१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

हेलो प्रधानमन्त्रीज्यू, कुरा सुन्नुस् !

गंगा बीसी

काठमाडौँ — तपार्इं भाग्यमानी प्रधानमन्त्री हो । भाग्यमानी मात्र होइन शक्तिशाली पनि । तपाईं जति भाग्यमानी हुनुहुन्छ, त्योभन्दा धेरै अभागी छन्, बहुसंख्यक जनता । नेपाली जनता चुनावमा शक्तिशाली भए पनि हाल कमजोर छन् ।

हेलो प्रधानमन्त्रीज्यू, कुरा सुन्नुस् !

हुन त तपाईं भाग्यमा हैन कर्ममा विश्वास गर्नुहुन्छ होला । तपाईंले लामै राजनीतिक कर्म गर्नुभयो । दशक बढी जेल बस्नुभयो । लामै संघर्ष गर्नुभयो । तपाईं अहिले जहाँ हुनुहुन्छ, राजनीतिक कर्मले पुग्नु भएको हो । तपाईं जति राजनीतिक कर्म गरेका व्यक्ति सबै तपाईंं जति भाग्यमानी कहाँ छन् र ?


यसकारण तपाईंलाई भाग्यमानी भनेको हुँ । कर्मले भाग्य निर्माण गर्ने हो । कर्म नगरी फल पाइँदैन । हजार माइलको यात्रा गर्न एक कदमबाट सुरु गर्नुपर्छ । तपाईं योसहित दुईपटक प्रधानमन्त्री हुनुभयो, राजनीतिक कर्मले पुग्नुभयो ।


तपाईंं इतिहासकै शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । गत निर्वाचनमा तपाईं अत्यधिक बहुमत पाएर प्रधानमन्त्रीमा चयन हुनुभयो । विगतको जस्तो दलहरु जोडजाड गरेर बनेको यो सरकार होइन ।


पछिल्लो समय संघीय फोरम सरकारमा सहभागी भएपछि तपाईं संसदको करिव दुई तिहाइ मतको प्रधानमन्त्री हुनुहुन्छ । मुलुककै सबैभन्दा शक्तिशाली त्यसै हुनुभएको होइन । जुवा खेलेर वा गुलेली चलाएर शक्तिशाली प्रधानमन्त्री बन्नुभएको होइन । बकाइदा निर्वाचनमा बहुमत ल्याएर शक्तिशाली बन्नुभएको हो । एमाले र माओवादीको एकतापछि एउटै पार्टीको बहुमत भयो । झन् तपाईंंलाई सजिलो भयो । तपाईंंको हातमा देशको चाबी छ ।


तपाईंका अर्को अध्यक्ष पुष्पकमल दाहाल पनि उत्तिकै प्रभावशाली हुनुहुन्छ । दाहाल र तपाईंंले चाहेमा देशलाई परिवर्तन गर्न सक्नुहुन्छ । तपाईंं र प्रचण्डको हातमा देशलाई कता लैजाने भन्ने ठूलो जिम्मेवारी छ ।


प्रमुख प्रतिपक्षी दल कांग्रेस कमजोर देखिएको छ । उसले संसद वा अन्य क्षेत्रमा सशक्त भूमिका निभाउन सकेको छैन । यो हेरेर तपाईंलाइ ‘हाइ सन्चो’ छ । प्रतिपक्षी दलको खासै विरोध नभएपछि तपाईंंका कामको आलोचना कसले गर्ने ? तपाईंलाई लाग्न सक्छ: देश आफ्नो मुट्ठीमा छ । एक बोलीले देशमा उथलपुथल ल्याउन सक्छ ।


मतदानपछिका जनता निमुखा छन् । तपाईंको अगाडि बोल्न सक्दैनन् । न त उनीहरुले सन्देश पठाउन सक्छन् । केवल तपाईंको बोली सुन्न सक्छन् । तपाईं आदेश दिन सक्नुहुन्छ । यतिबेला तपाईंको गोली र बोलीको खास अन्तर छैन । तपाईंको बोलीनै गोली जस्तो हुन्छ । किनकी तपाईं इतिहासकै शक्तिशाली प्रधानमन्त्री हो ।


तपाईंं प्रधाममन्त्री भएको एक सय ३० दिन भइसकेको छ ।सरकारका लागिसय दिन धेरै समय होइन । तपाईंका सिंहदरबारका सय दिन पक्कै पनि सुखद रहे । तपाईंको स्वास्थ्य पनि राम्रो रह्यो । यो अवधिमा तपाईंले भारतको भ्रमण गर्नुभयो, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउनुभयो । छिमेकीसँगको सुधारको प्रयास राम्रो भयो । चीनतिर यात्रा गर्दै हुनुहुन्छ । उत्तर चीनसँग अझै राम्रो सम्बन्ध होला भन्ने बिश्वास गर्न सकिन्छ ।


तपाईंका उत्तर–दक्षिण पाइला बलिया होउन्, नेपाली जनताको शुभकामना छ । यसबीचमा सरकारले बजेट ल्यायो । देशको आय व्यय तपाईंका अर्थमन्त्रीले ल्याउनुभयो । त्यसले मुलुकलाई समृद्ध नेपालको दिशामा लियो भने सुखी नेपाली हुने नै छन् । अहिले आशा गरौं, विश्वास गरिनहालौं । देश र जनताको भविष्यको जिम्मा तपाईंकै हातमा छ ।


तपाईं शासक हो, जनता शासित हुन जानेका छन् । हुन त तपाईं पनि जनताकै छोरा हो, कर्मले तपाईं अहिले शासक हुनुभएको हो । यसमा नेपाली जनता खुशी छन्, दु:खी हुनुपर्ने कुनै कारण छैन ।


प्रधानमन्त्रीज्यू तपाईंलाई थाहै छ । राज्य चलेको छ । कसरी चलेको छ ? सरकारका निकायले तपाईंलाई जानकारी दिएकै होलान् । तपाईं प्रधानमन्त्री भएपछि देश नयाँ ढंगले चलेको छ कि पुरानै तरिकाले ? यो पनि ख्याल होला । हालै तपाईंले देशकै भब्य होटलबाट हेलो प्रधानमन्त्री भन्ने कार्यक्रमको भव्य उद्घाटन गर्दै सुशासनको ब्याख्या गर्नुभयो ।


सुशासनको जग बसाल्न खोजेको बताउनुभयो । यो सय दिनको समीक्षा पनि गर्नुभएको होला । सय दिनमा जनताले के के सेवा सजिलो गरी पाए ? सुशासन कस्तो भयो ? त्यसको उत्तर खोज्ने प्रयास गर्नुभएको होला । तपाईं सामु जनता निरीह छन् । नेपाली जनता बढी सहनशील छन्, उनीहरुको आक्रोश आउन धेरै समय लाग्छ । तपाईंलाई ‘पर्खेर हेर’ को नीतिमा छन् ।


तपाईं बडो मिठो भाषण गर्नुुहुन्छ । गजब्बको तर्क गर्नुहुन्छ । भाषण र तर्कले मात्र देश बन्दैन भन्ने कुरा तपाईंलाई राम्ररी थाहा छ । देश बनाउन बहद् भिजन चाहिन्छ । बृहत् भिजनका लागि तपाईंको टिम खटेको हुनुपर्छ । यो सय दिनमा देश बनाउने खास खाका बाहिर आएको छैन । जनता अझै स्पष्ट हुन सकेका छैनन् । उनीहरु कुहिरोको काग झै छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को मिठो नारा सुनेरै बसेका छन् । सरकारले अहिलेनै लामो समयदेखि जर्जर बन्दै गएको देशको कायापलट गर्न सक्दैन । यो कुरा जनतालाई राम्ररी थाहा छ । बिहानीले दिनको संकेत गर्छ भने झै यो सय दिनमा पक्कै सुखद संकेत देखिनुपर्ने हो । त्यो संकेत आउन अझै कति दिन लाग्ने हो ? जनता व्यग्र प्रतिक्षामा छन् ।


सरकारी निकायमा अहिले पनि जनताको काम सहज तरिकाले हुन सकेको छैन । तपाईं प्रधानमन्त्री हुनु अघि जसरी दु:ख पाएर जनताले काम गरेका थिए, अहिले पनि त्यसरी सेवा लिइरहेका छन् । जनताले दु:ख पाएको सूचना तपाईंको कार्यालयमा पुग्छ कि पुग्दैन ? कसैले सुनाउँछ कि सुनाउँदैन ? कि सुनेर पनि नसुनेझै गर्नुहुन्छ ?


सरकारी अस्पताल र स्वास्थ्य संस्थामा उपचार गर्ने सर्वसाधारणको समस्या उस्तै छ । त्यहाँ उपलब्ध हुने सेवाको स्तर बिजोग छ । सुधारको कुनै संकेत छैन । निजी अस्पतालको फणाले सर्वसाधारणलाई निल्दै गएको छ । सरकारी स्वास्थ्य निकायमा सुविधा धेरै छ, तर सेवा कमजोर छ । तपाईंका मन्त्री र वरिष्ठ सरकारी अधिकारीको आँखामा सरकारी अस्पताल पर्दैनन् । किनकी त्यहाँ उनीहरुले उपचार गर्नुछैन । राज्यले तपाईंहरुको उपचार गरिहाल्छ । त्यसकारण सरकारी अस्पताल सुधार गर्नु पर्ने जरुरी देखिएन कि ? राज्य बलियो बनाउने कि निजी क्षेत्र ? राज्य बलियो भने जनता लाभाविन्त हुन्छन् । निजी क्षेत्र बलियो भयो भने शक्तिशाली नेताले लाभ लिन्छन् । कुरो तितो भए पनि सही यही हो ।


अब स्कुलको कुरा गरौ । सामुदायिक स्कुलको अवस्था सुधार हुन सकेका छैन । जबकि राज्यको ठूलो बजेट सामुदायिक शिक्षामा खर्च भएको छ । निजी स्कुलको मनपरी यसरी बढिरहेका छ कि सरकारको ध्यान त्यता जाँदैन । किनकी तपाईंका मान्छेहरुले निजी स्कुल चलाइरहेका छन् । ग्रामीण क्षेत्रका आममानिसका छोराछोरी सरकारी स्कुलमा पढ्छन् । मन त उनीहरुलाई पनि राम्रो शिक्षा लिने छ । तर के गर्ने उनीहरुको पहुँचमा त्यो छैन । निजी स्कुल स्कुलले हरेक वर्ष बढाउँदै गएको शुल्कमा सरकारको आँखा लाग्दैन । सहरीया आम मानिस निजी स्कुलमा पढाउनै पर्ने बाध्यतालाई नकार्न सकिँदैन । सरकार र निजी क्षेत्र मिलेर सर्वसाधारणलाई शोषण गर्न मिल्छ ?


स्वास्थ्य र शिक्षामा भएको चरम निजीकरण आखिर जनताको ढाड सेकिने हो । यसमा तपाईंको नजर परेजस्तो लागेन । यही नीति कायम हुने हो भने शिक्षा र स्वास्थ्यको क्षेत्रमा ठूलै सिन्डिकेट हुनेछ । जसको घानमा पर्ने उनै जनता हुन् ।


यातायातको क्षेत्रमा देखिएको सिन्डिकेट कागजमा अन्त्य भएको छ । ब्यवहारमा अहिले पनि उस्तै सास्ती छ । निर्णय गर्ने तर त्यसको फ्लोअप नगर्ने यो पुरानै रोग हो । सार्वजनिक यातायातमा हिड्नेहरुलाई मात्र थाहा छ, राजधानी लगायत अन्य ठाउँमा उस्तै सास्ती छ । लोकतन्त्रमा देखिएको मनपरितन्त्र अझै उस्तै छ ।


राजधानीमा मनोरेल चलाउने कुरा प्रधानमन्त्रीले गर्दै आउनु भएको छ । राजधानीको धुलो र हिलोले यसलाई व्यंग्य गरिरहेको छ । काठमाडौं महानगरपालिकामा नेकपाका मेयर छन् । मनोरेलको कुरा गरिरहेका बेला राजधाीलाई धुलो छोपेको छ । धुलो हटाउन यत्रो महाभारत बुझिनसक्नु छ । हेर्ला धुलो सामान्य लागे पनि त्यसले सरकारको अनुहार छोपेर कुरुप देखिएको छ ।


राजधानीलाई धुलोले कुरुप बनाए तपाईंको अनुहारमा पनि अलिअलि पक्कै पर्छ । सिंहदबार वा बालुवाटार जहाँ बसे पनि धुलोले छोप्दा पक्कै राम्रो देखिँदैन । राजधानीको ट्राफिक जामको कुरा गरी साध्य छैन । प्रधानमन्त्री र मन्त्रीलाई ट्राफिक जाममा बस्ने सुविधा नभएकाले तपाईंलाई कमै जानकारी भएको हुनुपर्छ ।


अर्थमन्त्रीले बजेट ल्याएपछि महँगी बढेको छ । बजेटले महँगी बढाएको होइन, ब्यापारिले बढाएको हो । त्यतापट्टि कार्यकारी प्रधानमन्त्रीको नजर देखिएन । दैनिक उपभोग्य वस्तुमा विचौलिया मोटाउने सरकारको नीति हो र ? किसानले राम्रो मूल्य पाएका छैनन्, उपभोक्ताले चर्को मूल्य तिर्नु परेको छ । सबैतिर थिति होइन, बेथितिको चाङ छ । प्रधानमन्त्री हरेक भाषणमा राम्रो थिति बसाल्ने कुरा गरिरहनु भएको छ ।


सरकार शक्तिशाली छ । प्रधानमन्त्रीको मन्त्रिपरिषद् हेर्दा राम्रो छ । मन्त्रीहरु वरिष्ठ र चलाख छन् । सय दिनमा हुन सक्ने काम पनि किन भएनन् ?सरकारले दिन सक्ने दैनिक सेवा समेत छिटो र छरितो हुन सकेका छैनन् ।केन्द्र, प्रदेश र स्थानीय तहसम्म सरकारकै जनप्रतिनिधि छन् । जनताले अहिलेनै धेरै अपेक्षा गरेका छैनन् । जनताले अहिलेकै अवस्थामा सजिलोगरी सरकारले दिने सेवा चाहेका छन् । प्रधानमन्त्रीज्यू कुरा सुन्नुहोस् ।


प्रकाशित : जेष्ठ ३०, २०७५ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?