कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रक्तदाता कसरी बढाउने ?

सन्दर्भ : विश्व रक्तदाता दिवस
स्वयंसेवी रक्तदातालाई गोलबन्द गर्दै हौसला प्रदान गर्न यो दिवसले निकै महत्त्व राख्छ ।

काठमाडौँ — ‘अरूको लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं’, यस वर्षको विश्व रक्तदाता दिवसको नारा हो । मूलत: स्वयंसेवी रक्तदाताहरूलाई सम्मान र धन्यवाद ज्ञापन गर्न घोषणा गरिएको यस दिनलाई स्वयंसेवी रक्तदाताहरूको महान पर्व नै हो भन्दा अत्युक्ति नहोला ।

रक्तदाता कसरी बढाउने ?

३६५ दिनमा जून १४ लाई नै किन विश्व रक्तदाता दिवसको रूपमा मनाइयो त ? भन्ने जिज्ञासा पनि हामीमाझ छैन भन्न मिल्दैन ।

मानव रगतबारे विभिन्न समयमा विभिन्न तथ्य पत्ता लाग्दै आइरहेको छ । सन् १६१६ देखि मानव रगतको रक्तसञ्चार सेवा सम्बन्धी तथ्य सार्वजनिक हुँदै आइरहेको छ । यसै सिलसिलामा सन् १९०० मा आइपुग्दा मानव शरीरमा निरन्तर प्रवाह भइरहने रगतको समूहहरूसमेत पत्ता लाग्यो । आवश्यकता अनुरूप त्यही रक्त समूह भएकाहरूद्वारा रक्तदान गराई त्यसको संकलन, भण्डारण र वितरण गर्न १९३१ सम्म आइपुग्दा रक्तसञ्चार केन्द्र स्थापना गरी सेवारम्भ भएको इतिहास छ । रक्त समूह वैज्ञानिक कार्ल ल्यान्ड स्टिनरले पत्ता लगाएका थिए । उनै वैज्ञानिक कार्ल ल्यान्ड स्टिनरको जन्म दिनको तिथि पारेर जून १४ लाई विश्व रक्तदाता दिवस घोषणा गरिएको हो । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आफ्नो जिल्ला, नगर, गाउँ, एकाइ शाखाहरूमार्फत विश्व रक्तदाता दिवसलाई विविध कार्यक्रमको आयोजना गरी मनाइरहेका छौं । यसरी स्वयंसेवी रक्तदाताहरूलाई गोलबन्द गर्दै हौसला प्रदान गर्न यो दिवसले निकै महत्त्व राख्छ ।

हरेक कोणबाट स्वयंसेवी रक्तदाताहरूलाई उत्साहित तथा उत्प्रेरित गर्दै पीडित पक्षलाई राहत प्रदान गर्न विविध गतिविधिले प्रत्यक्ष/अप्रत्यक्ष भूमिका निर्वाह गर्दै आइरहेको छ । यस्तो विशेष दिनलाई राज्यबाट खासै जिज्ञासाका साथै महत्त्व दिइरहेको हामी स्वयंसेवी रक्तदाताहरूले आभाष गर्न पाइरहेका छैनौं ।

समय, ऋतु, भूगोल, सामाजिक संरचना र विद्यमान वर्गीय सोचलाई आवश्यकता अनुसार परिमार्जित गर्दै प्रकृति र विज्ञानलाई बुझ्दै–बुझाउँदै, रक्तदानको क्षेत्रमा स्वयंसेवी रक्तदाताहरूको संख्यामा क्रमिक सुधार ल्याउँदै रक्त व्यवस्थापनको क्षेत्रमा सुधार गर्न सम्बन्धित निकाय चुकिरहेको छ ।

अरू विषयझैं रगतलाई तुलना गर्न मिल्दैन । यो क्षेत्रमा आज एकमात्र छ भने भोलि संख्यामा वृद्धि कसरी गर्न सकिन्छ भनी चिन्तित हुन जरुरी छ । तब मात्र आवश्यकता अनुसारको रगत र रक्ततत्त्वहरूको पूर्तिमा मेल ल्याउन सकिनेछ । यसरी सधैं छैन र अभावमा रक्त व्यवस्थापन चलिरहनु शोभनीय हुँदैन । नयाँ स्वयंसेवी रक्तदाताको संख्या वृद्धिका लागि नैराश्यता आउन दिनुहुन्न । यहाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि गर्ने कुनै राष्ट्रिय योजना नै तयार गर्न सकिएको छैन ।

विश्व रक्तदाता दिवसको उपलक्ष्यमा अहिले रक्त व्यवस्थापनको क्षेत्रमा देखिएको कमी–कमजोरीलाई सुधार्दै अत्याधुनिक प्रविधिहरू यस क्षेत्रमा भित्र्याई पीडित पक्षलाई गुणस्तरीय सेवा प्रदान गर्न सम्बन्धित पक्ष समर्पित र संवेदनशील हुनुपर्छ । यसो हुनसकेमा स्वयंसेवी रक्तदाताहरूले दानस्वरूप प्रदान गरेको रगतको उचित व्यवस्थापन हुन जानेछ । तसर्थ विश्व रक्तदाता दिवसले आम स्वयंसेवी रक्तदाताहरूलाई सम्मान जाहेर गर्न खोजेको सार्थक हुनेछ ।

हामीले निरन्तर झेल्दै आइरहेको रगत र रगतबाट तयार पारिएका रक्ततत्त्वहरूको अभावलाई न्युनीकरण गर्न यो विश्व रक्तदाता दिवसको नारालाई घनिभूत रूपमा व्यावहारिक बनाउनसके मात्र यसको परिणाम हामीले देख्न र सुन्न पाउनेछौं ।

१५४ पटक रक्तदान गरिसकेका कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन् ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?