२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

समृद्धि : अन्वेषण वा पुर्खाको सीपबाट मात्र

गोविन्द वेलबासे

काठमाडौँ — देश समृद्धिका ठूला कुरा भैरहेका छन् । रेलमार्गको जालो फैलने घोषणाबीच युवा वर्गलाई रोजगारी दिने चित्त बुझ्दो योजनाका विषयमा कतैबाट आस्वस्त पार्न सकेको भने देखिंदैन । युवा वर्गलाई रोजगारी दिनसकेर देशमा उत्पादन बृद्धि नहुँदासम्म समृद्ध नेपालको सपना बाड्नु ढाट्–छल मात्र हो भन्नेमा दुई मत हुन सक्दैन ।

समृद्धि : अन्वेषण वा पुर्खाको सीपबाट मात्र

गएको अक्टोबर–नोभेम्बर महिनामा फ्रान्समात्र होइन अष्ट्रेलियासम्म पनि बटर (घिउ) को अभावको विषय बीबीसीलागायतका अन्तर्राष्ट्रिय मिडियाको आकर्षक समाचार बन्यो । नेपालमा राजनीतिक स्थिरताको वर्तमान र समृद्धिको नारासंग उक्त समाचारको सम्बन्ध गासिएको छ । गएको दशकबाट अन्तर्राष्ट्रिय बजारमा घिउ ननिकालेको दुधको खपत पढेपछि बटरको अभाव खड्किएको अनुसन्धानकर्ताहरुको निचोड छ । चिकित्सा सम्बन्धी अनुसन्धानमा शरीरलाई बोसोको आवश्यकता पर्ने र बोसोरहित खानालाई स्वास्थ्यकर मानिएको धारणा गलत प्रमाणित भएको समाचार छताछुल्ल भएपछि अन्तर्राष्ट्रिय बजारमा बटरको वितरणले मागलाई थेग्न नसकेको हो ।


रेमिटान्सबाट देश चलाउनु भनेको डेरामा बास बस्नु हो र आफ्नो घर नै बनाउन नसक्नेले समृद्ध छु भनेर लाउने फुर्ति हावादारी गफ मात्र हो । देशमा रोजगारी नभएर विदेशमा यूवा धाउने परम्परा तथा वर्तमान हाम्रो यथार्थ हो ।


यूवा जगत हवाइजहाज चढेर विदेशमा रोजगारीका लागि जान थाल्नु भन्दा पहिलासम्म नेपालको अर्थतन्त्र सन्तुलित थियो । हाम्रा आवश्यकता कम थिए, इच्छाहरु खुम्चिएका थिए । त्यसैले पनि अर्थतन्त्र धानिएको थियो । अरुले टेलिभिजनलाई सूचनाको माध्यम भनिरहँदा अहिले पनि हामीले विलासिताको साधन भन्दै चर्को भन्सार असुलिरहेका छौं, तिरेका पनि छौं । प्रविधिका रुपमा मोबाइल र टलिभिजन गाउँ पुगेका थिएनन् । खच्चड र ढाक्रेका भरमा चलेको यातायात सन्तुलित अर्थतन्त्रले धानिराखेको थियो । प्रविधिको सुविधा त ट्रक र ट्याक्टर चढेर गाउँसम्म पुग्यो तर सुविधा भोग्ने आम्दानी बृद्धि नभए पछि हाम्रो अर्थतन्त्र ओरालो लाग्दै गयो । अहिले रेमिट्यान्सले पनि ब्यापार घाटा बेहोर्न नसकेको यथार्थ सम्बन्धित संस्थाले नै स्वीकार गरिसकेका छन् ।


हाम्रो अर्थतन्त्र सुन्तुलित हुँदासम्मको हाम्रो नगद जम्मा गर्ने स्रोत घिउ थियो । यो किताबमा लेखेको तथा पढेको तथ्याङ्क होइन, अहिलेका अग्रज पुस्ताले देखेको अनुभव हो । पहाडबाट टिनका टिन घिउ तराइसम्म पुर्याएर बेचेपछि वर्ष दिनका लागि नुन, मट्टितेल, कपडा र मसलाको खर्च धान्न पुगेको थियो । हाम्रा पुर्खाले भैसी र गाई पालेर सन्तुलित आहार पुर्याउन र खर्च जोहो गर्न घिउ बेच्ने सीप सिकेका थिए । त्यो सीप दुई दशक यता घटदै गएको छ । भकारा र गोठ रित्तिएका छन् । बारी र खेत मल नभएर बाँझिएका छन् । भैसी बेचेर मोटरसाइकल किनेका छोराहरु पेट्रोल हाल्न लिएको ऋण तिर्न नसके पछि वैदेशिक रोजगारीमा गएका छन् । यो हाम्रो वर्तमान हो ।


देश समृद्ध हुन उत्पादन गर्न सक्ने सीप र स्रोत आवश्यक हुन्छ । घिउ बेचेरै खर्च धानेका हाम्रा अग्रजहरु बृद्ध भएका छन् । वैदेशिक रोजगारीमा गएका छोरा–नातिका कमाइले जीवन धानिरहेका छन् । असन्तोष छन् । आफैले गोठमा काम गर्न सक्ने स्थितिमा छैनन् । तर, उनीहरुले त्यो सीप छोरा नातिहरुलाई सिकाउन सक्ने स्थितिमा भने छन् । ठूला विल्डिङका कोठाभित्र सैद्धान्तिक ज्ञान बाँड्ने प्राध्यापकले भन्दा हाम्रा गाउँका बृद्ध भैसकेका बुवा आमाहरुले हाम्रो परम्परागत पशुपालन सजिलै सिकाउन सक्छन् । त्यसबाट हाम्रो बाँझिएका बारिमा प्राङ्गारिक मल हालेरै पनि घास खेती गरेर घिउ (बटर) उत्पादन गर्न सहज हुन्छ । आधुनिक ट्रयाक्टरले जोतेर कृषि बढाउन हाम्रा डाडाकाँडाका फाँटले अन्तराष्ट्रिय बजारको प्रतिस्पर्धा धान्न सक्ने अवस्था छैन । तर पशुपालनका लागि भूमि पनि अनुकुल छन् ।


विकसित देशमा आधुनिक स्वचालित मेसिनले मोबाइल फोनदेखि मोटरसम्मका यन्त्र उत्पादन गर्न त सक्छन् तर ती मेसिनले पशुपालनबाट मात्र उत्पादन हुने दुध र घिउ बनाउन सक्दैनन् । त्यसैले अहिलेको ग्लोबलाइज संसारमा हामीले प्रतिस्पर्धा गर्न सक्ने र बजारमा माग भएको बस्तु घिउ (बटर–चिज) उत्पादन गरेर देश समृद्ध बनाउन सक्ने सीप, भौगोलिक अवस्था र वैदेशिक रोजगारीका रुपमा खेर गैरहेको यूवा शक्ति हामीसंग उपलब्ध छ । अन्तर्राष्ट्रिय बजारमा सस्तो ठहरिएको नेपाली यूवाको श्रम स्वदेशमै खपत गर्न सकिन्छ ।


घिउको माध्यमबाट समृद्धि निम्त्याउन हामीसंग बजार ब्यवस्थापनको अनुभव भने छैन । त्यसमा सरकारले अहिले ठूलो भूमिका निभाउन आवस्यक छ । सरकारले वित्तिय संस्थाहरुलाई लगाम लगाएर घरघरमा जागरण जगाउन पर्ने दिन आएको छ । घरमा पुगेर किस्ताबन्दीमा कार किन्न उक्साउने कर्मचारी जताततै भेटिन्छन् । त्यस्ता कारबाट पेट्रोल मात्र होइन मोटर पार्ट्स किन्न पनि मुद्रा विदेश जान्छ । त्यस्ता कर्मचारीबाट वैदेशिक रोजगारीमा जानथालेका यूवालाई घरमा गाई भैसी किन्न लगाएर घिउ उत्पादन गर्न लगाउन सक्नु पर्छ । बजार ब्यवस्थापनका लागि गाउँभरिको दुध संकलन गर्ने अन्तर्राष्ट्रिय बजारको मापदण्ड अनुसारको गुणस्तरसहितका बटर र चिजहरु प्रशोधन गर्न, संकलन गर्न र वितरण गर्न सक्ने सहकारी संस्थाको ब्यवस्था गर्नु पर्छ ।


यस विषयमा ध्यान दिनै पर्ने विषय भनेको सहकारीकरण हो । उत्पादन, संकलन र बजार ब्यवस्थापनमा संस्थागत दक्षता हो । लोडसेडिङ हटाउन र सेन्डिकेट तोड्न सक्षम रहेको नेतृत्वबाट आशा गर्न सकिने अवस्था पनि छ । तर, दैनिक जीवनमा देखिँदै आएको भ्रष्टाचारका कारण असफल आरएनएसीदेखि नेस्नल ट्रेडिङसम्मको तीतो यथार्थबाट सतर्क भने हुनै पर्ने हुन्छ ।


समृद्धि कि त अन्वेषण (इनोभेशन) बाट सम्भव छ कि त हाम्रो परम्परागत सीपलाई भजाउन सकेपछि मात्र सम्भव छ । वास्पइन्जनको अन्वेषणबाट बेलायतले आधा विश्व नै उपनिवेश बनाएको भनिन्छ । ब्रेनड्रेनको मार खेप्न परिरहेको ग्लोबलाईजेशनमा विश्वयूद्धपछि बेलायतले त अन्वेषणको स्रोत रोक्न सकेन भने नेपालको बर्तमान त्यसभन्दा अलग्गै हुन सक्दैन ।

नेपाललाई माया नमारेका नेपालीहरु अहिले दक्ष बनेर विकसित देशहरुमा छितरिएका छन् । कार्यरत छन् । उनीहरुसंग जो जहाँ छन् त्यहींबाट देशको समृद्धिमा योगदान जुटाउन अहिले प्रविधि पनि प्रर्याप्त छ । त्यसलाई उपयोग गर्नु पर्छ । तिनीहरु मध्ये जसले नेपाल फर्केर झनबढी योगदान दिन्छ उसलाई मात्र स्वदेश फिर्तिको आह्वान गर्नु पर्छ । त्यसो गर्नले हाम्रो समृद्धिको लक्ष्य भेट्न सकिन्छ नकि रेलका लाइन विछाउँदैमा नेपाललाई सिङ्गापुर र सिओल नै बनाउन सकिन्छ । हाम्रा नेताले दशकौं अघि बाँडेको स्वीटजरल्याण्ड बनाइदिने र एसियन मापदण्डमा पुर्याउने सपना त हामीले विर्सन पनि लागिसकेका छौं ।


प्रकाशित : जेष्ठ २२, २०७५ १९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?