कांग्रेसमा युग सुहाउँदो व्यवस्थापन

सैद्धान्तिक सबलतालाई पार्टीका कार्यकर्ताको ज्ञान, ऊर्जा, लगनशीलता र आशावादितामा अनुदित गर्ने व्यवस्थापन कांग्रेसको पहिलो र अहम् एजेन्डा हुन सक्नुपर्छ ।
विनोद चौधरी

काठमाडौँ — नेपाली कांग्रेस जिल्ला सभापतिहरूको राष्ट्रिय भेला हेटौंडामा भइरहेको छ । मुलुक संघीय संरचनामा गएपछि भएका संघीय संसद्, प्रादेशिक व्यवस्थापिका र स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले अपेक्षित नतिजा प्राप्त गर्न नसकेको पृष्ठभूमिमा देशभरि फैलिएको नेतृत्व पंक्तिबीच यो अन्तरक्रियाको अवसर जुटेको छ ।

यो पार्टीको भविष्य निर्माणको खाका तयार गर्ने दृष्टिले अत्यन्तै महत्त्वपूर्ण अवसर हो । यो भेलालाई वास्तवमै भविष्यको मार्गचित्र निर्माणमा सफल बनाउने जिम्मेवारी सबै कांग्रेसजनको हो ।

Yamaha

चुनावी पराजयपछि त्यसको समीक्षा हुनु, आलोचना र आत्मालोचना हुनु स्वाभाविक हो । तथापि सिंगो पार्टीले सधैं तिनै विगतका तिता यथार्थहरूमा रुमलिएर अगाडिको बाटो तय गर्न सक्दैन । र अहिले पार्टीले बेहोरेका समस्याहरूको समाधान आरोप–प्रत्यारोप, दोषारोपण वा गालीगलोज त झन् हुनै सक्दैन ।

कांग्रेसको केन्द्रदेखि जिल्ला तहको नेतृत्व पङ्क्तिसम्मले अबको बहस र छलफललाई यही यथार्थ केन्द्रबिन्दुमा राखेर अघि बढाउनु सबभन्दा वाञ्छनीय बाटो हो । विगतमा भएका कमजोरीहरूको सिंगै दोष यो वा त्यो पक्षले अर्कोलाई थोपरेर पनि समस्याको समाधान निस्कँदैन भन्ने तत्त्वबोध अब सबैमा हुनैपर्छ । बलवान् सत्य के हो भने पार्टी शक्तिशाली हुँदा र पटक–पटक सत्तामा पुग्दा अहिले नेतृत्वमा
बसेका सबै तहका नेता, कार्यकर्ताले सकेसम्म लाभ र पद लिएकै हो । अहिले पार्टी
संकटमा परेको समयमा एकअर्काप्रति औंलाठड्याएर अनि महत्त्वपूर्ण समय र ऊर्जा एकअर्कालाई होच्याउनमा प्रयोग गरेर भविष्यको बाटो तय हुन सक्दैन ।

पार्टीको इतिहास निर्माण र मुलुकमा लोकतन्त्र स्थापनादेखि आर्थिक समृद्धिको जग बसाल्नेसम्मका कार्यमा सम्पूर्ण पार्टी पङ्क्तिको योगदान छ । त्यसको कदर र सम्मान हुनुपर्छ । अब त्यही कदर र सम्मान मात्र खोज्ने तर भविष्यका लागि सिर्जनात्मक ऊर्जा, समय–सापेक्ष दृष्टिकोण, कार्ययोजना र आधुनिक वैज्ञानिक व्यवस्थापन दिन नसक्ने हो भने पार्टी पुनर्जीवन पाउन नसक्ने दिशातर्फ दु्रतगतिले उन्मुख हुनेछ । त्यसका संकेत देखिइसकेका छन् ।

युगले मागेका सांगठनिक, सैद्धान्तिक र व्यवस्थापकीय रूपान्तरणको प्रस्ट खाका अगाडि सार्न नसक्ने हो भने पार्टीको भविष्य संकटापन्न हुँदैछ भन्ने आभास सबै तहका पार्टीका नेता, कार्यकर्तामा अब मनैदेखि हुन आवश्यक छ । सम्भवत: भई पनि सकेको छ । यसलाई निकास दिनेगरी बौद्धिक अभ्यास गर्ने उचित स्थल सम्भवत: पार्टी सभापतिहरूको यो भेलाभन्दा अर्को हुन सक्दैन ।

यस बीचमा हामीले कांग्रेस कार्यकर्ताका रूपमा आफैंलाई गर्नुपर्ने अहम् प्रश्न के हो भने अहिले संगठनको कुनै पनि तहमा नेता ‘क’ले पाइरहेको जिम्मेवारी नेता ‘ख’मा सर्दैमा पार्टी स्वत: रूपान्तरित, ऊर्जावान् र क्रियाशील हुने सम्भावना कति छ ? पुरानो चिन्तन र कार्यशैलीलाई बदल्न हामीसँग के साझा कार्ययोजना र एजेन्डा छ ? पार्टी परिचालनका लागि नयाँ दृष्टिकोणहरू के छन् ? त्यसले पार्टीलाई अगाडि बढाउने हाम्रो कार्यभार निर्धारण गर्नेछ ।

विषय उठान जताबाट गरे पनि पार्टीभित्रको अहिलेको संकट मूलत: व्यवस्थापकीय चुनौतीको हो । व्यक्तिभन्दा अहम् रूपान्तरण परिपाटी र व्यवस्थापकीय चुस्ततामा आवश्यक भएको हो । दोहोर्‍याइरहनु पर्दैन, एकाइसौं शताब्दी व्यवस्थापन विज्ञानको शताब्दी हो । सिद्धान्त, नेतृत्व र असल अभ्यासको संश्लेषित स्वरुप नै व्यवस्थापन हो । कांग्रेसको पुनरुत्थान पनि यही सिद्धान्त, मान्यता र अभ्यासलाई आत्मसात गरेर मात्रै सम्भव छ । विगतमुखी होइन, आगतमुखी भएर मात्रै पार्टीको भविष्य सुनिश्चित गर्न सकिन्छ ।

कांग्रेसका आफ्नै सैद्धान्तिक आधारहरू विलकुलै कमजोर छैनन् । सदावहार प्रजातान्त्रिक समाजवाद, राष्ट्रियता, उदारवाद र लोकतन्त्रप्रतिको अविचलित अडानको परिणामस्वरुप नै अहिले मुुलुकका सबै रूप र रङका राजनीतिक शक्तिहरू संसदीय लोकतान्त्रिक अभ्यासको समान धरातलमा आइपुगेका छन् । यही सैद्धान्तिक सबलतालाई पार्टीका कार्यकर्ताहरूको ज्ञान, ऊर्जा, लगनशीलता र आशावादितामा अनुदित गर्ने व्यवस्थापन अब कांग्रेसको पहिलो र अहम् एजेन्डा हुन सक्नुपर्छ ।

२०४७ सालपछि नेपाली कांग्रेसको सरकारले लिएको युगसापेक्ष र विश्व दृष्टिसम्मत आर्थिक नीतिहरूका कारण मुलुकको अर्थतन्त्र अहिलेसम्म धानिएको छ । अर्थतन्त्रका मूलभूत मान्यताहरू, जस्तै– निजी क्षेत्रको लगानी एवं नेतृत्वमा मुलुकको आर्थिक विकास, मुलुकको औद्योगिकीकरण र अर्थतन्त्रलाई विश्व अर्थतन्त्रको एउटा अभिन्न हिस्सा बनाउने आदि मान्यताहरूलाई हामीले अझै प्रबद्र्धन गर्न आवश्यक छ । नेपाली कांग्रेस यसतर्फ सजग भइरहन आवश्यक छ । त्यसका लागिआवश्यक ऊर्जा निर्माण गर्ने ध्येयतर्फ सिङ्गो पार्टी उन्मुख हुनुपर्छ ।

नयाँ ऊर्जा, क्षमता र व्यवस्थापकीय कौशल विस्तारका लागि पार्टीले परम्परागतभन्दा फरक, उदार र समावेशी कार्यशैली अपनाउनु आवश्यक छ । समर्पित कार्यकर्तालाई नयाँ युगका चिन्तकहरू, व्यवस्थापकीय अनुभव र क्षमता भएका पार्टीभित्र वा बाहिरका व्यक्तिहरूसँग निरन्तर अन्तरक्रिया गराइराख्नु आवश्यक छ ।

अनुभवले खारिएका र क्षमता प्रमाणित भएका व्यक्तिहरूको कांग्रेसभित्र मात्रै कदर र परिणाममुखी सदुपयोग हुनसक्छ भन्ने उदाहरण कांग्रेसले स्थापित गर्न सक्नुपर्छ । सिङ्गो देश, खासगरी निजी क्षेत्र र निर्वाध स्वतन्त्रतामा विश्वास गर्ने बौद्धिक जमातले कांग्रेसबाट व्यग्रताका साथ यही अपेक्षा गरेको छ ।


मुलुक संघीयतामा जानु भनेको पार्टीलाई जनताको थप नजिक पुग्नेगरी पुनर्संरचना गर्ने अवसर उपलब्ध हुनु पनि हो । यो अवसरलाई पार्टीको प्रादेशिक संगठन निर्माण, संघीय पार्टी संगठनको क्रियाशीलता र स्थानीय तहसम्म आशाको सञ्चार गराउन सक्नेगरी सिंगो संगठनलाई व्यवस्थित र परिचालित गर्नुपर्छ । त्यसका लागि अपनाइनुपर्ने पद्धति, योग्यताको कदर र सैद्धान्तिक आधारशिला अब पार्टीभित्रको बहस र छलफलको मुख्य विषय बन्नैपर्छ ।

आन्तरिक गञ्जागोल, अव्यवस्था र आरोप–प्रत्यारोपमा मात्रै लामो समय रुमलिँदा यो ऐतिहासिक दल राष्ट्रिय दायित्वहरूबाट क्रमश: विमुख हुने र जनताका मुद्दा र चासोहरूलाई राष्ट्रिय नीति निर्माणमा प्रतिनिधित्व गराउन नसक्ने अवस्थातर्फ नजाओस् भनेर अत्यन्तै सजग रहनु आवश्यक छ । प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले संघीय र प्रादेशिक संसद्मा खेल्नुपर्ने भूमिकालाई जनअपेक्षा अनुरुप नयाँ उचाइमा पुर्‍याउन सक्नुपर्छ ।

यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीले जनता, विभिन्न पेसा र वर्गको हितका लागि ‘हामी पहरेदारका रूपमा उभिएका छौं’ दृढताका साथ भन्न सक्नुपर्छ र त्यसको सन्देश सरोकारवालासम्म प्रस्ट रूपले पुग्नुपर्छ ।

विषयगत, क्षेत्रगत र बुँदागत रूपमा सरकारका कमजोरीहरू औंल्याउने र तिनलाई मुलुकको हितमा निर्णय गर्न लगाउने जिम्मेवारी प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसकै हो । यी सबै आवश्यकता अनुसारको दृष्टिकोण निर्माण क्षमता र पद्धतिले मात्र गर्न सक्छ, आपसी झगडा र वैमनस्यले गर्दैन । केही असमझदारी, मनोमालिन्य र अन्योल छन् भने ती पार्टीका आन्तरिक विषय हुन् । जिल्ला सभापतिहरूको नेतृत्वदायी जमघटको ‘सिनर्जी’ तिनै नमिठा विगतलाई उधिन्नमा मात्र खर्च हुनुहुँदैन ।

यसले एकता र सैद्धान्तिक सहकार्यको मञ्चको सन्देश प्रवाह गर्न सक्नुपर्छ । त्यसका लागि भविष्य निर्माणको दृष्टिकोण बोकेकाहरूलाई यथेष्ट भूमिका र स्थान दिने कुरामा उदार हुने वातावरण नेतृत्वलाई यो भेलाले बनाइदिनुपर्छ । यो पार्टीको भविष्य छ र त्यसलाई सुनिश्चित गर्ने एक्काइसौं शताब्दीका ‘कालिगढहरू’को योगदान सम्भव बनाउने नयाँ दृष्टिकोणका साथ हेटौंडाबाट सिंगो पार्टी पङ्क्ति बिदा हुने वातावरण बन्न सकोस् । यसैमा पार्टी, यसका कार्यकर्ता र मुलुकको भविष्य छ ।

Esewa Pasal

प्रकाशित : असार ६, २०७५ ०८:२५
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रश्नलाई ‘इन्काउन्टर’ गर्ने अधिनायकवाद

पुलिस–राज वा त्यसलाई मलजल गर्ने अधिनायकवादी शासनका लागि गुन्डा–राजभन्दा खतरनाक छ, प्रश्नको सानो झिल्को ।
राजेन्द्र महर्जन

काठमाडौँ — अचेल हाम्रो देशका जनप्रतिनिधि, मन्त्री, प्रधानमन्त्री र प्रशासक भारतीय हिन्दी फिल्म ‘नायक’का अनिल कपुरजस्तै देखिन्छन् । उनीहरूको मनोविज्ञानमा कपुरले भूमिका खेलेको ‘एक दिनको मुख्यमन्त्री’ शैलीप्रति भरपुर मायामोह देखिएको छ, त्यही मायामोह पोखिएको पाइन्छ, उनीहरूका अभिव्यक्ति र आचरणमा पनि ।

‘नायक’ फिल्ममा एक टिभी रिपोर्टरबाट एक दिनका लागि मुख्यमन्त्री बन्ने अवसर पाएका कपुर एक दिनको मिनेट–मिनेटको हिसाब गर्दै अपराध र भ्रष्टाचारको सफाया गर्नतिर लागिपर्छन् । परिकल्पनामा मात्रै एक अभिनेताबाट सम्भव हुने कामकारबाही देखाइएको फिल्मको छाप हाम्रा नेता र प्रशासकको मनोभाव रव्यवहारमा पनि परेको छ ।

यतिखेर कोही एसपीचाहिँ आफू आएकै दिनदेखि जिल्लालाई अपराधमुक्त बनाउने भन्दै गृहमन्त्रीको आदेश अनुसार अपराधीको ‘इन्काउन्टर’ गर्ने घोषणा गर्दैछन्, जसको कुनै काउन्टर हुँदैन । नीति–निर्माणको गाडी चलाउनुपर्ने मध्ये कोही मेयरचाहिँ आफै डोजर चलाएर अविकासको सफाया गर्नतिर लाग्दैछन् त कोही मन्त्री सवारी साधनको प्रदूषण जाँच गर्दै प्रदूषण विरुद्ध युद्ध छेड्न एकाबिहानै सडकमा निस्कँदैछन् । यसरी हाम्रा प्रतिनिधि, मन्त्री, प्रधानमन्त्री र प्रशासकलाई पनि अनिल कपुरकै शैलीमा नायक बन्दै अपराध र भ्रष्टाचार विरुद्ध ‘इन्काउन्टर’ गर्ने भूत सवार भएको छ ।

‘इन्काउन्टर’ को भूत
सिन्डिकेट हटाउने नाराका साथ गृहमन्त्रीको अगुवाइमा यातायात बन्द गर्ने यातायात व्यवसायीको धरपकड, सरकारी ठेक्कापट्टाको काम समयमा पुरा नगर्ने ठेकेदारको गिरफ्तारी तथा म्यानपावर कार्यालयमा छापा मार्ने कामसँगै म्यानपावर व्यवसायीलाई पक्रेर कारबाही गर्ने अभियानमा प्रत्यक्ष कारबाहीको मोह देखिन्छ ।

यस्ता प्रत्यक्ष कारबाहीको थालनी आफ्नै गाडीको प्रदूषण जाँचबाट गर्न सकिन्छ वा आफ्नो पार्टी निकटका भ्रष्ट व्यवसायीमाथि विधिवत् कारबाहीबाटपनि अगाडि बढ्न सकिन्छ वा आफ्नै दलबाट पालिएका गुन्डाहरूमाथि कानुनी उपचार पनि गर्न सम्भव छ ।

यसरी प्रत्यक्ष कारबाही थालेका भए कुनै पनि प्रत्यक्ष कारबाही पनि दीर्घकालीन उद्देश्य पूर्ति गर्ने तथा वैध र वैधानिक प्रक्रियाको पूर्वसर्त हुने सम्भावना हुनसक्थ्यो । विधि र प्रक्रियालाई मिच्ने अभ्यासलाई व्यक्तिगत करिश्मासँगै आउने अधिनायकवादलाई सघाउने हो, जसले लोकरिझ्याइँ मार्फत जनमत र विश्वास लिन खोज्छ ।

सही नीति निर्णय, उचित संरचनासँगै विधि–प्रक्रिया र सहभागितामूलक क्रियान्वयनको संयोजन गर्नुको सट्टा कुचो लिएर सफाइ गर्ने मन्त्री, दौरा–सुरुवालमा दौडने र पञ्जा लिएर नदी सफा गर्ने मन्त्री–प्रधानमन्त्रीको पाखण्ड त दैनिक देखिने दृश्य हो । अब त्यस दृश्यमा विकास, समृद्धि र स्थिरताको रङ भर्दै जनतालाई भ्रमित र मोहित पार्ने पाखण्ड–कर्मलाई अझ गाढा र व्यापक पारिएको छ । जनप्रतिनिधि र प्रशासकहरू प्रत्यक्ष कारबाहीबाट लोकप्रियता हासिल गर्ने सूत्रप्रति कति मोहित रहेछन्, मेयरले डोजर चलाएर दुर्घटना निम्त्याएको घटनामा नांगै देखिएको छ । अब प्रहरीबाट हुने इन्काउन्टर र हत्याको विस्तारसँगै प्रहरीलाई चलाउने सरकारबाट हुने हठात् कामकारबाहीले कति दुर्घटना र दुरवस्थालाई निम्तो दिने हो, कल्पना गर्दा कहाली लाग्छ ।

सबैजसो विधि–विज्ञलाई थाहा छ, प्रत्यक्ष कारबाही वा इन्काउन्टर शैलीको व्यवहारमा संरचना, विधि–विधान र प्रक्रिया ताकमा पर्छन् । फुटबल खेलको भाषामा भन्दा यो त आफै रेफ्री, आफै स्ट्राइकर, आफै डिफेन्डर र आफै किपर भएर दनादन गोल हान्ने शैली हो । यसमा सबै विधि–विधान, कानुनी प्रक्रिया, अपराध अनुसन्धान तथा कानुनी सजायको पद्धतिलाई बेवास्ता गरिन्छ वा आफ्नो नीति र नियत अनुकूल व्याख्या गरिन्छ ।

वैधानिक रूपमा अपराधी ठहरिन बाँकी अभियुक्त वा अभियुक्तजस्तो लागेका सबै व्यक्तिलाई हान्ने, मार्ने वा थुन्ने हदसम्मका काम ‘पुलिस–राज’मा हुनसक्छ । गुन्डा–राजको सट्टा पुलिस–राज स्थापना गर्न खोजिएको हो भने विधि–विधान–प्रक्रियासँगै ऐन–कानुनको अर्थ हुँदैन । पुलिस–राजमा नियमितजसो हुने सयौं केजीका सुनकाण्ड र निर्मम हत्यासँगै प्रहरीको स्वार्थी सञ्जालबारे एकपछि अर्काे तथ्य उजागर हुँदैछ । इन्काउन्टरबाटै गुन्डा–राज वा अपराध समाप्त पार्ने घोषणा सिसाको घरमा बसेर ढुंगा हान्ने काम बाहेक अरु हुने अवस्था छैन । गुन्डा–राज होस् या अन्य राज, भ्रष्टाचार होस् या ठेकेदारको मनपरी, तिनको पालन–पोषणमा पार्टी, सरकार र प्रशासनसँगै तिनका सञ्चालकहरूको संलग्नताबारे कोही अनभिज्ञ छैन । यस्तो अवस्थामा गृहमन्त्री वा प्रधानमन्त्रीसामु ठूलो चुनौती छ– यस्तो संलग्नतालाई सफाया गर्ने कि अनेक आकर्षक नाराले छोपछाप पार्ने ?

प्रत्यक्ष कारबाहीबाट लोकरिझ्याइँ
नेपाली समाजलाई कुशासन, भ्रष्टाचार र बेथितिले थिलथिलो पारेका छन् । यस्तो समाजमा कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध गरिने प्रत्यक्ष कारबाहीले धेरैलाई लोभ्याउँछ र केही समय आनन्द पनि दिलाउँछ । र गुन्डाराज अन्त्य गर्नेजस्ता हौवाले पनि मन हर्छ । सही नीति निर्णय, उचित संरचनासँगै विधि–प्रक्रिया र सहभागितामूलक क्रियान्वयनबिना यस्ता नीति एवं नारा लोभलाग्दो लोकरिझ्याइँ र सस्तो प्रचारबाजीमा सीमित हुन्छन् ।

अनेक लोकरिझ्याइँ वा मनोरञ्जक नाराबाजीका आधारमा शासन–प्रशासनको सञ्चालन गरिने प्रक्रियामा कहीं कतै लोकतन्त्रको बीउ पाउन मुस्किल हुन्छ । बरु लोकको हस्तक्षेप र लोकतन्त्र समाप्त पार्न वा कमजोर पार्न यस्ता चालबाजी र नाराबाजी गरिने तथ्य नेपाल लगायत विश्वको इतिहासमा छ्यापछ्याप्ती देख्न पाइन्छ । ‘विकासको मूल फुटाउने’ नाराका साथ थालिएको पञ्चायती राजले नेपालमा तीस वर्षसम्म लोक र लोकतन्त्र हत्या गरेको थियो, जसको नयाँ रूप पुनरावृत्ति हुँदैछ ।

पुलिस–राज वा त्यसलाई मलजल गर्ने अधिनायकवादी शासनका लागि गुन्डा–राजभन्दा खतरनाक छ, प्रश्नको सानो झिल्को । कुनै पनि शासन र राजविरुद्ध उठ्ने सानो प्रश्नले पनि उनीहरूका नीति, नारा र नियतको जंगल डढाउन सक्छ । जीवनका हरेक पक्षलाई जकड्दै आएको सत्ता–सम्बन्धलाई प्रश्नले खुकुलो पार्ने वा गाँठो फुकाउन मद्दत गरेको तथ्य देखिन्छ । त्यसैले सत्ता–सम्बन्धलाई आफ्नो अनुकूल प्रयोग गर्न माहिर शासक–प्रशासकलाई कहीं कतै पनि प्रश्न स्वीकार्य छैन ।

उदाहरणका लागि, ब्यारेकजस्तो बनाइएका स्कुल–कलेजमा सामान्यत: प्रश्न गर्ने आज्ञा हुँदैन । त्यस्तै शासन–प्रशासनमा आदेश–निर्देशमाथि सन्देह र आलोचना स्वीकार्य छैन । चाहे स्कुल–कलेज होस् या अन्य कुनै पनि सत्ता प्रतिष्ठान, सर्वत्र अरुका प्रश्नको उत्तरमात्रै दिने अधिकार हुनु आफैमा अधिनायकवादी शासन हो । त्यस्तो शासन, जुनअनुशासनको नाममा थोपरिन्छ, जुन शासन थोपरिएकालेपनि स्वीकारेकै हुन्छ ।

प्रश्नको संहार
नेपालमा विभिन्न नारा र रूपरंगका यस्तो अधिनायकवादी शासन वा अनुशासन प्रकट भइरहेको छ । यसका लागि ‘कम्युनिस्ट अधिनायकवादी शासन लादियो’ भनी हल्ला मच्चाउने विपक्षी दल, त्यस दलको पुरानो शासन र पार्टीको सञ्चालनमात्रै हेरे पनि पुग्छ, राज्यसत्ता र सत्तासीन दलको आचार–विचार त हेर्नै पर्दैन । सत्तासीन दलकै प्रतिनिधिहरूमाथि बजेटबारे नकारात्मक टिप्पणी नगर्न, नीति र कार्यक्रमबारे नबोल्न, अध्यक्षका कामबारे मुख नखोल्न फर्मान जारी हुनु त्यसैका संकेत हुन् ।

पत्रकारबाट सञ्चारमन्त्रीको कुर्सीमा पुगेका व्यक्तिको झुठ पक्रने खालका प्रश्न गरेकै कारण टेलिभिजन कार्यक्रम बन्द गरिनु त्यसको सानो नमुनामात्रै हो । पत्रकार आचारसंहिता, राष्ट्रिय–अन्तर्राष्ट्रिय गैससका लागि सदाचार नीति, संस्था/संगठन सञ्चालनका अनेक बाधा–अड्चन त केही उदाहरण न हुन् । दुई तिहाइको सरकार बनेपछि प्रश्नको संहार गर्ने अनेक खालका शासन–अनुशासनका कारबाहीले यतिखेर थप व्यापकता पाउने अवस्था छ । सरकारका कुनै पनि प्रत्यक्ष कारबाही होस् या नीति–निर्णय र त्यसको क्रियान्वयनमा सहमति वा स्वीकार्यतामात्रै खोज्ने शासकीय प्रवृत्ति झन् चर्काे रूपमा देखिने सम्भावना बढेको छ । संगठित खालको प्रतिपक्ष नभएको र संसदीय प्रतिपक्षको भावभूमि पनि एउटै भएको अवस्थामा सत्ताका शासन र अनुशासन व्यापक हुन्छ नै ।

सत्तासीनहरूका कुनै पनि भाष्य होस् वा नारा, तिनमाथि सन्देह, प्रश्न वा आलोचनात्मक विमर्शले उनीहरूको पारो तताउँदो रहेछ । कसैले विधि र विधानको कुरा उठाइदियो भने पुलिस–राजको इन्काउन्टरको हावा खुस्किने डर हुन्छ । कसैले मास्क लगाएर प्रदूषण जाँच गर्न गएका मन्त्रीकै गाडीकै पहिले जाँच किन नगर्ने भन्ने प्रश्न उठाइदियो भने प्रत्यक्ष कारबाहीको नाटक प्रहसनमा समाप्त हुने भय हुन्छ । कसैले मन्त्री वा प्रधानमन्त्रीले पाएको दाइजो वा पेवा वा कोसेलीबारे सोधिदियो भने सत्तासीनको सदाचार वा कम्युनिस्ट चरित्रमाथि आघात पुग्ला भन्ने त्रास हुन्छ ।

यस्ता सबै पाखण्ड–पर्वलाई छोपछाप गर्न सकेसम्म प्रश्नको मुहानै बन्द गर्न जरुरी हुन्छ, कुनै पनि सन्देश, अनास्था वा अविश्वासको बाटै छोप्नुपर्ने हुन्छ– विश्वास, आस्था र भक्तिको मार्ग फराकिलो पारेर, सत्ता–शक्ति–सम्पत्तिको सम्बन्ध प्रयोगबाट सेन्सरसिप वा सेल्फ सेन्सरसिपको अवस्था सिर्जना गरेर, सञ्चार र ज्ञानसँग सम्बन्धित संस्थाहरूमा कार्यकर्ता भर्तीमार्फत नियन्त्रण गरेर । शिक्षादेखि मिडिया, (अ) सामाजिक सञ्जाल र ज्ञान उत्पादनका संस्थाहरूमा समेत जारी यस अभियानले हामीलाई प्रश्न गर्न नै डराउने बनाएको छ । प्रश्न गरियो कि आफ्नो सत्यानाश हुन्छ भन्ने मनोविज्ञानले अधिनायकवादको भौतिक र आत्मिक शक्तिलाई मलजल गर्ने हो, त्यो लोकतन्त्रको आवरण आउने निरंकुशतन्त्र होस् या समाजवादको मुकुन्डो लगाएर आउने कुनै फासीवाद ।
ट्विटर : @rmaharjan72

प्रकाशित : असार ६, २०७५ ०८:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT