प्लास्टिकको प्रयोग कसरी कम गर्ने ? 

सन्दर्भ : विश्व वातवरण दिवस
‘प्लास्टिक प्रदूषण निर्मूल पारौँ, सकेसम्म पुन: प्रयोग नसके बाहिष्कार गरौं’
गोविन्द पोखरेल

काठमाडौँ — २०७२ साल वैशाख १ गते सरकारले काठमाडौंमा प्लास्टिक झोलालाई पूर्ण रुपमा प्रतिबन्ध लगायो । यसको सिकै गर्दै मुलुकका अन्य नगरपालिकाहरुमा पनि प्लास्टिकका झोला निषेधित गर्न थालियो । धमाधाम प्लास्टिक झोला नियन्त्रण अभियान चलाइयो । बोराका बोरा प्लास्टिक झोलाहरु नियन्त्रणमा लिइयो ।

प्लास्टिक झोला नियन्त्रण अभियान चलिरहँदा वैशाख १२ गते महाभूकम्प गयो । भूकम्पपछि प्लास्टिक झोलाको प्रयोग ह्वातै बढ्यो । हिजोआज काठमाडौं लगायत मुलुकका अधिकांश सहरमा प्लास्टिकजन्य फोहोरको थुप्रो छ ।

Yamaha

काठमाडौं महानगरिपालिकाको वातवरण व्यवस्थापन महाशाखाका अनुसार काठमाडौंमा निस्कने फोहोरमध्ये प्लास्टिकजन्य फोहोरको मात्रा १५ प्रतिशत छ ।

जुन ५ तारिख विश्व वातवरण दिवस । यो वर्षको नारा प्लास्टिकसँग सम्बन्धित छ । त्यही भएर प्लास्टिकको चर्चा पुन: चल्न थालेको छ । काठमाडौंमा प्लास्टिकजन्य फोहोरहरु संकलन गर्दै प्लास्टिक प्रदूषण नियन्त्रणका लागि प्रयास थालिएको छ ।

‘प्लास्टिक प्रदूषण निर्मूल पारौँ, सकेसम्म पुन: प्रयोग नसके बाहिष्कार गरौँ’ भन्ने नाराका साथ यो दिवस संसारभर मनाइँदै छ । नेपालमा सरकारी तवरबाट प्लास्टिकजन्य फोहोर र प्लास्टिक प्रदूषण सम्बन्धि देशव्यापी रुपमा वैज्ञानिक अनुसन्धान भएको पाइँदैन । दस्तावेजको नाममा सन् २०१३ मा एसियाली विकास बैंक (एडीबी)ले नेपालको सहरी फोहोर व्यवस्थापन सम्बन्धि तयार गरेको एउटा रिपोर्ट मात्र छ ।

एडीबीले त्यसबेला ५८ वटा नगरपालिकामा अनुसन्धान गरेको थियो । एडीबीको रिपोर्टमा कूल फोहोरमध्ये १२ प्रतिशत फोहोर प्लास्टिकजन्य रहेको उल्लेख छ । ५ वर्षअघिको रिपोर्टमा यस्तो नतिजा छ आएको थियो भने अहिलेको अवस्थामा फोहोरमा प्लास्टिकको मात्रा बढेको छ ।

प्लास्टिक एक प्रकारको पोलिमर हो जुन धेरैवटा मोनोमरहरु मिलेर बनेको हुन्छ । यो हत्तपत्त कुहिँदैन । पोलिथिन कम घनत्व भएको प्लास्टिक हो । यसलाई एकपटक प्रयोग गरेपछि पुन: प्रयोग गर्न मिल्दैन । यही गुणका कारण पोलिथिन झोलालाई प्रतिबन्ध गर्न खोजिएको हो ।

पछिल्लो दशकमा विश्वमा एक शताब्दीमा उत्पादन भएकाभन्दा बढी मात्रामा प्लास्टिक उत्पादन भएको छ । दैनिक रुपमा प्रयोग हुने ५० प्रतिशत प्लास्टिक एक पटक प्रयोग भएर फ्याँकिन्छन् ।
विश्वमा वार्षिक ५ खर्बवटा प्लास्टिक ब्यागहरु खपत हुने गरेको यूएन इन्भारोन्मेन्टले जनाएको छ । सन् २०१६ मा ४ सय ८० बिलियन वटा प्लास्टिकको बोतल विक्री भएको थियो । यस्ता बोतलहरुलाई धेरैजसो एकपटक प्रयोग भएपछि पुन: प्रयोगमा आउँदैनन् । विभिन्न माध्यम हुँदै समुद्रमा पुगेर प्रदूषण गरिरहेका हुन्छन् ।

संयुक्त राज्यको वातवरणीय कार्यक्रमका अनुसार विश्वमा कूल उत्पादित प्लास्टिक मध्ये कृषि क्षेत्रमा ३ दशमलव ३ प्रतिशत,इलेक्ट्रोनिकमा ५ दशमलव ८ प्रतिशत, अटोमोबाइल्समा ८ दशमलव ९ प्रतिशत, निर्माण क्षेत्रमा १९ दशमलव ७ प्रतिशत,उपभोक्ता(सामाग्री,खेलकुद,स्वास्थ्य)ले २२ दशमलव ४ र बाँकी ३९ दशमलव ९ प्रतिशत प्लास्टिक प्याकेजिङ उद्योगमा प्रयोग हुने गरेको छ । कम रकममा खरिद गर्न सकिने र टिकाउ हुने भएकाले प्लास्टिकको प्रयोग बढीरहेको छ ।

बहुराष्ट्रिय कम्पनीका उत्पादनहरुमा प्लास्टिक कभर बढी भेटिन्छन् । यस्ता प्लास्टिकहरु एक पटक प्रयोग भएर पुन:प्रयोगमा आउँदैनन् र प्रदूषण बढाउँछन् । प्याकेजिङ उद्योगहरुले प्लास्टिक कभरको विकल्पमा कागजको कभर प्रयोग गरे प्लास्टिक प्रदूषणलाई केही हदसम्म रोक्न सक्छन् ।

प्लास्टिकजन्य फोहोरको कुरा गर्ने हो भने विश्वमा वार्षेनी ३० करोड टन विर्सजन हुने गरेको छ । यो फोहोरको तौललाई तुलाना गर्ने हो भने संसारका सबै मानिसहरुको तौल बराबर हुन जान्छ ।

लामोसमयसम्म टिकिरहने र पुर्ण रुपमा माटोमा विलिन हुन प्लास्टिकलाई धेरैसमय लाग्छ । धेरै पुराना प्लास्टिकका स–साना टुक्राहरु पानीमा बस्ने जीवहरुले खानासँगै लिन्छन् । यसले पानीको पारिस्थितीक पद्दतीलाई असर गर्छ । प्लास्टिकमा जमेको पानी लामखुट्टे जस्ता जीवहरुको क्रिडा स्थल बन्छ । उनीहरु त्यही फैलन्छन् र विभिन्न सरुवा रोगहरुको संक्रमण बढाउन मद्दत पुर्‍याइरहेका हुन्छन् ।


अहिल्यैको रफ्तारमा प्लास्टिकको प्रयोग भइराख्ने हो भने सन् २०५०सम्म समुद्रमा माछाको संख्याभन्दा प्लास्टिकको संख्या धेरै हुने वैज्ञानिकहरुले भविष्यवाणी गरेका छन् ।

प्लास्टिकको प्रयोग घटाउन राष्ट्र एक्लैले सक्दैन । सबै क्षेत्रको सहयोग अपरिहार्य छ । सबैले आ–आफ्नो व्यक्तिगत तवरबाट प्लास्टिक प्रदूषणलाई घटाउन सकिन्छ ।

तीव्र आर्थिक वृद्धिदर भएका मुलुकहरुमा प्लास्टिकको प्रयोग बढी हुने गरेको छ । अमेरिका,जापान तथा अन्य युरोपियन मुलुकहरुले प्लास्टिकको उत्पादन घटाउने ध्यानमा छन् । ती देशहरुले प्लास्टिकलाई पुन प्रयोग र व्यवस्थापकीय पक्षमा जोड दिन थालेका छन् ।

चीन विश्वको सबैभन्दा बढी प्लास्टिक उत्पादन गर्ने मुलुकको रुपमा चिनिन्छ । विश्वमा उत्पादन हुने कूल प्लास्टिकमध्ये २८ प्रतिशत चीनमा उत्पादन हुन्छ । सरसर्ती हेर्दा प्लास्टिक उद्योगले धेरैको जीवनस्तर उकास्नुको साथै आर्थिक वृद्धिदर पनि बढाएको देखिन्छ भने अर्कोतर्फ प्लास्टिक प्रदूषणको समस्या पनि उतिकै देखिएको छ ।

जमिन प्रदूषणमा प्लास्टिकले भूमिका खेलिरहेको हुन्छ । यसले माटोको उर्वर क्षमता घटाउदै उत्पादनमा कमी ल्याउँछ । यसरी प्लास्टिकले वातवरणलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ ।

र, अन्त्यमा प्लास्टिक प्रदूषण नियन्त्रण गर्ने हो भने यसको प्रयोगलाई हामी कम गर्न सकिन्छ । सकेसम्म पुन: प्रयोग गर्न सकिदैन भने यसलाई प्रयोग नै नगरिदिने । हाटबजारमा जाँदा प्लास्टिक झोलाको विकल्पमा पटकपटक प्रयोग गर्न मिल्ने खालका झोला प्रयोग गर्न सकिन्छ । सकेसम्म प्लास्टिकलाई जथभावी नफाल्ने,प्लास्टिक कभरको विकल्पमा कागजको प्रयोग गर्ने,प्लास्टिकलाई एक ठाँउमा राख्न सके केही हदसम्म यसलाई नियन्त्रण गर्न सकिन्छ ।

हाम्रो मुलुकमा प्लास्टिकजन्य फोहोर सम्बन्धि छुट्टै बृहत रुपमा अनुसन्धान भएको पाइँदैन । विरलै रुपमा कुनै क्षेत्रमा लक्षित गरी विद्यार्थीहरुले शोधपत्र तयार गरेका छन् ।

राज्यले प्लास्टिक नियन्त्रणका लागि अभियान र पूर्ण रुपमा प्रतिबन्ध लगाउनुका विकल्पमा सर्वसाधरणहरुलाई प्लास्टिकको प्रयोगमा निरुत्साहित गर्न सके प्लास्टिकको प्रयोग स्वत: रुपमा घट्छ । सरकारले प्लास्टिकको नियन्त्रण र व्यवस्थापनलाई ध्यान दिँदै यस सम्बन्धि गहन खोज र अनुसन्धान जरुरी छ ।

प्रकाशित : जेष्ठ २२, २०७५ ११:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कर्णाली प्रदेशः राष्ट्रपति रनिङ शिल्ड सुर्खेतलाई

रासस

सुर्खेत — यही जेठ १९–२१ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित कर्णाली प्रदेशस्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड सुर्खेतले हात पारेको छ । 

उक्त रनिङ शिल्डमा जुम्ला दोस्रो र सल्यान तेस्रो भएका छन्। भलिबलमा पुरुषमा भने सल्यान जिल्ला प्रथम भएको छ। उक्त खेलमा रुकुम दोस्रो र सुर्खेतले तेस्रो स्थान हात पारेको कर्णाली प्रदेश खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक शान्ति सिंहले जानकारी दिए।

त्यसैगरी, महिला भलिबलमा सल्यान प्रथम, द्वितीय कालीकोट र तृतीय जुम्ला भएको संयोजकले बताए। भलिबल, कबडी, एथ्लेटिक्स, तेक्वान्दो, कराँते र उसु खेल समावेश गरिएको रनिङ शिल्डमा सबै खेल विधाको कूल अंकलाई जोड्दा सुर्खेत प्रथम आएको संयोजक सिंहले जानकारी दिए।

खेलमा प्रथम, द्वितीय र तृतीय आउने जिल्लालाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। रनिङ शिल्डमा उत्कृष्ट खेल देखाउने विभिन्न खेल विधाबाट ८४ खेलाडीलाई यही जेठ २३–२५ सम्म काठमाडौँमा सञ्चालन हुने राष्ट्रिय खेलका लागि छनोट गरिएको प्रतियोगिता सञ्चालन समितिका सदस्य अर्जुनजंग शाहीले बताए।

उनका अनुसार खेलमा भाग लिएका कर्णाली प्रदेशका १० जिल्लाका ८४० जना खेलाडीले ३०४ पदकमा प्रतिष्पर्धा गरेका थिए ।

प्रकाशित : जेष्ठ २२, २०७५ ११:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT