हीरक वर्ष खोतल–खातल

राजा महेन्द्रले २०२१ वैशाख २६ गते विश्व रेडक्रस दिवसको उपलक्ष्यमा रेडक्रस नेपालको कार्यालय त्रिपुरेश्वरमा गएर रक्तदान गरे ।
भैरव रिसाल

काठमाडौँ — पसिना बेचेर मात्र भरियाहरूको जीविकोपार्जन हुँदैनथ्यो । त्यसैले पहाडी मूलका २५–६५ वर्षका १८/२० जना भरियाको जमघट भइरहन्थ्यो, वीर अस्पतालको रगत उपलव्ध गराउने एकाइको अगाडिको सडकमा, सडकको पेटीमा । त्यति धेरै भरिया किन त भन्दा रगत चाहिने कुन रक्तार्थीलाई कुन समूहको रगत हो, ठेगान नहुने हुँदा त्यो हुल जम्मा भएको हो ।

सुरु–सुरुमा एक युनिट (मात्रा) रगत दिने भरियालाई १ सय रुपैयाँ दिने गरिन्थ्यो । त्यो पैसो भरियाका लागि प्रशस्त ठानिन्थ्यो । सय कमाउन दिनभर भारी बोक्दा पनि मुस्किल पथ्र्यो । फेरि बोक्न भारी पनि त पाउनुपर्‍यो नि । एकछिन एक युनिट रगत दियो, सय रुपैयाँको नयाँ नोट गोजीमा । एकाध वर्षपछि रक्तदाताहरूको बित्पातै शोषण भो भन्ने परेछ– परोपकार, रेडक्रस जस्ता संस्थालाई बेठिक लागेछ क्यार र २५ रुपैयाँ बढुवा भएछ, त्यो पनि नमागिकनै । रक्तदाता भरियाको भाग्यै खुल्यो भन्न थालेछन् । त्यो परिस्थितिमा रगत बेच्नेहरूबीच तँछाड–मछाड हुने कहिलेकाहीं त † केही वर्षसम्म नै चल्यो, रगत बेच्ने यस्तो दयनीय प्रतिस्पर्धा । लगातार धेरैपल्ट रगत दिँदा स्वास्थ्यमा पर्ने प्रतिकूलताबारे सोच्ने सोच नै टुसाएको थिएन, समकालीन समाजमा, समुदायमा । त्यसको कस्तो परिणाम भयो होला ? हेरिएन ।

पहिलो रक्तदाता
नेपालमा रक्तदानको इतिहास थालनी भएको धेरै भयो भनौं या धेरै भएको छैन भनौं जे भने पनि ७५ वर्ष लाग्यो । नेपालका पहिलो रक्तदाता हुन्– अदम्य साहसी एवं उत्साही, प्रचण्ड समाजसेवी दयावीरसिंह कंसाकार । उनले नेपालमा जुद्धशमशेर राणा श्री ३ महाराज रहेका बेला पहिलोपल्ट रक्तदान गरेका रहेछन् । दयावीर आफ्नो नातेदार अस्पताल भर्ना भएकोले भेट्न गएका रहेछन् । त्यतिबेला एउटी महिला बिरामीनिर बसेर रोइरहेकी । दयावीरले किन रोएको भनी सोध्दा उनको बिरामी छोरालाई रगत दिनुपर्छ, नत्र बचाउन सकिँंदैन भनी डाक्टरले भनेपछि रोएकी रहिछन् । जल्दोबल्दो हृष्टपुष्ट खाइहाल्दो युवा दयावीरले रगत दिन्छन् कि भनी रोएकी रे । दयावीरले ‘आफ्नो छोरालाई आफै दिनोस् नत रगत’ भन्दा ‘म मरेंँ भने नि रगत झिक्दा’ भनिछन् । दयावीरलाई दया लागेछ र रगत दिन तयार भएछन् ।

Yamaha

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. देवव्रत दास गुप्ताले दयावीरको रगत झिकी बिरामी रत्नकाजी तुलाधरलाई दिएछन् । तै रगतको समूह मिलेछ । त्यतिबेला नेपालीहरूमा रक्तदानबारे थाहै थिएन । विहा भएको मात्र होइन, छोराछोरी समेत भइसकेका दयावीरले परिवारको परवाहै नगरी रक्तदान गरेका थिए । उनले बाँचुन्जेल ८ पल्ट रक्तदान गरे । २००४ सालमा दयावीरकै अग्रसरतामा परोपकार संस्था सरकारबाट खड्ग निसानाद्वारा अनुमति प्राप्त भएपछि रक्तदाता स्वयंसेवकहरू टोली नै बनाइएछ । त्यसपछि रक्तदानको स्थिति बस्न थालेको हो । कस्तो थियो होला, त्यस युगमा रक्तदाताहरूको मनोविज्ञान र रगत लिने बिरामी र उनका परिवारको मनोविज्ञान ।

मैले पनि रक्तदान गरेंँ
म रासस (राष्ट्रिय समाचार समिति) को प्रमुख संवाददाता थिएँ । समाचार संकलनका निम्ति समारोहहरूमा गइरहनुपर्ने । रक्तदान नगरिकन त्यस्ता कामको रिपोर्टिङ गर्न जान अप्ठेरो लाग्यो । राससका साथीहरूसँग सल्लाह गरेँ, रक्तदान दिन । १३ जना पत्रकार तयार भयौं । तर १३ जनामध्ये ५ जना अयोग्य ठहरिए । बाँकी ८ जनाले रक्तदान गर्‍यौं । त्यो बेलासम्म पनि रक्तदाताले रेडक्रसमा नै गएर रगत दिनुपर्ने अवस्था थियो । हामीले रक्तदान गरेको २०३४ भदौ ७ गते हो । मेरो रगत ‘ए पोजेटिभ’ रहेछ । मैले ५०० सीसी रगत दिएको रहेछु । त्यतिबेला रक्तदातालाई नेपाल रेडक्रस सोसाइटीकी अध्यक्ष श्री ५ अधिराजकुमारी प्रिन्सेप शाहले दस्तखत गरेको प्रशंसा पत्र दिइँदो रहेछ । मेरो प्रशंसा पत्रमा २५ नं. लेखिएको छ । त्यो २५ नं. केका आधारमा लेखिएको अहिले पनि बुझिन । आर.एच. प्लस भीई (पोजिटिभ) लेखिएको छ । त्यसरी आफूले पनि रक्तदान गरेपछि आफ्नो मनोबल र नैतिकबल पनि बढ्यो । ग्लानि र हीनताबोध त कता हरायो कता । त्यसपछि रक्तदान गर्नुहोस् भन्ने मेरो बोली ठूलो र दरिलो बन्न लाग्यो । दानको परिणाम स्वत: सबल आधार हुनेरहेछ । मेरो निजी अनुभव हो ।

राजा महेन्द्रले पनि गरे रक्तदान
राजा महेन्द्रलाई पनि रक्तदान गर्न मन लागेछ । २०२१ वैशाख २६ गते विश्व रेडक्रस दिवसको उपलक्ष्यमा रेडक्रस नेपालको कार्यालय त्रिपुरेश्वरमा गएर रक्तदान गरे । त्यो रिपोर्टिङ गर्न राससबाट म गएको थिएँ । त्यो आजभन्दा ५४ वर्ष पहिलेको कुरा हो । त्यतिबेला रगत दान गर्नु सरल मानिँदैनथ्यो । जनतामा स्वास्थ्य चेतना पनि निकै कम थियो । रेडक्रसको कार्यालय नेपाल रेडक्रसका अगुवा रमेश शर्माको घरमा त्रिपुरेश्वरमा थियो । ब्लड बैंक पनि शिशु अवस्थामै थियो । अहिले रक्तदान गर्न ब्लड बैंक पुग्नु पर्दैन ।

रेडक्रसको ब्लड बैंकबाट सम्बन्धित विज्ञ सहितको टाली नै आउँछ– टोल–टोलमा, गाउँ–गाउँमा । तर २०२१ सालमा रक्तदान गर्न स्वयं राजा महेन्द्र पनि नेपाल रेडक्रस कार्यालय जानुपरेको थियो । दरबारमा गएर रगत लिनु सहज थिएन । राजा महेन्द्रको रगत प्रत्यारोपण गर्न एकजना व्यापारी रतिरामले इच्छा गरेछन् । तर गु्रप मिलेनछ र वीर अस्पतालमा उपचार गराइरहेकी ३० वर्षीया साधारण महिला शान्ति प्रधानलाई वैशाख २९ गते त्यो रगत दिएछन् ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

रक्तदाता कसरी बढाउने ?

सन्दर्भ : विश्व रक्तदाता दिवस
स्वयंसेवी रक्तदातालाई गोलबन्द गर्दै हौसला प्रदान गर्न यो दिवसले निकै महत्त्व राख्छ ।
प्रेमसागर कर्माचार्य

काठमाडौँ — ‘अरूको लागि पनि सेवाभाव जगाऔं, रक्तदान गरौं, जीवन बाँडौं’, यस वर्षको विश्व रक्तदाता दिवसको नारा हो । मूलत: स्वयंसेवी रक्तदाताहरूलाई सम्मान र धन्यवाद ज्ञापन गर्न घोषणा गरिएको यस दिनलाई स्वयंसेवी रक्तदाताहरूको महान पर्व नै हो भन्दा अत्युक्ति नहोला ।

३६५ दिनमा जून १४ लाई नै किन विश्व रक्तदाता दिवसको रूपमा मनाइयो त ? भन्ने जिज्ञासा पनि हामीमाझ छैन भन्न मिल्दैन ।

मानव रगतबारे विभिन्न समयमा विभिन्न तथ्य पत्ता लाग्दै आइरहेको छ । सन् १६१६ देखि मानव रगतको रक्तसञ्चार सेवा सम्बन्धी तथ्य सार्वजनिक हुँदै आइरहेको छ । यसै सिलसिलामा सन् १९०० मा आइपुग्दा मानव शरीरमा निरन्तर प्रवाह भइरहने रगतको समूहहरूसमेत पत्ता लाग्यो । आवश्यकता अनुरूप त्यही रक्त समूह भएकाहरूद्वारा रक्तदान गराई त्यसको संकलन, भण्डारण र वितरण गर्न १९३१ सम्म आइपुग्दा रक्तसञ्चार केन्द्र स्थापना गरी सेवारम्भ भएको इतिहास छ । रक्त समूह वैज्ञानिक कार्ल ल्यान्ड स्टिनरले पत्ता लगाएका थिए । उनै वैज्ञानिक कार्ल ल्यान्ड स्टिनरको जन्म दिनको तिथि पारेर जून १४ लाई विश्व रक्तदाता दिवस घोषणा गरिएको हो । नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा आफ्नो जिल्ला, नगर, गाउँ, एकाइ शाखाहरूमार्फत विश्व रक्तदाता दिवसलाई विविध कार्यक्रमको आयोजना गरी मनाइरहेका छौं । यसरी स्वयंसेवी रक्तदाताहरूलाई गोलबन्द गर्दै हौसला प्रदान गर्न यो दिवसले निकै महत्त्व राख्छ ।

हरेक कोणबाट स्वयंसेवी रक्तदाताहरूलाई उत्साहित तथा उत्प्रेरित गर्दै पीडित पक्षलाई राहत प्रदान गर्न विविध गतिविधिले प्रत्यक्ष/अप्रत्यक्ष भूमिका निर्वाह गर्दै आइरहेको छ । यस्तो विशेष दिनलाई राज्यबाट खासै जिज्ञासाका साथै महत्त्व दिइरहेको हामी स्वयंसेवी रक्तदाताहरूले आभाष गर्न पाइरहेका छैनौं ।

समय, ऋतु, भूगोल, सामाजिक संरचना र विद्यमान वर्गीय सोचलाई आवश्यकता अनुसार परिमार्जित गर्दै प्रकृति र विज्ञानलाई बुझ्दै–बुझाउँदै, रक्तदानको क्षेत्रमा स्वयंसेवी रक्तदाताहरूको संख्यामा क्रमिक सुधार ल्याउँदै रक्त व्यवस्थापनको क्षेत्रमा सुधार गर्न सम्बन्धित निकाय चुकिरहेको छ ।

अरू विषयझैं रगतलाई तुलना गर्न मिल्दैन । यो क्षेत्रमा आज एकमात्र छ भने भोलि संख्यामा वृद्धि कसरी गर्न सकिन्छ भनी चिन्तित हुन जरुरी छ । तब मात्र आवश्यकता अनुसारको रगत र रक्ततत्त्वहरूको पूर्तिमा मेल ल्याउन सकिनेछ । यसरी सधैं छैन र अभावमा रक्त व्यवस्थापन चलिरहनु शोभनीय हुँदैन । नयाँ स्वयंसेवी रक्तदाताको संख्या वृद्धिका लागि नैराश्यता आउन दिनुहुन्न । यहाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि गर्ने कुनै राष्ट्रिय योजना नै तयार गर्न सकिएको छैन ।

विश्व रक्तदाता दिवसको उपलक्ष्यमा अहिले रक्त व्यवस्थापनको क्षेत्रमा देखिएको कमी–कमजोरीलाई सुधार्दै अत्याधुनिक प्रविधिहरू यस क्षेत्रमा भित्र्याई पीडित पक्षलाई गुणस्तरीय सेवा प्रदान गर्न सम्बन्धित पक्ष समर्पित र संवेदनशील हुनुपर्छ । यसो हुनसकेमा स्वयंसेवी रक्तदाताहरूले दानस्वरूप प्रदान गरेको रगतको उचित व्यवस्थापन हुन जानेछ । तसर्थ विश्व रक्तदाता दिवसले आम स्वयंसेवी रक्तदाताहरूलाई सम्मान जाहेर गर्न खोजेको सार्थक हुनेछ ।

हामीले निरन्तर झेल्दै आइरहेको रगत र रगतबाट तयार पारिएका रक्ततत्त्वहरूको अभावलाई न्युनीकरण गर्न यो विश्व रक्तदाता दिवसको नारालाई घनिभूत रूपमा व्यावहारिक बनाउनसके मात्र यसको परिणाम हामीले देख्न र सुन्न पाउनेछौं ।

१५४ पटक रक्तदान गरिसकेका कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष हुन् ।

प्रकाशित : जेष्ठ ३१, २०७५ ०७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT