कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

क्रान्तिको स्वाङ र समृद्धिको चटक

जुनसुकै राजनीतिक परिवर्तन हुँदा पनि उत्पीडन कायम राख्ने खालको संरचनासमेत नफेर्ने नयाँ–पुराना शासकहरूको नीति–नियतमा कुनै फेरबदल आएको छैन ।
राजेन्द्र महर्जन

काठमाडौँ — खड्गप्रसाद शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख अध्यक्ष र प्रधानमन्त्रीमात्रै होइनन्, गायक पनि हुन् । गितार र हार्माेनियम बजाएर गीत गाउन रुचाउने प्रम ओली पहिले जनवादी गीत गाउँथे, अहिले धनवादी । झापाली विद्रोही हुँदा उनी निराशा, आक्रोश र क्रान्तिका गीत गाउँथे । सत्तासीन शासक हुँदा खुसी, विकास, समृद्धि र समाजवादका श्लोक ।

क्रान्तिको स्वाङ र समृद्धिको चटक

गायक प्रम ओलीसँग गीत–संगीतबारे अनेक सैद्धान्तिक ज्ञान पनि रहेछ । उनले फिल्मको सिक्वेल बनेझैं गीतको पनि दोस्रो, तेस्रो भाग बनाउन सकिने उपाय सुझाएर गीत–संगीत फाँटमा नयाँ योगदान दिएको व्याख्या आउन सक्छ अब । जनताका गीत गाउने कलाकार रामेश दाइलाई सम्मान गर्ने क्रममा ओलीबाट व्यक्त भनाइ उल्लेखनीय छ । उनले गुरु–गम्भीर मुद्रामा भनेका छन्, ‘गाउँ–गाउँबाट उठ...२–३ बन्दै जाओस्, किनभने हामी सधैं उठ्नुपर्छ, जाग्नुपर्छ । हिजो बेग्लै कारणले, आज बेग्लै कारणले उठ्नुपर्छ । जोसँग जे छ, त्यही लिएर राष्ट्र निर्माणमा जुट्नुपर्छ । भोक र जाडोले अब कोही मर्ने छैन । तपाईंहरूले अब निराशाका गीत गाउनुपर्ने छैन ।’

यसरी उनले गीत–संगीतको उद्देश्यबारे पनि निर्देशित गरेका छन् : लेखक–कलाकारहरू, अब भोक र जाडोले कोही पनि नमर्ने खालको राष्ट्र निर्माण जुट † जनता जगाएर सत्तासीन भएपछि मोनोरेल र पानीजहाजको सपना बाँड्दै हिँडेका ओलीका बोली र नीतिमा शासकीय विरासत देखिन्छ । राष्ट्र निर्माणको भावावेशपूर्ण भाषण गर्ने शासकहरूका बोली र नीतिमा ‘राष्ट्र’भित्र भोका–नांगा पर्छन् कि पर्दैनन्, तीस वर्षसम्म विकास र समृद्धिको शाही घोषणा र राजकीय आचरण हेरे छर्लंग हुन्छ ।

‘खुसफहमीको गीत’
झाडाबान्ताले समेत महामारीको रूप लिएर भोकानांगाको ज्यान लिने देशमा जसरी मेडिकल माफियाको ‘रोगको व्यापार’ सहज रूपमा चलिरहन्छ, त्यस्तै जारी रहने रहेछ, त्यसबाट मोटाएका शासकहरूबाट भोक र जाडोले मान्छे नमर्ने राष्ट्र निर्माण सम्बन्धी ‘खुसफहमीको गीत’ गायन पनि । जुनसुकै राजनीतिक परिवर्तन हुँदा पनि उत्पीडन कायम राख्ने खालको संरचनासमेत नफेर्ने अनि पुरानो शक्ति–सम्बन्धलाई पनि यथावत राखिछाड्ने नयाँ–पुराना शासकहरूको नीति–नियतमा कुनै फेरबदल आएको छैन ।

त्यसैको परिणामस्वरूप भोक र जाडोले कोही पनि नमर्ने खालको नेपाल नबन्ने थाहा हुँदाहुँदै आम मान्छेबीच सार्वजनिक खपतका लागि ‘समृद्ध नेपाल : सुखी नेपाली’को खुसफहमीको गीत गायनबाट मज्जा दिलाइएको छ । ‘पेडागोजी अफ होप’का लेखक पाउलो फ्रेरेले भनेझैँ खुसफहमीको गीत गाएर मज्जा लिने–दिने काम त गर्न सकिन्छ, तर जनता (राष्ट्र) को जीवनमा सुख–समृद्धिका लागि त उत्पीडनकारी संरचना र शक्ति–सम्बन्धलाई फेर्ने आशाका गीत नै अत्यावश्यक हुन्छ । आशा, समृद्धि र सुखले भरिएको नेपाल निर्माणका लागि आशाका गीतको गायनसँगै कटु यथार्थलाई जरैदेखि फेर्ने आचरण चाहिन्छ ।

कुर्सीको मात नै कस्तो हुन्छ भने टुकुचा खोलो पार गर्दै सिंहदरबार बैठकमा जाँदै गर्दा पनि सात समुद्र पार गरेको भान हुन्छ, जुन खुसफहमी मनोदशा हो । त्यसैले शासकहरूलाई आफू सत्तामा आसिनमा भएपछि राष्ट्र धेरै फेरिएको वा फेर्न सकिने खुसफहमी हुनु अनौठो होइन । र उनीहरूले भ्रमको अवस्था कायमै राख्न सत्ता–स्वार्थका लागि खुसफहमी फैलाउनु पनि अचम्मको कुरा होइन । उनीहरू ससाना ज्यानमारा खाल्डो पुर्न नसके पनि, जीवन नै मास्ने धुलोसमेत बढार्न नसके पनि सोम शर्माको शैलीमा रेल र पानीजहाजका सपना देखाएर जनमानसलाई रनभुल्लमा पार्न वा सुखी र खुसी अनुभूत भएको भान पार्न खप्पिस हुन्छन् नै । एक चिन्तक र विश्लेषकको भाषामा विकास र समृद्धिको नारा पनि धर्मजस्तै नशा हो, जसले अमानवीय जीवनमा आनन्द, खुसी र सुखको भ्रान्त मनोदशा पैदा गरिरहन्छ । तर हिंसा र अमानवीयता उत्पादन– पुन: उत्पादन गर्ने उत्पीडनकारी संरचना तथा मालिक–दासको जस्तो सम्बन्ध सिर्जना गरिरहने शक्ति–सम्बन्ध विरुद्ध संघर्ष गरेका लेखक–कलाकारलाई पनि शासकीय खुसफहमीमा मज्जा आउनु भनेको स्वाभाविक पक्ष होइन ।

समृद्धिको वर्चस्वभित्र जनमानस
‘वाम’ गठबन्धनको चुनावी अभियान, दुई तिहाइ बहुमतको सरकार निर्माण र नेकपा (नेकपा) नामक बृहत् दलको निर्माण एवं प्रधानमन्त्री ओलीको अभ्युदयसँगै ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले खुसफहमीको राष्ट्रिय वातावरण नै सिर्जना गरेको छ ।

यस्तो वातावरणमा खुसफहमीको भाङ खाएर समाजवादमा पुगेसरी रङ्मगिने अवस्थाको निरन्तरताका लागि शासकहरूले लेखक–कलाकारबाट पनि सत्ता–स्वार्थ र हित अनुकूल अनेक अपेक्षा राख्नु वा उनीहरूलाई नीति–निर्देशित गर्ने क्रम बढ्दै जान्छ । हिजोका जनवादीदेखि धनवादी साहित्यसम्मलाई एउटै तुलोले तौलिने, विगतदेखि ‘राष्ट्रकवि’का पुजिएका साहित्यकारदेखि ‘अराष्ट्रिय, असामाजिक, विखण्डकारी तत्त्व’ मानिएका लेखक–कलाकारलाई पनि एकसाथ सम्मान गर्ने क्रम त्यसकै निरन्तरता हो । इटालीका चिन्तक अन्तोनियो ग्राम्सी भन्छन्, कुनै राजनीतिज्ञले आफ्नो समयको कलामाथि एक विशिष्ट सांस्कृतिक लोकलाई व्यक्त गर्नका लागि दबाब दिन्छ भने उसको त्यस्तो व्यवहार राजनीतिक उद्देश्यबाट प्रेरित छ, त्यो सांस्कृतिक आलोचना होइन ।

हामीकहाँ लेखक–कलाकारको कार्यक्रममा अतिथिको आसन ग्रहण गर्नासाथ ‘सरकारी कम्युनिस्ट’ नेताका शरीरमा माक्र्सदेखि माओसम्मको भूत चढ्न थाल्छ । र उनीहरूले ‘येनान गोष्ठीमा साहित्य र कला सम्बन्धी भाषण’को शैलीमा कला–साहित्यसँगै विकासे सपना र र समृद्धिको खुसफहमी बाँड्न थालिहाल्छन् ।

ग्राम्सीकै अवधारणा सापटी लिएर भन्दा, यसरी अचेल उनीहरू आमजनताको मात्रै होइन, धेरैजसो लेखक–कलाकारका दिल–दिमागमा पनि ‘वर्चस्व’ (हेजिमोनी) कायम गर्न सफल देखिएका छन् । शासित हुने स्वीकार्यता–सम्मति मानिने वर्चस्वकै विस्तारको फलस्वरूप लेखक–कलाकारमा विकास र समृद्धिमाथि सन्देहको सट्टा विश्वास छ, पुँजीवादी लोकतन्त्रबारे प्रश्नको साटो अनेक तर्क र जवाफ छन्, समाजवादी सपनाबारे पनि आलोचना र विश्लेषणको सट्टा जिकिर र जिद्दी छन् । उनीहरू आफूलाई संसदीय मार्गबाट सत्तामा जाने विश्वकै नमुना कम्युनिस्ट पार्टी ठान्ने नेताहरूलाई युरोप र ल्याटिन अमेरिकाको उदाहरण देखाउन सक्दैनन् । उनीहरूमा सर्वहारा वर्गको मुक्तिका लागि ज्यान अर्पेर लागेका नेताहरू पहिले आफै समृद्ध बन्ने लक्ष्यमा कसरी पुगे भन्ने प्रश्नसमेत छैन । यसको अर्थ उनीहरूमा नेताहरूले जस्तै सबैभन्दा पहिले आफ्नै सुख, समृद्धि र विकासको धोको प्रबल छ, त्यही धोको पूरा नहुँदामात्रै रोइलो गर्छन् ।

विकास–समृद्धिको चटक हेर्दै
चाहे पार्टी होस् या सरकार, सबैजसो सत्ता–प्रतिष्ठानबाट फाइदा लिन सक्ने वा लिने आशा भएका लेखक–कलाकारमा खुसफहमी छाउनु स्वाभाविकै हो । त्यस्ता फाइदाकारी राजनीतिमा नलागेका संस्कृतिकर्मीमा पनि खुसफहमी जाग्नुले सुख, समृद्धि र समाजवादको ‘वर्चस्व’ विस्तार भएको संकेत गरेको छ ।

आफूलाई ‘युगगायक’को उपमा दिने सत्ताधीशसामु रामेश दाइ भन्दै थिए, ‘देशमा ठूलठूला क्रान्ति भए, राजनीतिक व्यवस्था फेरिए, तर देश स्वर्ग भएको हेर्न चाहने जनताको सपना ज्युँकात्युँ छ । २०६२/६३ पछि त धोकाहुँदैन होला भन्ने आशा थियो, तर कस्तो घाटा भयो हामीलाई । अबको सरकारले केही गरोस्, हामी साथ दिन तयार छौँ । मलेसिया, अरब, कतार बनाउन सक्ने हाम्रा हातले देश बनाउन सक्दैन होला र ?’ यति भन्दै ‘पूर्वबाट उदायो..’ गीत गाएका रामेश दाइको मन आशंकाबाट आशातिर फड्को मार्दै गएको अनुभूति हुन्छ ।

ओलीले राष्ट्रवादी अवतार ग्रहण गर्दै सुख र समृद्धिको सपना बाँडेपछि धेरैजसो लेखक–कलाकारमा खुसफहमीको मनस्थिति निर्माण भएको र उनी नै देशका तारणहारको रूपमा बुझ्ने–बुझाउने भाष्यको जगजगी भएकोमा कुनै शंका छैन । यस्तो भाष्य र मनस्थितिले कुन संरचना र सम्बन्धका कारण लाखौंलाख नेपाली युवा सयौँ वर्षदेखि स्वदेश छाड्न र अरूको देश स्याहार्न विवश भए भन्ने प्रश्न गर्दैन । कस्तो पुँजी, कसको तन्त्र, कस्तो नेतृत्व, कस्तो प्रक्रिया र पद्धति, कसको स्वार्थ र हितका लागि उनीहरूलाई स्वदेश फर्काउने अनि कस्तो विकास र समृद्धि निर्माण गर्ने भन्ने विश्लेषण पनि गर्दैन ।

राज्यसत्ताको संरचना र शक्ति–सम्बन्धसमेत फेर्न नपर्ने राजनीतिक क्रान्ति गरेका नेताहरूले सम्भ्रान्त वर्गसँग गर्दै आएको सम्झौता र तिनका हक–हित–स्वार्थको पक्षपोषणको विस्तारको रूपमा हुने विकास र समृद्धिले भोकानांगा उत्पीडितको हित गर्ने कुनै ग्यारेन्टी छैन ।

अनेक रक्तपात, बलिदान र नाराबाजीपछि पनि भोकानांगा उत्पीडितको हितमा एक पाइला नचाल्ने र राजनीतिशास्त्री टी. लुइस ब्राउनको भाषामा ‘क्रान्तिको स्वाङ’ देखाएपछि अब विकास र समृद्धिको चटक देखाउने राजनीतिक नेतृत्वसामु हाम्रा लेखक–कलाकारले एउटामात्रै प्रश्न सोध्ने हिम्मत गरे पनि पुग्छ : यहाँहरूको विकास र समृद्धियुक्त समाजवादको नाराले भोकाहरूको पेट कसरी भरिन्छ, कुन संरचनामा नांगाहरूको आङ ढाक्छ, कुन पद्धति र प्रक्रियामा रोगीहरूलाई निको पारिन्छ, विकासको मूल फुटाएको पञ्चायती नेपालभन्दा ‘समृद्ध समाजवादी नेपाल’ कुन अर्थमा न्यायपूर्ण हुन्छ ?

कवि विमल निभाको भाकामा भन्दा शब्दको खेल चलिरहेको बेला हिजोका प्रतिरोधी गीत राष्ट्रगानमा, विगतमा विरोधमा उठेका हात नाराबाजी र तालीमा रूपान्तरण हुने खतरा बढ्दो छ । त्यसैले रामेश दाइले निराशा र मोहभंगको अवस्थाबारे ‘पारिजात दिदीसँगका ती दिनहरू’मा उद्धृत विचार सम्झनलायक छ । पारिजातले २०४६ सालपछिको संसदीय प्रजातन्त्रसँग क्रुद्ध र रुष्ट हुँदै भनेकी थिइन्, ‘व्यर्थ भयो रामेश, तिमी–हामीले जीवन होमेर ल्याएको प्रजातन्त्र । ताईबाट उम्केको माछो भुंग्रोमा पर्‍यो । धिक्कार, देशको भाग्य । अब फेरि अर्काे आन्दोलन उठ्नुपर्छ, देशमा ।’

ट्विटर : @rmaharjan72

प्रकाशित : जेष्ठ २२, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?