विश्वकप फुटबल र राजनीति

हिमेश

काठमाडौँ — जतिबेला विश्वकप २०१८ को उद्घाटन खेलमा रूस र साउदी अरेबिया मस्कोमा भिडिरहेका थिए, त्यतिबेला रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी राजकुमार मोहम्मद विन सलमान अल साउदबीच मज्जाको भलाकुसारी चलिरहेको थियो । बीचमा थिए, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनो पनि । पुटिनले ख्याल–ख्यालमै राजकुमारलाई भने, ‘तपाईंलाई राम्रोसँग थाहा छ, म साउदी टिमको समर्थन गर्न सक्दिन । जुन टिम राम्रो, त्यसैले खेल जिते राम्रो ।’

विश्वकप फुटबल र राजनीति

जियानी इन्फान्टिनोको आगमनसँगै विश्व फुटबलमा दुई ठूला परिवर्तन देखापरेको छ । पहिलो, फिफाका जति पनि प्रायोजक छन्, त्यसमा पश्चिमेलीको संख्या कम हुँदै छ । त्यसको ठीक विपरीत फिफामा चिनियाँ प्रायोजक भने उल्लेख्य रूपमा बढ्दै छ । अहिले विश्व फुटबलका लागि सबैभन्दा ठूलो आर्थिक भरोसा नै चिनियाँ कम्पनी हुन थालेका छन् ।

पुटिनले त्यसमा थप्न बिर्सेनन्, ‘हामी खुल्ला र सुन्दर फुटबललाई समर्थन गर्छौं ।’ रूसी समाचार संस्था तासले प्रेसित गरेको समाचार अनुसार त्यसमा साउदी राजकुमारको जवाफ थियो, ‘खेलको नतिजा जस्तै होस्, हामी दुवै खुसी हुनेछौं । हामीले सँगसँगै धेरै काम गर्न थालेका छौं, यो नै उपलब्धि हो । हाम्रो टिमले खेल जित्न नसके पनि रूस र साउदी अरेबियाबीच भएको राजनीतिक र आर्थिक सम्झौतालाई जित मान्नेछौं ।’

अहिले त्यो खेलका नतिजा सबैको हातमा छ । रूस आफ्नो भूमिमा भइरहेको पहिलो विश्वकप फुटबलको पहिलो खेलमा सजिलै ५–० ले विजयी रह्यो । विश्वकप अघि निकालिएको फिफा वरियतामा रूस सबैभन्दा पुछारमा थियो । साउदी अरेबिया पनि वरियताको पुछारमै रहेको टिम हो । यो खेलअघि प्राय: पश्चिमेली मिडियाले रूसी टिमको हुनसम्म आलोचना गरे । उद्घाटन खेलमा साँच्चै कमजोर दुई टिम भनी होच्याएर पनि विश्लेषण आए । तर खेलको समाप्तिमा रूसको जित प्रभावशाली रह्यो । विश्वकप इतिहासमै पहिलो खेलको यति राम्रो नतिजा घरेलु पक्षमा यसअघि कहिल्यै देखिएको थिएन । फेरि पश्चिमेली मिडियाले यसको पूरा श्रेय रूसलाई दिन चाहेन, बरु भन्यो, साउदी अरेबियाको टिमले विश्वकप जस्तो प्रतियोगितामा विश्वकपको मानसिकताले खेल्न सकेन, त्यसैले हार्‍यो । यस पल्टको विश्वकपमा पश्चिमेली मिडिया एकपक्षीय नै देखिएको छ, रूसलाई लिएर ।

तासले पुटिन र मोहम्मद विन सलमानको त्यो समाचार नदिएको भए, सायद यो प्रसङ्ग पनि सेलाउने थियो । मोहम्मद विन सलमानबारे पश्चिमेली मिडिया के सोच्छ, त्यो पनि प्रस्ट छैन । उनलाई यसरीमात्र चित्रण गरिएको छ, साउदी अरेबियाका सबैभन्दा शक्तिशाली व्यक्तित्व, त्यसमा देशमा सुधार गर्न खोजेका राजकुमार । फुटबलकै माध्यमबाट उनी सुधारको सुरुवात गर्न चाहन्छन्, रंगशालामा महिलामाथि रहेको प्रवेशको प्रतिबन्ध हटाएर ।

यता फेरि रूसी टिममा फर्कने हो भने पहिलो खेलमा प्राप्त जितपछि यो टिमको दोस्रो चरण पुग्ने सम्भावना एकाएक बढेको छ । त्यसो त प्रतियोगिताको समूह ‘ए’मा के हुने हो, त्यो अनुमान मात्र हुनेछ । तर प्राय:ले भन्ने गरेजस्तै रूसी टिम निकै खराब छ, यसले फुटबल खेल्न सक्दैन, यो टिममा स्टार खेलाडी छैन, सायद यति साह्रो पनि होइन कि ? पुटिनकै भाषामा भन्ने हो भने रूसी टिमले कम्तीमा रूसी समर्थकलाई खुसी पार्ने तरिकाले खेल्नेछ । खेलको अन्त्यमा पुटिन आफै खुसी देखिए । रूसले यसपल्ट विश्वकप जित्नेछ, यो अति धेरै बढी दाबी र विश्वास हुनसक्छ । सायद पुटिनले पनि यस्तो विचार गरेका छैनन् होला, उनी खालि चाहन्छन्, विश्वकपको समाप्तिमा आफ्नो टिमले उपाधि जिते पनि नजिते पनि, त्यतिभन्दा पनि राम्रो खेले पनि नराम्रो खेले पनि देशको भने शाख उँचो होस् । विश्वकप २०१८ यस्तो होस्, जसले पनि यसलाई पछि सम्झँदा अहिलेसम्मकै सफल र शानदार विश्वकप हो भनुन् ।

फुटबलले दिने खुसी
फुटबल विश्वकै सबैभन्दा लोकप्रिय खेल हो । यस्तोमा यो खेलको सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप पनि उत्तिकै लोकप्रिय हुने त भयो नै । त्यसो त पुटिन आफै फुटबलका खास प्रशंसक भने होइनन् । जुडो खेलाडीका रूपमा आफूलाई परिचय गराउन माहिर पुटिनको सबैभन्दा मनपर्ने खेल भने आइस–हक्की हो । अहिले भने उनी फुटबलका निकै सशक्त प्रशंसकजस्तो गरेर आफूलाई प्रस्तुत गरिरहेका छन् । रूसको जितमा उनको मन्द–मन्द मुस्कान यसकै प्रमाण हो ।

उनी जुनसुकै सर्तमा पनि विश्वकप २०१८ आफ्नै देशमा गराउन चाहन्थे । ८ वर्षअघि जतिबेला रूसले यसपल्टको विश्वकप हुने घोषणा गरेको थियो, उनी रूसका प्रधानमन्त्री थिए । ज्युरिचमा भएको त्यस घोषणा कार्यक्रममा उनी अन्तिम समयमा मात्र पुगेका थिए । जतिबेला रूसले विश्वकप आयोजना गर्ने अवसर पायो, त्यसको खुसियालीमा आयोजित पत्रकार सम्मेलनलाई ठिक हुने गरेर मात्र उनी ज्युरिच पुगेका थिए ।

सायद उनी आफै रूसले त्यो अवसर पाउनेमा ढुक्क हुनसकेका थिएनन् । चाँडै गएर खाली हात फर्कनुभन्दा ढिलो गएर दुवै हातमा लड्डु ल्याउन पाए हुन्थ्यो भन्ने उनको सोच थियो । त्यो खुसियालीको पत्रकार सम्मेलनमा उनको व्यक्तित्वको रौनकता हेरिनसक्नु थियो । उनका लागि यो रूसले विश्वकप जिते सरहकै उपलब्धि थियो । उनले त्यतिबेला भनेका थिए, ‘यो विश्वकपले रूसलाई बाँकी विश्वसामु वास्तविक परिचय पस्कनेछ, रूस साँच्चै के हो भनेर ।’

पुटिनको जन्म दोस्रो विश्वयुद्ध लगत्तै लेनिनग्राडमा भएको थियो । अचेल यसलाई सेन्ट पिटर्सबर्ग भनिन्छ । उनले सानो छँदा दोस्रो विश्वयुद्धताका त्यस सहरमा कस्तो भयावह स्थिति थियो भनेर धेरै सुने । जाडोमा रूसतिर कति धेरै जाडो हुन्छ, त्यो अनुमान नै गर्न सकिन्न । तर युद्धका बेला ९ सय दिनसम्म लेनिनग्राडमा बत्ती र पानीको आपूर्ति ध्वस्त भएको थियो । मान्छेको जीवन त्यतिबेला निकै कष्टकर थियो ।

‘तर त्यस्तो दु:ख र अभावका बेला पनि मानिसले फुटबल खेल्न भने छाडेका थिएनन्,’ निकै रोमान्टिक पाराले पुटिनले त्यतिबेला भनेका थिए, ‘फुटबल त्यति साह्रो कहालिलाग्दो परिस्थितिमा पनि हुँदोरहेछ । खासमा फुटबलले मानिसलाई दु:खका बेला पनि केही क्षण हाँस्ने बहाना दिन्छ । मानिस जत्तिकै बुढो होस् अथवा युवा, फुटबलले सबैको मनमा खुसी दिन सक्छ ।’ यिनै कारणलाई देखाएर उनी रूसमा विश्वकप गर्न चाहन्थे । आखिर सफल पनि भए ।

पुटिन कूटनीति
चाहेर पनि नचाहेर पनि इतिहासको प्रसङ्ग कोट्याउनुपर्ने नै हुँदोरहेछ । सन् १९८० को ओलम्पिक्स तत्कालीन सोभियत संघमा भएको थियो । राजधानी मस्कोले त्यस गृष्मकालीन ओलम्पिक्सको आयोजना गरेको थियो । सोभियत संघ त्यतिबेला आफ्नो अस्तित्वको उत्कर्षमा थियो । अनि त्यो त्यही समय थियो, जतिबेला तेस्रो विश्वयुद्ध आज हुने हो कि भोलि भन्ने डरलाग्दो स्थिति थियो । शीतयुद्धको चरम विन्दु थियो, त्यो ।

ओलम्पिक्स अगाडि सोभियत संघले अफगानिस्तानमा हस्तक्षेप गर्दै आफ्नो सेना पठाएको थियो । यही निहुँ देखाएर अमेरिकाको नेतृत्वमा पश्चिमले त्यो ओलम्पिक्स नै बहिस्कार गरेको थियो । यस्तोमा पूरा ओलम्पिक्स नै किरकिरा सावित भयो । विश्वकप खेलकुदको त्यस माहोलमा एउटा सिंगै शक्तिको अनुपस्थितिले मस्को ओलम्पिक्सलाई असफल घोषित गरियो । साँच्चै त्यो सोभियत संघ र त्यसका समर्थक देशको खेल महोत्सव जस्तोमात्रै रह्यो । त्यतिबेला अमेरिका र पश्चिमेली देशले सोभियत संघलाई वास्तवमै एक्लै पार्न सफल भएकै थियो । अब पनि सायद पश्चिमेली देशको इच्छा यस्तै थियो कि विश्वकप फुटबल २०१८ का बेला रूसलाई एक्लो पार्ने । कम्तीमा पश्चिमेली मिडियाको प्रयास त यस्तै थियो । जतिबेला रूसले यस विश्वकप आयोजनाको अवसर पाएको थियो, ठिक त्यही बेला आरोप पनि लगाइयो, यसका लागि रूसले फिफा र यसका प्रमुख सदस्यलाई घुस खुवाउने काम गरेको छ ।

रूसले विश्वकप आयोजनाको अवसर ‘डाँका’ डालेर लिएको हो भन्ने समाचार अझै पनि जताततै पढ्न पाइन्छ । शीतयुद्धका बेला जसरी पश्चिम र सोभियत संघको सम्बन्ध चिसिएको थियो, अहिले पनि पश्चिम र रूस बीचको सम्बन्ध लगभग उस्तै छ । सिरियाको विवाद कहिले टुंगो लाग्ने हो, त्यो तय छैन । युक्रेनको समस्या पनि उस्तै छ । सम्बन्ध खराब छ भनेर देखाउनका लागि हजार कारण दिने गरिएको छ । केही समय अघिसम्म पनि केही खास–खास देशले रूसमा हुने विश्वकप बहिस्कार गर्छ भन्ने हल्ला फैलाइयो । तर आखिर त्यस्तो केही भएन ।

रूस र साउदी अरेबिया बीचको खेलपछि त पश्चिमलाई पनि भन्न कर लाग्छ नै, आखिर विश्वकप रूसमा भयो त । खासमा यसपल्टको विश्वकप रूसमा हुनुलाई पुटिनको कूटनीतिक सफलताका रूपमा चित्रण गर्ने काम पनि सुरु भएको छ । पुटिन यस विश्वकपको निहुँमा रूसलाई एक सूत्रमा बाँध्न चाहन्छन्, रूसी जनताको मनमा उत्साह भर्न चाहन्छन् । त्योभन्दा पनि ठूलो आधुनिक रूस कस्तो छ, सबैलाई देखाउन चाहन्छन् ।

यसका लागि उनले मन खोलेर खर्च गरेका छन् । विश्वकपका खेलजति सहरमा हुनलागेको छ, त्यहाँ आधुनिक रंगशालाहरू बनाएका छन् । विमानस्थलहरूलाई आधुनिक बनाइएको छ । पूरा सहर नै फेर्ने प्रयास भएको छ भन्दा फरक नहोला । रूसबारे विदेशीले जसले मनमा केही न केही भ्रम पालेका छन्, त्यसलाई तोड्न चाहन्छन्, पुटिन । उनको उद्देश्य हो, रूस खुल्ला र स्वतन्त्र देश हो भनी पूरा विश्वलाई देखाउने । समृद्ध रूस देखाउने मनसाय ।

फिफा राजनीति
फिफाले प्राय: गर्ने दाबी हो, उसका जति सदस्य देश छन्, त्यति त संयुक्त राष्ट्र संघमा पनि छैन । फिफाका २ सय ११ सदस्य देश छन् । भनिरहनु पर्दैन, फिफामा पनि चर्को राजनीति हुन्छ । कुनै अवस्थामा फिफा कुनै देशभन्दा पनि बलियो देखिन्छ, शक्ति र अर्थ दुवै आधारमा । फिफाले फुटबलमा जे चाहन्छ, त्यही हुन्छ । फुटबलमा सरकारको कुनै पनि प्रकारको सानो हस्तक्षेप पनि फिफालाई स्वीकार्य हुन्न । त्यसैले फिफालाई ‘माफिया’ नै हो भनी गाली गर्ने पनि छन् ।

विश्वकपकै सेरोफेरोमा मस्कोमा फिफाको कंग्रेस पनि बसेको छ र त्यसमा अहिलेका अध्यक्ष इन्फान्टिनोले आफू फेरि प्रमुख पदका लागि उम्मेदार हुने संकेत गरिसकेका छन् । अहिले उनले जसरी फिफा चलाइरहेका छन्, त्यसै अनुसार काम जारी राख्ने हो भने उनले फेरि एकपल्ट अध्यक्ष जित्न कठिन हुने छैन । फिफामा पछिल्लो समय उनकै नेतृत्वमा धेरै सुधार पनि भएका छन् । सबैभन्दा ठूलो फिफा फेरि एकपल्ट आर्थिक रूपमा आफै उभिन सक्ने स्थितिमा पुगेको छ । स्पष्ट भन्दा फिफा नाफामा जान थालेको छ । यस विश्वकपको समाप्तिमा फिफाले ६ अर्ब डलर कमाउने अनुमान छ । त्यसैले फिफाले आफ्ना सदस्य राष्ट्रलाई मन खोलेर खर्च पनि दिन थालेको छ । यसअघि जति सदस्य देशले सहयोग पाउने गथ्र्यो, अब त्यसको दोब्बर पुग्न थालेको छ । फिफा सबै देशलाई सहयोग गर्न तत्पर छ, विशेषत: एसिया र अफ्रिकी देशलाई । तर यससँगै अब सर्त पनि जोडिनेछ ।

र यो सर्त हो– अब प्रत्येक सदस्य देशले आफ्नो आर्थिक कारोबार स्पष्ट र खुल्ला राख्नु पर्नेछ । जति सफा आर्थिक अभिलेख, उति चाँडै र धेरै आर्थिक सहयोग, फिफाको भित्री मनको कुरा यस्तो छ । होइन, कुनै पनि देशको फुटबल संघले आर्थिक पारदर्शिता कायम राख्न सकेन भने सहयोग पनि कटौती हुँदै जानेछ, सके रोकिने पनि छ । सबैभन्दा ठूलो फिफा र यसका अध्यक्ष सबैको पहुँचमा पुग्ने प्रयासमा छन् ।

खालि ४ वर्ष अघिमात्र यही बेला ब्राजिलमा विश्वकप भइरहेको थियो र त्यतिबेला अध्यक्ष थिए, सेप ब्लाटर । उनको रहनसहन कुनै पश्चिमेली ‘डन’भन्दा कम थिएन । फिल्मी पारामा उनी जीवन जिउँथे । उनी विश्वकै सबैभन्दा महँगा–महँगा होटलमा बस्ने, उत्तिकै खर्च गरेर तडक–भडकमा विश्व घुम्ने गर्थे । उनको वरिपरि आफ्नै सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुन्थ्यो । उनी आफू बाहेक अरुलाई गन्दा पनि गन्दैन थिए ।

यस्तो स्थितिले त हो, कसैको पतनका लागि आधार तयार पार्ने । अहिले त यी ब्लाटर पनि इतिहास भएका छन् । उनीमाथि प्रतिबन्ध चलिरहेको छ । फिफामा ब्याप्त भ्रष्टाचारको मूल जड उनै हुन् भनी पनि किटानसाथ दाबी गरिएका छन् । अहिलेका अध्यक्ष इफान्टिनोले भने यसको ठिक विपरीत छवि बनाइरहेका छन् । अचेल उनलाई कसैले पनि भेट्न सहज छ भनिन्छ, उनको वरिपरि पहिलेजस्तो कडा सुरक्षा घेरा छैन ।

जियानी इन्फान्टिनोको आगमनसँगै फिफामा भनौं अथवा विश्व फुटबलमा दुई ठूला परिवर्तन देखापरेको छ । पहिलो, फिफामाथि पश्चिमेली व्यावसायिक संस्थाहरूको विश्वास कमजोर हुँदै गएको छ । त्यसैले फिफाका जति पनि प्रायोजक छन्, त्यसमा पश्चिमेलीको संख्या कम हुँदैछ । त्यसको ठिक विपरीत फिफामा चिनियाँ प्रायोजक भने उल्लेख्य रूपमा बढ्दैछ । अहिले विश्व फुटबलका लागि सबैभन्दा ठूलो आर्थिक भरोसा नै चिनियाँ कम्पनी हुनथालेका छन् ।

केही समयअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले फुटबलको माध्यमबाट चिनियाँ प्रभाव बढाउने रणनीति अगाडि सारेका थिए । उनी आफै पनि फुटबलका ठूलै प्रशंसक हुन् । उनी चिनियाँ फुटबलमा क्रान्तिकारी परिवर्तन ल्याउन चाहन्छन् । फुटबलको मैदानमा त यो सफल हुनसकेको छैन, मैदान बाहिर विश्व फुटबलमा चिनियाँ प्रभाव बढ्दैछ । अध्यक्ष इन्फान्टिनो पनि यो चिनियाँ प्रभावलाई कमजोर पार्न चाहँदैनन् ।

अर्को ठूलो परिवर्तन हो, विश्वकप सहभागी टिमको संख्यामा उल्लेखनीय वृद्धि । कम्तीमा सन् २०२६ मा अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकपमा सहभागी टिमको संख्या ४८ पुग्नेछ । ४ वर्षपछि कतारमा हुने विश्वकपमा पनि सहभागीको संख्या ३२ बाट बढ्ने सम्भावना अझै जीवन्त छ । तय छ, फिफा विश्वकपको आकारलाई अझ फराकिलो बनाउन चाहन्छ । यसमा कम्तीमा विश्व अर्थतन्त्रका दुई ठूला खेलाडी चीन र भारत नियमित रूपमा अटाउने होस् ।

टिप्पणी>> ‘स्पष्ट लक्ष्य आवश्यक’

बालगोपाल महर्जन

विश्वकप फुटबल हिजोदेखि रूसमा सुरु भएको छ र पूरा विश्वको ध्यान त्यसमै केन्द्रित हुनेछ । हामी मात्र यसको अपवाद हुने छैनौं । नेपाली फुटबल प्रशंसक पनि विश्वकप भनेपछि हुरुक्कै हुनथालेका छन् । हामी पनि विश्वकपलाई निकै महत्त्वले हेर्छौं, किनभने खेलाडी र प्रशिक्षकका नाताले यति ठूलो प्रतियोगिता हाम्रालागि सधैं सिक्ने अवसरका रूपमा रहन्छ । प्रत्येक विश्वकपबाट हामीले प्राविधिक पक्षबाट नयाँ–नयाँ जानकारी लिन सक्छौं ।

प्रत्येक विश्वकपको समयमा नेपालको त्यसमा सहभागिताबारे प्रश्न उठ्ने गर्छ । यो एक प्रकारले स्वाभाविक पनि हो । सबै फुटबलप्रेमीलाई लाग्दो हो, नेपालले कहिले विश्वकप खेल्नेछ त ? अबका विश्वकपहरूमा सहभागीको संख्या बढ्दैछ । त्यसैले नेपालको सम्भावना पनि बढेको छ । तर यसमा हामीले हतार भने गर्नुहुन्न, खालि सोचका लागिमात्र विश्वकप सपना देख्नु ठिक हुन्न । विश्वकप जस्तो ठूलो प्रतियोगितामा छनोट हुनका लागि खेलाडी र फुटबल संघको प्रयासले मात्र सम्भव हुन्न ।

यसका लागि सरकार मात्र होइन, पूरा देश नै पछाडि लाग्नुपर्छ । हाम्रा दुई ठूला छिमेकी चीन र भारतका लागि पनि विश्वकप छनोट कठिन भइरहेको स्थितिमा यो वास्तवमै कति धेरै गाह्रो यात्रा हो, प्रस्ट हुन्छ । विश्वकपमा छनोट हुने हो भने आजैबाट बृहत योजनाको आवश्यकता पर्छ । विडम्बना के भने अहिले नेपाली फुटबलमा त्यस्तो स्थिति नै छैन । विडम्बना त के पनि छ भने हाम्रोमा फुटबलको मेरुदण्ड मानिने लिग हुन नसकेको पनि ४ वर्ष भइसकेको छ ।

फुटबल विकासका लागि खेलाडी र प्रतियोगिता मात्र भएर पनि हुन्न, भौतिक पूर्वाधार पनि उत्तिकै चाहिन्छ, त्यो पनि अत्याधुनिक । हामीसँग भएको एकमात्र अन्तर्राष्ट्रिय स्तरको मैदान दसरथ रंगशालाको स्थिति दयनीय छ । मैले खेलाडीका रूपमा नेपालका लागि विश्वकप छनोट खेलेको छु र त्यसमा गोल पनि गरेको छु । अहिले पनि एसियाली खेलकुद र साफ च्याम्पियनसिपका लागि हाम्रो राष्ट्रिय टिमको तयारीमा म ब्यस्त छु ।

यी सबै काम निकै चुनौतीपूर्ण छन् । नेपाली फुटबलले दुई लक्ष्य तयार पार्न सक्छ । पहिलो, दक्षिण एसियाली फुटबल प्रतियोगिताको उपाधि जित्ने । अर्को एसिया कपका लागि छनोट हुने । यी नै हाम्रा सुरुवाती लक्ष्य हुनुपर्छ । अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ नेतृत्व आएको छ । नेतृत्व परिवर्तनसँगै राम्रो कामको थालनी हुने विश्वास गर्न सक्छौं । अन्तर्राष्ट्रिय स्तरको सफलता पाउने हो भने आजैदेखि सबै अगाडि बढ्नुपर्छ ।

पूर्वकप्तान तथा खेलाडी र हाल राष्ट्रिय टिमका प्रशिक्षक महर्जनसँग कुराकानीमा आधारित
ट्वीटर : @himeshratna

प्रकाशित : असार २, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?