३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भुलभुलैयामा रैथाने प्रजाति

विश्वको निम्ति नयाँ पत्ता लागेको ‘सौसुरिया रामचौधरीई’ नेपालबाहेक अन्य देशमा फेला परेको जानकारी कतै उल्लेख छैन ।
कमल मादेन

काठमाडौँ — नेपालमा फूल फुल्ने रैथाने वनस्पति ३१२ प्रजाति छ भन्ने जानकारी ‘फ्लावरिङ प्लान्ट्स अफ नेपाल : एन इन्ट्रोडक्सन’ शीर्षक पुस्तकबाट थाहा पाउन सक्छौं । रैथानलाई अंग्रेजी शव्द ‘इन्डेमिक’को अर्थमा अक्सर प्रयोग गरिन्छ ।

भुलभुलैयामा रैथाने प्रजाति

यसले कुनै खास भूगोल बाहेक अन्यत्र नपाइने वनस्पति वा जन्तुलाई बुझाउँछ । पुस्तक वनस्पति विभागले सन् २०१७ मा प्रकाशन गरेको हो । हुमकला राना, हाङ सुन, आशा पौडेल र सुरेशकुमार घिमिरे लिखित ‘सौसुरिया रामचौधरीई’ (एस्टेरेसी), अ न्यु स्पेसिस फ्रम नेपाल’ शीर्षक लेख फेब्रुअरी २०१८ मा ‘बोटानिकल ट्याक्सोनोमी डिस्सिप्लिन’को ‘फाइटो–ट्याक्सा’ जर्नलमा छापियो । लेखमा ‘सौसुरिया रामचौधरीई’ विश्वको निम्ति एक नयाँ प्रजाति नेपालमा पत्ता लागेको जनाइएको छ । यो वनस्पति त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त प्रा.डा. रामप्रसाद चौधरीको नाममा नामकरण भएको हो ।


विश्वको निम्ति नयाँ पत्ता लागेको ‘सौसुरिया रामचौधरीई’ आजका दिनसम्म नेपाल बाहेक अन्य देशमा फेला परेको जानकारी कतै उल्लेख छैन । जुन वनस्पति जुन देशमा सुरुमा पत्ता लाग्छ, त्यो वनस्पति अन्य देशमा फेला नपरेसम्म त्यही देशको रैथाने मानिन्छ । अन्य देशमा पनि भेटियो भने त्यो रैथाने कहलिँदैन । त्यसैले ‘सौसुरिया रामचौधरीई’लाई थपेर नेपालमा अब जम्मा ३१३ प्रजातिका फूल फुल्ने रैथाने वनस्पति छन् भन्नुपर्छ ।


भूगोल विशेषको रैथाने सम्बन्धी तथ्यांकमा अपडेट भइरहन संसारभरका जर्नल तथा पुस्तकहरू हेरिरहनुपर्छ । अन्यथा हामी हाम्रा यति प्रजाति इन्डेमिक छ भन्छांै, तर तिनैमध्ये कुनै कतै फेला परिसकेको हुन्छ । तर त्यो जानकारी थाहा नपाउनेले पुरानै तथ्यांक साभार गर्छन् । नेपालको रैथाने तथ्यांक दिइएको सबैभन्दा पछिल्लो पुस्तक ‘ह्यान्डबुक अफ फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ (सन् २०१८) हो । उल्लेखित पुस्तकमा रैथानेको तथ्यांक अपडेटेड छैन । पुस्तकमा नेपालमा नयाँ थपिएको र नेपाल बाहिर हाम्रा केही रैथाने फेला परेको जानकारी समायोजन गरिएको छैन । जस्तो सुनाखरीको एक प्रजाति ‘लिपारिज ओलिभासी’ भनिने सुनाखरी नेपालको रैथाने भन्ने लेखिएको छ । तर, बोटानिकल सर्भे अफ इन्डियाको विद्युतीय सञ्जाल (सन् २०१४ मा अपलोड) अनुसार उक्त वनस्पति भारतमा पाइएको छ । केन्द्रीय वनस्पति विभाग, त्रिभुवन विश्वविद्यालय र द न्याचुरल हिष्ट्री म्युजियम, लन्डनले सन् २००० मा ‘एन्नोटेड चेकलिष्ट अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ प्रकाशन गरेको छ । त्यसको अपडेटेड भर्सन अपडेट भर्सन विद्युतीय सञ्जालमा राखिएको छ । त्यसमा ‘लिपारिज ओलिभासी’ नेपालमा मात्र पाइन्छ भन्ने छ (वैशाख २७, २०७५) ।


वनस्पति विभागले सन् २०१६ मा प्रकाशन गरेको एक बुलेटिनमा पनि ‘लिपारिज ओलिभासी’लाई नेपालको रैथाने वनस्पति जनाएको थियो । उक्त बुलेटिनमा नेपालमा ३२४ प्रजाति रैथाने छन् भन्ने लेखिएको थियो । पछिल्लो पटक वनस्पति विभागले सोही तथ्यांक अपडेटेड गरेर ३१२ प्रकाशित गरेको हो ।

तथ्यांकहरू
हिरोसी हारा, डब्लु.टी. स्टर्न र एल.एच.जे. विलियम्सका सम्पादनमा ‘एन इनुमेरेसन अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ शीर्षक पुस्तक ३ भागमा क्रमश: सन् १९७८, १९७९ र १९८२ मा छापियो । पुस्तक नेपालमा पाइने फूल फुल्ने वनस्पतिको चेकलिष्ट हो । जसमा नेपालमा ५ हजार ३६ प्रजाति पाइएको जानकारी छ । उल्लेखित प्रजातिहरू कसले कहाँबाट नमुना संकलन गरेको, समुद्री सतहबाट कति उचाइसम्म र नेपाल बाहेक कुन–कुन देशमा पाइन्छ भन्ने जानकारी छ । नेपालमा मात्र पाइने जनाइए जतिले नेपालको रैथाने बुझाउँछ । तर हिजोआजसम्म त्यसमा नेपालमात्र लेखिएको निकै प्रजाति छिमेकी देशमा पाइएका छन् ।


टी.बी. श्रेष्ठ, पी.आर. शाक्य, के.आर. राजभण्डारी, आर.एम. जोशी र डी.एम. बज्राचार्यले सन् १९८६ मा रैथाने वनस्पति सम्बन्धी एक अध्ययन प्रतिवेदन वर्ड वाइड फन्ड, यु.एस.ए.मा बुझाएका थिए । त्यसैको आधारमा रैथाने वनस्पति सम्बन्धी एक लेख डी.एम. बज्राचार्य, आर.एम. जोशी, के.आर. राजभण्डारी, पी.आर. शाक्य र टी.बी. श्रेष्ठले सन् १९८९ मा प्रकाशन गरे ।


ए.आर. जोशी र डी.पी. जोशीको सन् १९९१ मा ‘इन्डेमिक प्लान्ट्स अफ नेपाल हिमालय : कन्जरभेसन स्टाटस एन्ड फ्युचर डिरेकसन’ शीर्षकमा एक लेख प्रकाशित भयो । उक्त लेखमा २८३ फूल फुल्ने रैथाने वनस्पति छन् भन्ने छ । त्यसपछि टी.बी. श्रेष्ठ र आर.एम. जोशी लिखित ‘रेयर, इन्डेमिक एन्ड इन्डेन्जर्ड प्लान्ट् अफ नेपाल’ शीर्षक पुस्तक सन् १९९६ मा छापियो । उक्त पुस्तकमा नेपालमा २४६ प्रजातिका फूल फुल्ने वनस्पति रैथाने छन् भन्ने लेखिएको छ । यसैका आधारमा रामप्रसाद चौधरीले ‘बायोडाइभरसिटी अफ नेपाल : स्टाटस एन्ड कन्जरभेसन’ शीर्षक पुस्तक (सन् १९९८) नेपालका रैथाने प्रजातिको सूची प्रकाशित गरे ।


सन् २००७ मा यु.आर. भुजु, पी.आर. शाक्य, टी.बी. बस्नेत र एस. श्रेष्ठ लिखित ‘नेपाल बायोडाइभरसिटी रिसोर्स बुक’ इन्टरनेसनल सेन्टर फो इन्टेग्रेटेड माउन्टेन डिभलपमेन्ट, वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय, युनाइटेड नेसन्स इन्भारोमेन्ट प्रोगामले प्रकाशन गर्‍यो । उक्त पुस्तकमा ३९९ फूल फुल्ने रैथाने प्रजाति छन् भन्ने लेखिएको छ । यो कुनै भरपर्दो अनुसन्धानका आधारमा तयार गरिएको देखिँदैन ।

पछिल्लो जानकारी
केशवराज राजभण्डारीले रैथाने वनस्पति के कति प्रजाति भन्ने गहन अध्ययन सन् २००८–०९ तिर सुरु गरे । त्यही अध्ययनबाट ‘इन्डेमिक फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ भाग १, २ र ३ क्रमश: सन् २००९८, २०१० र २०११ मा छापिए । उल्लेखित ३ भागमा जम्मा २८२ रैथाने प्रजाति भएको उल्लेख छ ।


नेपालको जैविक विविधता सम्बन्धी बहुचर्चित पुस्तक ‘नेपाल’ सन् २०१५ जर्मनीबाट छापियो । त्यो पुस्तक रोयल बोटानिकल गार्डेन इडिनबर्घ, यु.के., पिलिप्पस युनिभर्सिटी मुरबर्घ, जर्मनी, नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजी र द सोसाइटी अफ हिमालयन बोटानी, युनिभर्सिटी म्युजियम टोक्योले संयुक्त रूपमा प्रकाशन गरेको हो । यो पुस्तकको हुबहु नेपाल इडिसन सन् २०१७ मा वनस्पति विभाग र नेपाल एकाडेमी अफ साइन्स एन्ड टेक्नोलोजीबाट छुट्टाछुट्टै प्रकाशन भएको छ ।


उल्लेखित पुस्तक अनुसार नेपालमा रैथाने फूल फुल्ने वनस्पति ३९९ प्रजाति छन् (पृष्ठ १६६) । तिनीहरू २०००–४००० मिटर, १०००–२००० मिटर र १००० मिटरभन्दा मुनिको भू–सतहमा क्रमश: ६०, ३५ र ५ प्रतिशत पाइने जनाइएको छ । यो पुस्तकमा सन् २००७ मा प्रकाशित तथ्यांकलाई साभार गरिएको छ । पुस्तक जर्ज मिहे र कोलिन पेन्ड्रीले सम्पादन गरेका हुन् । एसोसियट इडिटरमा रामप्रसाद चौधरीको नाम छ । जर्मनी र नेपालबाट एउटै सामग्री उही क्वालिटीमा छापिनाले पुस्तक बढी महत्त्व छ भन्ने त बुझिन्छ । तर रैथाने सम्बन्धी तथ्यांक भ्रमपूर्ण छ ।


केशवराज राजभण्डारी, संजीवकुमार राई र गंगादत्त भट्टको ‘इन्डेमिक फ्लावरिङ प्लान्ट्स अफ नेपाल : एन अपडेट’ शीर्षकको एक लेख सन् २०१६ छापियो । उक्त लेख अनुसार नेपालमा ३२४ प्रजाति फूल फुल्ने रैथाने वनस्पति छन् । त्यसै लेखको अपडेट भरसन सन् २०१७ मा ‘फ्लावरिङ प्लान्ट्स अफ नेपाल : एन इन्ट्रोडक्सन’ शीर्षक पुस्तकमा छापिएको हो । पछिल्लो अपडेट अनुसार सन् २०१६ को सूचीमा १४ प्रजाति नेपाल बाहिर फेला परेको र २ वटा प्रजाति थपिएको देखिन्छ । थपिएका मध्ये ‘चिनोपोडियम हाराई’ र ‘पोवा मुक्तिनाथेन्सिस्’ क्रमश: सन् २०१५ र २०१६ मै नेपालबाट विश्वको निम्ति नयाँ पत्ता लागेका थिए । तिनीहरू २०१६ को सूचीमा छुट्न गएको देखिन्छ । १४ प्रजाति पनि सन् २०१७ मै मात्र नेपाल बाहिरबाट रिपोर्ट भएका होइनन् । एकाध वर्षअघि नै नेपाल बाहिर पाइयो भन्ने प्रकाशन भइसकेको थियो ।


नयाँ पत्ता लगाइएको वनस्पति विश्वको ख्याति प्राप्त जर्नल वा पुस्तकमा छापिन्छ । यसकारण नयाँ पत्ता लागेको वनस्पतिबारे त्यो जानकारी चासो राख्नेले प्राप्त गर्न सक्छन् । तर नेपालको रैथाने वनस्पति छिमेकी मुलुकमा फेला परेको सामान्य जर्नलमा छापिन्छन् । कुनै महिनैपिच्छे छापिन्छन् । यसैले त्यस्ता सबै जानकारी फेहरिस्त राख्न सक्नु आफैमा निकै ठूलो चुनौती हो । यसैले रैथानेको सूची अपडेट जे जतिपटक गरे पनि केही न केही जानकारी छुट्ने सम्भावना रहन्छ । त्यसैले अनुसन्धानकर्ताहरूले रैथानेबारे जानकारी अपडेट तथ्यांक प्रकाशन गरिरहन्छन् । वनस्पति विभागले दशकयता रैथाने वनस्पति सम्बन्धी ६ वटा सामग्री प्रकाशन गरिसकेको छ । यसले विभागको चासो रैथाने वनस्पति सम्बन्धी छ भन्ने दर्शाउँछ । समग्र तथ्यांक हेर्दा नेपालमा ७ प्रजाति रैथाने रुख भएको बुझिन्छ । ताप्लेजुङमा पैयुँ जाति अन्तर्गत ‘प्रुनस ताप्लेजुङनिका’ र ‘प्रुनस तोप्केगोलेन्सी’ नामका रैथाने रुख हुन् ।


‘प्रुनस ताप्लेजुङनिका’लाई झाडी वर्ग रुख हो भन्ने पनि लेखिएको भेटिन्छ । समुद्री सतहबाट २४ सयदेखि ३६ सय मिटर उचाइसम्म पाइएको यो वनस्पतिको फल कस्तो हुन्छ भन्ने अहिलेसम्म थाहा हुनसकेको छैन । यसरी नै ‘प्रुनस तोप्केगोलेन्सी’को फल कहिले पाक्छ भन्ने जानकारी छैन । यी सहित लगभग सबै रैथानेको स्थिति पनि त्यस्तै छ । उल्लेखित रैथाने प्रजाति सबै सधंै नेपालको रैथानेकै अवस्थामा नहुन सक्छन् । तर पनि अहिलेसम्म दुर्लभ वनस्पति भएका कारण तिनीहरू जैविक विविधाको दृष्ट्रिकोणले महत्त्वपूर्ण नै मानिन्छ । वनस्पति विभागले प्रकाशन गरेको रैथाने वनस्पतिबारे तथ्यांक अहिलेसम्म प्रकाशन भएमध्ये बढी अद्यावधिक देखिन्छ ।

प्रकाशित : जेष्ठ २६, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?