एकतापछिको अवसर

संगीता खड्का

काठमाडौँ — टुट फुट र विभाजनको पर्यायजस्तै बनेका नेपालका कम्युनिस्ट पार्टीहरूको ऐतिहासिक एकता सम्पन्न हुनुले नेपालको राजनीतिले नै नयाँ मोड लिन पुगेको छ । केही समयअघि दर्जनौं कम्युनिस्ट पार्टी रहेको नेपालमा पछिल्ला केही वर्षयता धुव्रीकरण प्रक्रिया चलिरहेकै थियो ।

एकतापछिको अवसर

पछिल्लो एक दशकमा क्रमैसँग देशकै ठूला पार्टीका रूपमा रेहका यी दुई पार्टीबीचको एकताले निक्कै महत्त्व राख्छ । स्थापनाको झन्डै सात दशक पुग्नै लाग्दा कम्युनिस्ट जनमतको महत्त्वपूर्ण हिस्सा ओगट्न सफल दुई ठूला पार्टीबीचको एकता नेपालको कम्युनिस्ट आन्दोलनमा एउटा कोसेढुंगा बनेको छ ।

आपसी फुटका कारण पनि सधैं अस्थिर राजनीति कायम रहँदा देश विकासको मुद्दा जहिले पनि ओझेलमा पर्दै आएको थियो । त्यस तीतो यथार्थलाई आत्मसात् गर्दै दुई ठूला कम्युनिस्ट पार्टीहरू संघीय र प्रदेश निर्वाचनमा जाँदा नै पार्टी एकता गरेर देशलाई समृद्ध बनाउने संकल्प बोकेका थिए । वाम गठबन्धनका नाममा गरिएको समीकरणलाई जनताले मतदानमार्फत स्वीकृति दिएका थिए । दुई पार्टीलाई एक बनाएर शीर्ष नेताहरूले जुन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्, अब स्थिरता र समृद्ध देशको जनआकाक्षांलाई पूरा गर्ने अभिभारा नेपाल कम्युनिस्ट पार्टीका काँधमा आइपुगेको छ ।

आफ्नो संकल्प पूरा गरेर देशलाई विकासको गतिमा लान नेकपाका लागि यो सुनौलो अवसर र ठूलो चुनौती हो । हुन त, तत्कालीन एमाले र माओवादी दुवै दलले कहिले साझेदारीमा त कहिले फरक फरक तरिकाले पटक पटक सत्ताको बागडोर सम्हालिसकेका छन् । कहिले संक्रमणकाल त कहिले बहुमत नहुँदा उनीहरूबाट अपेक्षित परिणाम जनताले महसुस गर्न पाएका थिएनन् । संघीय निर्वाचनमा जानुअघि यी दुवै दलले स्थिर सरकार र समृद्ध मुलुकको नारा दिएका थिए । त्यसकै परिणामस्वरूप नै जनअभिमत पनि प्राप्त भएको थियो । अब ती वाचा पूरा गर्नुपर्ने दायित्व नेकपालाई छ ।

करिब ४/५ दशक अघिसम्म पनि हाम्रो मुलुकभन्दा कमजोर अवस्था भएका धेरै मुलुक विकासको अग्रपक्तिंमा आफूलाई पुर्‍याइसकेका छन् । हामी भने हरेक आन्दोलन सम्झैतामा टुंगिएका कारण जहिले नेपाली राजनीति अस्थिरताको दुश्चक्रमा फसिरह्यौं । विशेषगरी २००७ सालदेखि २०६२/२०६३ को जनआन्दोलनसम्ममा नेपाली राजनीतिले धेरै उतारचढाव सामना गर्‍यो ।

राज्यप्रणाली नै फेरिएको २०६२/२०६३ को ऐतिहासिक जनआन्दोलनपछि भने अब मुलुकले काँचुली फेर्नेमा आम जनमानसका मनमा आशाको दियो बालिदियो । हिजो राजनीतिक अस्थिरता, संक्रमणकाल थियो जसको मारमा मुलुकको विकास सधैं पछाडि पर्‍यो तर आज नेपाल कम्युनिस्ट पार्टीसँग अत्यधिक बहुमत छ, संविधान कार्यान्वयन भइसकेको छ अर्थात राजनीतिक स्थिरता पनि छ । यस्तो अवस्थामा सरकार चलाउने जनमत पाएको दलका सामु सरकार ५ वर्षसम्म निरन्तर चलाउने स्वर्णिम अवसर मात्र होइन, मुलुकको समृद्धिमा कायापलट हुने गरेर विकास गरेर देखाउने अभिभारा पनि छ । मुलुकले यति लामो समयसम्म झेलेको अभाव र बेथितिलाई सरकारले सम्भावना र समृद्धिमा परिणत गर्नुपर्नेछ । लामो समय बेथितिमा कुदेको मुलुकलाई कायापलट गर्न सजिलो पक्कै छैन । पुरानै शैलीमा रमाउन बानी परेका कर्मचारी प्रशासन र राजनीतिक नेताहरू नै शासन सत्तामा छन् । यस्तो अवस्थामा साँच्चै मुलुकको समृद्धिका लागि केही परिणाममुखी काम गर्ने हो भने सरकारले एउटा दृढसंकल्प गर्नैपर्छ ।

सरकार सफल हुन कुनै एक दुईवटा मन्त्रालय वा नेतृत्व गर्ने प्रधानमन्त्री मात्रै सक्रिय रहेर वा विकासका मीठा गफ गरेर मात्रै हँुदैन, मुलुकप्रति दृढ भएर अहोरात्र खट्नुपर्छ ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?