बढ्दो प्लास्टिक प्रदूषण

सन्दर्भ : विश्व वातावरण दिवस
संसारमा एउटै पदार्थ छ, जुन कुहिन १००० वर्ष लाग्छ, त्यो प्लास्टिक नै हो ।
प्रा. मुरलीगोपाल रंजितकार

काठमाडौँ — मानिसले संसारमा अत्यधिक रूपमा प्लास्टिकको प्रयोग गर्न थालेको करिव ५ दशकमात्र भएको छ । सन् १९५० को दशकमा धेरै सानो परिणाममा प्लास्टिक उत्पादन गरिएको थियो । यसलाई सजिलैसँग व्यवस्थापन गरिएको पनि थियो ।

प्लास्टिकका सामानहरूको उत्पादन १९९० को दशकमा आएर झन्डै ३ गुणाले वृद्धि भएको देखिन्छ । अझ योभन्दा बढी २००० को सुरुमा मात्र विगत ४० वर्षको प्लास्टिक उत्पादनभन्दा बढी एकै दशकमा भएको पाइयो । आजको अवस्थालाई नियाल्ने हो भने संसारभर ३० करोड टन प्लास्टिक प्रतिवर्ष उत्पादन हुने गरेको छ । जुन हाल संसारमा भएका ८ अर्ब मानिसको तौल बराबर हुन आउँछ ।

संसारमा प्रतिदिन १० लाख प्लास्टिक बोतल (पिउने पानीको लागि प्रयोग हुने) बिक्री हुने गरेको छ । प्लास्टिक व्यागको कुरा गर्ने हो भने प्रत्येक वर्ष एकपटक प्रयोग गर्ने प्लास्टिक व्याग एक वर्षमा ५० खर्ब टन उत्पादन हुन्छ । अर्को एक अनुसन्धानले यो पनि देखाएको छ : १९५० को सुरुमा ८.५ खर्ब टन प्लास्टिक उत्पादन भएको थियो भने जसको ६० प्रतिशत जाने स्थान भनेको व्यवस्थित वा अव्यवस्थित ल्यान्ड फिल्ड साइट अथवा प्राकृतिक वातावरणमा नै हो । मानिसहरूको जीवनशैलीमा आएको परिवर्तनसँगै प्लास्टिकका सामानहरूको प्रचुर मात्रामा प्रयोग हुनथाल्यो । परिणामस्वरूप १९५० को दशकपछि अन्य पदार्थभन्दा प्लास्टिकको उत्पादन अत्यधिक वृद्धि भयो ।

Yamaha

प्लास्टिकको उत्पादन गर्ने मुख्य कच्चापदार्थ भनेको केमिकल, खनिज तेल, प्राकृतिक ग्यास र कोइला हो । यी सबै कच्चा पदार्थहरू पुन: प्रयोग गर्न नसकिने स्रोतमा पर्छ । अहिले भइराखेका प्लास्टिकका सामानको माग र उत्पादनको गतिलाई दृष्टिगत गर्ने हो भने २०५० सम्म प्लास्टिक उत्पादन गर्नमात्र संसारभरमा हाल उपलव्ध भइराखेको खनिज तेलको २० प्रतिशत प्रयोग गर्नुपर्ने हुन्छ, जुन ५ लाखभन्दा कम जनसंख्या भएको ५ वटा देशका लागि १० वर्षलाई पुग्ने खनिज तेल हो ।

प्लास्टिकका प्रकार
विकासको गति र स्वभावलाई मध्यनजर गर्ने हो भने संसारका सबै मानिसले एकपटक प्रयोग गर्ने प्लास्टिकका सामानहरू नै अत्यधिक प्रयोगमा ल्याउँछन् । प्लास्टिकका धेरै स्वरूप छन् । यहाँ मानिसले आफ्नो दैनिक क्रियाकलापमा प्रयोग गर्ने प्लास्टिकका सामानहरूको स्वरूपबारे मात्र विश्लेषण गर्दा :

(क) ‘पेट’ अर्थात ‘पोलिथिलिन टेरोफालेट’ जसबाट पानी पिउने बोतल, स्वास्थ्य क्षेत्रमा प्रयोग हुने सिरिन्ज र विस्कुट लगायत अन्य खाद्य सामग्रीको प्याकेजिङ गर्न प्रयोग गरिने प्लास्टिकहरू उत्पादन गर्छ ।

(ख) ‘एचडीइपी’ अर्थात् ‘हाइ डेन्सिटी पोलिथिन’ जसबाट प्राय: स्याम्पोका बोतलहरू, दूधका बोतलहरू, फ्रिजमा प्रयोग गर्ने भाँडा र पिउने पानी सप्लाइ गर्ने पाइप, आइसक्रिम बनाउने कपहरू बनाउने गरिन्छ ।

(ग) ‘पीपी’ अर्थात् ‘पोलिप्रोपिलिन’ जसबाट पोतेको चिप्सजस्ता खाद्यपदार्थ प्याक गर्ने व्याग, माइक्रो ओवनमा प्रयोग हुने भाँडाहरू, आइसक्रिम बनाउने ट्युवहरू र बोतलका बिर्कोहरू बनाइन्छ ।

(घ) ‘पीएस’ अर्थात् ‘पोलिस्ट्रिम’ जसबाट कटलरी, प्लास्टिक प्लेट र प्लास्टिक कपहरू बनाइन्छ ।

(ङ) ‘इपिएस’ अर्थात् एक्सपान्डेड ‘पोलिस्टिरिन’ जसबाट कुनै झोलाहरूको सुरक्षाको लागि एयरपोर्टमा गरिने प्याकेजिङ र तातो पेय पदार्थको लागि प्रयोग गरिने कपहरू बनाउन प्रयोग गरिन्छ ।

प्लास्टिकको असर
यस प्रकार विभिन्न रूप र स्वरूपमा उत्पादन गरिने अत्यधिक प्लास्टिकका सामानहरूको उत्पादन कम गर्न कच्चापदार्थको प्रयोगमा कमी ल्याउने अथवा कम गर्दै जाने र उत्पादित प्लास्टिकका सामानहरूबाट सिर्जित फोहोर–मैलालाई उचित व्यवस्थापन गर्ने नै आजको आवश्यकता र चुनौती पनि भएको छ । यी माथि उल्लेखित आधारबाट हामी के निक्र्योलमा पुग्न सक्छौं भने हालका दिनमा वातावरण प्रदूषणको मुख्य कारणहरूमध्ये प्लास्टिक पनि एक हो । प्लास्टिकको समुचित व्यवस्थापनले नै वातावरण सुधार्न टेवा पुर्‍याउन सकिन्छ ।

अझ घतलाग्दो कुरा के छ भने संसारमा उत्पादन भएका नौ प्रतिशत प्लास्टिकमात्र पुन: प्रयोगमा ल्याउन सकिन्छ । अल्पविकसित र विकसित देशहरूमा मात्र १२ प्रतिशत प्लास्टिक जलाएर नष्ट गर्ने चलन छ, जुन स्वास्थ्यका लागि अति नै घातक प्रक्रिया हो । बाँकी ८८ प्रतिशत प्लास्टिकजन्य फोहोरमैला अव्यावस्थित पाराले विसर्जन गरेको पाइन्छ । ठूलठूला सहरहरूबाट उत्पादन हुने फोहोरहरूसँगै मिसियर आउने प्लास्टिकहरूले फोहोरमैलाको मात्रा बढाएर व्यवस्थापन गर्न हम्मेहम्मे पारेको छ । कुनै पनि सहरबाट संकलन गरिने फोहोरमैलामा करिव २५ प्रतिशतमात्र प्लास्टिकजन्य पदार्थ हुने गरेको छ । जुन कुहिन सक्दैन र जसको कारणले अरू फोहोरको मात्रा पनि बढी हुन्छ । र व्यवस्थापन खर्च बढी लाग्छ ।

अझ उचित तरिकाले व्यवस्थापन नगरिएका ठूलो परिमाणका फोहोरले जमिन मुनिको पानी साथै घरपालुवा र जंगली जनावरहरू, नदीका माछा लगायतका अन्य जलचरहरू साथै सामुद्रिक प्राणीहरूलाई अत्यधिक असर पारेको पाइएको छ । जमिनमुनि प्लास्टिकजन्य फोहोरलाई गाडेर प्रदूषण मुक्त हुनखोज्नु क्षणिकका लागिमात्र हो । कालान्तरमा यसले वातावरणमा ठूलो प्रभाव पारेको हुन्छ । नदीहरूमा जम्मा हुने प्लास्टिक अन्त्यमा समुद्रको पिँधमा गएर जम्मा हुन्छन् ।

अहिले समुद्र दूषितको मुख्य कारण नै प्लास्टिकजन्य फोहोरमैला हो । २०१७ को कोलम्बिया विश्वविद्यालयलको एक अध्ययन अनुसार समुद्रमा प्रत्येक वर्ष ८ मिलियन टन प्लास्टिकजन्य फोहोर थुप्रिन्छन् । संसारमा ९० प्रतिशत प्लास्टिकजन्य फोहोर विकासशील देशहरूका १० वटा मुख्य नदीहरूबाट समुद्रसम्म पुग्ने गर्छ । किनभने संसारमा एउटै पदार्थ छ, जुन कुहिन १००० वर्ष लाग्छ, त्यो प्लास्टिक नै हो ।

समुद्रमा थुप्रिने क्रममा विभिन्न कारणले प्लास्टिक सानोभन्दा सानो कणमा परिणत भएर जान्छ, तर हजारौं वर्षसम्म पनि प्लास्टिकको गुण हराउँदैन । आजभोलि समुद्रका माछा लगायत जलचरहरूको खाना प्लास्टिकजन्य फोहोर हुनथालेको छ । जुन माछाको शरीरको माध्यमबाट हाम्रो खानासम्म फेरि आइपुग्छ । केही अनुसन्धानबाट के पनि सिद्ध भएको छ भने सामुद्रिक वाष्पीकरणसँगै बादलमा अति नै साना प्लास्टिकका कणहरू पनि पानीसँग आउँछ, जुन वर्षात, नदी, खानेपानी मूल हुँदै फेरि हाम्रो घरको धारासम्म आइपुग्छ । यस प्रकारको प्रदूषणले नै संसारमा नयाँ र प्राणघातक जस्ता क्यान्सर रोगहरू बढिरहेको छ ।

यदि यही क्रममा समुद्रमा प्लास्टिकजन्य फोहोर जम्मा हुँदै जाने हो भने सन् २०५० सम्म माछाभन्दा प्लास्टिकको परिमाण बढी हुने अनुमान वैज्ञानिकहरूले गर्न थालेका छन् । आजभोलि प्लास्टिकजन्य फोहोर उत्पादन गर्ने मुख्य देशहरूमा संयुक्त राज्य अमेरिका, जापान, युरोपियन देशहरू पर्छन् भने ती देशहरूमा प्लास्टिकजन्य फोहोरको व्यवस्थापन उचित तरिरकाले गरिरहेको पाइन्छ । अझ २०१७ मा गरेको एक अध्ययनले के पनि देखाएको छ भने संसारमा उत्पादन हुने सम्पूर्ण प्लास्टिकजन्य फोहोर–मैलामध्ये ५० प्रतिशत दक्षिण–पूर्वी ५ एसियाली राष्ट्रहरू चीन, इन्डोनेसिया, फिलिपिन्स, थाइल्यान्ड र भियतनामले मात्र गर्छन् । यसको मुख्य कारण यी देशहरूको द्रुत आर्थिक विकास, गरिबी जनसंख्या घटाउने र स्तरीय जीवनशैलीको विकास नै हो ।

यी ५ राष्ट्रले औसत प्रतिवर्ष १ लाख टन प्लास्टिकजन्य फोहोर उत्पादन गर्छन् भने ती सबै ५ देशमा वर्षमा मात्र सय हजार टन प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापन गर्ने गरेको पाइन्छ । प्लास्टिकजन्य फोहोर र यसबाट वातावरणमा परेको प्रतिकूल असरले गर्दा सचेत देशका जनता जागिसकेका छन् । प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न अल्पकालीन र दीर्घकालीन योजनाहरू बनाउन थालिसकेका छन् । तत्कालै नियमित एवं प्रभावकारी जनचेतना जागरण अभियान सञ्चालन, प्लास्टिकको पुन: प्रयोगको लागि सहयोग, प्लास्टिकका सामान प्रयोग गर्ने निकायहरूबाट बढी कर असुली गर्ने नियमको थालनी र सानो माइक्रोनबाट बनेको प्लास्टिकका सामानहरूमाथि प्रतिबन्ध लगाउँदै जानु वेश हुन्छ ।

नेपालले पनि अफ्रिकी मुलुकहरूले झैं प्लास्टिक व्याग उत्पादनमा गरेको प्रतिबन्धलाई अनुशरण गर्ने हो भने हाल विद्यमान प्लास्टिकजन्य फोहोरमैलाबाट सिर्जित समस्याको ५० प्रतिशत समाधान गर्न सकिन्छ । आज सबै स्थानमा सकारात्मक सोच र सकारात्मक योजना बनाउनुपर्छ । गाउँपालिका, नगरपालिका, प्रदेश सरकार र केन्द्रीय सरकारले आआफ्नो क्षेत्राधिकारभित्रको कार्ययोजना बनाई ढिलो नगरिकन कार्यान्वयनतिर लाग्नु नितान्त आवश्यक भएको छ । संयुक्त राष्ट्र संघले यस वर्ष विश्व वातावरण दिवस २०१८ को सन्दर्भमा अघि सारेको नारा ‘बिट प्लास्टिक पोलुसन’ अर्थात् प्लास्टिक प्रदूषणलाई अन्त्य गरौंलाई सार्थक बनाउन सरकार लगायत सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नु आवश्यक छ ।
रंजितकार वातावरणविद् हुन् ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०८:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

६४ नयाँ स्तम्भ थपिए

नेपाल–भारत सीमा सर्वेक्षण बैठक
कान्तिपुर संवाददाता

भद्रपुर (झापा) — नेपाल–भारत सीमा क्षेत्रमा थप ६४ वटा नयाँ सीमास्तम्भ थपिएका छन् । सीमास्तम्भ व्यवस्थापन गर्न दुवै देशका अधिकारीको सहभागितामा ४ वर्षअघि ‘फिल्ड वर्क टिम’ बनेको थियो । त्यही टिमको अगुवाइमा सन् २०१४ देखि सीमास्तम्भ व्यवस्थापन हुँदै आएको थियो ।

झापाको घेराबारीमा नापी विभागका प्राविधिक र भारतीय सीमा सुरक्षा बलका जवान नयाँ सीमा स्तम्भ निर्माण गर्दै । फाइल तस्बिर : कान्तिपुर

आइतबार भएको सीमा सर्वेक्षण बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ४ वर्षभित्र ६४ वटा नयाँ सीमास्तम्भ निर्माण भएको जानकारी दिए । उनका अनुसार एउटा मुख्य र बाँकी सहायक स्तम्भ हुन् । ५ वटा मर्मत गरिएको छ । बैठकले हराएका स्तम्भ खोजबिन गरी मर्मत र पुनर्निर्माणमा जोड दिएको छ । बैठकपछि प्रजिअ दाहालले भने, ‘सीमामा पिलर नहुँदा समस्या हुने गरेको छ, त्यसैले हराएका स्तम्भ खोज्ने, टुटफुट भएकालाई मर्मत गर्नेमा हामी सहमत भएका छौं ।’

बैठकमा इलामका प्रजिअ श्रवणकुमार तिम्सिना, पाँचथरका प्रकाश अधिकारी, मोरङका रामप्रसाद आचार्य र सुनसरीका प्रेमप्रकाश उप्रेतीलगायत सहभागी थिए । भारततर्फबाट सुपौलका डिस्ट्रिक्ट मेजिस्ट्रेड विद्यानाथ यादव, किसनगन्जका महेन्द्र कुमार र हिमांशु शर्मा सहभागी थिए । पश्चिम बंगालको दार्जिलिङ जिल्लाबाट सीमासुरक्षा बल र वनका अधिकारी सहभागी थिए ।

यसअघि झापामा मात्रै २ सय ५४ स्तम्भ ‘गायब’ रहेको नापी विभागले जनाएको थियो । सीमामा हराएका भनिएका स्तम्भहरूको खोजी गरी तिनलाई पुरानै स्थानमा स्थापना गर्न विभागले काम सुरु गरिसकेको छ । नापी विभागका अनुसार झापामा कुल ९ सय ८९ वटा साना, ठूला र मझौला स्तम्भमध्ये २ सय ५४ वटा गायब छन् । झापा–इलामको सीमावर्ती बाहुनडाँगीस्थित तिरिङमा रहेको ११७ नम्बरको सीमास्तम्भबाट खजुरगाछीको १५२ नम्बर स्तम्भसम्मको करिब १ सय ४६ किलोमिटरमा सानो, मझौला र ठूलो गरी ९ सय ८९ वटा स्तम्भ छन् ।

८ वर्षअघि नेपाली अधिकारीको टोलीले झापामा सीमा विवाद रहेका स्थान, स्तम्भहरूको निरीक्षण र अनुगमन गरेको थियो । अनुमगनपछि टोलीले ५६ ठूला, ३ मझौला र २ सय ५७ वटा साना गरी ३ सय १६ वटा स्तम्भ दुरुस्त अवस्थामा रहेको, १ सय २ वटा ठूला, १९ मझौला र २ सय ५० वटा साना गरी ३ सय ७१ वटा स्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०८:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT