कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्लास्टिक प्रदुषणले निम्त्याउन सक्ने प्रलय

बिजय हितान

काठमाडौँ — प्लास्टिक प्रदुशण पट्किन तयार एक 'एटम बम' जस्तै हाम्रो सामु लम्पसार परेको छ । यसको प्रत्यक्ष प्रभाव बिशेष गरेर समुन्द्र र सामुन्द्रिक जीव–जन्तुलाई परेको देखिन्छ ।

प्लास्टिक प्रदुषणले निम्त्याउन सक्ने प्रलय

मानव ससर्जित प्लास्टिक अनि अन्य फोहोरमैला हुरिबतास र बर्षातको भेलले बढारेर खोलानाला अनि नदीहरु हुँदै सागरसम्म पुग्दा निलो सागर आज एक डम्पिङ ग्राउन्ड बनेको छ । यो क्रम जारी रहे स्वच्छ सागर एक दिन बिष कुन्ड हुन के बेर ?


समुन्द्रमा बगेर जाने सबै खाले फोहोर मैला मध्ये प्लास्टिक फोहोर मैलाको मात्रा ८० प्रतिशत भएको अनुमान छ । यसलाई नियन्त्रण नगरे सागरमा माछा, व्हेल, सिल, डल्फिन होइन, प्लास्टिकै प्लास्टिक तैरिएको देख्न हामीले धेरै दिन कुर्न पर्ने छैन । प्रदुषणको प्रभाव हाम्रै घर आँगन नजिकै न देखिए पनि यसको दिर्घकालिन प्रभावबाट मानव अछुतो भने अवश्य रहने छैनौं । हाम्रो सम्बन्ध जसरी आकाशसँग नजिक छ त्यसरी नै नदी र सागरसँग पनि छ । बायुमण्डल दुषित बन्दा हाम्रो श्वासप्रश्वासमा प्रत्यक्ष असर पर्छ । त्यसरी नै समुन्द्र प्रदुषित हुँदै जाँदा सामुन्द्रिक प्राणीको आहारा तथा श्वासप्रश्वास प्रकृयामा नकारात्मक असर पर्न जान्छ । हामी सामुन्द्रमा पाइने प्राकृतिक स्रोतसँग यति आस्रित छौं कि ति स्रोत लगातार हामीलाई उपलब्ध हुन नसके हाम्रो बाँच्ने अवस्था नै रहँदैन ।


यसर्थ प्लास्टिक प्रदुषणले मानव जातिमा पार्न सक्ने दिर्घकालिन असर बिकराल देखिन्छ । अब पनि प्लास्टिक प्रदुषणको रोकथाममा केही नगरे यसको जोखिम यस धर्तिमा हामीले भोग्दै आएका अन्य समस्याहरु जस्तै, अम्ल बर्षा, ओजोन तहमा छिद्र, जलबायु परिवर्तन, वन जंगलको बिनास, जैविक बिबिधतामा ह्रास इत्यादिको भन्दा कम हुनेछैन ।


प्लास्टिकका सामाग्री प्रयोग गरेर फाल्दा तिनीहरु किन बातावरणको लागि हानिकारक हुन्छन भनेर बुझ्नको लागि पहिला प्लास्टिक कसरी बन्छ भन्ने कुरा जान्न जरुरी देखिन्छ । प्लास्टिक उत्पादनमा आवश्यक कच्चा पदार्थ पेट्रोल, प्राकृतिक ग्याँस, र कोइलाबाट प्राप्त हुन्छ । यि बस्तुबाट बिशेष रसायनलाई छुट्ट्याएर निकालेपछि अन्य मानव निर्मित रसायनसँग यसको मिश्रण गरेपछि प्लास्टिक बन्दछ । धातु तथा माटाका भाँडा, ऊन तथा कपासका कपडा, रुखका बोक्रा र चोपबाट उत्पादन गरिने कागज जस्तै प्लास्टिकजन्य सामानहरु मानवीय बिकासका महत्वपूर्ण उपजहरु हुन् । तर प्लाष्टिक रसायनको आणविक संरचना अन्य पदार्थको भन्दा भिन्न हुनाले सजिलै सडेर नजाने यसको बिशेषता हुन्छ । त्यही बिशेष आणविक बनोटले प्लास्टिकलाई लचक्दार, हलुंगो र लामो समय टिक्न सक्ने बनाउँछ ।


सामुन्द्रिक जीवजन्तुलाई प्लास्टिक फोहोरले बिभिन्न किसिमले असर पार्दै आएको छ । प्लास्टिकले तिनीहरुलाई अल्झाउने गर्छ । बिशेष गरेर माछा मार्ने पुराना जालमा यिनीहरु अड्किने गर्दछन् । प्लास्टिकका झोला तथा त्यान्द्राहरु ति जीवका आङमा अल्झिने गर्छन् । प्लास्टिकको फन्दामा परेर ज्यान गुमाउनेमा सामुन्द्रिक चराहरु पनि अछुतो छैनन् । १६ प्रतिशत सामुन्द्रिक चराहरु प्लास्टिकका फोहोरमा अल्झिएको तत्थ्याङ्कले देखाएको छ ।


त्यसैगरी प्लास्टिकका स–साना टुक्राहरु मुखबाट सामुन्द्रिक जीवजन्तुको शरीर भित्र पसेको पाईएको छ । समुन्द्रको तटमा मरेका व्हेलका पेटमा ठुलो मात्रामा प्लास्टिक भेटिएको छ । व्हेल आफ्नो थुन्से भन्दा पनि ठुलो मुख पानीमा फट्टाउँदै आहारा लिन्छ । यसरी स्यानो माछाको साथै पानीमा रुमलिएका प्लास्टिक पनि उसको आहारा न बन्ने कुरै भएन । कुनैकुनै कछुवाले जेलिफिस खाएर बाँच्दछन् । तैरिरहेको प्लास्टिकका त्यान्द्रासित जेलिफिस भनी झुक्किएर होला तिनका पेटमा प्लास्टिक भेटिएको छ । प्लास्टिक भुँडीभित्र पसेर आन्द्रामा अड्किंदा पाचनक्रियामा असर परेर तिनीहरुको मृत्यु भएको अध्ययनहरुले देखाएकोछ । यसरी ७५५ सामुन्द्रिक चराको जीवनकालभरी कुनै न कुनै प्रकारको प्लास्टिक शरीर भित्र पसेको पाईएको छ ।


५ ट्रिलियन प्लास्टिक फोहरका टुक्रा समुन्द्रमा तैरिरहेको अनुमान गरिन्छ । प्लास्टिक तैरने र छालले सजिलै बगाएर पृथ्वीको एक कुनादेखि अर्को कुनामा पुर्‍याउने चिज हो । प्लास्टिकका बोतल तथा डिब्बाहरुमा बिभिन्न किसिमा सामुन्द्रिक जीवले घर बनाएर बसेको पाईएको छ । केहि आक्रमक प्रजातिका जिवहरुले भने यसबाट फाईदा लिएको देखिन्छ । अरुको बासस्थानमा तैरिंदै तैरिंदै गएर त्यहाँको रैथाने प्रजातिका जीवलाई बिस्थापित गरेको घटना जीव बैज्ञानिकहरुले पत्ता लगाएका छन् । यसो हुँदा राम्रा प्रजाति लोप हुने र नराम्रा प्रजाति फैलिने सम्भावना बढेको देखिन्छ जो सन्तुलित इकोसिस्टममा खलल पुग्नु हो ।


प्लास्टिक प्रदुषणले सामुन्द्रिक जीवलाई सिधै मार्ने मात्रै होइन तिनको बासस्थानलाई नष्ट पनि पार्ने गरेको देखिन्छ । प्लास्टिक फोहोर लामो समय पछि घामपानी र सामुन्द्रिक छालको उतार चढावले खिईन गई सुक्ष्म कणहरुमा परिणत हुन्छन् । कति प्लास्टिकका कणहरु ढल प्रशोधन स्थलबाट पनि समुन्द्रमा मिसिएका हुन्छन् । जसरी धुलाका कण फुलका कोपिलामा बस्दा तिनलाई असर पर्छ त्यसरी नै प्लास्टिकका मसिना कणहरु कोराल रिफमा जम्मा हुँदा तिनीहरु मरेर जान्छन् । यसरी कोराल रिफलाई जलबायु परिवर्तनले मात्रै नभै प्लास्टिक प्रदुषणले पनि असर पारेको देखिन्छ । जसरी रेन फोरेष्ट जमिनमा बस्ने प्राणीको लागि अति राम्रो बासस्थान हो त्यसरी नै कोराल रिफ सामुन्द्रिक जीवको लागि अति महत्वपूर्ण बासस्थान हो ।


हामी मान्छे इकोसिस्टमको आहारा सिक्रीमा सबैभन्दा माथि छौं । प्लास्टिकका कणहरु माछाका शरीर छेदन गरेर तिनका कोशिकामा पसिसकेको अवस्था छ । माछालाई हामीले खाँदै आईरहेका छौं । मलाई लाग्छ ति बिशालु प्लास्टिक हाम्रो शरीर भित्र पसिसकेको हुनपर्छ । तर यो बिषय अलि नौलो भएकोले मानिसमा यसको असर बारेमा बैज्ञानिकहरु अध्ययन गर्दै गरेका छन् ।


बातावरणमा प्लास्टिकजन्य फोहोर मैलाले पार्ने प्रतिकुल असरलाई न्युन गराउन केही उपायहरु अपनाउन सकिन्छ । सर्बप्रथम प्लास्टिकका बस्तुहरु सजिलै सड्ने प्रकृतिका बनाउन सकिन्छ । यस क्षेत्रमा सरकार र उद्योगहरुले सहकार्य गर्दै बायोडिग्रेडेबल सामग्रीहरु उत्पादन गर्ने प्रबिधि अध्ययन गरिंदैछ । वर्षेनी संसारमा ३०० मिलियन टन प्लस्टिक उत्पादन हुन्छ । यसमध्ये ८ मिलियन टन प्लास्टिक फोहोर समुन्द्रमा मिसिन गएको बिज्ञहरु बताउँछन् ।


हाम्रो जीवनमा प्लास्टिकको प्रयोग कम गर्नले पनि यसले पार्ने नकारात्मक असरलाई पन्छाउन सकिन्छ । प्लास्टिकले नबेरेको जिनिस त भेट्नै छोडियो । ५० प्रतिशत प्लास्टिकको प्रयोग एक चोटि मात्रै गरिन्छ, त्यो पनि केही सेकेन्डसम्मको लागि मात्रै । त्यसपछि फालिन्छ । संसारमा प्रत्येक मिनेट १ मिलियन भन्दा बढी प्लास्टिक ब्यागको प्रयोग हुन्छ । कयौं देशमा प्लास्टिकका झोला प्रयोग गर्नबाट प्रतिबन्ध लगाइएको छ भने कति देशमा अतिरिक्त कर लगाएर यसको प्रयोगलाई सिमित तुल्याईएको छ । यसरी सरकारले पनि आवश्यक कानुन बनाएर यसको प्रयोगमा नियन्त्रण ल्यान सक्छ । बिशेष गरेर हामी उपभोक्ता नै सजग भएर बैकल्पिक बस्तुहरु जस्तै कपडा तथा कागजका झोला र सिसाका बोतल प्रयोग गर्नतिर लाग्दा राम्रो हुन्छ ।


यसको उचित रिसाइकलिङको ब्यवस्थापन गरिनुले पनि प्रभावकारी भूमिका खेल्छ । केही युरोपेली र अमेरिका जस्ता सम्पन्न मुलुकहरुमा मात्रै फोहोर ब्यबस्थापनको सुबिधा राम्रो छ । प्लास्टिक सामग्रीको माग निक्कै नै बढेको छ । विगत एक शताब्दी भरी उत्पादन गरेको प्लास्टिक गत १० वर्ष मै गरिएको छ । प्लास्टिकको अत्याधिक उत्पादन र खपत भारत, चाइना र इन्डोनेसियामा भएकोले इन्डियन ओसीयन र साउथ चाइना सी वरिपरि प्लास्टिक प्रदुषणको घनत्व बढी भएको पाईएको छ ।


यसरी जनजागरण फैलाएर, सर्वसाधारणलाई चेतना दिलाएर, प्लास्टिक फोहर मैला व्यबस्थित बनाएर, आवश्यक नीति नियम तर्जुमा गर्दै यसलाई प्रभावकारी ढंगले लागु गरेर अगाडि बढे प्लास्टिक प्रदुषणलाई रोक्न सकिन्छ ।

प्रकाशित : जेष्ठ २३, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?