कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बिमा नवीकरण समस्या

जीवन बिमामा अभिकर्ताको भूमिका महत्त्वपूर्ण हुने हुँदा नयाँ बिमा व्यवसाय ल्याउन मात्र नभई बिमालेखको नवीकरणमा पनि उनीहरूलाई उत्तरदायी बनाउनुपर्छ ।
मञ्जु थापा,

काठमाडौँ — बिमालेख व्यतित हुने अनुपातले बिमितको सन्तुष्टिको स्तरलाई इंकित गर्छ । त्यसैकारण यो अनुपात बिमा उद्योगकै लागि मुख्य मुद्दा तथा सरोकारको विषय हो ।

बिमा नवीकरण समस्या

सरल भाषामा व्यतित बिमालेख भनेको नवीकरण बिमा शुल्क समयमा नबुझाइएको कारणले निस्क्रिय भएको बिमालेख हो । सामान्यता चलनचल्तीका जीवन बिमालेखहरू (म्यादी बाहेक) मा नवीकरण बिमा शुल्क बुझाउन ३० दिनको मोहलत अवधि दिइएको हुन्छ । दिइएको मोहलत अवधिमा पनि नवीकरण बिमा शुल्क नबुझाएमा त्यस्तो बिमालेख स्वत: व्यतित हुन्छ । व्यतित बिमालेखले जोखिम बहन गर्दैन । बिमालेख व्यतित भएको अवस्थामा बिमितको मृत्यु भएमा बिमालेखमा तोकिए अनुसार बिमा कम्पनी बिमा रकम (बिमांक) दिन उत्तरदायी हँुदैन । यसले गर्दा बिमितले बिमा खरिद गर्दा गरेको मिहेनत र लगानी दुबै खेर जान्छ ।


नयाँ व्यवसाय आउँदा बिमा कम्पनीले भविष्यको आम्दानीको पूर्वानुमान गरेको हुन्छ । यस्तो अवस्थामा बिमा शुल्क प्राप्त नभएमा बिमा कम्पनीको नगद प्रवाहमा नकारात्मक प्रभाव पर्छ र बचत घट्छ । बिमा कम्पनीको बचत घट्नु भनेको बिमितले पाउने बोनस रकम कम हुनु हो । यसरी यसले घुमिफिरी बिमितलाई नै नोक्सान गर्छ । त्यसैगरी कुनै पनि बिमा योजना डिजाइन गर्दा त्यसको बिमा शुल्कको निर्धारण ४ चर अर्थात् ‘भेरियबल्स’को पूर्वानुमानको आधारमा गरिएको हुन्छ । पहिलो बिमितको मृत्युदर, यसका लागि बिमा कम्पनीहरूले नेपाली बिमितको मृत्युदर तालिका २०६६ लिने गरेका छन् । त्यसैगरी दोस्रो व्याजदर हो । हालको प्रवृत्ति हेर्ने हो भने ५ देखि ६ प्रतिशतसम्म व्याजको पूर्वानुमान गरिएको हुन्छ । तेस्रो खर्च हो, यसमा विशेषगरी व्यवस्थापन खर्च तथा अभिकर्ता कमिसनको पूर्वानुमान गरिएको हुन्छ । चौथो तथा महत्त्वपूर्ण बिमा योजनाको निरन्तर नवीकरण हँुदै जाने दर (पर्सिस्टेन्सी रेट) को पूर्वानुमान हो । यदि पूर्वानुमान गरिएको भन्दा कम दरमा बिमालेख नवीकरण (बढी दरमा बिमालेख व्यतित हुने) भएमा तत्कालको बचतमा असर पर्छ । त्यसपछिका बिमालेखमा बिमा शुल्क निर्धारण गर्दा निरन्तर नवीकरण हुँदै जाने दर कम पूर्वानुमान गर्नुपर्ने हुँदा भविष्यको बिमालेख महँंगो पर्छ । यसले एकातर्फ बिमा कम्पनीका लागि महंँगो बिमालेख लिएर बजार प्रतिस्पर्धामा उत्रनु चुनौतीपूर्ण हुन्छ भने अर्कोतर्फ बिमितलाई समान सुविधाको बिमालेख महंँगो पर्न जान्छ । त्यसैगरी बिमालेख व्यतित भएमा अभिकर्ताले पनि आफ्नो हिस्साको कमिसन गुमाउँछ । यसरी बिमालेख व्यतित हुनु कुनै पनि पक्षको हितमा छैन । वास्तवमा यो सबैका लागि हानिकारक अवस्था हो ।


स्पष्ट छ, बिमालेख व्यतित हुनु हितकर छैन । यदि कसैले जीवन बिमा लिनुभएको छ र त्यो व्यतित भएको छ, अब के हुन्छ ? बिमालेखमा भएको व्यवस्था अनुसार सामान्यता व्यतित भएको १ वर्षभित्र बिमितको मृत्यु भएमा मृत्यु भएको मितिसम्म भुक्तानी गर्नुपर्ने रकम (बिमा किस्ता) तथा विलम्ब शुल्क कट्टा गरी बांँकी बिमा रकम (बिमांक) बिमा कम्पनीले बिमित पक्षलाई भुक्तानी गर्छ । त्यसैगरी बिमालेखहरूमा व्यतित भएको १ वर्षपछि बिमितको मृत्यु भएमा त्यस्तो बिमालेखको कुनै चुक्ता मूल्य रहेछ भने त्योमात्र बिमा कम्पनीले बिमित पक्षलाई भुक्तानी गर्छ । बिमालेखको चुक्ता मूल्य भनेको प्राप्त भएको बिमा शुल्क तथा भुक्तानी हुन बाँकी बिमा अवधिको आधारमा समानुपातिक हिसाब गरी निकालिएको मूल्य हो । यो बिमा रकम (बिमांक) सँंग तुलना गर्दा निकै कम हुनेहुँदा बिमित पक्षलाई निकै आर्थिक नोक्सानी हुन्छ ।


भविष्यको सुरक्षा तथा बचतका लागि लिइएको जीवन बिमा योजनाको नवीकरण बिमा शुल्क बिमितले किन तिर्दैन ? कारण केलाउने हो भने मुख्यत: बिमालेख दुई प्रकारका कारणले व्यतित हुन्छन् । बाह्य तथा आन्तरिक कारण । बाह्य कारण जस्तै– अर्थतन्त्रको समग्र अवस्था, लगानीका विकल्पहरूको उपलब्धता तथा सरकारको आयकर नीतिले बिमालेख व्यतित हुने प्रवृत्तिलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । अर्थतन्त्र मन्दीको अवस्थामा छ भने सर्वसाधारणको आय घट्छ । यसरी आय घटेका बेला बिमितले चाहेर पनि बिमा नवीकरण गर्न सक्दैन । त्यसैगरी अर्थतन्त्र उछालको अवस्थामा छ भने सर्वसाधारणको आय बढेको हुन्छ । यसले गर्दा बिमामा नयांँ व्यवसाय बढ्नुका साथै व्यतित हुने दर पनि घट्छ । प्रशस्त लगानीका विकल्प उपलब्ध भएमा बिमितले बढी प्रतिफल पाउने लालसामा नवीकरण बिमा शुल्क अन्य क्षेत्रमा लगानी गर्न सक्छ । त्यसैगरी आयकर नीतिले पनि बिमालेख व्यतित हुने प्रवृत्तिलाई प्रत्यक्ष प्रभाव पार्छ । बिमा शुल्कमा आयकर छुटको व्यवस्था हँुदा आयकर छुटकै लोभमा भए पनि बिमितले नवीकरण बिमा शुल्क निरन्तर तिरिरहेको हुन्छ । बाह्य कारण बिमा कम्पनीको हातमा हुँदैन । बिमा उद्योगले चाहेर पनि यस्ता कुरालाई नियन्त्रण गर्न सक्दैन । बाह्य कारणले गर्दा हुने प्रभाव सबै बिमा कम्पनीमा समान स्तरमा परेको हुन्छ । बाह्य मात्र नभई आन्तरिक कारणले पनि बिमालेख व्यतित हुन्छन् । यस्ता कारणलाई बिमा कम्पनीहरूले चाहेमा सुधार गर्न सक्छन् ।


आन्तरिक कारणले गर्दा हुने प्रभाव बिमा कम्पनीहरूमा फरक–फरक स्तरमा परेको हुन्छ । विशेषगरी बिमा कम्पनीको बिक्रीपछिको सेवाको स्तरीय तथा दु्रत नभएमा बिमालेख व्यतित हुन्छन् । त्यसैकारण बिमा कम्पनीहरूले नयाँ व्यवसायमा मात्र ध्यान केन्द्रित नगरी पुराना बिमितलाई दिने सेवामा पनि निरन्तरता दिँदै लग्नुपर्छ । अभिकर्ताको अनुत्तरदायी भूमिका कारणले पनि बिमालेख व्यतित हुन्छ । अभिकर्ताले बिमा लिन चाहने व्यक्तिलाई दिनुपर्ने जति सूचना नदिने, उक्त व्यक्तिको आवश्यकता तथा आर्थिक क्षमताको मूल्यांकन नगरी बिमा गराउन खोज्ने जस्ता प्रवृत्तिले पनि सुरुमा हौसिएर ठूलो रकमको बिमा लिने र पछि नवीकरण बिमा शुल्क तिर्न नसकी बिमालेख व्यतित हुने हुन्छ । त्यसकारण बिमा लिन चाहने व्यक्तिले पनि आफ्नो आवश्यकता र क्षमतासंँग मेल खानेगरी बिमा लिनुपर्छ । एउटा सन्तुष्ट ग्राहक भविष्यको धेरै सम्भाव्य ग्राहकहरूका स्रोत हुन्छ । यही कुरालाई मनन गर्दै अभिकर्ता पनि पेसाप्रति नैतिकवान हुनु जरुरी छ । हालको व्यवस्था अनुसार बिमालेख जारी भएको प्रथम वर्षमा उच्च तथा त्यसपछिका वर्षहरूमा न्यून हँुदै १० वर्षसम्म अभिकर्ताले कमिसन प्राप्त गर्छ । मानवीय स्वभाव हो, प्रतिफल प्राप्त हँुदासम्म मात्र पहल तथा प्रयास हुन्छ । कमिसन प्राप्त नहुने भएपछि यस्तो व्यवसाय अभिकर्ताको लागि पनि ओझेलमा पर्छ । त्यसैगरी कतिपय बिमितलाई नवीकरण बिमा शुल्क नतिरेमा के हुन्छ, थाहा नै नभएको हुनसक्छ ।


नेपाली जीवन बिमाको तथ्यांक हेर्ने हो भने आ.व. २०७२/७३ मा उद्योग (राष्ट्रिय बिमा संस्थान बाहेक) को औसत व्यतित अनुपात १६ प्रतिशत रहेको देखिन्छ । त्यसैगरी ३ बिमा कम्पनीको बिमालेख व्यतित अनुपात १० प्रतिशतभन्दा कम, २ बिमा कम्पनीको १० देखि २० प्रतिशतको बीचमा तथा ३ बिमा कम्पनीको २० देखि ३० प्रतिशतको बीचमा रहेको देखिन्छ । औसत अनुपात त्यति धेरै नदेखिए तापनि अधिकांश बिमा कम्पनी यसको उच्च दरबाट ग्रसित भएका छन् । त्यसैगरी बिमालेख व्यतित हुने दर ५ प्रतिशतभन्दा कमदेखि ३० प्रतिशतसम्म छ । यसरी बिमालेख व्यतित हुने दर भएको विविधताले नेपाली बिमा बजारमा बिमालेख व्यतित बाह्य कारणभन्दा आन्तरिक कारणले भइरहेको छ भन्ने कुरा इंगित गर्छ । यसतर्फ थप अनुसन्धान हुन आवश्यक छ । समय–समयमा बिमालेख पुनर्जागरण गराउँदा लाग्ने विलम्ब शुल्कमा छुट दिनु बाहेक बिमा कम्पनीको यसतर्फ प्रभावकारी प्रयास भएको देखिँदैन । बिमा कम्पनीहरूले बिक्रीपछिका सेवा निरन्तर, सर्वसुलभ तथा दु्रत बनाउनुपर्छ । त्यसैगरी प्राथमिकताको सूचीमा राखेर बिमालेख व्यतित हुँदा हुने नोक्सानीबारे चेतना फैलाउनुपर्छ । जीवन बिमामा अभिकर्ताको भूमिका महत्त्वपूर्ण हुनेहुँदा नयाँ बिमा व्यवसाय ल्याउनमात्र नभई बिमालेखको नवीकरणमा पनि उनीहरूलाई उत्तरदायी बनाउनुपर्छ । यसका लागि ल्याएका बिमालेख कम व्यतित हुने अभिकर्तालाई प्रोत्साहनको व्यवस्था गर्नु उपयुक्त देखिन्छ । त्यसैगरी हाल व्यवस्था भएको अभिकर्ता कमिसनको संरचनाको पुनर्विचार गर्नु उपयुक्त हुन्छ ।


थापा बिमा समितिकी सहायक निर्देशक हुन् ।

प्रकाशित : जेष्ठ १८, २०७५ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?