कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

अमेरिका बस्नेले भन्दैमा किन विश्वास गर्नु ?

नवीन रायमाझी

काठमाडौँ — भोजपुरी भाषामा एउटा उखान छ, "जिन्दगी झण्ड बा, फिर भी घमण्ड बा" अर्थात एकथरी मान्छेहरु यस्ता हुन्छन् कि उनीहरुको जिन्दगी बर्बाद हुँदा पनि घमण्ड भने एक रत्ति कम हुँदैन ।

अमेरिका बस्नेले भन्दैमा किन विश्वास गर्नु ?

अमेरिकामा रहेका नेपालीहरु मध्ये केहिले यो उखानलाई चरितार्थ गरिरहेका छन् । घाम अस्ताउन लागेको समयमा छाया ठुलो देखिएको जस्तो हैसियत भन्दा ठुलो कुरा गर्न लागे पछि मान्छेलाई पनि यो त सकिएछ भन्ने ठान्नु पर्ने हुन्छ । कसैले नेपालमा रहेका आफन्तहरुलाई यति ठुलो र बकम्फुसे गफ दिएका हुन्छन् कि पंक्तिकार जस्तै यता आएर वास्तबिकता स्वीकार गर्नेहरुले यहाँको बारेमा सत्य कुरा भन्दा उल्टै झुट्ठा कुरा गरेको भन्छन् । नेपालमा रहेका आफन्तहरुले पनि आँखा चिम्लेर जसले जे भन्यो त्यो कुरामा विश्वास गर्नले त्यस्तो ठुलो बेफाइदा त नगर्लान् तर कुनै कुनै ठाउँमा लज्जित हुनु पर्ने हुन्छ । यहाँ यस्तै केहि भ्रम र त्यसको वास्तबिकता चिर्ने प्रयास गरेको छु ।


डीभी चिठ्ठा परेर यता आएको मान्छेलाई अमेरिका पुग्न साथ सरकारले नै घर तथा जागिर दिने कुरामा कुनै सत्यता छैन । डीभी पर्नु भनेको बैधानिक रुपमा अमेरिकामा बसेर आफ्नो क्षमता अनुसार काम गर्न पाउने आधिकार मात्र हो । अमेरिकी सरकारले जागिर र घर दिने कुरा कसैले गरेको छ भने त्यो पूर्ण रुपमा असत्य हो र त्यस्ता बकम्फुसे कुराको कुनै तुक छैन ।


त्यस्तै आफुलाई एनआरएन वा कुनै अमुक संस्थाको पधाधिकारी भएको र आफुले प्रयास गरेर केहि व्यक्तिलाई अमेरिका ल्याउन सक्ने गफ ठोकेर नेपालमा भएका आफन्त र परिचितहरुलाई ठग्ने गरेको पनि पाइएको छ । त्यस्ता कुरामा धेरै ब्यक्तिहरु ठगिएका पनि छन् । ठगिए पछि मलाई बिश्वास लागेको त थिएन तर पनि एक पटक हेरौँ भनेर प्रयास गरेको भनेर चित्त बुझाउनु अर्कै कुरा हो, तर विश्वास नै नलागेको कुराको पछाडी दौडेर पैसा र समयको बर्बादी मुर्खले मात्र गर्छ । यहाँ यो भनिदिउँ, अमेरिकामा यस्ता सँघ सँस्थाहरुको दुई पैसाको हैसियत छैन, केवल म अध्यक्ष र तँ महासचिव भनेर टाई लगाएर र गाडीको पृष्ठभूमिमा खिचेको फोटो फेसबुकलगायतका सामाजिक सन्जालमा अपलोड गर्ने बाहेक ।


सामान्यतया यस्ता सँघसँस्थाहरुमा दुई किसिमका मान्छेहरु लाग्ने गरेका छन् । पहिलो, ब्यापार गरेर प्रशस्त पैसा कमाएका तर खासै परिचित नभएकाहरु, उनीहरु केहि पैसा खर्च गरेर भएपनि आफु समाचारमा आउन चाहन्छन् र दोश्रो, केहि नभएका नाङ्गाहरु । यहाँको वातावरणमा घुलमिल हुनु र यस्ता मान्छेहरुको वास्तबिकता थाहा पाउनु भन्दा अगाडी नवआगन्तुकहरुलाई ठुलो ठुलो गफ दिएर ठग्ने, अपबाद बाहेक यो भन्दा तेश्रो किसिमका मान्छेहरु यसरी सँघसँस्था भनेर दौडेको मैले देखेको छैन ।


त्यस्तै कसै कसैले आफ्नो कमाईलाई लिएर बढाई चढाई कुरा गरेको र नेपालमा रहेका उसका परिवारले त्यो कुरामा विश्वास गरेर खुशी हुने गरेको पाइएको छ । यतैको बिश्व बिद्यालयमा अध्ययन गरेका र बिशेष प्रतिभा भएकाहरुलाई छोड्ने हो भने सामान्य रुपमा हप्ताको अधिकतम आय भनेको पाँच सय डलर हो । अब अमेरिकी डलरलाई नेपाली रुपियाँमा रुपान्तरण गरेर यति र उति कमाई छ भनेर भन्नु अर्को मुर्खता हो, किनकी कमाई डलरमा छ भन्ने हो भने खर्च पनि त डलरमै छ, न कि नेपाली रुपियाँमा । अब कसैले आफुले काम गर्ने गरेको स्थानमा लामो हात गरेर अतिरिक्त आर्जन गरेको छ भने त्यसलाई कमाई भन्ने होइन कि अपराध भन्नुपर्ला जस्तो लाग्छ ।


त्यसै गरेर यहाँ सबैभन्दा सस्तो किसिमले भन्ने तीन किसिमका पद छन्, पहिलो, म्यानेजर, दोश्रो, नर्स र तेश्रो, आइटी इन्जिनियर । जो वास्तविक रुपमै माथि उल्लेखित पद र पेशामा छन् उनीहरुलाई केहि भन्ने कुरा भएन । तर पंक्तिकारले नेपालमा मानविकी अध्ययन गर्दा पनि तीन पटकमा मात्र उतिर्ण गरेको एउटा परिचितले यता आएर म नर्स छु भनेको सुन्दा तीन होइन कि एक हजार छक्क परेको छु । अमेरिकामा नर्स पढ्न कतिको सजिलो छ, त्यो पंक्तिकारलाई जानकारी छैन । तर नेपालमा जस्तै कठिन छ भने त्यो कुरा सतप्रतिसत असत्य हो । त्यस्तै यतै अध्ययन गरेको हकमा म्यानेजर पद के कस्तो हुन्छ, त्यसको बारेमा पनि जानकारी छैन । तर नेपालमा मात्र अध्ययन गरेर आएकाहरुको हकमा म्यानेजर भनेको हेड पिउन हो । त्यस्तै कम्प्युटरमा काम गर्नेहरुले लगभग सबैले आफुलाई आइटी इन्जिनियर दाबी गरेका हुन्छन् । डाटा इन्ट्री गर्नेदेखि ग्राफिक डिजाइनिङ्ग गर्नेसम्म र टाइपिङ्ग गर्ने देखि वेब मास्टरसम्मले सबैले माइक्रोसफ्टमा जागिर भएको कुरा गर्छन् । अब यसबारेमा जानकारी नभएकाहरुले सहजै विश्वास गर्ने भए, र जसलाई यसबारेमा सामान्य जानकारी छ त्यसले सोधखोज गर्यो भने आलटाल गरेर उम्किने गर्छन् । अमेरिकामा कामको बारेमा सोध्न नमिल्ने लंगडो तर्क दिन्छन्, यदी अर्काको कामको बारेमा केहि सोध्न नमिल्ने हो भने हुँदै नभएको कुरा गर्न पनि नमिल्नु पर्ने होइन र?


यसै गरेर अमेरिकामा कुनै काम सानो वा ठुलो हुँदैन भन्नेहरु आफै हीन भावनाको शिकार भएर त्यस्तो तर्क गरेका हुन् भन्ने पंक्तिकार ठोकुवा गर्छ । कुनै पनि समाजमा कामको तह र तप्का हुन्छ, यदी नहुने हो भने हरेक कार्यालयमा बिभिन्न पद नहुनु पर्ने हो । यता अमेरिकी राष्ट्रपतिले पनि आफ्नो कार्यालयमा आफै कुचो लगाउँछ भनेर गफ दिनेहरु पनि मैले पाएको छु, अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यालयमा कुचो लगाएको उनीहरुले आफै देखेको हो कि कुनै सञ्चार माध्यममा आएको हो, त्यो मैले पनि थाहा पाउन पाए सम्बन्धित ब्यक्तिसँग अनुग्रहित हुने थिएा । त्यस्तै आफु डेरा गरेर बसेको घरलाई आफ्नै घर हो भन्ने र वास्तबिकता खुल्ला भनेर भागाभाग गर्ने एक दुई जनासँग पंक्तिकारको पनि भेट भएको छ ।


यस्तै यहाँ कालो–सेतो वा धनी–गरिबको कुनै मतलब हुँदैन भन्ने कुरासँग पनि म सहमत छैन । कानुनको दृष्टिमा यो कुरा सत्य होला तर व्यबहारिक रुपमा यस्तो छँदै छैन । मैले आजसम्म कुनै पनि सार्वजनिक स्थलमा कालो र सेतो रङ्ग भएको मान्छेहरुको जोडी देखेको छैन । एसियाई र दक्षिण अमेरिकी मुलुकबाट आएका मान्छेहरुले यता आफु बैधानिक हुनको लागि आफु भन्दा उमेरदार र कुरुपहरुलाई पनि जोडीको रुपमा स्वीकार गरेका होलान् त्यो भिन्दै कुरा भयो । यस्तो अबस्थालाई सामान्य रुपमा लिन मिल्दैन । अपवादको रुपमा कसको कसैसँग आत्मीय र प्रेम सम्बन्ध हुन सक्ला तर सामान्य रुपमा सामाजिक र आर्थिक हैसियत नमिलेको जोडी हुनै सक्दैन र कुनै कारणबश भयो भने पनि लामो समय टिक्दैन ।


जसले यस्ता हावादारी कुरा गरेका छैनन् र त्यस्तो कुरा सुनेर पनि विश्वास गरेका छैनन् उनीहरुले उत्तेजित हुनुपर्ने कारण नै भएन । तर जसले यस्ता कुरा गरेका छन् र त्यस्तो कुरामा विश्वास पनि गरेका छन्, उनीहरुले एक पटक "कमन सेन्स" को प्रयोग गर्दा उचित हुन्छ । पंक्तिकारसँग कतिपय प्रसंगमा यस्तो हो वा यस्तो होइन भनेर भन्दा नेपालमा रहेकाहरुले खै हामी अमेरिका गएका छैनौ अब उताका मान्छेले भन्छन् विश्वास गर्नै पर्यो भनेर उल्टै सत्य कुरा गर्नेलाई अविश्वास गर्ने गरेको अनुभब छ । अब आफुले नदेखेको ठाउँको सबै कुरा आँखा चिम्लेर बिश्वास गर्ने नै कसैको इच्छा छ भने त्यो उसको व्यक्तिगत स्वतन्त्रता हो, जसलाई सबैले सम्मान गर्नु पर्छ ।


संक्षेपमा भन्ने हो भने हुँदै नभएको काल्पनिक कुरा गरेर आफ्नो सामाजिक तथा आर्थिक हैसियत उच्च देखाउन खोज्नु मानसिक रोग हो, यस्तो रोगको उपचार छ कि छैन पंक्तिकारलाई जानकारी छैन तर सत्य तथा वास्तबिकतामा उभिएर मात्र कुरा गर्यो भने आफैलाई सुबिस्ता हुन्छ ।


@twitter#naviinr


प्रकाशित : जेष्ठ १८, २०७५ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?