नेपाली सिनेमा किन हेर्ने?

नवीन रायमाझी

काठमाडौँ — मेरा परिचितहरु मध्ये करिब ७५ प्रतिशतले नेपाली सिनेमा नहेर्ने बताउँछन्, उनीहरु हेर्दै हेर्दैनन् कि हेरेर पनि झुट बोल्छन् । त्यो उनीहरुलाई नै थाहा होला । तर म धेरै पछिसम्म पनि नेपाली सिनेमाको नियमित दर्शक थिएँ, पछि विभिन्न कारणले नेपाली सिनेमा हेर्न छोडें ।

आफुलाई अंग्रेजी सिनेमाको दर्शक बताउँदा गर्व गर्ने मान्छेहरु पनि भेटेको छु । तर म अंग्रेजी सिनेमा हेर्दिन, पहिलो त म अंग्रेजी बुझ्दिन र दोश्रो त्यस्ता सिनेमाको कथामा रहेको परिवेशसँग म तारतम्य राख्न सक्दिन ।

Yamaha

कुनैबेला मलाई ब्रुस लि र ज्याकी चाङ्गको सिनेमा हेर्न निकै रमाइलो लाग्थ्यो, त्यो पनि कथा बुझेर भन्दा पनि त्यस्ता सिनेमामा देखाइने स्टन्टको कारण, त्यसै गरेर अपवादको रुपमा अंग्रेजी सिनेमा पनि हेरियो, त्यो भने सिनेमा भित्र हुने नायक र नायिकाको चुम्बन र अन्तरंग दृश हेर्नको लागि । कोहि कोहि आफुलाई सभ्य र आधुनिक भन्न रुचाउनेहरुले कोरियन र इरानी सिनेमा हेर्ने बताउँछन्, अब त्यस्ता सिनेमाहरु कस्ता हुन्छन् त्यो मलाई थाहा छैन, पारखीले बुझाइ दिए अनुग्रहित हुने थिएँ । आजकल मैले नियमित हेर्ने भनेको हिन्दी सिनेमा हो र मलाई हास्य "जनरा" को सिनेमा हेर्न मन लाग्छ ।

म सिनेमाको ज्ञाता होइन र सिनेमा निर्माण गर्न के कस्ता बाधा तथा अबरोध छिचोल्नु पर्छ त्यसको पनि ज्ञान छैन । मेरो बिचारमा एउटा सामान्य दर्शकलाई सिनेमा निर्माण गर्न कति मेहनत पर्छ वा कुन क्यामराले खिच्यो भन्ने जस्ता नितान्त प्राबिधिक बिषयहरुसँग त्यति मतलब होला जस्तो पनि लाग्दैन । यसको साथै सिनेमा निर्माण गर्नु अत्यन्तै कठिन काम हो भनेर नथाक्नेहरुको अगाडी एउटा नौ वर्षको बालकले सिनेमा निर्देशन गरिदिन्छ र त्यो सिनेमा यति स्तरीय बन्छ कि कुरै नगरौं । यो पनि मैले आजसम्म बुझ्न सकेको छैन ।

सिनेमा निर्माण भनेको बिशुद्ध ब्यापार हो र सबैले नाफा कमाउनको लागि गर्ने भएको कारणले मन नपरी नपरी पनि नेपाली सिनेमालाई माया गर्नको लागि मात्र सिनेमा हेर्नु पर्ने बाध्यता कसैलाई छैन । भारतीय समाजसँग सामाजिक अबस्था र भाषा धेरै हदसम्म मिल्ने हुनले सिनेमाको कथामा पनि केहि समानता आउनु स्वभाविक हो । तर हरेक फ्रेम हुबहु नक्कल भएका नेपाली सिनेमा हेर्नु भन्दा हिन्दी सिनेमा नै किन नहेर्ने ? यसमा नेपाली सिनेमासँग सम्बन्धित ब्यक्तिहरुको के विचार होला? बजारमा दशौं किसिमका चाउचाउ छन् भने नमिठो लागेर पनि नेपालमै बनेको चाउचाउ खानु पर्ने बाध्यता जसरी उपभोक्तालाई छैन । त्यसरी नै नेपाली सिनेमा नै हेर्नु पर्ने बाध्यता दर्शकलाई छैन र हुनु पनि हुँदैन ।

केहि यस्ता प्रसंग छन्, जुन प्रसंगहरु हिन्दी सिनेमामा नै पचासौं पटक दोहरिइसकेका छन् भने त्यस्तै बासी प्रसंग फेरी नेपाली सिनेमामा हेर्दा एउटा दर्शकको आँखा कति बिझाउला । त्यो सम्बन्धित ब्यक्तिहरुले महशुस गर्नुपर्ने हो । यस्तै केहि पटक पटक हरेक सिनेमामा दोहरिइरहने प्रसंग यँहा उल्लेख छ :

प्रसंग १ : सिनेमाको नायिका कुनै पार्कमा खुशी भएर गीत गाएर नाच्दै छिन् । उनले नाच्दानाच्दै उस्तै लुगा लगाएका एक हुल ठिटीहरु आएर नायिकालाई काउकुती लगाउँछन् र जान्छन् । त्यस्तै उनीहरुले गीतको बीचबिचमा तीन चार पटक काउकुति लगाउँछन् र बेपता हुन्छन्, मानौ त्यो समुह नायिकालाई काउकुती लगाउनको लागि मात्र नियुक्त गरिएको हो ।

प्रसंग २ : नायक र नायिका आफ्नो प्रेममा परेको अबरोध सहन नसकेर घरबाट भाग्छन्, बीच बाटोमा पराल भएको एउटा ट्रक आउँछ, त्यसैमा चढेर लडिबुढी खेल्दै र गीत गाउँदै कता पुग्छन् । त्यो सायद निर्देशकलाई पनि थाहा हुँदैन होला भने दर्शकले कसरी थाहा पाउने?

प्रसंग ३ : कलेजको पुस्तकालयमा किताब छान्दै जाँदा नायक नायिका को भेट हुने र एउटा मात्र पुस्तक पाइने र त्यो दुबैलाई चाहिने वा कुनै पसलमा बचेको एउटा मात्र सामान दुबैलाई चाहिने । अब यो प्रसंगमा कुनै सिनेमामा झगडा गर्ने र कुनैमा मेलमिलाप मै छुट्टिने हुन्छ, तर जे भए पनि कालान्तरमा प्रेम बस्ने निश्चित छ ।

प्रसंग ४ : नायिकाले बनमा घाँस काट्न जानु र नायक सहरबाट घर आउने एउटै समय मिल्नु । नायिकाले गाईबस्तु धपाउँदै गीत गाउँदै जाँदा गीत सकिने बेलामा नायक नायिका आमने सामने हुनु ।

प्रसंग ५ : खोला किनारमा नायिका अर्ध नंग्न अबस्थामा नुहाई रहेको हुनु र त्यो दृश नायक वा खलनायकले देख्नु । यदी नायकले देख्यो भने प्रेम गाँसिने र खलनायकले देख्यो भने बलात्कार हुने निश्चित छ, तर बलात्कार भएको अबस्थामा पनि पछि नायक कताबाट झुल्किन्छ त्यो दर्शकले बुझ्न सक्दैनन् ।

यस्ता अरुपनि अनेकौं प्रसंगहरु छन्, जसमा अब यस्तो हुँदैछ भनेर पहिले नै दर्शकले थाहा पाउँछन्, मेरो बिचारमा पहिले नै दर्शकले यस्तो यस्तो हुन्छ भनेर अनुमान लगाउनु एउटा निर्देशकको असफलता हो ।

त्यस्तै, हिन्दी सिनेमाबाट ठ्याक्कै अनुबाद गरेर राखिएको सम्वाद, एउटा भाषाबाट अर्को भाषामा अनुबाद गर्दैमा त्यो समाजको परिबेशसँग नमिल्ने पनि हुन्छ । जस्तै, यो क्षेत्र तथा काम मेरो लागि होइन भनेर भन्न अँग्रेजीमा एउटा भनाइ छ, "दिस इज नट माइ कप अफ टी", अब यसैलाई नेपालीमा अनुबाद गरेर "यो मेरो चियाको कप होइन" भनेर भन्यो भने कति हाँसो लाग्दो होला । यसको लागि नेपाली भाषामा भन्ने अरु नै भनाइहरु छन् ।

यस्तै गरेर हुबहु अनुबाद गरेर राखिएका केहि सम्बादमा, जो आफै खराब छ उसले अरुलाई खराब भन्नु हुँदैन भन्ने सन्दर्भमा भनिएको एउटा सम्बाद, "चिनोय सेठ जिसके अपने घर शिशेका हो ओ दुसरों पर पत्थर फेंका नही करते" (हिन्दी), "हर्के साहु ऐनाको घरमा बसेर अरुलाई ढुङ्गा हान्नु हुँदैन" (नेपाली) । त्यस्तै उर्दु भाषामा कसैले बिना मतलब झर्को लगाउने प्रश्नहरु सोधेर हैरान गरिरहेको छ भने, "अरे मेरे बाप मुझे बक्स करो" अर्थात् मलाई यो कुरा नसोध्नु भनिन्छ, अब यस्तै प्रसंगमा एउटा सिनेमामा "ए मेरो बाउ अब तिमि जाउ" भनिएको छ, जो हस्यास्पद छ ।

अर्को कुरा नेपाली सिनेमा क्षेत्रमा एक प्रतिशत काम र ९९ प्रतिशत कुरा हुन्छ जस्तो लाग्छ । पत्रपत्रिकामा आएको समाचार अनुसार रिलिज पुर्व सबै सिनेमा यस्तो भब्य निर्माण भएका हुन्छ कि कुरा गरेर साध्य छैन । तर जब सिनेमा रिलिज हुन्छ त्यो सिनेमा आकाशबाट जमिनमा पुग्छ । दर्शकको लागि निर्माण गरेको सिनेमालाई दर्शकले नै अस्वीकार गरेपछि बढ्ता कुरा गर्नुको कुनै फाइदा होला जस्तो लाग्दैन । त्यस्तै एक करोड रुपियाँको लागतमा निर्माण भएको सिनेमाले एक हप्ता मै तीन करोडको ब्यापार गरेको प्रचार गरिन्छ । अब यो अनुपातमा मुनाफा कमाउने सायदै अर्को ब्यापार होला, मैले नबुझेको यदी यस्तो मुनाफा हुने हो भने निर्माताहरु किन दोहोरिंदैनन् ?

हालै एक सिनेमा निर्माता नक्कली नोट प्रकरणमा पक्राउ परेका छन् । प्रहरीमा बयान दिने क्रममा उनले आफुले सिनेमाको सुटिङ्गमा प्रयोग गर्न त्यो नोट छापेको बयान दिएका छन् । आज संसारमा प्रविधिले यत्रो फड्को मारेको छ कि चार जना मान्छेको भिडलाई खिचेर लाखौंको भिड देखाउन सकिन्छ भने पैसा चाहिएमा पैसा नै छाप्नेकुरा सजिलै पचाउन सकिंदैन । यदी कुनै सिनेमामा युद्धको छायांकन गर्नु पर्यो भने के त्यस स्थानमा मान्छे मार्ने नै हो?

यस्तै माथि उल्लेखित कुराहरु जस्तै म मनोरन्जन लिन नसकेर मैले नेपाली सिनेमा नियमित हेर्न छोडेको करिब दश बर्ष भयो । यसबीच दुई तीन वटा सिनेमा हेरेको थिएँ र ति सिनेमाहरुले मन छोएको थियो, तर त्यो सिनेमा बनाउने निर्देशकले पनि पुन सिनेमा निर्माण गरेको सुन्न पाएको छैन । नेपाली सिनेमाले हिन्दी सिनेमासँग प्रतिस्पर्धा कुनै हालतमा गर्न सक्ने होइन, यसैले सानो भए पनि नेपाली सिनेमाको आफ्नै बजार बनाउने हो । यदी यस्तो गर्न नसक्ने हो भने सिनेमा निर्माण गरेर तँ नायक र म निर्देशक हुँ भन्ने बाहेक अर्को कुनै उपलब्धि हुँदैन र सिनेमा निर्माण आत्मरतिमा गएर टुङ्गिन्छ ।

​@twitter#naviinr​

Esewa Pasal

प्रकाशित : असार १, २०७५ १७:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अमेरिका बस्नेले भन्दैमा किन विश्वास गर्नु ?

नवीन रायमाझी

काठमाडौँ — भोजपुरी भाषामा एउटा उखान छ, "जिन्दगी झण्ड बा, फिर भी घमण्ड बा" अर्थात एकथरी मान्छेहरु यस्ता हुन्छन् कि उनीहरुको जिन्दगी बर्बाद हुँदा पनि घमण्ड भने एक रत्ति कम हुँदैन ।

अमेरिकामा रहेका नेपालीहरु मध्ये केहिले यो उखानलाई चरितार्थ गरिरहेका छन्। घाम अस्ताउन लागेको समयमा छाया ठुलो देखिएको जस्तो हैसियत भन्दा ठुलो कुरा गर्न लागे पछि मान्छेलाई पनि यो त सकिएछ भन्ने ठान्नु पर्ने हुन्छ। कसैले नेपालमा रहेका आफन्तहरुलाई यति ठुलो र बकम्फुसे गफ दिएका हुन्छन् कि पंक्तिकार जस्तै यता आएर वास्तबिकता स्वीकार गर्नेहरुले यहाँको बारेमा सत्य कुरा भन्दा उल्टै झुट्ठा कुरा गरेको भन्छन्। नेपालमा रहेका आफन्तहरुले पनि आँखा चिम्लेर जसले जे भन्यो त्यो कुरामा विश्वास गर्नले त्यस्तो ठुलो बेफाइदा त नगर्लान् तर कुनै कुनै ठाउँमा लज्जित हुनु पर्ने हुन्छ। यहाँ यस्तै केहि भ्रम र त्यसको वास्तबिकता चिर्ने प्रयास गरेको छु।

डीभी चिठ्ठा परेर यता आएको मान्छेलाई अमेरिका पुग्न साथ सरकारले नै घर तथा जागिर दिने कुरामा कुनै सत्यता छैन। डीभी पर्नु भनेको बैधानिक रुपमा अमेरिकामा बसेर आफ्नो क्षमता अनुसार काम गर्न पाउने आधिकार मात्र हो। अमेरिकी सरकारले जागिर र घर दिने कुरा कसैले गरेको छ भने त्यो पूर्ण रुपमा असत्य हो र त्यस्ता बकम्फुसे कुराको कुनै तुक छैन।

त्यस्तै आफुलाई एनआरएन वा कुनै अमुक संस्थाको पधाधिकारी भएको र आफुले प्रयास गरेर केहि व्यक्तिलाई अमेरिका ल्याउन सक्ने गफ ठोकेर नेपालमा भएका आफन्त र परिचितहरुलाई ठग्ने गरेको पनि पाइएको छ। त्यस्ता कुरामा धेरै ब्यक्तिहरु ठगिएका पनि छन्। ठगिए पछि मलाई बिश्वास लागेको त थिएन तर पनि एक पटक हेरौँ भनेर प्रयास गरेको भनेर चित्त बुझाउनु अर्कै कुरा हो, तर विश्वास नै नलागेको कुराको पछाडी दौडेर पैसा र समयको बर्बादी मुर्खले मात्र गर्छ। यहाँ यो भनिदिउँ, अमेरिकामा यस्ता सँघ सँस्थाहरुको दुई पैसाको हैसियत छैन, केवल म अध्यक्ष र तँ महासचिव भनेर टाई लगाएर र गाडीको पृष्ठभूमिमा खिचेको फोटो फेसबुकलगायतका सामाजिक सन्जालमा अपलोड गर्ने बाहेक।

सामान्यतया यस्ता सँघसँस्थाहरुमा दुई किसिमका मान्छेहरु लाग्ने गरेका छन्। पहिलो, ब्यापार गरेर प्रशस्त पैसा कमाएका तर खासै परिचित नभएकाहरु, उनीहरु केहि पैसा खर्च गरेर भएपनि आफु समाचारमा आउन चाहन्छन् र दोश्रो, केहि नभएका नाङ्गाहरु। यहाँको वातावरणमा घुलमिल हुनु र यस्ता मान्छेहरुको वास्तबिकता थाहा पाउनु भन्दा अगाडी नवआगन्तुकहरुलाई ठुलो ठुलो गफ दिएर ठग्ने, अपबाद बाहेक यो भन्दा तेश्रो किसिमका मान्छेहरु यसरी सँघसँस्था भनेर दौडेको मैले देखेको छैन।

त्यस्तै कसै कसैले आफ्नो कमाईलाई लिएर बढाई चढाई कुरा गरेको र नेपालमा रहेका उसका परिवारले त्यो कुरामा विश्वास गरेर खुशी हुने गरेको पाइएको छ। यतैको बिश्व बिद्यालयमा अध्ययन गरेका र बिशेष प्रतिभा भएकाहरुलाई छोड्ने हो भने सामान्य रुपमा हप्ताको अधिकतम आय भनेको पाँच सय डलर हो। अब अमेरिकी डलरलाई नेपाली रुपियाँमा रुपान्तरण गरेर यति र उति कमाई छ भनेर भन्नु अर्को मुर्खता हो, किनकी कमाई डलरमा छ भन्ने हो भने खर्च पनि त डलरमै छ, न कि नेपाली रुपियाँमा। अब कसैले आफुले काम गर्ने गरेको स्थानमा लामो हात गरेर अतिरिक्त आर्जन गरेको छ भने त्यसलाई कमाई भन्ने होइन कि अपराध भन्नुपर्ला जस्तो लाग्छ।

त्यसै गरेर यहाँ सबैभन्दा सस्तो किसिमले भन्ने तीन किसिमका पद छन्, पहिलो, म्यानेजर, दोश्रो, नर्स र तेश्रो, आइटी इन्जिनियर। जो वास्तविक रुपमै माथि उल्लेखित पद र पेशामा छन् उनीहरुलाई केहि भन्ने कुरा भएन। तर पंक्तिकारले नेपालमा मानविकी अध्ययन गर्दा पनि तीन पटकमा मात्र उतिर्ण गरेको एउटा परिचितले यता आएर म नर्स छु भनेको सुन्दा तीन होइन कि एक हजार छक्क परेको छु। अमेरिकामा नर्स पढ्न कतिको सजिलो छ, त्यो पंक्तिकारलाई जानकारी छैन। तर नेपालमा जस्तै कठिन छ भने त्यो कुरा सतप्रतिसत असत्य हो। त्यस्तै यतै अध्ययन गरेको हकमा म्यानेजर पद के कस्तो हुन्छ, त्यसको बारेमा पनि जानकारी छैन। तर नेपालमा मात्र अध्ययन गरेर आएकाहरुको हकमा म्यानेजर भनेको हेड पिउन हो। त्यस्तै कम्प्युटरमा काम गर्नेहरुले लगभग सबैले आफुलाई आइटी इन्जिनियर दाबी गरेका हुन्छन्। डाटा इन्ट्री गर्नेदेखि ग्राफिक डिजाइनिङ्ग गर्नेसम्म र टाइपिङ्ग गर्ने देखि वेब मास्टरसम्मले सबैले माइक्रोसफ्टमा जागिर भएको कुरा गर्छन्। अब यसबारेमा जानकारी नभएकाहरुले सहजै विश्वास गर्ने भए, र जसलाई यसबारेमा सामान्य जानकारी छ त्यसले सोधखोज गर्यो भने आलटाल गरेर उम्किने गर्छन्। अमेरिकामा कामको बारेमा सोध्न नमिल्ने लंगडो तर्क दिन्छन्, यदी अर्काको कामको बारेमा केहि सोध्न नमिल्ने हो भने हुँदै नभएको कुरा गर्न पनि नमिल्नु पर्ने होइन र?

यसै गरेर अमेरिकामा कुनै काम सानो वा ठुलो हुँदैन भन्नेहरु आफै हीन भावनाको शिकार भएर त्यस्तो तर्क गरेका हुन् भन्ने पंक्तिकार ठोकुवा गर्छ। कुनै पनि समाजमा कामको तह र तप्का हुन्छ, यदी नहुने हो भने हरेक कार्यालयमा बिभिन्न पद नहुनु पर्ने हो। यता अमेरिकी राष्ट्रपतिले पनि आफ्नो कार्यालयमा आफै कुचो लगाउँछ भनेर गफ दिनेहरु पनि मैले पाएको छु, अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यालयमा कुचो लगाएको उनीहरुले आफै देखेको हो कि कुनै सञ्चार माध्यममा आएको हो, त्यो मैले पनि थाहा पाउन पाए सम्बन्धित ब्यक्तिसँग अनुग्रहित हुने थिएा। त्यस्तै आफु डेरा गरेर बसेको घरलाई आफ्नै घर हो भन्ने र वास्तबिकता खुल्ला भनेर भागाभाग गर्ने एक दुई जनासँग पंक्तिकारको पनि भेट भएको छ।

यस्तै यहाँ कालो–सेतो वा धनी–गरिबको कुनै मतलब हुँदैन भन्ने कुरासँग पनि म सहमत छैन। कानुनको दृष्टिमा यो कुरा सत्य होला तर व्यबहारिक रुपमा यस्तो छँदै छैन। मैले आजसम्म कुनै पनि सार्वजनिक स्थलमा कालो र सेतो रङ्ग भएको मान्छेहरुको जोडी देखेको छैन। एसियाई र दक्षिण अमेरिकी मुलुकबाट आएका मान्छेहरुले यता आफु बैधानिक हुनको लागि आफु भन्दा उमेरदार र कुरुपहरुलाई पनि जोडीको रुपमा स्वीकार गरेका होलान् त्यो भिन्दै कुरा भयो। यस्तो अबस्थालाई सामान्य रुपमा लिन मिल्दैन। अपवादको रुपमा कसको कसैसँग आत्मीय र प्रेम सम्बन्ध हुन सक्ला तर सामान्य रुपमा सामाजिक र आर्थिक हैसियत नमिलेको जोडी हुनै सक्दैन र कुनै कारणबश भयो भने पनि लामो समय टिक्दैन।

जसले यस्ता हावादारी कुरा गरेका छैनन् र त्यस्तो कुरा सुनेर पनि विश्वास गरेका छैनन् उनीहरुले उत्तेजित हुनुपर्ने कारण नै भएन। तर जसले यस्ता कुरा गरेका छन् र त्यस्तो कुरामा विश्वास पनि गरेका छन्, उनीहरुले एक पटक "कमन सेन्स" को प्रयोग गर्दा उचित हुन्छ। पंक्तिकारसँग कतिपय प्रसंगमा यस्तो हो वा यस्तो होइन भनेर भन्दा नेपालमा रहेकाहरुले खै हामी अमेरिका गएका छैनौ अब उताका मान्छेले भन्छन् विश्वास गर्नै पर्यो भनेर उल्टै सत्य कुरा गर्नेलाई अविश्वास गर्ने गरेको अनुभब छ। अब आफुले नदेखेको ठाउँको सबै कुरा आँखा चिम्लेर बिश्वास गर्ने नै कसैको इच्छा छ भने त्यो उसको व्यक्तिगत स्वतन्त्रता हो, जसलाई सबैले सम्मान गर्नु पर्छ।

संक्षेपमा भन्ने हो भने हुँदै नभएको काल्पनिक कुरा गरेर आफ्नो सामाजिक तथा आर्थिक हैसियत उच्च देखाउन खोज्नु मानसिक रोग हो, यस्तो रोगको उपचार छ कि छैन पंक्तिकारलाई जानकारी छैन तर सत्य तथा वास्तबिकतामा उभिएर मात्र कुरा गर्यो भने आफैलाई सुबिस्ता हुन्छ।

@twitter#naviinr

प्रकाशित : जेष्ठ १८, २०७५ १२:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT