एकेडेमी, रोइलो र बहस

समय रेखा
साहित्य, कला र नाट्य संगीतका एकेडेमीहरूलाई बुल्डोजर लगाएर पेल्ने तिम्रो चाहना हो भने त्यो डरलाग्दो डिक्टेटरको कला–साहित्य नीति हो । हामी प्रतिवाद गर्छौं ।
अभि सुवेदी

काठमाडौँ — शक्तिशाली सरकारका अर्थमन्त्रीले सपनाका भारले किञ्चित झुकेको यो वर्षको बजेट भाषणमा अनेकौं कुरा राखे । त्यसमा साहित्य, नाट्य संगीत र कलालाई सम्बोधन गरिएको एउटा योजना पनि घोषित भयो । त्यो थियो– यी तीन विषयका तीन अलग एकेडेमीलाई मिलाएर एउटै एकेडेमी गठन गर्ने । यसको कारण विस्तृत रूपमा केही दिइएन । तर बुझिने संकेतहरू थिए, त्यहाँ ।

पहिलो कुरा, यी प्रतिष्ठानहरूले राम्रा काम गर्न सकेनन् । दोस्रो कुरा, तिनीहरूभित्र अनेकौं बेथिति भए । भनाइको अर्थ भयो, पथभ्रान्त हुनेहरूलाई शुद्ध पार्ने एउटा उपाय छ । त्यो हो, तिनलाई एकै ठाउँमा जोडेर अर्को एउटा ठूलो आकारको संस्था बनाउनु । यति भएपछि सबै मिल्छ । बजेटको २० देखि मुस्किलले ३० प्रतिशतसम्म राष्ट्रिय महत्त्वका योजनामा खर्च गर्ने देशका लोकतान्त्रिक र झन्डै समाजवादी नै पो हुन् कि जस्तो भान पार्ने योजना पनि सुनाइबस्ने राजनीतिक व्यवस्थाका धरोहरहरू, तिनका उम्दा–उम्दा मानिएका अर्थमन्त्रीहरूले हरेक वर्ष सुनाएर कान गुञ्जित पारेको छँदो मैले सोचेँ, सायद बिग्रेका संस्था सुधार्ने यो ‘मर्जर’ गराउने एउटा नयाँ उपाय निस्केछ ।

Yamaha

लाग्यो– अब पुल, घर, देवालय, भूकम्प पीडितका साना आवास, सडक भताभुङ्ग पारेर मस्त हिँंड्ने ठेकेदारहरू, कानमा तेल सेवन गरेर बस्ने आयोजनाकारहरू, काकाकुल नेपाल उपत्यकाबासीको प्यास मेटाउन फ्रान्सेली लेखक अल्बर्ट कामुले बयान गरेको ग्रीक मिथकको सिसिफस जस्तो सधैं अर्थहीन, अकिञ्चन ढुङ्गा लडाइबस्ने मेलम्चीकारहरू, नेपाल आयलको तरल निगमदेखि अरु ‘सोलिड’ निगमहरूलाई ‘मर्जर’ गरेर एउटा ‘ग्य्रान्ड’ आकारको योजनाकारी संस्था बनायो भने त यो देशका सबै समस्याको समाधान भइहाल्छ नि । त्यसपछि सबै अनियमितता र भ्रष्टाचारको पनि अन्त्य हुन्छ ।

विलयनको घोषणाले मलाई दुई किसिमले चकित पारेको छ । पहिलो, साहित्यकार, कलाकार र नाट्य संगीतका मानिसहरूले कवि वैरागी काइँलाले अनुमान गरेजस्तो गरी ठूला विरोधका आवाजहरू उठाएका छैनन् । भोलि के गर्छन्, म अनुमान गर्न नसक्ने रहेछु । दोस्रो कुरा, यी अलग–अलग एकेडेमीले अहिलेसम्म नेपालमा आ–आफ्ना विषयमा एकेडेमीले गर्ने भन्ने किसिमका काम किन गर्न सकेनन् ? किन केही भएन छ ? यी प्रश्नका उत्तर खोज्नु नै अब गरिने बहसको पहिलो काम हो भन्ने मान्छु । म वरिष्ठ पत्रकार देवेन्द्र भट्टराईको ‘रोइलो : न अग्रगामी न पश्चगामी’ (कान्तिपुर जेठ १९, २०७५) लेखमा उल्लेखित एकेडेमी र तिनमा काम गर्नेका आलोचनाले उठाएका कुरा हामी धेरैले थाहा पाएका हुन् भन्ने चेतनाले एक साहित्यकार, नाट्यकर्मी र कला समीक्षकको नाताले दु:खित भएको छु ।

साहित्यकार हरि अधिकारी भन्छन्, ‘मर्जर गर्नु उचित होइन । तर अहिलेकै स्थितिमा तिनको सञ्चालन गर्नु पनि स्रोत–साधनको अपव्यय मात्र हुनेछ ।’ ‘नेपाल’ साप्ताहिकको त्यही अंकमा राजकुमार बानियाँ एकेडेमीको अप्ठ्यारो बढ्दै गएर अहिले सम्बन्धित मन्त्रीको पनि अप्ठ्यारो भएको देखाउँछन् (नेपाल, जेठ २८, २०७५) । खगेन्द्र संग्रौला मनोज खतिवडासँगको अन्तर्वार्तामा अहिलेको ढंगले चलेका एकेडेमीको कुनै अर्थ देख्तैनन्, अनि तिनले गरिआएका क्रियाकलापमा प्राज्ञिक गुणवत्ताको कमजोरी औंल्याउँछन् । खगेन्द्र संग्रौला अहिलेकै रोइलो गर्ने अवस्थामा काम गर्ने हो भने एकेडेमी नै किन चाहियो र भन्ने तर्क राख्छन् । नारायण ढकाल दलगत नियुक्ति र खेल देख्छन्, एकेडेमीमा (‘नयाँ पत्रिका’, २७ जेठ २०७५) । यी उदाहरणबाट हेर्दा मलाई लाग्छ, यी वरिष्ठ साहित्यकारहरूले नेपालका यी अलग एकेडेमीहरू र तिनको मर्जरबारे आफ्ना धारणा राख्दा एकेडेमीहरूकै कमजोरीलाई जिम्मेवार ठानेका छन् । म तिनीहरूले गरेका केही राम्रा काम र प्रकाशनहरूको भने सराहना गर्छु ।

मैले २०६६/६७ सालमा एकेडेमीहरूको पुनर्संरचनाबारे सर्भे र विश्लेषण गरेर एउटा १५,००० शब्दको लामो विश्लेषणात्मक प्राज्ञिक लेख लेखँें, जुन किताबभित्र र पत्रिकामा पनि प्रकाशित छ । अहिले आएर हेर्दा यी प्रतिष्ठानहरू खोल्ने आन्दोलन, सन्दर्भ, भाषण र बहस अनि विचारहरूको मेरो यो लेखभन्दा अरु विस्तृत लेख, अध्ययनहरू भएको मैले भेटिन । यसको अर्थ हो, यी एकेडेमीहरू स्थापना हुने क्रममा जुन चर्चा र हामीजस्ता एकेडेमिकहरूलाई चाख लाग्ने विषय थिए, पछि त्यस्ता बहस र छलफलको कुनै अर्थ भएन । अथवा एकेडमीहरू खुल्ने बेलामा मैले सर्भेमा भेटेका उत्तेजित र स्वप्नधारी बहस जुन गरिए, पछि तिनको निरन्तरता लगभग समाप्त भयो । हुनु नपर्ने थियो, तर भयो । त्यसले अर्को पनि अर्थ जन्मायो ।

कवि श्यामलले भने अनुसार ती सबै एउटा कमजोर आधारमाथि बनेका थिए । उनी भन्छन्, ‘चरम राजनीतिक अस्थिरता र अराजकताले भरिएका ती दिनहरूमा सबैका माग पूरा गर्न अनौठो चरित्र राजनीतिक दलहरूमा देखापरेको थियो । ...तिनले आन्दोलनकारीलाई राज्य बकस दिइरहेका थिए । पुरानो ध्वस्त गर्नुपर्छ भन्ने तिनको मानसिकता थियो । ...ती नयाँ राज्य पुनर्संरचनाको कुरा गर्थे, तर संरचनाले कसरी जादुले काम गर्छ भन्ने कुनै खाका तिनीहरूसँग थिएन ।’ (फुर्सद, २६ जेठ २०७५) । मैले त्यो सर्भे र विश्लेषण गरेका बेला राज्य पुनर्संरचनाको बहस तीव्र थियो । मेरो लेख त्यही राज्य पुनर्संरचनाका सैद्धान्तिक पक्षका बहससँग जोडिएका थिए र एकेडेमीको एकल प्रभुत्वलाई तोडेर बहुल गर्नुपर्छ भन्ने मूल तर्कमा आधारित थियो ।

पहिलो पटक ३ जेठ २०४७ को दिन एकेडेमी हलमा भएको लेखक, कलाकारहरूको बृहत भेलादेखि नै यो पुनर्संरचनाको कुरा उठेको थियो । त्यस भेलाको १६ वर्षपछि अथवा ३१ जेठ, २०६३ मा कलाकारहरूको समितिले बुझाएको प्रतिवेदनमा पनि त्यही माग दोहोर्‍याइएको छ । त्यो बेला उठेका बहसका एकल चरित्रलाई चुनौती दिएका एकाध तर्क पनि निस्किए । प्रा. गोविन्दराज भट्टराईले त्यही बेला एउटा लेखमा एकेडेमी र त्यसलाई छुट्याउने बहस एकालाप हुन् भन्ने तर्क राखे । उनले गुरुकुल थिएटर, सर्वनाम थिएटर, फोकलोर सोसाइटीहरू (म नेपाली भाषाशास्त्र समाज पनि जोड्न चाहने रहेछु) जस्ता स्वतन्त्र संस्थाहरू पनि यो पुनर्संरचना र बहुलताका बहसमा जोडिनुपर्छ भन्ने तर्क राखे (कान्तिपुर, १३ साउन २०६३) । मेरो विचारमा, अर्जुन अप्पादुराईले भनेको सरकारी धन र नियन्त्रणभन्दा बाहिरका सेलुलर संस्थाहरूको पक्षमा राखिएको बहस थियो, त्यो ।

सम्पूर्ण छलफल पहिलेदेखि एकेडेमीको एकल बृहत संरचनाभित्र रहेका विभागहरूलाई छुट्याउने कुरामा मात्र केन्द्रित थिए । त्यसैले जुन एकेडेमीहरू बने, ती मातृ एकेडेमीको रचनाकै कार्बनकपी भएर बसे । तिनीहरूले अरु कुरा जानेका देखिएनन् । देवेन्द्र भट्टराईले भनेको रुवायत एकेडेमिया भन्ने गडबड अपेराको लिब्रेट्टोको भाका र भाष्य मिल्नुको त्यही कारण हो । नेपालका नयाँ खुलेका विश्वविद्यालयहरू त्रिभुवन विश्वविद्यालयकै कार्बनकपी भएर कहीं नपुगेको व्यथा यो देशको शिक्षाका दुर्दशा र कर्ममा सहभागीहरूले भोगिरहेकै छौं । अनुसन्धान संस्थामा ‘सिनास’ भयानक दुर्दशाको उदाहरण हो ।

मेरो विचारमा, नेपालका दलहरूको राजनीति गर्ने मोह र सांस्कृतिक, शैक्षिक, कलात्मक थलोहरूमा पनि आफ्ना कार्यकर्ता भर्ना गर्ने चिन्ता र अन्धकर्म यसको निम्ति जिम्मेवार छ । कवि श्यामलले भनेजस्तो अन्धाधुन्द प्रतिज्ञाहरूका परिणाम हुन्, यी । अहिलेका भुक्तभोगी प्राज्ञ अमर गिरीले एउटा सानो लेखमा, तिम्रा जत्तिकै स्वतन्त्र प्राज्ञहरू ल्याए पनि यहाँ कुनै जादु हुने छैन (नयाँ पत्रिका, ३० जेठ) भनेर चुनौती दिएको कुरालाई बिर्सिनु हुँदैन । एकेडेमीका ठूलाहरूले मसँग भने, चीन र भारतका अमूक ठूला नेताले कविता र संस्मरण लेखेका रहेछन्, तिनको अनुवाद गर्छौं, पैसा टन्नै दिन्छन् । कला, नाट्य र साहित्य एकेडेमीहरू यस्तै काममा लाग्ने हो भने तिनले एकेडेमीको आत्मा बुझेर काम गर्लान् भनेर के आशा गर्नु ?

सम्बन्धितहरूलाई भन्छु, हिजो तिम्रो राज्य पुनर्संरचना र देशलाई गणतन्त्र बनाउने क्रममा उठाएका बहस र आन्दोलनमा यो देशका लेखक, कलाकार र नाट्यकर्मी पनि थिए । मसँग धेरै दस्तावेज छन् । तिनका लामा इतिहास छन् । तिमीले यी साहित्य, कलाका विधाको दुरुपयोग गर्न खोज्नुचाहिंँ अधिनायकवादी चिन्तन हो, संकट हो । संकटको अर्को पाटो झन् भयानक छ । अब नेपालमा स्वतन्त्रा र रचनामाथि विस्तारै समस्या आउनेछन् । मिडियाले बाहेक अरुले खासै आफ्नो अस्मिता जोगाउन नसकेको अवस्थामा साहित्य, कला र नाट्यकर्मीहरूले धनुष्टङ्कारी रोइलो गरेर बसिरहनु हास्यास्पद हो, जुन लेखकहरूका अकर्मण्यता र तेजोवध भएका अवस्थाले गर्दा भएको हो । तर प्रतिवाद गर्ने स्वतन्त्र र सिर्जनशील लेखक र कलाकारहरू एकेडेमीहरूभन्दा बाहिर, स्वतन्त्र सेलुलर संस्थाहरूबाट आउनेछन् । अहिले यो सहरका सांस्कृतिक सम्पदाहरू नगर प्रशासन र सरकारले भत्काउन लागेको विरोधमा युवायुवतीहरू उठेको बेला, तिम्रा चाखहरू भीमसेन स्तम्भको उत्तरआधुनिक आर्किटेक्चर बनाउने सपनामा जुटेका छन्, थाहा छ ।

एउटा सुझाव दिन्छौं, विज्ञहरूका खुला, स्वतन्त्र छलफल र अध्ययन गराऊ । त्यसको आधारमा अलग विधाका एकेडेमीहरूको कसरी संरचना गर्न सकिन्छ भन्ने निचोड निस्कनेछ । अहिलेसम्मका रोइलोका ‘रिभ्यु’ गर, गल्ती दोहोरिन नदेऊ । साहित्य, कला र नाट्य संगीतका एकेडेमीहरूलाई बुल्डोजर लगाएर पेल्ने तिम्रो चाहना हो भने त्यो डरलाग्दो डिक्टेटरको कला–साहित्य नीति हो । हामी प्रतिवाद गर्छौं ।

प्रकाशित : असार २, २०७५ ०९:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गणतन्त्र, संग्रहालय र प्याज

समय रेखा
एउटा हिंसात्मक युद्ध र आन्दोलनपछि शान्ति सम्झौता गर्ने राज्य र लडाकाहरूले धन्द्याउनुपर्ने विषय भनेको अभिघात र युद्धले पीडित नरनारीको व्यवस्था हो ।
अभि सुवेदी

काठमाडौँ — ‘गणतन्त्रको जगेर्ना गर्दै देश विकासमा लागौं’ भन्ने एक हरपे एनटीको ‘मुफ्त’ सन्देश गणतन्त्र दिवस १५ जेठ २०७५ को बिहानै सबैले आफ्ना–आफ्ना मोबाइलमा देखे ।

छाप्रोमा बस्ने, हाटबजार गर्ने, नेपाली पढ्ननसक्नेले देखे, तीन वर्षपछि पनि उस्तै अस्थायी चुहुने छाप्रोमा बस्ने भुइंँचालाले प्रताडित उपायहीनहरूले देखे, विदेशी श्रमबाट रित्तो हात फर्केका अनि त्यतै जान खोज्नेहरूले देखे, अकुत धन कमाएर यहीं ‘विदेश स्वर्गजस्तै होस् स्वप्न संसारतुल्य छ’ को उल्टो अर्थ लगाएर उघ्राएर बसेका धनाढ्यहरूले देखे, सबैतिर भत्काउँदै काम नसकी छोडेर शक्तिशालीहरूसँग ढुक्क कुम जोड्दै हिँंड्ने ठेक्काधारी मनुवाहरूले देखे, एउटा मेलम्ची नामको हिमाली स्वच्छ खोलाको गति कहिल्यै नछेडिने सुरुङ खनेर यता फर्काउन लागेका, यसै ल्याङफ्याङ भैसकेको सहरी उपत्यकालाई सबैतिर खनेर अनि फेरि खनेर विदीर्ण बनाउँदै यसको स्वागतको लागि तयार भएर बस्न लगाउनेहरूले देखे ।

यो सन्देश सरकारका मानिसले देखे, नेपालको सबभन्दा ठूलो दल ‘नेपाल कम्युनिष्ट पार्टी अन्डरलाइन’का नेतागणले देखे, इतिहासलाई डसना खोलेर धुनियाँले फड्कारे जस्तै फड्काएर बसेका नेपाली कांग्रेसका बूढा नेताले देखे, गणतन्त्र नमान्ने दलका धर्म र राजतन्त्रका चिप्लेटीमा खेल्ने नेता र अनुयायीहरूले देखे, खासै योजना नभएका कहीं पुग्ने धन्दै नभएका विश्वविद्यालय र हामीजस्ता तिनमा संलग्नहरूले देखे, लेखक, कलाकार, मूर्तिकार, सहरको पहिलेको आकार फर्काउन प्रयास गर्ने वास्तुविदहरूले देखे । नेपाल उद्योग व्यवसायी महासंघकी अध्यक्ष भवानी राणा र अरु उनका मानिसले देखे । तेन्जिङ नोर्गे र एडमन्ड हिलरीले एभरेष्ट पहिलोपटक चढेको मे २९ को दिन मनाउने कार्यक्रममा जुटेकाले देखे । अर्थमन्त्रीको बजेट भाषण संविधानले तोकेको १५ जेठको दिनमै भएकोले ती किञ्चित स्वप्नरञ्जित नीति तथा कार्यक्रमहरूका उद्घोष सुन्न जुटेकाहरूले देखे । इतिहासका सबै ठूला घटना र पात्रहरू दुईपटक आउँछन्, पहिलोपटक उच्च ट्रयाजेडी भएर, अनि दोस्रोपटक तल्लो खाले उपहास भएर आउँछन्, भनेर लेखिएको कार्ल माक्र्सको ‘अठारौं ब्रुमेर’ मलाई अनुवाद गर दाइ, भनिबस्ने पहिले चीनमा राजदूत भएका टंक कार्कीले देखे, गणतन्त्र आएपछि केही उपलब्धि नदेखेका अनि ‘गणतन्त्र दिवस थन्क्याउने एउटा रिचुअल, एउटा कर्मकाण्ड भयो, अब म जान्छु, भोलि गणतन्त्र दिवसमा विदा छैन, काममा जानुछ’ भन्दै टेलिभिजनको स्क्रीन छोडेर अन्तरध्यान भएका भीमकाय वकिल शम्भु थापाले देखे । छोटकरीमा भन्दा, त्यो सन्देश बिहानै सबै नेपालीले देखे । केही विदेशीले देखे, देखेर केही अर्थ नलाग्नेले पनि देखे ।

यो सानो सन्देशको बहुल व्याख्या सभामा कृष्ण पसेजस्तै गरेर गोचर–अगोचर मनहरूमा पसेको मेरो काल्पनिकीले भेटेको सम्भाव्यताको रूपक हो । ‘रूप–रेखा’ साहित्यिक पत्रिका अंक २००, २०३४ को आफ्नो लीला लेखनलाई प्रस्ट्याइएको आलेखमा स्व. इन्द्रबहादुर राई दाइले भनेका छन्, ‘कृष्ण सभामा पस्ता, भागवत् ...मा बताइन्छ, मल्लहरूले बज्ररूप देखे, ...सामान्य मानिसहरूले नर–रत्न, गोपहरूले स्वजन, शास्ताहरूले दण्डकर्ता, वासुदेव र देवकीले शिशु देखे, कंसले कराल मृत्यु, अविदुषले विराट, योगीहरूले परम्तत्त्व, वृष्णीहरूले इष्टदेव देखे ।’ मैले धर्मको होइन, रूपकको अर्थमा यो लिएको छु । सन्देश सामान्य वाक्य हो, तर यसका यति धेरै रूपहरू किन देखिए होलान् भन्दा अहिले हामीले भन्ने उत्तर यत्ति छ, हामी गणतन्त्र नेपालको संविधान लागु गरेको इतिहासभित्र पसेका छौं । यसलाई माथि भनेका बहुल दृष्टिहरूले कसरी व्याख्या गरे र गर्छन्, त्यो भन्ने आधार हामीसँग छैन । तर हामीले एकाध आकारहरूमा उत्तर खोज्ने चेष्टा गर्दा स्मारक वा म्युजियमको कुरा निस्केको हो । पत्रिकाको सानो लेखमा धेरै राख्न मिल्दैन ।

यो गणतन्त्र दिवस म्युजियमको विषयसँग जोडिएर आएको छ । यसबाट अरु कुराका चक्रवात उठ्ने देखेको छु । एउटा हिंसात्मक युद्ध र आन्दोलनपछि शान्ति सम्झौता गर्ने राज्य र लडाकाहरूले धन्द्याउनुपर्ने विषय भनेको अभिघात र युद्धले पीडित नरनारीको व्यवस्था हो । त्यो व्यवस्था भौतिक कामले, अनि मानसिक रूपले सम्पन्न गर्ने प्रयास गरिन्छ । अहिले नारायणहिटी दरबार परिसरको पूर्वपट्टिको एउटा खण्डमा बनिँंदै गरेको गणतन्त्र स्मारक म्युजियमको विषय आएको छ । सम्वत् २०५८, जेठ १९ गतेको दिन दरबार हत्याकाण्ड भएको कारणले गर्दा यो परिसरमा बनिएको म्युजियमको प्रसङ्ग अझ बढी सान्दर्भिक भएको छ । गणतन्त्र स्मारक म्युजियम बनाउने अरु ठाउँहरू पनि प्रस्तावित भए पनि घुमिफिरी यो म्युजियम नारायणहिटी परिसरमा आइपुग्नु संजोगमात्रै होइन । म्युजियमको विषयसँग निकै ठूलो इतिहासको भूत ‘स्पेक्टर’ जोडिएको छ ।

सम्वत् २०६५, जेठ १५ मा नेपाल गणतन्त्र भएपछि दसवर्षे युद्धमा सहिद भएकाहरू, बेपत्ता पारिएकाहरू अनि शाही शासनमा हत्या गरिएका सबै ज्ञात–अज्ञात नरनारीहरूलाई इतिहासमा सम्झिने स्मारक बनाउने दायित्व र प्रसङ्ग आयो । गणतन्त्र स्थापनाको दसौं वर्ष मनाउनलाई यो संग्रहालयको काम सकिएन । समयमा काम नसकिनु अहिलेको नेपालमा कुनै नौलो कुरा भएन । सहिदहरू सम्झाउने म्युजियम वा स्मारकको अर्थ नेपालमा गहिरो गरी बुझ्ने बेला आएको छ । बुझ्न अझ ढिलै हुनलागेको छ ।

दक्षिण अफ्रिकामा सत्यनिरुपण र मेलमिलाप आयोग अथवा टीआरसीलाई दिसम्बर १६, १९९५ मा आर्चबिसप डेस्मन्ड टुटुले सम्बोधन गर्दै भने– सबै मेलमिलाप गर्ने–गराउने काम संरचना हुन् । यसलाई उनले सबैका सम्झना एक ठाउँमा ल्याउने र सबैले आफ्ना दोष स्वीकार गर्ने, माफी माग्ने र दिने कुरा हो भनेर स्वीकार गरे । सन् २००४ मा दक्षिण अफ्रिकी राष्ट्रिय ग्यालरीमा प्रजातन्त्रका १० वर्ष मनाउन गरिएको प्रदर्शनीमा टीआरसीले गर्ने, गर्न नसक्ने अनि राष्ट्रनिर्माणको प्रयासलाई गरिने कुराहरू देखाइए । मैले भन्न खोजेको कुरा जटिल देखिए पनि सजिलो छ । हामीले मेलमिलापपछि, लोकतन्त्रका १० वर्ष मनाउन कुनै सम्झनाका त्यस्ता केही आधार बनायौं ? आगतको रेल्वे स्टेसनजस्तै गरेर फलामका वरिपरि घोचा ढालेको एउटा आकार छ । त्यसको तलतिर हिमाल नेपाल अनि त्यसमा बिजुलीले अजस्र रगत बगेको रातो खन्याएर सहिद सम्झिने खण्ड बनाउने भन्ने वर्णन सुनियो ।

आधिकारिक नहुन सक्छ । तर कसले डिजाइन गरेका हुन्, यो म्युजियम ? आजको युगमा यस्ता स्मृतिका म्युजियम बनाउने कति उत्तम शैली निस्किसके । तर मुख्य कुरा, अब बनिने स्मृतिगार वा म्युजियमले सम्झिने कुरा के हुन् त ? सुन्ने, सुनाउने, माफ माग्ने, माफ दिनेहरूका सत्यननिरुपण र मेलमिलाप बुझाउने स्मारक खोइ ? ती शब्दमा हुन सक्छन्, संगीतमा हुन सक्छन्, वास्तुकलामा हुन सक्छन्, चित्रकलामा हुन सक्छन्, थेटरमा गतिलो गरी हुन सक्छन् । अनि यो स्मारक केको निम्ति हो ? न्याय नपाएका, आफ्ना बेपत्ता पारिएका अनि माफ माग्न र दिन खोज्ने मानिसहरूले कहाँ भेटे ? यो म्युजियम बनाउनुको मूल आधार नै त्यही उदात्त स्मृति हुनुपर्ने होइन र ? मसँग यो म्युजियम बनिरहेका विस्तृत योजनाबारे लन्डन सोआसकी पीएचडी अध्येता ब्रिओनी ह्विटमार्सले उठाएकी थिइन् । तिनले मसँग नेपाली म्युजियमहरू र तिनका खासगरी पछिल्लो परिवर्तनकालीन स्मृति जनाउने रचनाहरूबारे छलफल गर्न चाहेकी थिइन् । मैले निकै छलफल पनि गरेंँ उनीसँग, नेपाल र सोवासमा । यो विषयमा ‘द काठमाडौं पोस्ट’ (जनवरी, २४, २०१६) मा लेखिसकेको छु । म्युजियमको यो महावर्णन नेपाली सन्दर्भमा, त्यसमा पनि यो निर्माण भइरहेको तर पुरा हुन निर्माणको नभई, निर्माण आलटालको शैलीले ढिला भएको कुरासँग जोडिन्छ । यसरी ‘गणतन्त्रको जगेर्ना र देश विकास’का पदावलीको सहवास स्वाभाविक भए पनि यो कसरी सम्भव हुनसक्छ भन्ने कुरालाई सबैले संघारमा बसेर सोचेको बेलामा रहेछौं, हामी ।

स्मारक ‘म्युजियम’का एकजना व्यक्तिले भने, यो नारायणहिटी म्युजियम अन्तर्गत पर्छ । यहाँनेर आधुनिक नेपाली इतिहासले रचेका म्युजियमहरू कुन भ्रम र कुन बुझिने उद्देश्यले बनिएका छन्, छुट्याउन गाह्रो छ । यो लेख आएको दिन राजा वीरेन्द्र र उनका परिवारको हत्या भएको थियो, नारायणहिटी दरबारमा । कम्बोडियाको नोमपेनमा अगस्त २००८ को अन्तिम हप्तामा राजनीतिक परिवर्तन र त्यसले रचना गरेका म्युजियमको व्याख्या र सिद्धान्तमा कार्यपत्र लेख्न अकस्मात निम्ता आएपछि गएँ । राजाले भर्खरै छोडेर गएको नारायणहिटी म्युजियम घोषित भएको थिएन, म्युजियमका सैद्धान्तिक छलफल गरँें, त्यहाँ । तर फर्केर आएपछि म्युजियम घोषित भएको नारायणहिटीबारे तुरुन्तै लेख पठाउनुपर्ने भयो । समस्या परेको कुरा परराष्ट्रमा काम गर्ने आफ्नै विद्यार्थी रीता धिताललाई सुनाएपछि उनको सहयोगमा पहिलोपल्ट यो तथाकथित नारायणहिटी म्युजियम हेर्न पाएको थिएँ । मैले त्यहाँ राजा वीरेन्द्र र उनको परिवारको हत्या भएको सम्झना खोजेको थिएँ । मैले त्यो हत्याकाण्डको चिन्ह यत्ति देखेर लेखँें, ‘बाहिर त्रिभुवन सदन भत्काएर बनाएको मकैबारीको सदृशी भूमिमा नम्बर ठड्याएका बुख्याँचाले जेठ १९, २०५८ को वीरेन्द्र परिवारको विनाशको कथा भन्छन्’ (कान्तिपुर वैशाख ६, २०६६) ।

सुरुमा उठाएको गणतन्त्र सन्देशतिर फर्किन्छु । ‘गणतन्त्रको जगेर्ना र देश विकास’को नारामात्र गर्नु प्याज छोडाएर गुदी खोज्नु जस्तै हो । यो देशका विपन्न मानिसका कथा, सत्यनिरुपण र मेलमिलापको पुनर्मूल्याङ्कन, राजनीति, म्युजियम र विकासका मूल विषय नभएसम्म सबै कुरा केवल हल्ला हुन्, अतिरिक्त सत्य हुन् ।

प्रकाशित : जेष्ठ १९, २०७५ ०७:४१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT