छातीमा हात राखेर भन्नुस्,‘म हुण्डी गर्दिन’

मेघराज सापकोटा

युएई — हालै युएईस्थित नेपाली दूतावासले युएईमा रहेका नेपाली बैंकर्स र एक्स्चेन्जमा काम गर्ने प्रतिनिधिसँग रेमिटेन्स सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रमको आयोजना गर्‍यो । यस्तै कार्यक्रम एक वर्षअघि पनि भएको थियो । त्यतिखेर अबुधाबीबाट तीन सय किलोमिटर टाढा रस अल खैमामा आयोजना गरिएको कार्यक्रममा युएईका ‘गन्नेमान्ने’ नेपालीलाई निम्ता गरिएको थियो ।

दुताबासका कर्मचारीसहित उपस्थित गन्नेमान्नेहरुले हुण्डी गर्नु हुन्न भनेर भाषण गरे । कार्यक्रममा रुञ्चे गायकसमेत भनेर चिनिएका सिन्चुरी बैंकका प्रतिनिधि प्रकाश पौडेलले मञ्चबाट र पत्रकार निमेष गिरीले दर्शक दिर्घाको पछाडिबाट सबैले छातीमा हात राखेर ‘अबदेखि म हुण्डी गर्दिन’ भनेर सोही कर्यक्रममा प्रतिबद्धता जाहेर गर्न गराउन कार्यक्रम आयोजक नेपाली दुताबासलाई अनुरोध गरे ।

Yamaha


नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले मञ्चमा उभिएरै आफु पनि नगर्न र कसैले गरेको देखे भेटेमा सार्वजनिक बहिस्कार गर्न समेत माग गरे । तत्कालिन नेपाली एकता समाजका अध्यक्ष कृष्ण केसीले केही वर्षयता आफुले बैधानिक तवरले रेमिटेन्स गरेको प्रमाणको फेहरिस्त प्रस्तुत गरेका थिए । यति हुँदा पनि हुण्डी नगरौ भन्ने प्रतिबद्धताको जाहेरीको मागको सुनुवाई भएन । कार्यक्रम भाषण भुषणमै सिमित रह्यो ।

कार्यक्रम हलमै जोडतोडले आवाज उठाउँदा पनि सुनुवाई किन भएन ? उल्टै तत्कालिन कार्यबाहक राजदुत टण्डनले आक्रोश पोखे र बिषयलाई बिषयान्तर गराए । पक्तिकारलाई चिन्ता र चासो लागिरहेको थियो । तर यो चिन्ता र चासो मेटिन धेरै समय पर्खनु परेन । तत्कालिन राजदुत टण्डन स्वयम्ले एक नेपाली ब्यापारी मार्फत हुण्डी गरेर पैसा पठाउने गरेको खुलासा भयो । ति नेपाली ब्यापारीले तत्कालिन राजदुतले आफुमार्फत हुण्डी गर्ने गरेको स्विकारोक्तीको स्क्रीनसट प्राय धेरै समाजसेवी र पत्रकारहरुको मोबाईलमा पुगेको थियो । उनले हुण्डी गरेको प्रमाण दिन्छु भने पनि पछि दिन हिच्किचाए । तत्कालिन राजदुत रिटायर्ड भएर गए पनि नेपाली ब्यापारी अहिले पनि यही छन् । उक्त समय उनीसँग भएको कुराकानी सुन्दा हुण्डी गरेको होईन भन्ने ठाउँ छैन । तर पनि बिबिध कारणले किटानी गरेर समाचारमा लेख्न सकिएन, अफसोच छ ।

उनी भन्दा अघिका राजदुत धनन्जय झाले दुताबास परिसरमा अबैधानिक तरिकाले दोकान सञ्चालन गरेर भ्रस्टाचार गरेर कमाएको पैसा पनि हुण्डी गरेर पठाएकोमा द्विबिधा छैन । नेपालीलाई सेवा दिने बहानामा दुताबास परिसरमा कोठा उपलब्ध गराएर भाडासमेत नलिईकन, बिजुली बत्ति शुल्क नेपाल सरकारको ढिकुटीबाट तिरेको दृष्टान्त हामी सामु छ । यी सबै कारणले गर्दा युएईको नेपाली समाजमा गुमेको ईज्जत फर्काउने चुनौती बर्तमान कार्यबाहक राजदुत सागर फुयाल र उहाँको टिमलाई छ ।

गतहप्ता भएको यस्तै किसिमको छलफल र अन्तर्क्रिया कार्यक्रममा उपस्थित एक जना समाजसेवी, लुम्बिनी वेलफेयर सोसाईटी युएईका अध्यक्ष तथा पत्रकार महासंघ युएई शाखाकै साधारण सदस्य गीतामणी पाण्डेले आफुले पनि ५० प्रतिशत भन्दा बढी पैसा हुण्डीमार्फत पठाउने गरेको खुलासा गरे । अहिले उनकै शब्दलाई सापटी लिएर भन्ने हो भने बोल्ने क्रममा उनी ‘चिप्लिए’ । चिप्लिनु पर्ने त अरु पनि थिए होलान् तर पाण्डे मात्रै चिप्लिए । पछि उनले आफुले बोलेको कुरालाई सच्याउने प्रयास गरे पनि कार्यक्रममा उपस्थित भएका कसैले पत्याईदिएनन् । उनले हुण्डीका बारे अरु धेरै कुरा थाहा पाएको बताए पनि अहिलेसम्म खुलासा गरेका छैनन् । अन्तत् उनी पत्रकार महासंघ युएई शाखाको कारबाहीमा परे भने उनी अध्यक्ष रहेको संस्था हालसम्म पनि मौन छ ।

पाण्डेको अभिब्यक्तिको सर्बत्र आलोचना भएको छ । मैले पनि आलोचना र प्रशंसा दुवै गरेको छु । यस्तो सत्य बोल्ने हिम्मत सबैको हुनु पर्‍यो । केही समय पहिले केही निकायबाट युएईमा रहेर हुण्डी गर्नेहरुको नामावाली मसँग पनि मागिएको थियो । त्यस्तो नामावली नेपाली दुतावास अबुधाबीले पनि गोप्य रुपमा तयार पारिएको गाँईगुई चलेको थियो । तर मलाई थाहा भएका हुण्डीवालाहरुको नाम मैले सम्बन्धित निकायलाई उपलब्ध गराउन सकिन । नेपाली दुताबासले त कसैले हुण्डी गर्ने गरेको पाएमा स्थानीय निकायमा खबर गर्न उर्दी नै जारी गर्‍यो ।

यो हुण्डी भनेको कस्तो रहेछ भने थाहा हुने तर प्रमाण नहुने । कसैको नाम पोले पछि प्रमाण पनि दिनु पर्ने । अनि नाम संकलन गर्नेको गोपनीयताको विश्वासको कुरा पनि रह्यो । सँगसगै नाम दिए पछि नाम मात्रै जाने हो या एक्सन पनि लिने हो कुनै ग्यारेन्टी छैन, भरोसा पनि नहुने । किनभने अहिलेसम्म युएईमा बसेर हुण्डी गर्नेहरु कसैलाई पनि कारबाहीको दायरामा ल्याउन सकिएको छैन । कारबाही हुने सम्भावना पनि धेरै कम छ ।

अब केही सुनेको र देखेकै कुरा गरौं । अबुधाबीमा फलानो नेपाली रेस्टुरेन्टको मालिकले हुण्डी गर्छ । दुबईमा फलानो पसलको मालिकले हुण्डी गर्छ । शारजाह, रसअल खैमह, अजमान, फुजेराह र अलऐनमा फलानो मान्छे, फलानो ब्यवसायी, फलानो समाजसेवी, फलानो अध्यक्षले हुण्डी गर्छन् । शायद नजान्ने, नसुन्ने र नदेख्ने कोही नहोलान् । यति सम्मकी फलानो ठाउँको यति नम्बर तलाको यति नम्बर कोठामा हुण्डीको कारोबार हुन्छ भन्ने प्राय सबैलाई जानकारी हुन्छ । भन्नेहरुले त के भन्छन भने नेपालमा घरानीय कहलिएकाहरु र धनाढ्यहरु पनि दुबईमा बसेर हुण्डीका कारोबार गर्छन् । दुबईका पत्रकार हरी नेपाली भन्छन,‘हुण्डीवालाहरुले हुण्डी गरेको पैसाको रसिद दिदैनन्, के प्रमाण देखाउने ?’ पत्रकार लक्ष्मण खनाल भन्छन्,‘घुमाउरो भाषामा हुण्डीबारे समाचार नलेख्न धम्की आउँछ । आँखा अगाडि हुण्डी गरेको देखिन्छ । तर फलानोले हुण्डी गर्छ भनेर लेख्न सकिन्न ।’
यी सब प्रमाण जुटाउन नसक्दाको परिणाम हुन् ।
नेपाली मजदुरहरु बस्ने प्रत्येक क्याम्पमा हुण्डीका एजेन्ट छन् । उनीहरु २० फिल्स देखि ५० फिल्ससम्म कमिसन खाएर पैसा संकलन गरिदिन्छन । हरेक महिना तलब आए पछि कोठा कोठा धाएर पैसा संकलन गर्ने र युएईका नेपाली ब्यापारीको बैंक एकाउण्टमा जम्मा गरिदिने उनीहरुको ड्युटी नै हो ।

जमाना प्रतिस्पर्धाको छ । हुण्डी एजेन्टहरु बीचमा पनि प्रतिस्पर्धा छ । उनीहरु मध्ये केहीले त तलब आउनु एक हप्ता अघि नै नेपालमा आफन्तलाई पैसा जम्मा गरिदिन्छन् । तलब आए पछि हुण्डीवालालाई आरामले पैसा तिरे पनि हुन्छ । नेपाली कामदारलाई के चाहियो ? न रेमिटेन्स शुल्क लाग्ने न पैसा पठाउन जाँदा आँउदा ट्याक्सी भाडा नै । रेट पनि एक्सचेन्जको भन्दा बढी पाइने । आम सर्बसाधारण कामदारको बुझाई यस्तै छ ।

त्यति गरेर एजेन्टहरुले महिनामा कम्तीमा १/२ हजार दिर्हाम देखि ८/१० हजार दिर्हाम कमाउँछन् । गाडी किन्छन्, राम्रै फ्ल्याटमा बस्छन्, डान्स बार धाउँछन् । बचेको पैसा नेपाल पठाउछन् र आरामको जिन्दगी बिताउछन् । धेरै जसो त सँगै काम गर्ने कामदारहरु नै हुण्डीको एजेन्ट भएर काम गर्दछन् । उनीहरुलाई के ठिक के बेठिकको मतलब छैन । तपाईले यो त बेठिक भयो नि भन्नु भयो भने उनीहरु नेपालका नेताका उदाहरण दिन्छन् । नेताहरु भ्रस्ट भएकोले बरु त्यता ध्यान दिन अर्ती दिन्छन । धेरथोर आफुले पैसा कमाएकोमा आँखा नलगाउन मिठो भाषामा धम्की पो दिन्छन् त ।

नाम नलेखिदिने आश्वस्त भए पछि दुबईका एक जना ब्यापारी भन्छन्, ‘नेपालमा जम्मा भएको हाम्रो पैसा दुबई ल्याउने सजिलो बाटो हुण्डी हो । हुण्डी गर्ने हाम्रो बाध्यता हो ।’ महिनामा आठ देखि दस लाख दिर्हामसम्म हुण्डी गरेको उनको भनाइ छ । तर सुन काण्डले गर्दा हुण्डी कारोबार आजकल अलिक घटेको उनी बताउँछन् । अनी त्यत्रो पैसा कहाँ जान्छ त ? केही पैसा नेपालबाट ल्याउनु पर्नेमा शोधभर्ना हुने, केही पैसा सुन तस्करी गर्ने र अधिकाँश पैसा दिल्ली, पटना, कलकत्तालगायतका भारतीय शहरहरुमा पुग्ने गरेको उनको दाबी छ । सरकारले अपराध नियन्त्रण गर्न र सुन तस्करी रोक्न हुण्डीमा हैन बरु मनी लउन्ड्रिङ्ग नियन्त्रण गरोस् । उनी उल्टै उपदेश दिन्छन् ।

नेपाली दुताबासले एनआरएन कार्ड प्रदान गर्ने गरेको छ । एनआरएन कार्ड भए पछि नेपालमा डलर एकाउन्ट खोल्न पाईन्छ । जस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकमा खोलेको डलर एकाउन्टबाट नेपालमा जम्मा गरेको पैसालाई बैधानिक तरिकाले युएई ल्याउन पाईन्छ । दुबईका ब्यापारीहरु यसलाई पनि मान्ने पक्षमा छैनन् । किनकी त्यसमा पनि लिमिटेसन छ । धेरै पैसा बाहिर लगे भोलि सरकारले खोज्ने डर पनि छ । त्यसो भए नेपालबाट दुबई पैसा ल्याउने उपाय के के हुन त ? दुबईका ब्यापारीहरुलाई सजिलो उपाय चाहिएको छ । उपायसहितको जनचेतना कार्यक्रम उनीहरुलाई आवश्यक छ ।

तपाईं हामीले हुण्डी गरेको एक दुई हजार पैसा सुन तस्करीमा प्रयोग हुने गरेको तथ्य सर्बसाधारण कामदारलाई बुझाउन जरुरी छ । तपाईं हामीले गरेको हुण्डीको पैसाले गोरेले कसरी सुन तस्करी गरेछ भनेर सम्झाउने हो भने कोही पनि नेपालीहरु तस्कर बन्न तयार हुँदैनन् । हुण्डीको पैसाले कसरी आतंककारी गतिबिधि हुन्छ र कसरी अपराध मौलाउँछ ? हुण्डीले राष्ट्रलाई कसरी घाटा हुन्छ ? भनेर तथ्यगत भएर बुझाउन सकियो भने कोही पनि देशभक्त राष्ट्रबादी नेपालीहरुले हुण्डी गर्ने छैनन् । तर आफु पनि त सच्चिन तयार हुनु पर्यो नि ।

अहिले त दुबईका क्याम्पमा रहेका नेपालीहरुलाई हुण्डी नगरनुस् भन्यो भने नेताका उदाहरण दिन्छन् । मन्त्रीका दाइजो र नेताका साथीले उपहार दिएको महागो घडी, उपहार दिएको टिभि र आईफोनको उदाहरण दिन्छन् । पचास पच्पन्न तोला सुनको श्रोत सोध्छन् ? शेरबहादुर, प्रचण्ड र केपीले देश लुट्दा त केही भएन हामीले एक दुई पैसा खाँदा किन टाउको दुखाई भन्ने जवाफ फर्काउँछन् । के उनीहरुले भनेको कुरा शतप्रतिशत गलत नै छ त ? छैन । उनीहरुले पनि सच्चिनु आवश्यक छ । तसर्थ अब तपाईं र मैले पनि सच्चिन जरुरी छ । पहिले हामी सच्चियौ भने अरुलाई सच्याउन सक्छौं ।

युएईका समाजसेवीहरु, पत्रकार बन्धुहरु, दुताबासका कर्मचारी साथीहरु, सर्बसाधारण नेपाली मजदुरहरु ! देश साच्चै नै बनाउने हो ? हो भने के तपाईं पनि दुबईका कृष्ण केसीले भने जस्तै छातीमा हात राखेर भन्न सक्नु हुन्छ’म हुण्डी गर्दिन’ भनेर ? पौडेल र बस्यालले भने जस्तै हुण्डी गर्दिन भनेर प्रतिबद्धता जाहेर गर्न सक्नुहुन्छ ? शुरुवात यही बाट गरौं । अनी सबैले भनौं, हुण्डी नगरौं, गर्न पनि नदिउँ ।

Esewa Pasal

प्रकाशित : असार ५, २०७५ १३:२२
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनेसास नवोदितको ८२ औ डबली 

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तराष्ट्रिय  नेपाली साहित्यिक समाज र नबोदित साहित्यिक वाचनालय कतारको ८२ औं डबली सम्पन्न भयो । प्रवासमा नेपाली साहित्यको विकासको लागि यो डबली हरेक महिना हुँदै आएको छ ।

डबलीमा झन्डै दुई दर्जन सर्जकहरुले आआफ्नो रचना प्रस्तुत गरेका थिए । झन्डै दुईघण्टासम्म चलेको डवलीमा नारायण निर्जल भण्डारी, शेखर बस्नेत, सागर भण्डारी, निश्चल आँशु घायल, अनिल परिबर्तन, उमेश भट्टराई, बुद्धराज राई, टिका खड्का, सुरेशमान रुम्बा लामा, प्रेमप्रसाद भट्टराई, ईश्वर राई, चक्र कार्की, मदन चौहान, स्वतन्त्र नेपालले रचना प्रस्तुत गरेका थिए ।

त्यस्तै श्यामराज रानाभाट, मणि पौडेल, दीलिप पराजुली, लेख कार्की, दीप मिलन, खेमराज सुबेदी, बिश्वबन्धु थापा, बिनोद खड्का, बेचन महतो, रुप रसाइली, माया केसी, तिर्थसंगम राई र सिताराम थापाले प्रस्तुत गरेका थिए । तिला लेकालीको हाइकु संग्रह झ्याउकिरी झंङ्कृत लाई नियम भुजेलले उपलब्ध गराएका थिए ।
नेपाली कला र सस्कृति झल्किने गरी बनाइएको हलमा कार्यक्रम गर्न पाउदा नेपालमा मै भएको अनुभब भएको नबोदित साहित्यिक वाचनालय कतारका सदस्य तिलु शर्मा पौडेलले वताए ।

डवलीका विशिष्ट श्रोता अन्तराष्ट्रिय मुस्लिम समाजका संयोजक रमजान अली मियाँले कतारलाई अरबी साहित्यको केन्द्र भनेर चिनिएको वताए ।
दोहामा बिभिन्न भाषामा साहित्यिक जमघट हुने गरेको र त्यसमा नेपाली साहित्यलाई मिसाउन कतार सरकार समक्ष पहल गर्नुपर्ने आश्यकता रहेको उनले वताए ।

प्रकाशित : असार ५, २०७५ १२:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT