१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लोकवार्ताको ढुकुटीमा थपिएको प्रोफेसर सुवेदीको ‘जोकलोर’

गणेश राई

काठमाडौँ — नेपाली लोकसाहित्यलाई लोकवार्ता अर्थात् ‘फोकलोर’को ढुकटीमा नयाँ आयाम थपिएको छ । जसलाई प्रोफेर अभि सुवेदीले ‘जोकलोर’ भनेर भित्र्याएका छन् । यो नेपाली परिवेशमा नितान्त नयाँ शब्द र विधा हो ।

लोकवार्ताको ढुकुटीमा थपिएको प्रोफेसर सुवेदीको ‘जोकलोर’

लोकसाहित्यको नयाँ केस्रो अथवा सुन्तलाको दानोभित्रको केस्रा भन्न सकिन्छ । केस्राभित्र बियाँ हुन्छ । बियाँसहितको केस्रा प्रोफेसर सुवेदी लोकका माझमा पस्केको छन् । नेपाली लोकवार्ता तथा संस्कृति समाज (नेपाली फोकलोर सोसाइटी)ले यही वैशाख अन्तिम साता काठमाडौंमा सम्पन्न गरेको ‘छैटौं अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलन’मा प्रोफेसरले सुटुक्क पस्केका हुन्- ‘जोकलोर’ ।


‘जोकलोर’ नितान्त पहिलो पटक प्रस्तुत गरिएको हुँदा नेपालीकरण हुन बाँकी छ । यसबारेमा डिस्कोर्स हुनै पाएको छैन । तर अन्तर्राष्ट्रिय बजारमा प्रचलित नै हो । ‘जोकलोरलाई नेपालीमा लोकठट्टा भनौं कि ?’ सुवेदीको मत छ । जोकलोर भनेको मान्छेले जिन्दगीमा गरिने ख्यालठट्टा नै हो । तर, पछिल्लो समयमा यसले राजनीतिक रंग लियो । निक्कै चर्चामा छ । राजनीतिक विषय समेट्दाखेरी चाहिँ राजनीतिज्ञलाई समेटिन्छ, त्यसैले यसलाई जोकलोर भनिएको हो । पात्र धेरै हुन्छन् । राजनीतिमा धेरै छन् । जोकलोरको जन्मदाता अधिनायकवादी शासकहरू हुन् ।


जसले क्रुरतापूर्वक शासन गरे । तिनको शासन ढल्यो नि । ढलिसकेपछि तिनको विषयमा बोल्न पाउँदैनथे मान्छेले । ती ढलिसकेपछि तिनका विषयमा बोल्न मान्छेहरूले जोकहरू निकाले । जस्तै पूर्वी युरोपेली देशहरूमा शासक ढलेपछि मान्छेले जोकलोर निकाले, त्यसपछि धेरै प्रचार भयो । तर के भयो भने सधैं उनीहरूलाई सम्झिने तरिकामा हास्यमात्रै होइन, गम्भीर हुने कुरा पनि निस्क्यो ।


अनि सर्वसाधारण तलका मान्छेले, पीडित मान्छेले ठूला शक्तिशालीहरूलाई ठट्टामा ल्याएर तिनकाबारे जोक गर्न थाले । त्यसैलाई जोकलोर भनियो । तर, नेपालमा अचम्म के देखें भने नेपालको राजनीतिमा जोक धेरै हुन्छ । दुईवटा पक्ष छन् । पहिलो, ठूलठूला व्यक्तित्वले जोक गर्दा रहेछन् । आफैं जोक गरेर, मनोरञ्जन लिए । दोस्रो, ती ठूलठूला व्यक्तित्व आफैं हास्यका पात्र भएको इतिहास छ, यहाँ । यो एउटा सिद्धान्त हो । विदेशमा यसको चर्चा भइसकेको छ । नेपालमा अहिलेसम्म जोकलोर सैद्धान्तिकीकरण भइसकेको छैन । यो देशमा राजनीतिज्ञ धेरै छन् ।


त्यसकारण जब जब नेपालमा राजनीतिज्ञहरूले बढी ठट्टा गर्न थाल्छन्, मलाई झसंग डर लाग्छ । त्यसखेर केआई सिंह (पूर्वप्रधानमन्त्री)लाई सम्झिन्छु । क्रान्तिकारी नेता हुन्, केआई सिंह । उतिखेर ‘बूढाले हसाउँछन्, भेट्न जाऊँ न’ भन्थे । त्यतिखेर क्रान्तिको छवि उहाँमा थिएन ।


नेपालमा के देखियो भने त्यो मान्छे आफैं पनि इन्जोय (मजाक) गर्छ । अनि अरुले पनि जोक गर्दा मिसिन्छ भने त्यो मान्छे जोकरै भएर जान्छ । यसको धेरै उदाहरण छन् । पूर्वमन्त्री नानीमैयाँ दाहाल एक पात्रै हुनुहुन्थ्यो । उहाँको व्यक्तित्वलाई म मान्छु किनभने एक महिला भएर पुरुषहरूमा वर्चस्वमाझ उहाँ लड्नु भयो । तर, अघि बढ्न सक्नु भएन पछि जोकमै सीमित भयो । उहाँ पनि इन्जोय गर्न थाल्नु भयो । जोकले सिद्धयायो । अरुले पनि जोककै रूप दिए । त्यसकारण यो जोकलोर हो । मैले चाहिं यत्ति सिद्धान्त राखें । खोज्दै जानु पर्छ सबैले अरु पनि भेटिन्छन् ।’ प्रोफेसर सुवेदी जोकलोरको बिट मार्दै भनेका छन् ।


लोकवार्ताको मन्थन

अन्तर्राष्ट्रिय लोकवार्ता सम्मेलनको उद्घाटन गर्दै वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले लोकसंस्कृति मनोरञ्जन र पहिचानसँग जोडिएको नभई देश र जनतालाई जोड्ने कडीका रूपमा विश्लेषण गरेका छन् । आदिमकालदेखि रहेका आदिवासी जनजातिका भाषा, संस्कृति, लोकपरम्परा नै राष्ट्र निर्माणका आधार हुन् । राष्ट्रिय संस्कृति हुन् । सद्भाव र शान्तिपूर्ण सहकार्यबाट मात्र पहिचान र लोकसंस्कृतिको प्रवर्द्धन हुन सक्छ । नेपालको नयाँ संविधान, नयाँ राजनीतिक संरचना, नयाँ सरकार र आफ्नै सांस्कृतिक नीति रहेको छ । यिनै नयाँ व्यवस्थाले हाम्रो सांस्कृतिक विविधताको संरक्षण, प्रवर्द्धन गर्नु पर्छ । दिगो विकासका निम्ति सम्बन्धित समुदायलाई सशक्तिकरण गरेर राष्ट्रको विकासमा सक्रिय भूमिका दिलाउन जरुरी रहेको औल्याउँछन् ।


जोशी सम्झिन्छन्, ‘२००० सालसम्म लोकवार्ता, लोकगीत भन्ने नामै थिएन । झ्याउरे, असारे गीत भन्थ्यो । लोकगीतको परम्परा थिएन । त्यतिखेर भारतबाट प्रकाशित हुने पत्रिकामा ज्यादै नाम चलेका लेखक सतेन्द्रविदले एउटा लेख लेखेका थिए– ‘नेपाल इज अ ल्याण्ड अफ फकलोर’ (नेपाल लोकसंस्कृतिको भूमि हो) भनेर । त्यतिञ्जेल हामीलाई थाहा थिएन, क्याहो फोकलोर भनेको ।


२००१ सालतिर म आफैं गाउँघर डुल्ने, बस्ने, बुझ्ने अवसर पाएँ । गाउँघरमा गाइने लोकगीतहरू टिपनटापन गर्ने काममा लागें । त्यसपछि मैले संकलन गरेका लोकगीत ‘शारदा’ पत्रिकामा छापिएको थियो । त्यो बेला पनि लोकगीत नभनिकन ग्राम्यगीत भनिएको थियो । मदन पुरस्कार गुठीले २०१३ सालमा ‘मदन पुरस्कार’ दिने घोषणा गर्‍यो । त्यसपछि साहित्यको फाँटमा मदन पुरस्कारका निम्ति अनेक ग्रन्थहरूको आवश्यकता पर्‍यो । मैले एउटा ग्रन्थ तयार गरें– हाम्रो लोकसंस्कृति । त्यसैमा मैले पाएका जति पनि लोकगीतहरू छन् । त्यसले लोकगीतमा नयाँ जागरण, नयाँ अभियान र नयाँ थालनी सुरु गरेजस्तो मलाई लाग्छ ।


म भन्दा अगाडि पनि धेरै लागेका होलान् । तर साहित्यको रूपमा पत्रपत्रिकामा छापिएका थिएनन् । त्यही पृष्ठभूमिमा भारतको प्रसंग छ, मैले लोकगीतलाई लिएर नेपाली भाषाको व्युत्पत्ति थलो महादुर्गम क्षेत्रमा कर्णाली अञ्चलमा गएर टिम खडा गरें । त्यो टिमअन्तर्गत अहिले छैटौं लोकवार्ता सम्मेलनमा सहभागी हुनुहुन्छ, चूडामणि बन्धु । कर्णाली त्यत्ति पिछडिएको, गरिब, दरिद्र भनेर कहलिएको ठाउँमा लोकगीतको अध्ययन गर्दा थाहा भयो कि त्यो ठाउँ यत्ति धेरै धनी रहेछ कि बयान गरी साध्य भएन ।


त्यसपछि थाहा भयो कि लोकसंस्कृति भनेको चानचुने कुरो होइन । गीत गाएर मनोरञ्जन गर्ने, रिफ्रेस हुने मात्रै होइन । त्यसले राष्ट्र विकासका निम्ति, जागरणको निम्ति पनि, मानिस-मानिस बीच समावेशीको निम्ति पनि, सहअस्तित्वको निम्ति पनि, मुलुकलाई संघीयमा निम्ति पनि महत्वपूर्ण छ । मुलुकलाई सातवटा इन्द्रेणीका रूपमा हाम्रो प्रदेशमा बाँडिएको छ । यिनीहरूलाई जोडेर एकीकृत सांस्कृतिक विकास गर्न महत्वपूर्ण छ ।


सांस्कृतिक विविधता भएको मुलुकमा राष्ट्रिय सांस्कृतिक नीति कार्यान्वयन गरिनु पर्छ । यस्तो काममा सरकार, सम्बन्धित निकायहरू लाग्नु पर्छ । यो हिमालय मुलुक नेपालको लोकसंस्कृतिलाई प्रचारप्रसार, प्रवर्द्धन हुनु वान्छनीय समसान्दर्भिक कार्य हो । यतिखेर नयाँ संरचनाअनुसार नयाँ सरकार बनेका छन् । कमसेकम लोकसंस्कृतिका निम्ति सरकारको तर्फबाट केही हुनसकोस् । विश्वविद्यालय, क्याम्पसहरूमा कोर्स निर्माण र लागू हुनुपर्छ । जातीय संस्थालाई मजबुत बनाउन प्राज्ञिक संस्था बनाउने, प्राज्ञिक विकासका निम्ति लोकवार्तालाई प्रयोग गर्नका निम्ति पनि अन्तर्राष्ट्रिय सम्मेलन सराहनी छ ।’ शताब्दी पुरुष जोशीको कथन छ ।


दिगो विकासका आधार

अन्तर्राष्ट्रिय लोकवार्ता सम्मलेनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, इस्टोनिया, बेलायत, थाइल्याण्ड, स्पेन, अमेरिका, फिनल्याण्डका लोकसंस्कृतिकर्मीहरूको सहभागिता रहेको थियो ।


एकसयभन्दा बढीले लोकवार्तासँग सम्बन्धित कार्यपत्रहरू प्रस्तुत गरेका थिए भने लोकगीत, लोकनृत्यहरू प्रस्तुत गरेका थिए । सबैभन्दा धेरै सहभागी नेपालकै थिए, जसले जाति, भाषा, लोकसंस्कृति, संस्कार, परम्परा, सामाजिक मूल्यमान्यता र सामसामयिक परिवेशमा तिनको परिमार्जनसमेत प्रस्तुत गरेका छन् ।


सम्मेलनका संयोजक संस्कृतिविद् तुलसी दिवसको शब्दमा लोकसंस्कृति मनोरञ्जन, पहिचानको विषय, समावेशी शक्ति प्रदर्शनमात्र होइन । दक्षिण एसियाको विकासोन्मुख मुलुकको दिगो विकासका निम्ति सबैभन्दा महत्वपूर्ण विषय लोकसंस्कृति जो हामीसँग छ । लोकसंस्कृति, लोकजीवन, दृश्य (टान्जिबल) र अदृश्य (इन्टान्जिबल) सांस्कृतिक सम्पदाबारे प्रस्तुति, बृहत् छलफल र बहस गरेर विकासको मुद्दासित जोड्न पहल गर्नु वर्तमान आवश्यकता हो ।


यसरी नेपाली लोकवार्ता तथा संस्कृति समाजले दुई बुँदे काठमाडौं घोषणापत्र–२०१८ जारी गर्दै लोकवार्ता विषयलाई त्रिभुवन विश्वविद्याललगायत मुलुकका अन्य विश्वविद्यालयहरूमा लागू गर्ने रहेको छ ।


त्यसैगरी दक्षिण एसियाली मुलुकको एउटा लोकवार्ता केन्द्र निर्माण गर्ने र त्यो केन्द्र नेपालमा रहने छ । दक्षिण एसियाका हरेक मुलुकमा लोकवार्ता समाज गठन गरी विषयगत प्रवर्द्धनलाई प्राथमिकतामा राख्ने रहेको छ । त्यसनिम्ति समाजले विभिन्न तीन देशका प्रतिनिधि लोकसंस्कृतिविद्लाई मानार्थ सदस्यतासमेत प्रदान गरी प्रक्रिया अघि सारेको छ । यसरी नेपाली लोकसंस्कृतिको प्रवर्द्धनमा नयाँ संकेत जुटेको छ ।

प्रकाशित : जेष्ठ २१, २०७५ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?