’

शल्यक्रियाका विकृति

ती युवती गर्भवती हँुदा घरका धेरै काम आफैं गर्थिन् । धेरै मोटो हुँदा उच्च रक्तचाप भएर शल्यक्रिया गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले शरीरको तौलमा ध्यान दिइन् । नुन कम खाइन् । पत्रु खाना खाइनन् । तिल, आलस, ज्वानो नियमित सेवन गरिन् । ब्यथा लागेपछि अस्पताल गइन् । जाँचेपछि डाक्टरले २–३ घन्टामा बच्चा जन्मिन्छ भने । उनी कोठामा हिँडिरहिन् । धेरै दुख्दा थचक्क बस्थिन् । उनलाई थाहा थियो कि प्राय: महिला सहज र प्राकृतिक तरिकाले शिशु जन्माउन सक्षम हुन्छन्, शल्यक्रिया त विशेष परिस्थितिमा मात्र गरिन्छ ।

ती युवतीसँगै अलि धनाढ्य परिवारकी जस्ती देखिने एक महिला पनि प्रसूति गराउन अस्पताल पुगेकी थिइन् । उनी भने ‘दुख्यो, सहन सकिनँ, मलाई अपरेसन गराइदेऊ’ भन्थिन् । ती महिलाले २–३ घन्टापछि एक स्वस्थ शिशु जन्माइन् । तर उनी श्रीमानसँग रिसाइरहेकी थिइन्, ‘मलाई अपरेसन गर्न नदिएर कस्तो दु:ख भयो ।’

अहिले विश्वभर नै प्रसवका बेला प्राकृतिक तरिकाले भन्दा शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम बढ्दो छ । तर अनावश्यक शल्यक्रिया महँगो हुन्छ । यसले महिलाको स्वास्थ्यमा नराम्रो असर पनि पार्छ । ब्राजिलमा त प्रसव हुनु नै ‘शल्यक्रियाबाट बच्चा जन्माउनु’ हो, बुझाइ विकसित भएको छ । निजी अस्पतालमा ८५–९० प्रतिशत प्रसव शल्यक्रियाद्वारा नै गरिन्छ । सरकारी अस्पतालमा चाहिँ ४५ प्रतिशत प्रसव शल्यक्रियाबाट गरिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रसूति गृहमा १५–२० प्रतिशत प्रसव शल्यक्रियाबाट हुनु सामान्य हो । तर ब्राजिलमा जस्तो जथाभावी शल्यक्रिया गर्नुको निहित उद्देश्य भनेको पैसा कमाउनु मात्र हो । भारतमा पनि सरकारी अस्पतालको तुलनामा निजी अस्पतालमा अति नै बढी शल्यक्रिया हुने गर्छ ।

नेपालमा एकातिर प्रसव अवस्थामा जटिलता आएर, शल्यक्रिया गर्ने सुविधा नभएर महिलाको ज्यान जोखिममा पर्छ । समयमा शल्यक्रिया नहुँदा मरेको शिशु जन्मिएको, आमालाई पिसाब चुहिरहने समस्या भएको घटना पनि धेरै छन् । हरेक प्रसव अवस्थामा शल्यक्रिया गर्नु पर्दैन । अर्कोतिर प्रसव अवस्थामा महिलाकै मागका कारण शल्यक्रिया गराइन्छ । कतिपय स्त्रीरोग विशेषज्ञ भन्छन्, ‘महिलाहरू व्यथा लाग्दा डराउँछन् र शल्यक्रियाको माग गर्छन् । उनीहरूले दबाब दिएपछि शल्यक्रिया गर्नैपर्छ ।’ तर डाक्टरहरूले विवेक प्रयोग गरेर मात्रै शल्यक्रिया गर्नुपर्ने हो । सरकारी अस्पतालमा जाने महिला र उनका परिवारले शल्यक्रियाको माग किन गर्दैनन् होला ?

ब्राजिलमा चाहिँ कतिपय महिलामा प्राकृतिक तरिकाले बच्चा जन्माउनु फोहोरी काम हो भन्ने बुझाइ छ । तर त्यो बुझाइमा मलजल गर्ने काम सायद त्यहाँका निजी अस्पतालले गर्दा हुन् । नेपालको थापाथलीस्थित प्रसूति गृहमा २७–३० प्रतिशतको शल्यक्रियाद्वारा बच्चा जन्मिन्छ । तर काठमाडौंकै नाम चलेका निजी अस्पतालमा ७०–८० प्रतिशतको बच्चा जन्माउँदा शल्यक्रिया हुन्छ । निजी अस्पतालले शल्यक्रिया गर्नुपर्छ भनेपछि सरकारी अस्पताल गएर प्राकृतिक रूपमै बच्चा जन्माएकाहरूको गुनासो हुने गर्छ, ‘सरकारी अस्पतालमा त फोहोर रहेछ । शौचालय पनि फोहोर । पोषण, परिवार नियोजन सम्बन्धी केही ज्ञान दिइएन ।’

केही व्यक्तिले भनेको सुनेँ, ‘निजी अस्पतालमा त प्रसव गराउन आउने महिलासँंग टन्न पैसा उठाउँछन्, अनि सफा बनाउन पनि पैसा खन्याउँछन् ।’ काठमाडौंको नाम चलेको एक नर्सिङ होममा पछिलो एक वर्षमा भएको शल्यक्रिया संख्या हेर्दा जिब्रो नै टोक्नुपर्‍यो । २०७४ वैशाखमा ६५ जना महिला प्रसूति गर्न आएकामा दुई जनाको मात्र सामान्य प्रसूति भएको रहेछ । २०७४ मंसिरमा १ सय ४ वटा शल्यक्रिया तथा ८ वटा सामान्य, फागुनमा ८१ शल्यक्रिया तथा ५ सामान्य रूपबाट प्रसूति गराइएछ । शल्यक्रियामा बिरामीले ८० हजार रुपैयाँसम्म अस्पताललाई बुझाउँछन् । कतिपय स्त्रीरोग विशेषज्ञ भन्छन्, ‘प्रसूति हुँदा व्यथा लाग्छ भन्ने कुराबाट अन्जान महिलाले दुख्न सुरु गरेपछि नै अपरेसन गर्न दबाब दिन्छन् । उनीहरूलाई अपरेसन गर्दाको बेफाइदा थाहा हुँदैन । घरपरिवारको दबाबले पनि हामीले शल्यक्रिया गर्नुपर्छ ।’

बच्चालाई केही भयो भने बिरामीका परिवारले अस्पताललाई पैसा तिराउँछन्, अस्पताल तोडफोड गर्छन् भन्ने डरले पनि शल्यक्रिया बढ्न गएको हो कि † अथक प्रयास गर्दागर्दै पनि कहिलेकाहीं महिलाले बच्चा बचाउन नसक्ने अवस्था सिर्जना हुँदा डाक्टरलाई पिट्ने, अस्पताललाई पैसा तिराउन लगाउने डरलाग्दो संस्कृति पैदा भएको छ । त्यही संस्कृति पनि अनावश्यक औषधी र शल्यक्रियाको कारक भइरहेको छ ।

गर्भवती महिलालाई प्रसवका बेला हुने व्यथा, त्यसलाई सहने उपाय, पोषणबारे जानकारी दिने, विभिन्न व्यायाम र योगासन गर्न सिकाउने र सहज रूपमा बच्चा पाउन सक्छु भन्ने आत्मविश्वास जगाउने हो भने ‘अनावश्यक दबाब’ आउँदैनथ्यो । शल्यक्रियापछि शिशुलाई सहज तरिकाले आमाले स्याहार गर्न गाह्रो हुन्छ । कहिले शल्यक्रिया गरेको ठाउँ पाक्न सक्छ । स्वास्थ्यकर्मीले राम्रोसंँग परामर्श र ढाडस दिएर महिलालाई प्राकृतिक रूपले बच्चा जन्माउन प्रेरणा दिने हो भने समस्या कम हुन्थ्यो । अहिले त ज्योतिषीलाई देखाएर कुनै खास दिनमा बच्चा जन्माउन डाक्टरलाई दबाब दिने महिला पनि छन् । त्यस्ता महिला निजी अस्पतालमा मात्र जान्छन् । कुनै चिकित्साशास्त्र अध्ययन संस्थानमा यस्तो अविवेकी तरिकाले शल्यक्रिया गरिँदैन । स्त्रीरोग विशेषज्ञले साइत हेरेर आउनेलाई ‘अनावश्यक तरिकाको शल्यक्रिया गर्दिनँ’ भन्ने हो भने अलि हच्किन्थे कि !

पाँच वर्षअघि बीबीसीमा भारतको राजस्थानको एउटा घटना प्रकाशनमा आयो । समाचार अनुसार राजस्थानको एक गाउँकी २५ वर्षीया युवती धेरै रक्तस्राव हुनुका साथै पेट बढी दुखेपछि निजी अस्पताल गइन् । अस्पतालका डाक्टरले भर्ना गरेर त्यही दिन पाठेघर निकालिदिए । ती युवतीले घरपरिवारमा सल्लाह पनि गर्न पाइनन् । डाक्टरले भिडियो एक्सरे गरेपछि उनलाई पाठेघर ननिकाले क्यान्सर हुन्छ भनेका थिए । भारतका डा. नरेन्द्र गुप्ता भन्छन्, ‘यस्तो लाग्छ, निजी अस्पतालहरूले महिलाको पाठेघरलाई पैसाका मुठो देख्छन्, त्यो निकाल्यो, पैसा थाप्यो ।’

नेपालमा पनि त्यसैगरी पाठेघर खसेका महिलाको उपचारका नाममा जथाभावी शल्यक्रिया गर्ने प्रवृत्ति देखिएको छ । केही वर्षअघि एक स्त्रीरोग विशेषज्ञले स्वास्थ्य शिविरमा एक दिनमा २० जना महिलाको पाठेघरको शल्यक्रिया गरेको गर्वसाथ सुनाएकी थिइन् । सन् २००६ मा स्वास्थ्य मन्त्रालयले पाठेघर खसेका गरिब महिलाको शल्यक्रिया गर्न ठूलो बजेट छुट्याएपछि केही संघ–संस्थाले जथाभावी पाठेघर झिक्ने काम गरे । पाठेघर खसेका महिलाको उपचार अरू तरिकाले पनि हुनसक्ने कुरामा ध्यान दिइएन । स्वास्थ्य मन्त्रालयले पनि महिलाको पाठेघर खस्ने समस्या कसरी रोक्न सकिन्छ भन्नेमा चाहिँ बजेट कहिल्यै छुट्याएन । एक स्त्रीरोग विशेषज्ञ भन्छिन्, ‘कोटा तोकेर एक सातामा यति शल्यक्रिया गर्ने भनियो भने महिलाको गुणात्मक तरिकाले उपचार हुन सक्दैन ।’

एक दिनमा २० जना महिलाको शल्यक्रिया गर्ने डाक्टरले आफ्नी आमा, फुपू, दिदी बहिनीको उपचार पनि यसरी नै होस् भन्ने चाहन्छ होला ? बुटवलमा एक स्त्रीरोग विशेषज्ञले भनेको सुनेँ, ‘मलाई बुटवलको एक निजी स्वास्थ्य संस्थामा पाठेघरको शल्यक्रिया गर्न बोलाइयो । पहिलो दिन ५ वटा शल्यक्रिया गरेँ । कमसेकम २० जना महिलाको त शल्यक्रिया गर्नैपर्छ भनेर संस्थानका हाकिमले भनेपछि सक्दिनँ भनेर फर्केँ ।’

महिला स्वास्थ्य सम्बन्धी जनचेतना जगाउन काम गरिरहेकी समिता प्रधानले भनेकी थिइन्, ‘५ वर्षअघि सुर्खेतमा जरुरत नभए पनि धेरैको पाठेघरको शल्यक्रिया गरियो । महिलालाई भुइँमै सुताइयो । त्यसको फोटो खिचेर हामीले पत्रिकामा छपायौं र स्वास्थ्य मन्त्रालयमा पठायौं । मन्त्रालयबाट त्यसको अनुगमन पनि भयो । कमजोरी भएकै ठहर भयो । त्यसपछि जथाभावी शल्यक्रिया न्यूनीकरण भयो ।’

महिलाको प्रसव व्यथामा जटिलता उत्पन्न भयो भने शल्यक्रिया गर्नैपर्छ । तर अनावश्यक तरिकाले ‘महिलाको माग’ अनुसार शल्यक्रिया गरियो भने वास्तवमा त्यो उपचार हुँदैन । यसले महिलामा स्वास्थ्य समस्या बढाउँछ । पाठेघर खसेका महिलामा पनि अन्य उपचार विधि नअपनाई सोझै शल्यक्रिया गर्दा स्वास्थ्यमा झन् नराम्रो असर पर्छ । महिलाको जीवन र स्वास्थ्य बचाउन औषधी–उपचार, रोकथाम, शल्यक्रियाको पहुँच सबैलाई हुनुपर्छ । अनावश्यक दबाबमा परेर वा कमाउने नियतले अनावश्यक उपचार पद्धति अपनाउने प्रवृत्ति नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको ध्यान कहिले जाने हो !

प्रकाशित : जेष्ठ १४, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?