कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्रामीण विकास र महिला सशक्तिकरणको चिनियाँ मोडल 

डा. सिर्जना भण्डारी

काठमाडौँ — विश्व मौरी दिवस (मे २०, २०१८) मा चीनको ग्रामीण क्षेत्रको स्थलगत भ्रमण तथा अवलोकन गर्ने अवसर मिल्यो जुन विरलै मिल्ने गर्दछ । चीनको सुदूर दक्षिणमा रहेको हाइनान प्रान्तको छ्यङचोङ काउन्टीमा पर्ने जाहान गविसमा गराइएको यस भ्रमणको प्रमुख उद्देश्य चीनमा अवलम्बन गरिएका ग्रामीण विकास कार्यक्रमहरुका कारण गरिवी निवारण र महिला सशक्तिकरणमा भएको उत्साहपूर्ण सकारात्मक परिवर्तनबारे विश्वका अन्य मुलुकका प्रतिनिधिहरुलाई देखाउनु रहेको थियो । 

ग्रामीण विकास र महिला सशक्तिकरणको चिनियाँ मोडल 

यस आलेखका पंक्तिकार ग्रामीण विकास तथा ग्रामीण महिला सशक्तिकरण विषयको शोधार्थी भएकाले विकास निर्माणको रुपान्तरणको संघारमा रहेको मुलुक नेपालमा चीनको ग्रामीण विकास मोडलबारे जानकारी गराउनु पंक्तिकारको उद्देश्य रहेको छ, साथै नेपालमा पनि ग्रामीण विकासको यस्तो मोडल भित्र्याउन जोड दिनुपर्ने सुझाव दिन चाहान्छु । यो आलेख पंक्तिकारद्धारा गरिएको सम्बन्धित ग्रामीण क्षेत्रको स्थलगत भ्रमण तथा अवलोकन र विगत १७ वर्षदेखि उक्त क्षेत्रमा कार्यरत ग्रामीण विकास तथा ग्रामीण महिला सशक्तिकरण अधिकृत सुश्री लिनलेइ र अन्य क्षेत्रका ग्रामीण विकास अधिकृतहरुसंग गरिएको कुराकानीमा आधारित छ।


विश्वको महत्वपूर्ण आर्थिक शक्ति बन्ने दौडमा अघि बढिरहेको उदीयमान राष्ट्र चीनले उदारवादी नेता देङ स्याओपिङको शासनकाल सन १९७८ देखि आर्थिक खुलापन नीति अपनाउन शुरु गरेयता आर्थिक विकास र गरिवी निवारणमा उल्लेख्य फड्को मारेको छ । गरिवी निवारण लक्ष्य हाँसिल गर्न चीनले शहरी विकास र ग्रामीण विकासमा उत्तिकै ध्यान केन्द्रित गरेको छ । तथापि उच्च आर्थिक विकास हासिल गरेपनि लक्ष्यको तुलनामा विकासले सबै जनताहरुमा समान सामाजिक न्याय प्रदान गर्न नसकेको भने उनीहरु आफैं स्वीकार्छन । तसर्थ आगामी दिनमा विकासका अन्य कार्यक्रमहरु संगसंगै ग्रामीण विकासका कार्यक्रमहरुलाई अझ बढी प्राथमिकता दिंदै सन २०२० सम्ममा ग्रामीण क्षेत्रमा चरम गरिवीमा रहेका ४० मिलियन (एडीबी, २०१६) जनताहरुलाई निम्न वर्गीय जीवनस्तरबाट मध्यम वर्गीय जीवनस्तरमा पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको छ ।


आर्थिक सुधार शुरु गरेको तीन दशक यता ७०० मिलियन जनताहरुलाई गरिवीबाट सफलतापूर्वक मुक्त गराइसकेको चीनको आर्थिक नीति, २०१८ का प्रमुख नीतिहरु मध्ये पूर्णरुपमा गरिवी निवारण पनि एक रहेको छ र। राष्ट्रपति सी चिङफिङले ग्रामीण विकास तथा गरिवी निवारणको प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता गरेका छन् । ग्रामीण विकासलाई तिब्रता दिन चीनले हरेक ग्रायाजुएट विद्यार्थीले कम्तीमा दुई बर्ष ग्रामीण क्षेत्रमा अनिवार्य काम गर्नैपर्ने र त्यसपछि मात्र आफूले इच्छाएको पेशा चुन्न पाउने र ग्रामीण विकास विषयका विद्यार्थीहरुलाई पूर्णरुपमा ग्रामीण क्षेत्रको द्रुततर विकासका लागि परिचालन गर्ने शैक्षिक नीति अवलम्वन गरेको छ । ग्रामीण क्षेत्रमा यसरी परिचालन गरिएका विद्यार्थीहरुद्वारा ग्रामीण क्षेत्रको सम्भावना तथा चुनौतीको अध्ययन र ग्रामीण जनताको विचार केन्द्रसम्म ल्याई आवश्यकता अनुसारको ग्रामीण विकास नीति अवलम्वन गर्दै आइरहेको छ र यसरी ल्याइएका नीतिहरु लक्ष्य हासिलमा सफल पनि भैरहेका छन् ।


ग्रामीण विकासको क्रमिक प्रक्रिया र उच्चतम उपयोग


अधिकतर उष्ण प्रदेशीय हावापानी भएको चीनको हाइनान टापु समुद्र सतहबाट ० देखि १८०० मीटरसम्म उचाइमा रहेकोले यहाँ प्रचुर मात्रामा जैविक विविधता पाइन्छ । छ्यङचोङ काउन्टीको जाहान गा.वि.स.मा धेरैजसो अल्पसंख्यक लि र मियाउ जनजातिहरुको बसोबास रहेको छ । यि पिछडिएका र चरम गरिवी झेलिरहेका अल्पसंख्यक जनजातिहरुको जीवनस्तर उकास्ने उद्देश्यले सन २०१० मा ग्रामीण विकास कार्यक्रम अन्तर्गत स्थानीय रुपमा सम्भावना भएका क्षेत्रहरुको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सम्भावना अध्ययन शुरु गर्यो । समुद्र सतहबाट ८०० मीटर उचाइमा रहेको विविधतायुक्त यस गा.वि.स.मा विषेशतः मौरी पालन; औषधीय हर्वल वनस्पति खेती; तरकारी, फलफूल तथा अन्य नगदेवालीको खेती र पशु–पंक्षी पालनका लागि अति उपयुक्त र प्रशस्त सम्भावना भएको अध्ययनले देखायो । यि चार क्षेत्रहरु एकअर्कामा अन्तर–सम्बन्धित भएकाले विकास कार्यमा सहजता आउनु स्वाभाविक थियो । मौरी पालनका लागि वनस्पतिको प्रचुरता हुनुपर्ने, वनस्पति हुर्काउन र उच्च उत्पादन लिन मल तथा परागसेचनको आवश्यकता पर्ने र पशु–पंक्षी पालनका लागि वनस्पतिजन्य आहाराको आवश्यकता पर्ने हुनाले एक क्षेत्रको उत्पादन कार्यको आधारभूत आवश्यकता स्वतः अर्को क्षेत्रले पूरा गर्ने भएकाले काम, समय र स्रोतसाधन बीच परिपुरकता आयो ।


जाहान गा.वि.स.को विकासका लागि सर्वप्रथम सरकारले एकातिर गाउँका हरेक घरका इच्छुक सदस्यहरु (खासगरी महिला किनकी पुरुषहरु प्राय कामको खोजीमा वाहिर जाने हुनले महिला र वालावालिकाहरुले गरिवी र अभावको मार खेपीरहेका थिए) लाई साक्षरता सिकाइ र सम्वन्धित कार्यक्षेत्र बारे तालिम दिन शुरु गर्यो भने अर्कातिर बाटो घाटो र अन्य पूर्वाधार निर्माण कार्य सुरु गर्यो । तालिम प्राप्त जनशक्तिलाई उनीहरुको रोजाइ अनुसारको क्षेत्रमा काम शुरु गर्न सहयोग तथा अनुदान प्रदान गर्यो । यसक्रममा मौरी पालन गर्न इच्छुकहरुलाई उन्नत मौरी तथा उन्नत प्रविधियुक्त घार; वनस्पति, फलफूल, तरकारी तथा नगदेवालीको खेती गर्न चाहनेलाई उन्नत वीउ–विरुवा र पशु–पंक्षी पालन गर्न इच्छुकहरुलाई उन्नत ब्रीड तथा उन्नत जातका पशु–पंक्षीहरु उपलब्ध गराउनुका साथै यी कार्यहरुका लागि आवश्यक अन्य आधारभूत सामग्री तथा सुविधाहरु प्रदान गरेको थियो । यस अतिरिक्त ग्रामीण व्यवसायीहरु स्वम् पर्याप्त अनुभवी नहुन्जेल आवश्यकता अनुसार निरन्तर रुपमा सरकारी तवरबाटै अनुभवी निरीक्षकहरुलाई निरीक्षणमा खटाइएको थियो ।


व्यवसायको उच्च प्रतिफलका लागि क्रमिक रुपमा औषधीय हर्वल बनस्पति, तरकारी, फलफूल तथा नगदेवाली उत्पादन गरिने स्थानको पहिचान तथा छनौट गरी जमिन तयार गरेर उत्पादन शुरु गरिएपछि यी वनस्पतिहरुमा फूल फुल्ने समयमा मौरीसहित घार स्थापना गरिएको थियो ताकी मौरीलाई मह संकलन गर्न आवश्यक कच्चा पदार्थ पर्याप्त मात्रामा सहजै उपलब्ध होस् । यसपछि पशु–पंक्षी पालन गरिने स्थानको पहिचान तथा छनौट गरी जमिन तयार गरेर पाल्न शुरु गरिएको थियो ताकी उत्पादित वनस्पतिहरु पशु–पंक्षीका लागि दिगो आहाराको स्रोत बन्न सकोस । यसरी निरन्तर उत्पादन प्रक्रिया शुरु भएपछि सबैलाई पायक पर्ने स्थानमा उत्पादित वस्तुहरु भण्डार गर्न भण्डारण गृह, विक्री–वितरणका लागि बजार र कच्चा पदार्थहरुको प्रसोधन गरी अन्तिम वस्तु उत्पादन (जस्तै हर्वल वनस्पति जन्य औषधिहरुको उत्पादन, मह तथा मैन जन्य वस्तुहरु, दुग्ध तथा मासु जन्य वस्तुहरु, फलफूल तथा तरकारी जन्य वस्तुहरु आदिको उत्पादन) गर्ने कारखानाहरु केही सरकारी तवरबाट र केही ब्यापारीहरुद्वारा स्वस्फुर्त रुपमा खुल्दै गए । यसरी छोटो समयमा हासिल गरिएको छिटो–छरितो, दिगो र वातावरण मैत्री ग्रामीण विकासको यो मोडेल सफल भएकोले चीनका अन्य प्रान्तका ग्रामीण क्षेत्रहरुको पनि छिटो–छरितो, दिगो र वातावरण मैत्री विकासका लागि सरकारले यही मोडेललाई स्थानीय अवस्था र आवश्यकता हेरी उचित परिमार्जनका साथ अनुशरण गर्दै जाने नीति लिएको छ ।


यसका अतिरिक्त विकास तथा उत्पादनको प्रक्रियालाई निरन्तरता दिइराख्न र यसमा थप नयाँपन ल्याउनका लागि समय–समयमा सम्वन्धित क्षेत्रका विज्ञ तथा विद्यार्थीहरुको अनुसन्धान टोलीहरुले नयाँ–नयाँ खोज कार्य गर्दै आइरहेका छन् जसले यि व्यवसाय र यसबाट उत्पादित बस्तुहरुको उपयोगितामा अझ महत्व थपिदिएको छ । उदाहरणको रुपमा मौरी पालनलाई लिउँ किनकी मौरीबाट उत्पादित बस्तुहरु मह, मैन, प्रोपोलिस, रोयल जेली, पोलन आदिबारे नयाँ–नयाँ खोज, अनुसन्धान र प्रयोगहरु भईरहेका छन् ।


मे २०, २०१८ मा हाइनान प्रान्तको छ्यङचोङ काउन्टीमा आयोजित विश्व मौरी सम्मेलनका प्रमुख अतिथि थाइल्यान्डका मौरी विषेशज्ञ प्रा. डा. वाङ सिरीले हेम्प तथा मेरीजोना (गाँजा) खेती र मौरी पालन विषयमा गरिएको बृहत अनुसन्धानात्मक प्रस्तुतीमा गाँजाको फूलमा चरेका मौरीको मह र संकलित पोलनले औषधीय विज्ञान तथा थुप्रै रोगको उपचारमा महत्वपूर्ण योगदान दिन सक्ने खुलासा गरेका थिए । उनले देशको नामै तोकेर नेपाल (स्मरण रहोस गाँजा खेती नेपालमा गैरकानुनी छ) लगायत दक्षिण एसियाका देशहरुमा यसको प्रचुर सम्भावना रहेको र मौरी पालनले नेपालको ग्रामीण विकासमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने समेत बताएका थिए । उनका अनुसार हाल विश्वमा अमेरिका, क्यानडा र फ्रान्समा मात्र नियन्त्रित रुपमा यस किसिमको खेती खुल्ला गरिएको छ र थाइल्यान्डले पनि निकट भविश्यमा खुल्ला गर्दैछ ।


अर्को अनुसन्धानका अनुसार– मौरीको एक घारमा ५०–६० हजार मौरी बस्ने र दैनिक २००–३०० मौरीको प्राकृतिक मृत्यु हुने भएकोले यस्ता जैविक विविधतामा हुर्किएका मौरीको आहारा ख्वाएर पालिएका चराचुरुङ्गीहरु र मौरी चरेका वनस्पति ख्वाएर पालिएका पशुहरुको औषधीय विज्ञान तथा थुप्रै रोगको उपचार तथा सन्तुलित स्वास्थ्यमा उच्च महत्व रहने गर्छ । त्यस्तै मौरीद्वारा उत्पादित प्रोपोलिस, रोयल जेली, पोलन आदिको प्रयोग प्राचिनकालदेखि हालसम्म विभिन्न खोज तथा अनुसन्धानमा आधारित भई औषधी र सौन्दर्य सामाग्री बनाउन प्रयोग गरिंदै आइरहेको छ । विश्व मौरी दिवसमा उपस्थित केही बिभिन्न देशका व्यवसायीहरुले नेपाल पहाडी राज्य भएकोले मौरी पालन र मौरीद्वारा उत्पादित बस्तुहरुको प्रचुर सम्भावना हुनुका साथै उच्च गुणस्तरको हुने हुनाले नेपालका मौरी पालक व्यवसायीहरुसंग सम्पर्क गराइदिन आग्रह गर्नुका साथै औपचारिक प्रक्रियाको थालनी गरिए आवश्यक सहयोग समेत गर्न सक्ने बताएका थिए ।


सरकारको यस किसिमको ग्रामीण विकासको समय सुहाउँदो नीति र प्रभावकारी कार्यान्वयनका कारण जाहान गा.वि.स.का गरिव जनताहरुको जीवनस्तर उकासिनु तथा गरिवी निवारण हुनुकासाथै ग्रामीण विकासमा उल्लेख्य प्रगति भएको त्यहाँका बिभिन्न तथ्याङ्कहरुले प्रष्टरुपमा देखाएका छन् । जाहान गा.वि.स.मा उन्नत जातका मौरी पालन, पशु–पंक्षी पालन, औषधीय बनस्पति खेती, फलफूल खेती, तरकारी खेती र नगदेवाली खेतीका कारण दिगो तथा निरन्तर व्यवसायिक उत्पादन शुरु भएकोछ र यी क्षेत्रहरुसँग सम्बन्धित अन्य थुप्रै व्यवसायहरुको समृद्धिमा समेत टेवा पुगेकोछ जसले उक्त क्षेत्रको साथै वरीपरीका अन्य क्षेत्रहरुको समेत माग धान्नुकासाथै यस्तो व्यवसायमा लाग्न हौसला प्रदान गरेकोछ । गाउँमा भएका साँघुरा बाटा तथा गोरेटाहरु चौडा मूल तथा शाखा सडकमा परिणत भएका छन् जसले व्यावसायिक खेतीबाट उत्पादित सामग्रीहरुको ढुवानीमा सहजता आएको छ । योजनाबद्ध र व्यवस्थित सफल ग्रामीण विकासका कारण यस गा.वि.स.मा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यसलाई चीनको नमुना गाउँको रुपमा परिचय गराइएकोछ र यसका लागि घरघरमा पारिवारिक होटल अर्थात होमस्टे र ग्रामीण दृश्यावलोकनका लागि भ्युटावरको व्यवस्था गरिएको छ । यी सम्पूर्ण विकास प्रयासका कारण यस गा.वि.स.को मुहार फेरिनुका साथै यहाँका जनताहरुको जीवनस्तरमा उल्लेख्य प्रगति भएको छ । सन २०१७ को एक तथ्याङ्क अनुसार सन २०१२ मा यहाँको प्रतिव्यिक्त आय ५०० युवान थियो भने २०१७ मा १५००० युवान पुगेकोछ । यस गा.वि.स.का विभिन्न स्थानहरुमा विकास हुनु पूर्व र विकास भएपछिका तुलनात्मक तस्बिरहरु टाँगिएका छन् । जसले दृढ निश्चय र तत्परताकासाथ गरिएका विकास निर्माणका कार्यक्रमहरुको माध्यमबाट छोटै समयमा पनि उल्लेख्य रुपमा गरिवी निवारण गर्न र विकासमा सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिइरहेका छन् । हाल गाउँका सबै जनताहरु शिक्षित छन्, महिलाहरु आर्थिक रुपले सम्पन्न र सामाजिक तथा सांस्कृतिक रुपले स्वतन्त्र भएका छन्, लैङ्गीक विभेद तथा महिला हिंसामा कमी आएकोछ, घर व्यवहारको निर्णय प्रक्रियामा समानता आएकोछ, वयस्क तथा प्रौढ दुवै जनशक्ति आ–आफ्नो व्यवसायिक काममा निपुर्ण र सक्रिय छन् भने वालवालिका तथा युवाहरु पढाइ–लेखाइ तथा व्यक्तित्व विकासमा लागेकाछन् र वृद्धवृद्धाहरु अवकास जीवन विताईरहेका छन् ।


ग्रामीण विकास र नेपाल सन्दर्भ


विकासोन्मुख पहाडी राज्य नेपालको कुल जनसंख्यामा अझै ८०% ग्रामीण क्षेत्रमै छन्, ६०% कृषिमा आश्रीत छन्, ६० देखि ८० लाख गरिवीको रेखामुनि जीउन विवश छन् । अझ विडम्वनाको कुरा ६०% जनसंख्या आश्रीत भएको कृषि क्षेत्रको कुल गार्हस्थ उत्पादनमा २७.६% मात्र योगदान रहेकोछ । तसर्थ, यो वास्तविकताबाट सर्वप्रथम हामीले यो बुझ्नु जरुरी छ कि विकास र समृद्धिका जति नै राम्रा र उपयोगी नीति तथा कार्यक्रम ल्याइए पनि यसको कार्यान्वयन ग्रामीण विकासलाई केन्द्रमा राखेर गर्नु अति आवश्यक छ जसले ग्रामीण क्षेत्रका गरिव जनताहरुको जीवनस्तर उकास्न सहयोग पुर्‍याओस र सबैलाई समान सामाजिक न्याय प्रदान गरोस अन्यथा विकास त होला तर त्यसले समविकास तथा समान सामाजिक न्याय प्रदान गर्न सक्दैन र सरकारको समृद्ध देश सुखी जनता अभियानको कार्यान्वयन सोचे जति गतिशील हुन सक्दैन । यसका लागि हाल विकसित भइरहेको चीन–नेपाल सम्वन्धको औपचारिक प्रक्रियाहरुमा ग्रामीण विकास मोडल स्थानान्तरणका विषयलाई पनि समावेश गराइनु समय सान्दर्भिक हुन्छ । नेपालको हालको सन्दर्भमा पूर्वाधार विकास र ग्रामीण विकासनै राष्ट्रको प्राथमिक आवश्यकता भएकोले यी दुई क्षेत्रहरुलाई केन्द्रमा राखी विकास कार्य अघि बढाइनु पर्छ, र ग्रामीण विकासलाई तिब्रता दिन चीनले जस्तै ग्रामीण विकास अध्ययन गरेका विद्यार्थीहरुलाई पूर्णरुपमा परिचालन गर्नु जरुरी छ । साथै ग्रामीण विकास अध्ययन विषयलाई समय सान्दर्भिक र उपयोगी बनाउन ग्रामीण विकाससंग सम्बन्धित क्षेत्रहरु जस्तै कृषि, सिंचाइ, ग्रामीण प्रविधि, ग्रामीण उर्जा, ग्रामीण व्यवसाय, ग्रामीण बजार व्यस्थापन, ग्रामीण सुचना–प्रविधि आदि विषयहरुलाई ग्रामीण विकास अध्ययन पाठ्यक्रममा प्रभावकारी ढङले समावेश गराईनु पर्छ ।


चिनियाँहरु समक्ष नेपालमा ग्रामीण विकास मोडल तथा प्रविधि स्थानान्तरणबारे कुरा राख्दा उनीहरु छिमेकी मुलुकहरुको विकास निर्माणमा उदार र सहयोग गर्न तत्पर देखिए । यसका लागि उनीहरुले औपचारिक तहबाट कुरा अगाडि बढाउन सुझाव दिए । तसर्थ अव जतिसक्दो चाँढो यसतर्फ अगाडी बढ्नु वुद्धिमानी हुन्छ किनकी हामीले हाम्रो धेरै अमूल्य समय राजनीतिक वहस र चियोचर्चोमा खर्च गरिसक्यौं अव राजनीतिक वहस कम गरौं र विभिन्न क्षेत्रका थिङ्कट्यांकहरुको विद्वतालाई प्राथमिकतामा राखेर वौद्धिक वहस, आर्थिक तथा सामाजिक विकासका वहस गरौं र राष्ट्र तथा जनताको समृद्धिको दिशातर्फ अगाडि बढौं ।


(सन २०१७ मा त्रि.वि. अन्तर्गत ग्रामीण विकास संकायबाट ग्रामीण महिला सशक्तिकरण बिषयमा पिएच.डी गरेका भण्डारी हाल चीनको वेइजिङमा छिन्।)

[email protected]

प्रकाशित : जेष्ठ २०, २०७५ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?