२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एकेडेमी, रोइलो र बहस

समय रेखा
साहित्य, कला र नाट्य संगीतका एकेडेमीहरूलाई बुल्डोजर लगाएर पेल्ने तिम्रो चाहना हो भने त्यो डरलाग्दो डिक्टेटरको कला–साहित्य नीति हो । हामी प्रतिवाद गर्छौं ।
अभि सुवेदी

काठमाडौँ — शक्तिशाली सरकारका अर्थमन्त्रीले सपनाका भारले किञ्चित झुकेको यो वर्षको बजेट भाषणमा अनेकौं कुरा राखे । त्यसमा साहित्य, नाट्य संगीत र कलालाई सम्बोधन गरिएको एउटा योजना पनि घोषित भयो । त्यो थियो– यी तीन विषयका तीन अलग एकेडेमीलाई मिलाएर एउटै एकेडेमी गठन गर्ने । यसको कारण विस्तृत रूपमा केही दिइएन । तर बुझिने संकेतहरू थिए, त्यहाँ ।

एकेडेमी, रोइलो र बहस

पहिलो कुरा, यी प्रतिष्ठानहरूले राम्रा काम गर्न सकेनन् । दोस्रो कुरा, तिनीहरूभित्र अनेकौं बेथिति भए । भनाइको अर्थ भयो, पथभ्रान्त हुनेहरूलाई शुद्ध पार्ने एउटा उपाय छ । त्यो हो, तिनलाई एकै ठाउँमा जोडेर अर्को एउटा ठूलो आकारको संस्था बनाउनु । यति भएपछि सबै मिल्छ । बजेटको २० देखि मुस्किलले ३० प्रतिशतसम्म राष्ट्रिय महत्त्वका योजनामा खर्च गर्ने देशका लोकतान्त्रिक र झन्डै समाजवादी नै पो हुन् कि जस्तो भान पार्ने योजना पनि सुनाइबस्ने राजनीतिक व्यवस्थाका धरोहरहरू, तिनका उम्दा–उम्दा मानिएका अर्थमन्त्रीहरूले हरेक वर्ष सुनाएर कान गुञ्जित पारेको छँदो मैले सोचेँ, सायद बिग्रेका संस्था सुधार्ने यो ‘मर्जर’ गराउने एउटा नयाँ उपाय निस्केछ ।

लाग्यो– अब पुल, घर, देवालय, भूकम्प पीडितका साना आवास, सडक भताभुङ्ग पारेर मस्त हिँंड्ने ठेकेदारहरू, कानमा तेल सेवन गरेर बस्ने आयोजनाकारहरू, काकाकुल नेपाल उपत्यकाबासीको प्यास मेटाउन फ्रान्सेली लेखक अल्बर्ट कामुले बयान गरेको ग्रीक मिथकको सिसिफस जस्तो सधैं अर्थहीन, अकिञ्चन ढुङ्गा लडाइबस्ने मेलम्चीकारहरू, नेपाल आयलको तरल निगमदेखि अरु ‘सोलिड’ निगमहरूलाई ‘मर्जर’ गरेर एउटा ‘ग्य्रान्ड’ आकारको योजनाकारी संस्था बनायो भने त यो देशका सबै समस्याको समाधान भइहाल्छ नि । त्यसपछि सबै अनियमितता र भ्रष्टाचारको पनि अन्त्य हुन्छ ।

विलयनको घोषणाले मलाई दुई किसिमले चकित पारेको छ । पहिलो, साहित्यकार, कलाकार र नाट्य संगीतका मानिसहरूले कवि वैरागी काइँलाले अनुमान गरेजस्तो गरी ठूला विरोधका आवाजहरू उठाएका छैनन् । भोलि के गर्छन्, म अनुमान गर्न नसक्ने रहेछु । दोस्रो कुरा, यी अलग–अलग एकेडेमीले अहिलेसम्म नेपालमा आ–आफ्ना विषयमा एकेडेमीले गर्ने भन्ने किसिमका काम किन गर्न सकेनन् ? किन केही भएन छ ? यी प्रश्नका उत्तर खोज्नु नै अब गरिने बहसको पहिलो काम हो भन्ने मान्छु । म वरिष्ठ पत्रकार देवेन्द्र भट्टराईको ‘रोइलो : न अग्रगामी न पश्चगामी’ (कान्तिपुर जेठ १९, २०७५) लेखमा उल्लेखित एकेडेमी र तिनमा काम गर्नेका आलोचनाले उठाएका कुरा हामी धेरैले थाहा पाएका हुन् भन्ने चेतनाले एक साहित्यकार, नाट्यकर्मी र कला समीक्षकको नाताले दु:खित भएको छु ।

साहित्यकार हरि अधिकारी भन्छन्, ‘मर्जर गर्नु उचित होइन । तर अहिलेकै स्थितिमा तिनको सञ्चालन गर्नु पनि स्रोत–साधनको अपव्यय मात्र हुनेछ ।’ ‘नेपाल’ साप्ताहिकको त्यही अंकमा राजकुमार बानियाँ एकेडेमीको अप्ठ्यारो बढ्दै गएर अहिले सम्बन्धित मन्त्रीको पनि अप्ठ्यारो भएको देखाउँछन् (नेपाल, जेठ २८, २०७५) । खगेन्द्र संग्रौला मनोज खतिवडासँगको अन्तर्वार्तामा अहिलेको ढंगले चलेका एकेडेमीको कुनै अर्थ देख्तैनन्, अनि तिनले गरिआएका क्रियाकलापमा प्राज्ञिक गुणवत्ताको कमजोरी औंल्याउँछन् । खगेन्द्र संग्रौला अहिलेकै रोइलो गर्ने अवस्थामा काम गर्ने हो भने एकेडेमी नै किन चाहियो र भन्ने तर्क राख्छन् । नारायण ढकाल दलगत नियुक्ति र खेल देख्छन्, एकेडेमीमा (‘नयाँ पत्रिका’, २७ जेठ २०७५) । यी उदाहरणबाट हेर्दा मलाई लाग्छ, यी वरिष्ठ साहित्यकारहरूले नेपालका यी अलग एकेडेमीहरू र तिनको मर्जरबारे आफ्ना धारणा राख्दा एकेडेमीहरूकै कमजोरीलाई जिम्मेवार ठानेका छन् । म तिनीहरूले गरेका केही राम्रा काम र प्रकाशनहरूको भने सराहना गर्छु ।

मैले २०६६/६७ सालमा एकेडेमीहरूको पुनर्संरचनाबारे सर्भे र विश्लेषण गरेर एउटा १५,००० शब्दको लामो विश्लेषणात्मक प्राज्ञिक लेख लेखँें, जुन किताबभित्र र पत्रिकामा पनि प्रकाशित छ । अहिले आएर हेर्दा यी प्रतिष्ठानहरू खोल्ने आन्दोलन, सन्दर्भ, भाषण र बहस अनि विचारहरूको मेरो यो लेखभन्दा अरु विस्तृत लेख, अध्ययनहरू भएको मैले भेटिन । यसको अर्थ हो, यी एकेडेमीहरू स्थापना हुने क्रममा जुन चर्चा र हामीजस्ता एकेडेमिकहरूलाई चाख लाग्ने विषय थिए, पछि त्यस्ता बहस र छलफलको कुनै अर्थ भएन । अथवा एकेडमीहरू खुल्ने बेलामा मैले सर्भेमा भेटेका उत्तेजित र स्वप्नधारी बहस जुन गरिए, पछि तिनको निरन्तरता लगभग समाप्त भयो । हुनु नपर्ने थियो, तर भयो । त्यसले अर्को पनि अर्थ जन्मायो ।

कवि श्यामलले भने अनुसार ती सबै एउटा कमजोर आधारमाथि बनेका थिए । उनी भन्छन्, ‘चरम राजनीतिक अस्थिरता र अराजकताले भरिएका ती दिनहरूमा सबैका माग पूरा गर्न अनौठो चरित्र राजनीतिक दलहरूमा देखापरेको थियो । ...तिनले आन्दोलनकारीलाई राज्य बकस दिइरहेका थिए । पुरानो ध्वस्त गर्नुपर्छ भन्ने तिनको मानसिकता थियो । ...ती नयाँ राज्य पुनर्संरचनाको कुरा गर्थे, तर संरचनाले कसरी जादुले काम गर्छ भन्ने कुनै खाका तिनीहरूसँग थिएन ।’ (फुर्सद, २६ जेठ २०७५) । मैले त्यो सर्भे र विश्लेषण गरेका बेला राज्य पुनर्संरचनाको बहस तीव्र थियो । मेरो लेख त्यही राज्य पुनर्संरचनाका सैद्धान्तिक पक्षका बहससँग जोडिएका थिए र एकेडेमीको एकल प्रभुत्वलाई तोडेर बहुल गर्नुपर्छ भन्ने मूल तर्कमा आधारित थियो ।

पहिलो पटक ३ जेठ २०४७ को दिन एकेडेमी हलमा भएको लेखक, कलाकारहरूको बृहत भेलादेखि नै यो पुनर्संरचनाको कुरा उठेको थियो । त्यस भेलाको १६ वर्षपछि अथवा ३१ जेठ, २०६३ मा कलाकारहरूको समितिले बुझाएको प्रतिवेदनमा पनि त्यही माग दोहोर्‍याइएको छ । त्यो बेला उठेका बहसका एकल चरित्रलाई चुनौती दिएका एकाध तर्क पनि निस्किए । प्रा. गोविन्दराज भट्टराईले त्यही बेला एउटा लेखमा एकेडेमी र त्यसलाई छुट्याउने बहस एकालाप हुन् भन्ने तर्क राखे । उनले गुरुकुल थिएटर, सर्वनाम थिएटर, फोकलोर सोसाइटीहरू (म नेपाली भाषाशास्त्र समाज पनि जोड्न चाहने रहेछु) जस्ता स्वतन्त्र संस्थाहरू पनि यो पुनर्संरचना र बहुलताका बहसमा जोडिनुपर्छ भन्ने तर्क राखे (कान्तिपुर, १३ साउन २०६३) । मेरो विचारमा, अर्जुन अप्पादुराईले भनेको सरकारी धन र नियन्त्रणभन्दा बाहिरका सेलुलर संस्थाहरूको पक्षमा राखिएको बहस थियो, त्यो ।

सम्पूर्ण छलफल पहिलेदेखि एकेडेमीको एकल बृहत संरचनाभित्र रहेका विभागहरूलाई छुट्याउने कुरामा मात्र केन्द्रित थिए । त्यसैले जुन एकेडेमीहरू बने, ती मातृ एकेडेमीको रचनाकै कार्बनकपी भएर बसे । तिनीहरूले अरु कुरा जानेका देखिएनन् । देवेन्द्र भट्टराईले भनेको रुवायत एकेडेमिया भन्ने गडबड अपेराको लिब्रेट्टोको भाका र भाष्य मिल्नुको त्यही कारण हो । नेपालका नयाँ खुलेका विश्वविद्यालयहरू त्रिभुवन विश्वविद्यालयकै कार्बनकपी भएर कहीं नपुगेको व्यथा यो देशको शिक्षाका दुर्दशा र कर्ममा सहभागीहरूले भोगिरहेकै छौं । अनुसन्धान संस्थामा ‘सिनास’ भयानक दुर्दशाको उदाहरण हो ।

मेरो विचारमा, नेपालका दलहरूको राजनीति गर्ने मोह र सांस्कृतिक, शैक्षिक, कलात्मक थलोहरूमा पनि आफ्ना कार्यकर्ता भर्ना गर्ने चिन्ता र अन्धकर्म यसको निम्ति जिम्मेवार छ । कवि श्यामलले भनेजस्तो अन्धाधुन्द प्रतिज्ञाहरूका परिणाम हुन्, यी । अहिलेका भुक्तभोगी प्राज्ञ अमर गिरीले एउटा सानो लेखमा, तिम्रा जत्तिकै स्वतन्त्र प्राज्ञहरू ल्याए पनि यहाँ कुनै जादु हुने छैन (नयाँ पत्रिका, ३० जेठ) भनेर चुनौती दिएको कुरालाई बिर्सिनु हुँदैन । एकेडेमीका ठूलाहरूले मसँग भने, चीन र भारतका अमूक ठूला नेताले कविता र संस्मरण लेखेका रहेछन्, तिनको अनुवाद गर्छौं, पैसा टन्नै दिन्छन् । कला, नाट्य र साहित्य एकेडेमीहरू यस्तै काममा लाग्ने हो भने तिनले एकेडेमीको आत्मा बुझेर काम गर्लान् भनेर के आशा गर्नु ?

सम्बन्धितहरूलाई भन्छु, हिजो तिम्रो राज्य पुनर्संरचना र देशलाई गणतन्त्र बनाउने क्रममा उठाएका बहस र आन्दोलनमा यो देशका लेखक, कलाकार र नाट्यकर्मी पनि थिए । मसँग धेरै दस्तावेज छन् । तिनका लामा इतिहास छन् । तिमीले यी साहित्य, कलाका विधाको दुरुपयोग गर्न खोज्नुचाहिंँ अधिनायकवादी चिन्तन हो, संकट हो । संकटको अर्को पाटो झन् भयानक छ । अब नेपालमा स्वतन्त्रा र रचनामाथि विस्तारै समस्या आउनेछन् । मिडियाले बाहेक अरुले खासै आफ्नो अस्मिता जोगाउन नसकेको अवस्थामा साहित्य, कला र नाट्यकर्मीहरूले धनुष्टङ्कारी रोइलो गरेर बसिरहनु हास्यास्पद हो, जुन लेखकहरूका अकर्मण्यता र तेजोवध भएका अवस्थाले गर्दा भएको हो । तर प्रतिवाद गर्ने स्वतन्त्र र सिर्जनशील लेखक र कलाकारहरू एकेडेमीहरूभन्दा बाहिर, स्वतन्त्र सेलुलर संस्थाहरूबाट आउनेछन् । अहिले यो सहरका सांस्कृतिक सम्पदाहरू नगर प्रशासन र सरकारले भत्काउन लागेको विरोधमा युवायुवतीहरू उठेको बेला, तिम्रा चाखहरू भीमसेन स्तम्भको उत्तरआधुनिक आर्किटेक्चर बनाउने सपनामा जुटेका छन्, थाहा छ ।

एउटा सुझाव दिन्छौं, विज्ञहरूका खुला, स्वतन्त्र छलफल र अध्ययन गराऊ । त्यसको आधारमा अलग विधाका एकेडेमीहरूको कसरी संरचना गर्न सकिन्छ भन्ने निचोड निस्कनेछ । अहिलेसम्मका रोइलोका ‘रिभ्यु’ गर, गल्ती दोहोरिन नदेऊ । साहित्य, कला र नाट्य संगीतका एकेडेमीहरूलाई बुल्डोजर लगाएर पेल्ने तिम्रो चाहना हो भने त्यो डरलाग्दो डिक्टेटरको कला–साहित्य नीति हो । हामी प्रतिवाद गर्छौं ।

प्रकाशित : असार २, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?