१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

उत्पीडनका अनेक रूप

पुरुष सत्ताद्वारा महिला अस्तित्वमाथि हुने प्रहारविरुद्ध सामूहिक विद्रोहको संस्कृति स्थापना आवश्यक छ ।
डा. साधना प्रतीक्षा

काठमाडौँ — हरेक दिन सञ्चार माध्यमहरूमा महिलामाथि हुने यौनजन्य तथा अन्य शारीरिक हिंसाका घटना आउने गर्छन् । प्रकाशमा आउन नसकेका घटना पनि असंख्य हुन्छन् । मात्रा धेरै–थोरै होला, तर संसारका सबैजसो मुलुकका महिला यौनजन्य हिंसाबाट पीडित हुन्छन् ।

उत्पीडनका अनेक रूप

बलात्कार अर्थात् बलपूर्वक गरिने शारीरिक तथा यौनजन्य हिंसाबाट हाम्रो समाजमा जति महिला पीडित देखिन्छन्, त्योभन्दा कैयौँ गुणा बढी उनीहरू मानसिक यातनाको सिकार भएका हुन्छन् ।


शारीरिकभन्दा मानसिक हिंसा महिलाका लागि बढी घातक हुन्छ, किनभने शारीरिक तथा यौनजन्य हिंसा विरुद्ध लड्नका लागि प्रमाण जुटाउन सकिन्छ । यस्ता अपराधका लागि राज्यले कानुनी व्यवस्थामार्फत पीडकलाई दण्डित गर्न सकिने स्पष्ट प्रावधान निर्माण गरेको हुन्छ । तर महिलामाथि हुने मानसिक यातना विरुद्ध लड्नका लागि न कुनै प्रमाण जुटाउन सकिन्छ, नत यी विभिन्न स्वरूपका मानसिक यातना सम्बोधन हुनेगरी राज्यले दण्ड–सजायको उपयुक्त व्यवस्था गरेको हुन्छ ।


त्यसैले दृश्य रूपमा शारीरिक बलात्कार बढी मात्रामा र सर्वव्यापी देखिए पनि त्यसको तुलनामा अदृश्य रूपमा हुने मानसिक उत्पीडन झनै बढिरहेको पाइन्छ । त्यसैले हाम्रोजस्तो पुरुषप्रधान समाज अनि त्यसभित्र निर्मित पुरुष श्रेष्ठताको संस्कृतिभित्र असंख्य महिला मानसिक उत्पीडन खेपिरहेका देखिन्छन् ।


पितृसत्तात्मक सामाजिक संरचनाभित्र जसरी सीमान्तकृत महिला वर्ग शारीरिक तथा यौनजन्य हिंसाको सिकार हुने गर्छन्, त्यसरी नै केन्द्राभिमुख महिला वर्ग मानसिक उत्पीडनको सिकार भइरहेका हुन्छन् ।


शिक्षित, विभिन्न क्षेत्रमा कार्यरत अनि आफ्नो बेग्लै पहिचानका लागि अग्रसर महिला मानसिक उत्पीडनको सिकार हुने गर्छन् । तर पनि उनीहरू यसलाई उजागर गर्न सक्दैनन्, किनकि पुरुषप्रधान समाजमा पुरुषको गल्ती र कमजोरी देखिँदैन र देखाइँदैन पनि, उल्टै पीडित महिलाकै कमजोरी देखाएर उसलाई थप मानसिक यातना दिने प्रयत्न गरिन्छ । उदाहरणका लागि पुरुषबाट अभद्र व्यवहार गरियो भनी परिवार समक्ष गुनासो गर्ने छोरीलाई परिवारले उल्टै ‘छोरीमान्छे भएपछि आफ्नो ठाउँमा बस्नुपर्छ, केटामान्छेको दाँजोमा लागेर पनि हुन्छ ?’ भन्दै उसको अग्रगमनको यात्रामा लगाम लगाउने गरिन्छ । समाजले उसको पीडा सुन्यो भने ‘खुब ठाँटिएर हिँड्थी, बल्ल थाहा पाई’ भन्दै काखी बजाउँछ ।


सामाजिक मानमर्यादा अनि इज्जत प्रतिष्ठा केवल पुरुषको हो, नारी त केवल पुरुषको चरणको दासी हो भन्ने मक्किएको मानसिकता बोकेको पुरुषप्रधान समाजमा कुनै महिलाले आफूमाथि पुरुषद्वारा भएका अपमानजन्य व्यवहारको खुलासा गरेर त्यस विरुद्ध आवाज उठाउने प्रयास गरिन् भने यस्तो प्रतिक्रिया पाइन्छ, ‘फलानी नै उस्ती हो । निकै जान्ने–सुन्ने भएकी, मै हुँ भन्छे अनि कसैसामु झुक्नै नहुने । आइमाई भएपछि त अलि लचिलो पो हुनु नि ! लोग्नेमान्छेको बराबर हुन खोजेर हुन्छ ? हाम्रा आइमाईहरू कस्ता शीलस्वभावका छन्, हाम्रो कुरा कहिल्यै काट्दैनन् । उनीहरूबाट पनि केही सिक्नु नि ।’


पुरुष श्रेष्ठताको मानसिकताले समाजमा यसरी जरा गाडेको छ कि कुनै पनि पदीय मर्यादामा आफू समानको महिलाले श्रेष्ठता प्रदर्शन गर्न खोज्यो कि उसलाई पछार्ने प्रयास हुन्छ । त्यसका लागि मानसिक उत्पीडनको हतियार प्रयोग गरिन्छ । किनभने पीडित महिलाले उजुर गर्न वा न्याय माग्नका लागि कुनै प्रमाण जुटाउन सक्दिन । बदनामीको डर देखाएर वा बदनामपूर्ण प्रचार गराएर पीडक पक्ष झनै बलियो बन्ने प्रयत्न गर्छ ।


यस्ता घटना कुनै क्षेत्रविशेषमा मात्र नभएर विभिन्न क्षेत्रमा हुने गर्छन् । सामान्यदेखि ठूलठूला व्यावसायिक क्षेत्र, सरकारीदेखि गैरसरकारी कार्यालय, ज्ञानको प्रसार गर्ने पवित्र थलो विद्यालयदेखि ज्ञानको सिर्जना गर्ने विश्वविद्यालय जस्ता बौद्धिक क्षेत्रमा समेत महिला वर्ग मानसिक उत्पीडनमा रहेको पाइन्छ । एकातिर महिलाले ती क्षेत्रमा माथिल्लो तहमा प्रवेश पाउनु नै आफैमा चुनौतीपूर्ण हुन्छ भने जिम्मेवारी प्राप्त गरिसकेपछि आफ्नो सक्षमता प्रदर्शनका लागि थरीथरीका पुरुष प्रवृत्ति सामना गर्नुपर्ने हुन्छ ।


केही स्वार्थी प्रवृत्तिका सहकर्मी तथा माथिल्लो तहका पुरुषहरूले अप्रत्यक्ष रूपमा असहयोग गर्ने अनि सहयोग गर्नुपरेको खण्डमा त्यसका लागि अतिरिक्त लाभ लिन खोज्ने प्रवृत्तिले पनि कार्यक्षेत्रका महिला पीडित हुने गर्छन् । यस्ता महिलाहरू आफ्नो काम तथा लक्ष्यमा पुरुषभन्दा बढी लगनशील र इमानदार हुने हुनाले उनीहरूको सक्षमता प्रदर्शन भैरहेको हुन्छ ।


माथिल्लो निकायका कतिपय अधिकारीले उनीहरूलाई आफू अनुकूल नभएको खण्डमा अक्षम र असफल बनाउन काममा बाधा पुर्‍याउने, क्षमता अनुसारको जिम्मेवारी नदिने, स्रोतसाधन उपलब्ध नगराइदिने आदि गरेको पनि पाइन्छ । शक्तिराष्ट्रहरूले कमजोर राष्ट्रहरूलाई आफ्नो अधीनमा राख्न चौतर्फी नाकाबन्दी लगाए जस्तै असहयोगको नीति लिएर पुरुष सत्ताले कार्यक्षेत्रका महिलालाई आफूसमक्ष झुक्न बाध्य पार्ने गर्छ, जसका कारण उनीहरू मानसिक उत्पीडन खेपिरहेका हुन्छन् ।


यस्ता मानसिक उत्पीडकहरू प्राय: बाहिरबाट हेर्दा अत्यन्त भद्र देखिने, बौद्धिकताको आवरणले ढाकिएका उच्चपदस्थ तथा सामाजिक हैसियत र प्रतिष्ठा प्राप्त व्यक्तिहरू नै हुने गर्छन् । ‘पुरुष मैत्री’ बनेर उनीहरूको चाहना अनुरूप व्यवहार नगर्ने र विद्रोह गर्ने महिला विरुद्ध पुरुष सत्ताद्वारा संगठित रूपमा नै मानसिक यातनाको षडयन्त्र हुने गर्छ । त्यसैले त पीडित महिलाका गुनासा अन्यलाई पत्यारै लाग्दैनन् र यस्तो प्रतिक्रिया आउँछ, ‘त्यस्तो प्रतिष्ठित व्यक्तिबाट पनि यस्तो व्यवहार हुन्छ र ? ठट्टाको कुरा होला, यसलाई गम्भीर रूपमा लिनु हुँदैन ।’


यस्तो प्रतिक्रिया पाएपछि पीडित महिलाको मानसिक दसा कस्तो होला ? धन्य ! हाम्रो समाज अनि संस्कृति ! सम्पन्न, प्रतिष्ठित अनि सामाजिक पहिचान भएका पुरुषबाट गल्ती नै नहुने ! भैहाले पनि त्यसले ठट्टाको रूपमा उन्मुक्ति पाउने ! स्वअस्तित्व बोध गरी आफ्नो पहिचानका लागि अग्रसर महिला अहंकारी कहलाउने र उसको तेजोवध अनिवार्य ठानिने ! महिलाको सामाजिक प्रतिष्ठामा पुरुषको व्यक्तिगत इच्छाको तगारो किन ? यो प्रश्न कुनै एक महिलाको व्यक्तिगत उद्गार होइन, पुरुष अग्रता र श्रेष्ठताको मानसिकताबाट पलपल उत्पीडित भएका तर लोकलाञ्छना र चरित्रहत्याको डरले मौन बसिरहेका असंख्य महिलाको साझा सवाल हो ।


शारीरिक तथा यौनिक बलात्कार पुरुषले मात्र गर्छ, तर पितृसत्ताको सामाजिक प्रभाव यति गहिरो छ कि यसले महिलामाथि मानसिक बलात्कारका लागि महिलाकै पनि प्रयोग गर्छ । युगौँदेखि समाजमा स्थापित पुरुष सत्ताको प्रभावका कारण पुरुष श्रेष्ठताको पुरुषवादी सोच भएका महिलाबाट पनि नारी अग्रताको पक्षधर महिला उत्पीडित हुने गर्छन् । कुनै महिला आफ्नो समकक्षमा वा आफूभन्दा अग्रतातर्फ उन्मुख भएको देखेपछि ऊमाथि मानसिक उत्पीडनका लागि पुरुष सत्ताले अर्की महिलाकै प्रयोग गर्छ । आफ्नो क्षणिक फाइदाका लागि अन्जानमै महिला विरोधी संस्कृतिलाई मलजल गरिरहेका यस्ता महिलाले पितृसत्ताद्वारा स्थापित ‘फुटाऊ र शासन गर’ को रणनीति बुझ्न नसक्नु दु:खद यथार्थ हो ।


महिला विरोधी संस्कृति कुनै एक महिलाका लागिमात्र नभई सम्पूर्ण महिला वर्गकै लागि घातक हुन्छ । फरक यत्ति हो कि कहिले यस्ता घटना अरुविरुद्ध लक्षित हुन्छन् भने कहिले आफ्नैविरुद्ध पनि । त्यसैले सबैको ध्यान शारीरिक बलात्कारका घटनातर्फ मात्र केन्द्रित नभएर मानसिक बलात्कार अर्थात् महिलामाथि हुने मानसिक उत्पीडनका घटनातर्फ पनि केन्द्रित हुनु आवश्यक छ ।


कानुन तथा राज्यका तर्फबाट नेपाली महिलाले धेरै पाएका छन् । आर्थिक अधिकार, राजनीतिक प्रतिनिधित्व, कानुनी व्यवस्था अझ अविवाहित भएर पनि सन्तान जन्माउन सक्ने अधिकारजस्तो क्रान्तिकारी उपलब्धिका कुरा उठिरहेको भए पनि पुरुषप्रधान सामाजिक मूल्य–मान्यताले महिलाको पहुँच त्यहाँसम्म पुग्न दिँदैन । त्यसैले होला, राजनीतिक अधिकार प्राप्तिपछि पनि महिलाका समस्या समाधान भएको नभएर अदृश्यमात्र भएको भन्दै ती अदृश्य समस्यालाई महिला रहस्य अर्थात् फेमिनिन मिस्टिकको नाम दिने बेट्टी फ्राइडनलाई पछ्याउँदै अमेरिकी महिलाले पितृसत्ता विरुद्ध अस्तित्वको लडाइँ जारी राखेका थिए ।


हामीकहाँ पनि पुरुष सत्ताद्वारा महिला अस्तित्वमाथि हुने यस्ता प्रहार विरुद्ध सामूहिक विद्रोहको संस्कृति स्थापना आवश्यक देखिन्छ । महिला अधिकार र महिला हिंसाविरुद्ध कार्यरत संघ–संस्थाले महिला कार्यरत स्थानमा महिला सेल गठन गरी अदृश्य रूपमा भैरहेका यस्ता गतिविधिमा निगरानी गर्नुपर्ने देखिन्छ । त्यसैगरी महिला हिंसाविरुद्ध कलम चलाउने व्यक्तिदेखि राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता पेसामा आबद्ध पत्रकारहरूले महिलामाथि हुने मानसिक उत्पीडनका सम्भाव्य क्षेत्रहरू पहिचान गरी यस्ता घटनालाई सार्वजनिक गर्दै दोषीलाई हतोत्साही बनाउने र गल्ती गरेर पनि उन्मुक्ति पाउने संस्कृति अन्त्य गर्नका लागि अग्रसर हुनुपर्ने देखिन्छ ।

प्रकाशित : जेष्ठ ३०, २०७५ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?