१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

पीडा कहिलेसम्म ?

वैदेशिक रोजगारीमा गएर धेरै पैसा कमाउने लोभमा पर्दा र अरूको ललाइ–फकाइमा पर्दा आफ्नो जीवन नै नरकमा परेका धेरै उदाहरण छन् ।
दुर्गा घिमिरे

काठमाडौँ — चार दशकदेखि महिला हिंसा विरुद्घ निरन्तर संलग्न भई विभिन्न कार्यक्रमको आयोजना गर्ने र हिंसा पीडितहरूसँग काम गर्ने क्रमममा महिला हिंसाका विभिन्न रूपसँग प्रत्यक्ष साक्षात्कार हुने अवसर प्राप्त भयो । त्यस्ता कति घटनामध्ये केही घटना जो मेरो मनमस्तिष्कमा ताजै छन्, जसले मलाई बारम्बार यो क्षेत्रमा काम गर्न उत्प्रेरित गरिरहन्छ ।

पीडा कहिलेसम्म ?

महिला हिंसाका घटनालाई नियाल्दा यस्ता घटना कुनै एक प्रयोजनको लागिमात्र सीमित हुँदैन । यसको कारण र स्वरुप बदलिँदै आएका देखिन्छन् । मानव बेचबिखन प्रवृत्तिमा नयाँ–नयाँ स्वरुपको विश्लेषण गर्दा कहिले महिला र बालिकाहरूलाई दूध चुसाउने प्रयोजनको लागि त कहिले यौन शोषणको लागि महिलाहरू प्रयोग हुँदै आएको पाइन्छ । त्यसैगरी कहिले अंग प्रत्यारोपणको लागि, कहिले दाइजोको लागि, कहिले छोरा नपाएको निहुँमा त कहिले बोक्सीको आरोपमा प्रताडित हुनुपरेका घटना प्रशस्त छन् ।

परिवार पाल्न वैदेशिक रोजगारीमा गएका महिलाहरू शोषणमा परी शारीरिक र मानसिक रूपमा विक्षिप्त अवस्थामा नेपाल फर्किएका घटना थुप्रै छन् । यस्ता घटनाले कहिलेकाहीं लाग्छ– महिलाको जीवन कहिलेसम्म पीडा नै पीडाको जालोमा अल्झिरहनुपर्ने हो ? महिला हिंसा नियन्त्रणमा विभिन्न गैरसरकारी तथा सरकारी निकायबाट प्रयास हुँदाहुँदै पनि यस्ता घटना दिनानुदिन बढ्दै गएका छन् । यी तमाम प्रयास किन निस्फल भइरहेका छन् ? हामी कहाँनिर चुकिरहेका छौं ?

केही दिन अघिमात्र फेरि मेरो एउटा यस्तै घटनासँग साक्षात्कार भयो, जसले बारबार त्यसतर्फ ध्यान केन्द्रित भइरहन्छ । यो घटना जीवन गुजारा गर्ने सिलसिलामा रोजगारीको खोजीबाट सुरु भएको हो । नाम परिवर्तन गरिएकी सीताको कथा र व्यथा सुन्दा जोसुकैको मन भक्कानिन्छ ।

करिब १ वर्ष अघिको कुरा हो, सीताको अनुसार आफ्नो ११ जनाको ठूलो परिवार थियो । जसको भार थेग्न बाबुआमालाई एकदमै गाह्रो थियो । उहाँहरूको अभिभारा कम गर्न कसरी सकिन्छ भनी उनी सानैदेखि सोचिरहन्थिन् । उनलाई पटक–पटक कसरी धनी हुने र यो गरिबीको समस्याबाट बाहिर आउने भन्ने विचार आइरहन्थ्यो । यही सिलसिलामा उनी एसएलसी परीक्षा सकेर कामको खोजीमा एकजना दिदी पर्ने महिलासँग भारत पुगिन् । तिनले उनलाई एउटा घरमा कम लगाइदिइन् । सुरुमा उक्त घरमा उनलाई राम्रो व्यवहार गरेको, तलब पनि समयमै दिएको र एकदमै माया गरेको हुनाले १५ दिन विदामा आफ्नो घर आइन् र पुन: त्यही घरमा काममा गइन् ।

फर्किएपछि भने उनले नारकीय जीवन व्यहोर्नुपरेको बताइन् । घरको मालिक डाक्टर थिए । उनले एकदिन उनलाई ‘खोइ त नानी तिमी सिलप्याक छौ कि छैनौ ?’ भन्दै जबर्जस्ती सुई लगाइदियो । र सिलप्याक रहिछौ भन्दै उनलाई बलात्कार गर्‍यो । त्यसपछि कहिले जंगलमा त कहिले आफ्नै कारमा पटक–पटक बलात्कार गरेको घटना सुनाइन् । डाक्टरले आफूलाई १७ ठाउँमा १७ जनासँग यौन सम्पर्कका लागि पठाएको र हरेकपटक अरूकोमा पठाउँदा उनलाई सुई लगाइदिने र तिनीहरूले पनि हो त नि सिलप्याक त रहेछ नि भन्दै एकदमै खुसी भएको तर आफूलाई एकदमै पीडा हुने गरेको कुरा रुँदै सुनाइरहँदा मैले आफूलाई थाम्न सकिन । हरेक पटकको घटनामा यो कसैलाई सुनाइस् भने तँलाई मारिदिन्छु भन्दै धम्काउने गरेको उनले सुनाइन् । उनलाई असह्य भएपछि बल्ल–बल्ल ज्यान जोगाएर नेपाल सिमानामा आइपुगिन् ।

वैदेशिक रोजगारीमा गएर धेरै पैसा कमाउने लोभमा पर्दा र अरूको ललाइ–फकाइमा पर्दा आफ्नो जीवन नरकमा परेको हुनाले अरूलाई उनी सल्लाह दिँदै भन्छिन्, ‘लोभ, मोहमा परेर पैसाको निम्ति विदेश जानुभन्दा स्वदेशमै रोजगारी गर्नु वेश ।’

प्रकाशित : असार ७, २०७५ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?