कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

  दूधमा सोडा: कति हानिकारक? 

केपी लम्साल

काठमाडौँ — यति बेला दूधमा कास्टिक सोडा र युरिया मिसाइएको विषय निक्कै चर्चामा छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने गरि भएको यो दुष्कर्मको जति आलोचना गरे पनि कम हुन्छ ।

  दूधमा सोडा: कति हानिकारक? 

हुन त दूध तथा दुग्धजन्य पदार्थमा अखाद्य पदार्थ मिसावट गरेर बिक्री वितरण गरिएको घटना नँया होइन । कहिले दूधमा कोलिफर्म भेटिएको त कहिले चिल्लो तथा घुलनसिल ठोसको न्युनतम मापदण्ड नपुगेको वा सोडा, युरियाजस्ता अखाद्य रसायन मिसाइएको घटना बाहिरिइरहेकै छन् । अहिले कृषि मन्त्री कै नेतृत्वमा भएको अनुगमनमा यस्ता कुकृत्य भेटिए पछि चर्चा चुलिएको छ । दूधजस्तो दैनिक उपभोग्य वस्तुमा अखाद्य हानिकारक रसायन भेटिनु मानव स्वास्थ्यमाथि गम्भीर खेलवाड हो ।


पशु पालनमा आएको आधुनिकिकरणसँगै दूध र दूधजन्य पदार्थको उत्पादनमा आत्मनिर्भरताको बाटोमा गइरहेको अवस्थामा भइरहेका यस्ता प्रवृत्तिले आम उपभोक्ताको दुग्ध उत्पादनप्रतिको विश्वास त गुमाउँछ नै स्वदेशी उत्पादनलाई बजार विस्थापित गरि अन्य देशको उत्पादन तथा बहुराष्ट्रिय कम्पनीहरुको प्रवेशमा सहज बनाइदिन्छ । जसको प्रत्यक्ष नकारात्मक असर अहिलेका उत्पादक, उद्योगी तथा व्यापारीहरुलाई पर्नेछ । यस्ता प्रवृत्तिलाई निरुत्साहित पार्दै बेलैमा असल स्वच्छ उत्पादन, प्रशोधन तथा वितरण प्रणालीको विकास गरि गुणस्तरीय स्वच्छ दूध खान पाउने उपभोक्ताको अधिकार संरक्षित गर्न जरुरी छ ।


पोषणका दृष्टिले दूध


दूध स्तनधारी जीवको जीवनको सुरुवाति अमृत खाना हो । शुद्ध दूध पोषणका दृष्टिकोणले धेरै फाइदाकर छ । औसतमा गाई र भैंसीको दूधमा क्रमश: पानीको मात्रा ८८ र ८४ प्रतिशत, चिल्लो पदार्थको मात्रा करिव ३–४ र ६ प्रतिशत, प्रोटिनको मात्रा ३.२२ र ३.७५ प्रतिशत, कार्बोहाइडेट ४.४३ र ५.१२, खरानीको मात्रा ०.६९ र ०.७९, इनर्जीप्रति १०० ग्राम करिव ६० र ९७ किलो क्यालोरी पाइन्छ । दूध भिटामिनको पनि राम्रो श्रोत हो । दूधमा भिटामिन ए, विभिन्न बी भिटामिनहरु, भिटामिन डी, भिटामिन इ र भिटामिन के पनि पाइन्छ । तर यी सबै पोषक तत्वको मात्रा प्रजाति अनुसार फरक हुन्छ । दूधमा उपयोगी खनिज पनि पाइन्छ । दूधमा पाइने मुख्य खनिजमा क्याल्सियम, कपर, फलाम, म्याग्नेसियम, म्याग्नीज, फस्फोरस, पोटासियम, सोडियम, जिंक आदि प्रमुख हुन । दूधलाई क्याल्सियमको सबैभन्दा उत्तम श्रोत मानिन्छ । चिल्लो पदार्थमा गाइको र भैसिको दूधमा क्रमस कोलेस्टेरोल प्रति सय ग्राम करिव १० मिलिग्राम र १९ मिलिग्राम हुन्छ । दूध शरीरका लागि अत्यावश्यक प्रोटिनको राम्रो श्रोत हो । समग्रमा स्वच्छ दूध बालक देखि बृद्धसम्म सबैका लागि पोषिलो हुछ ।


किन हालिन्छ दूधमा सोडा वा युरिया?


दूध जसरी मान्छेका लागि पोषकयुक्त छ त्यसरी नै जीवाणुका लागि पनि छ । दूधजस्ता पोषिला र पानीको मात्रा बढी भएका खानेकुरामा सुक्ष्म जीवाणुको संक्रमण एकदमै छिटो हुन्छ । विभिन्न खालका ब्याक्टेरियाहरुले दूधमा संक्रमण गर्न थाल्दछन् जसको परिणाम स्वरुप दूध अमिलिन्छ र फाट्छ । यसरी संक्रमण भई दूध नफाटोस् भन्नका लागि उत्पादकले कास्टिक सोडा मिसाउने गर्दछन् जुन मानव स्वास्थ्यका लागि एकदमै हानिकारक छ । दूधको असल उत्पादन, दुवानी, प्रशोधन तथा व्यवस्थापन गर्ने हो भने यो समस्या समाधान हुन्छ । तर हामीकहाँ किसानको गोठदेखि उपभोक्ताको ओठसम्म आइपुग्ने आपुर्ति चेनमा नै मुख्य समस्या छ । किसानले गाई वा भैंसी दुहुँदा गर्नु पर्ने सरसफाई नगर्ने, बाल्टी वा ग्यालिनमा बोकेर संकलन केन्द्र पुर्‍याउने, संकलकले तापक्रम व्यवस्थापन त परै जाओस् भाडाको सरसफाई समेत ध्यान नदिने र दूध प्रशोधन उद्योगसम्म ढुवानी गर्ने क्रममा पनि तापक्रम नमिलाई गर्ने अभ्यास हेर्दा दूधको स्वच्छता कायम छैन । कसैले बाइकमा, प्लास्टिकका गिलेनमा त कसैले हिल ट्यांकीमा राखेर तातो घाममा दूध ओसारेको देखिन्छ । दूध फाट्नबाट बच्न कास्टिक सोडा हाल्ने चलन किसानदेखि संकलक हुदै प्रशोधकसम्म भएको देखिन्छ ।


अधिकांश दूधमा युरिया मिसावट भएको तथ्यांक पनि अहिले चर्चामा छ । युरिया दूधमा पानी मिसाउँदा प्रति मिलिलिटरमा हुने प्रोटिनको मात्रा नघटोस भनी झुक्याउनका लागि मिसाइन्छ । दूधमा पानी मिसाउँदा दूध पातलो हुन्छ र त्यसमा भएको प्रोटिन, चिल्लो पदार्थ अन्य ठोस पदार्थ पनि पातलिन्छ वा प्रति मिलिलिटरमा कम हुन्छ । यसरी दूधमा पानी मिसाएको थाहा नहोस भनी स्टार्च, युरिया आदि हाल्ने चलन छ । सामान्यतया खानेकुरामा भएको प्रोटिनको मात्रा पत्ता लगाउन त्यसमा भएको नाइट्रोजनको मात्रा हेर्ने गरिन्छ । जब दूधमा युरिया मिसाइन्छ, प्रोटिन पत्ता लगाउन नाइट्रोजन चेक गर्दा युरियामा भएको नाइट्रोजन पनि सँगसँगै देखिन्छ । सामान्य प्रोटिन जाँचमा नाइट्रोजन दूधको प्राकृतिक हो वा युरियाबाट आएको हो भन्न सकिंदैन । त्यसका लागि छुट्टै जाँच आवश्यक पर्दछ । युरियाको मिसावट पनि किसान देखि संकलक हुदै प्रशोधकसम्म भएको देखिन्छ ।


कास्टिक सोडाका असरहरु


कास्टिक सोडा एक प्रकारको क्षर हो जसलाई सोडियम हाइड्रोक्साइड वा लाई पनि भनिन्छ । यसलाई सरसफाईका लागि प्रयोग गरिन्छ । विभिन्न धुलाई पाउडर वा साबुन बनाउन यसको प्रयोग गरिन्छ । कास्टिक सोडालाई डेरी उद्योगहरुमा सरसफाईका लागि पनि प्रयोग गरिन्छ । त्यसैले डेरी उद्योगमा सोडाका बोरा भेटियो भनेर गलफत्ती गर्नु पनि गलत हो । कहिलेकाहिँ केहि उपभोक्तावादी डेरी उदोगमा सोडा भेटियो भनेर रोइलो गर्ने गरेको देखिन्छ । यदि सरसफाईका लागि मात्र प्रयोग गरेको छ र दूधमा अवशेष मिसिएको छैन भने त्यो गलत हैन । यहाँ त दूध नफाटोस् भनेर उत्पादनस्थलदेखि नै सोडा मिसाइन्छ जुन एकदमै खतरनाक कुकृत्य हो ।


सोडा मिसाइएको दूध पिउदा आँखा, नसाहरु, छाला आदिमा नकारात्मक असर गर्न सक्छ । सोडाले प्रोटिनलाई हाइड्रोलाइसिस गराउँछ, आँखामा असर पर्ने वा सधैंका लागि दृष्टि गुम्न पनि सक्छ । यस्तो दूधले पेट तथा आन्द्रामा घाउ गराई वा भित्री पत्र खियाएर पाचन प्रणालीमा गम्भीर असर पार्न सक्छ । नियमित जम्न सक्छ । सोडा मिसिएको दूधको उपभोग गरिरहदा ल्यारिक्स सुनिन्छ र श्वास नलिमा पानी श्वासप्रश्वासमा असर पार्नुका साथै नाक र घाँटीमा समेत नराम्रो असर पार्दछ । कास्टिक सोडाको मात्रा शरिरमा बढ्दै जादा यसले शरीरमा भएको प्रोटिन नास गर्ने र कोषहरुमा घाउ गराउने वा नष्ट गर्न सक्छ । यो रसायन पेटमा भएको अम्ल तथा हेलोजेनिक यौगिकसँग प्रतिक्रिया गरि विभिन्न हानीकारक पदार्थ बन्दछ । खाना अपच हुने, पेट दुख्ने, टाउको दुख्ने जस्ता समस्याहरु आउन सक्दछन् । कास्टिक सोडालाई अहिलेसम्म क्यान्सर गराउन सक्ने रसायन (कार्सिनोजेनिक) का रुपमा भने प्रमाणित गरिएको छैन ।


मानव स्वास्थ्यमा गम्भिर असर पर्ने मिसावट तत्काल निरुत्साहित गर्न जरुरी छ । त्यसका लागि सरकारी नियामकहरु जिम्मेवार हुने, उत्पादन तथा व्यापारीहरुले खाद्य स्वच्छता कायम गरेर मात्र उत्पादन वा बिक्री वितरण गर्ने र आम उपभोक्ता सचेत हुनु पर्दछ ।

[email protected]

- लेखक पोषणविद् हुन् ।

प्रकाशित : असार १, २०७५ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?