मातृभाषा शिक्षाको खाँचो

अध्ययनहरूले देखाए अनुसार दोस्रो भाषामा पढाइने विद्यालयहरूभन्दा पहिलो अर्थात् मातृभाषामा पढाइने विद्यालयहरूमा पढाइ छाड्ने दर कम पाइएको छ ।
तारामणि राई

काठमाडौँ — शैक्षिक गुणस्तरलाई लिएर केही स्थानीय सरकारले सामुदायिक विद्यालयमा रातारात अंग्रेजीलाई अनिवार्य गरेका खबर आइरहेका छन् । केही समयअघि कान्तिपुरमै प्रकाशित एउटा समाचारमा कास्कीका जनप्रतिनिधिले अंग्रेजी माध्ययमा पठन–पाठन अनिवार्य गराउनेगरी एक मतले ताली बजाएको कुरा आएको थियो ।

यो शृङ्खला केही दिनअघि उदयपुरको बेलका नगरपालिकाले अंग्रेजी भाषाप्रति देखाएको मोहसम्म आइपुग्दा एउटा सूची नै तयार हुने देखिन्छ । यस खालका निर्णयले एकातिर संवैधानिक रूपमै नेपाल बहुभाषिक मुलुक भनिए तापनि हो कि होइन भनी प्रश्न गर्ने ठाउँ बनेको छ भने अर्कोतिर अंग्रेजी भाषाको माध्यममा दिइने शिक्षामात्र गुणस्तरको हुन्छ भन्ने भ्रम पैदा भएको छ ।

यस पंक्तिकारको आशय अंग्रेजी भाषाको विरोध गर्नु होइन, बालबालिकालाई दिइने आधारभूत शिक्षाका लागि घर–परिवारमा बोलिने मातृभाषामा दिनुपर्छ भन्नेमात्र आग्रह हो । किनभने पछिल्ला अध्ययनहरूले मातृभाषामा दिइएको शिक्षा दोस्रो सम्पर्क भाषामा दिइएको शिक्षाभन्दा प्रभावकारी हुने देखाएको छ । अमेरिकामै सन् १९९६ देखि २००१ सम्मको भाषिक अल्पसंख्यक बालबालिकाहरूमाथि गरिएको एक अध्ययनले अंग्रेजी भाषालाई दोस्रो भाषाको रूपमा प्रयोग गर्ने विद्यार्थीहरूको तुलनामा एकल अंग्रेजी भाषामा मात्र पढाइएको भन्दा बहुभाषिक विद्यालयमा पढ्ने विद्यार्थीहको सिकाइ उपलब्धिपूर्ण भएको र उनीहरूको अंग्रेजी भाषा पनि राम्रो भएको तथ्य बाहिर आएको थियो (टोमस र कोलिएर, २००२) । त्यसैगरी क्यामरुन, भारत, दक्षिण अफ्रिका, फिलिपिन्स, माली, भियतनाम, भारत, जाम्बिया, केन्याजस्ता मुलुकहरूमा लागु गरिएको बहुभाषिक शिक्षा सफल भएका छन् ।

Citizen

युनेस्कोले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०१८ को अवसरमा यो वर्षको मूलनारा ‘दिगो विकासका लागि भाषिक विविधता र बहुभाषिकता’ तय गरेर आफ्ना सदस्य राष्ट्रहरूलाई यस रूपमा मातृभाषा दिवस मनाउन आह्वान गरेको छ । साथै सांस्कृतिक र भाषिक हिसाबले विविधतायुक्त भएको दक्षिण एसियाली क्षेत्रमा बहुभाषिक शैक्षिक नीति नै हरतरहले उपयुक्त हुन्छ भनी सुझाव दिएको छ । त्यति मात्र होइन, भाषिक आधारमा गरिने कुनै पनि विभेद सामाजिक न्यायको सिद्धान्तको बर्खिलाफ हो भन्दै मातृभाषामा आधारित शिक्षाले मात्र दिगो विकास र विश्वव्यापी शान्ति स्थापना गर्न सहयोग पुर्‍याउँछ भनी घोषणापत्र जारी गरेको छ । नेपाल जस्तो बहुभाषिक मुलुकमा मातृभाषामा आधारित शिक्षा लागु गर्नुपर्ने केही आधार निम्न अनुसार छन् ।

संवैधानिक एवं कानुनी व्यवस्था
२०७२ को संविधानले नै प्रस्तावनामा नेपाल बहुभाषिक मुलुक हो भनी स्वीकार गरेको छ । त्यसैगरी भाग ३ दफा ३१ (५) मा मातृभाषामा शिक्षा लिन पाउने कुरालाई मौलिक हकको रूपमा व्यवस्था गरेको छ । भाग ३२ को २८७ मा भाषा आयोगकै व्यवस्था गरेर मातृभाषाको शिक्षामा प्रयोगको सम्भाव्यताको अध्ययन गरी नेपाल सरकारलाई सुझाव दिनेगरी भाषा आयोगलाई यस किसिमको कामको जिम्मेवारी तोकेको छ ।

विगतका केही ऐन, कानुन र निर्देशिकाहरूले समेत मातृभाषा र मातृभाषाको माध्यमबाट प्राप्त गर्नसक्ने शिक्षाबारे पैरवी गर्दै आइरहेको छ । ती दस्तावेजहरूमध्ये बहुभाषिक शिक्षा कार्यक्रम निर्देशिका २०६६ ले आधारभूत तहसम्म मातृभाषाको माध्यमबाट शिक्षा दिनुपर्छ भन्दै बहुभाषिक नीतिलाई नै अघि सारको छ । तर केही दिनअघि पाठ्यक्रम विकास केन्द्र, सानोठिमी, भक्तपुरले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५ को मस्यौदामार्फत अनपेक्षित ढंगले त्रिभाषिक नीतिलाई अघि सारेर विरोधाभाष सिर्जना गरेको छ, जुन कुरा संविधानकै मर्म र भावना विपरीत छ ।

बालमैत्री वातावरणको विकास
साना उमेरका बालबालिकाहरूले विद्यालयमा आउनासाथ घरपरिवारकै परिवेशको अपेक्षा गर्छन् । विद्यालयमा पनि घरमा बोलिने मातृभाषामा बोल्ने वातावरण हुँदा उनीहरू चाँडै घुलमिल हुनेमात्र होइन, शिक्षक र विद्यार्थी बीचको दूरी पनि एकदम चाँडो कम हुन्छ । मातृभाषामा आधारित शिक्षालाई लिएर जिम क्युमिन्स (ई. २००८) ले दुइटा सिद्धान्तलाई अघि सारेका छन् । पहिलो, आधारभूत आपसी सञ्चार सीप अर्थात् आफ्नो कुरा मातृभाषामा नै व्यक्त गर्न पाउने अवस्था हो ।

बालबालिकाले जब आफ्नो मातृभाषामा आफ्नो आवश्यकतालाई भन्न सक्दैन, त्यसपछि उसको सिकाइ नै प्रभावित हुन्छ । दोस्रो, मातृभाषामा हुने सहज संवाद वा सञ्चारले संज्ञानात्मक एवं बौद्धिक भाषिक क्षमता अभिवृद्धिमा पनि टेवा पुग्छ । तर मातृभाषाको निर्वाध प्रयोग गर्न नपाउँदा र बालमैत्री वातावरण नहँुदा पनि विद्यालयप्रति बालबालिकाहरूको विकर्षण पैदा हुने गर्छ । यसले गर्दा पढाइ नै छाड्ने अवस्थामा पुग्छन् । अध्ययनहरूले देखाए अनुसार दोस्रो भाषामा पढाइने विद्यालयहरूभन्दा पहिलो अर्थात् मातृभाषामा पढाइने विद्यालयहरूमा पढाइ छाड्ने दर कम पाइएको छ । मातृभाषामा प्राप्त गरेको भाषिक सीपले क्रमश: दोस्रो सम्पर्क भाषाका रूपमा रहेका भाषामा पनि चाँडै दख्खल राख्न सक्छन् । साथै मातृभाषा मैत्री विद्यालय हुँदा संज्ञानात्मक र बौद्धिक विकास पनि चाँडै गर्न सक्छन् ।

सांस्कृतिक एवं भाषिक विविधताको संरक्षण
ओफलिया गार्सिया र लि वई (२०१४) ले बहुभाषिक शिक्षाको माध्यमबाट मातृभाषा सँगसँगै संस्कृतिको संरक्षण हुने बताउँछन् । नेपालका लागि त यो धारणा निकै सान्दर्भिक हुने देखिन्छ । मूलत: ४ परिवारका १२३ वटा भाषा बोलिने नेपालमा १२५ जातजाति छन् । सांस्कृतिक विविधता पनि त्यतिकै छ । त्यसैले मातृभाषाको माध्यमबाट युगौंदेखि नि:सृत आदिवासी ज्ञान, सीपजस्ता कुरा पनि पुस्तान्तरण र संरक्षण हुनसक्छ ।

हवाई र माओरी जस्ता आदिवासी भाषाहरूमा उच्च तहको शिक्षामा अध्ययन केन्द्र नै खडा गरेर आदिवासीको ज्ञानलाई स्रोतका रूपमा संरक्षण गर्दै आइरहेको छ भने यस सम्बन्धी डिस्कोर्स पनि हुँदै आइरहेको छ । नेपालमा पनि संख्याका हिसाबले भोट–बर्मेली भाषा परिवारका झन्डै ६४ वटा भाषा बोलिन्छन्, जुन आदिवासी जनजातिले बोल्ने भाषाहरू हुन् । नेपालको आदिवासीय ज्ञानलाई पनि मातृभाषाको माध्यमबाट संरक्षण एवं सम्बद्र्धन गर्न सकिन्छ ।

आर्थिक भार कम र बढी प्रतिफल
मालीमा गरिएको विश्व बैंंकको एक अध्ययनले बहुभाषिक शिक्षाको लगानी एकल भाषामा पढाइ हुने विद्यालयभन्दा धेरै कम भएको देखाएको छ । त्यसैगरी क्याथलिन ह्युग र अन्य (ई. २००६) ले गरेको अध्ययनले समेत कम लगानीमा बढी प्रतिफल प्राप्त भएको तथ्यलाई उल्लेख गरेको छ । लगानीको कुरा सँगसँगै जुन उद्देश्यसाथ बालबालिकालाई शिक्षा दिन खोजिएको हो, त्यो लक्ष्य हासिल भएको कुरा बाहिर आएको छ ।

साथै मातृभाषाको माध्यमबाट दिइने शिक्षामा अभिभावकको सहभागिता र भाषिक समुदायले अपनत्व बोध गरेको तथ्य पनि बाहिर आएको छ । यो निकै सकारात्मक कुरा हो । तर नेपालजस्ता मुलुकहरूमा दोहोरो शिक्षा प्रणालीका कारण केही चुनौती अवश्य छन् । सामुदायिक विद्यालयमा आकर्षण छैन । खर्च गरेरै संस्थागत विद्यालयमा पढाइएको बालबालिकाले मात्र राम्रो गर्न सक्छ भन्ने सामाजिक मोनविज्ञान छ । यो भ्रमलाई चिर्दै सरकारले मातृभाषमा आधारित बहुभाषिक शिक्षालाई निर्देशिकामार्फत नियमन गर्ने र यस सम्बन्धी देखिएको प्रवृत्तिगत धारणालाई नै बदल्न सक्नुपर्छ । यसका लागि अभिभावक, शिक्षक र सरकारको प्रत्यक्ष सरोकार हुन आवश्यक छ ।

सार्वभौमिकता बलियो बनाउन
अन्य भाषाको दास हुने मनोवृत्तिको अन्त्यका निम्ति पनि मातृभाषामा शिक्षा अपरिहार्य छ । मातृभाषाको प्रयोगले भाषिक सार्वभौमतालाई कायम गर्न ठूलो मद्दत गर्छ । वास्तवमा भाषा आफैंमा सानो या ठूलो भन्ने हुँदैन । तर प्रयोग क्षेत्र र विस्तारका आधारमा मात्र ठूलो र सानो भन्ने गरिएको हो । यदि हामीले दोस्रो भाषाको रूपमा रहेको सम्पर्क भाषाको माध्यम जस्तै– अंग्रेजी भाषा आदिको माध्यमबाट जबर्जस्त पढाउनु भनेको भाषिक मानव अधिकारको हनन हो । त्यसैले यस खालका कुरामा गम्भीर हुनुपर्छ ।

कमसेकम आधारभूत तहको शिक्षा मातृभाषामा दिन सकियो भने क्रमश: उमेर र तहगत हिसाबले अंग्रेजी लगायत अन्य सम्पर्क भाषा माथिल्ला कक्षामा पढ्न थाल्छन् । विश्व बजारमा प्रतिस्पर्धा गर्न अंग्रेजी भाषा पनि उत्तिकै आवश्यक छ । तर अंग्रेजी नै नजानिकन केही सिकिँदैन वा ज्ञान प्राप्त हुँदैन भन्ने कुरा विलकुलै भ्रममात्र हो । कोलिन बेकरले भनेझैं बरु मातृभाषामा प्राप्त ज्ञानको सीपले दोस्रो भाषाको सिकाइमा सहजता हुन्छ । नेपाली भाषा मातृभाषा नहुनेको हकमा मातृभाषामा प्राप्त भाषिक सीपले दोस्रो भाषा नेपाली वा अंग्रेजीजस्ता भाषाहरू सिक्न मद्दत पुग्छ ।

यसले एकातिर मातृभाषाप्रतिको प्रगाढतालाई जोड्छ भने भाषाको संरक्षण पनि हुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा मातृभाषाप्रतिको सम्मोहन जगाउन सकियो भने भाषिक उपनिवेशबाट जोगिन सकिन्छ भने यसले नेपालको सार्वभौम बलियो बनाउन मद्दत गर्छ । उल्लेखित आधारहरूले नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षा लागु गर्न आवश्यक छ ।

डा. राई त्रिवि भाषाविज्ञान केन्द्रीय विभागका उपप्राध्यापक हुन्।

प्रकाशित : असार ९, २०७५ ०८:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जीवन काम लाग्ने बनाऔं

आफ्नै परिवेश
झमक घिमिरे

काठमाडौँ — यहाँ आफ्नैलागि बाँच्ने र हाँस्नेहरू धेरै छन् । हुन त मान्छेको जातै आफ्नोलागि मात्र सोच्छ र आफ्नै सुखसुविधामा रमाउँछ । संसारमा धेरै मान्छेमात्र यस्ता हुन्छन्, जो अरूको निश्चल हाँसोमा रमाउँछन् । अरूको खुसीमा आफ्नै खुसी ठानेर रमाउँछन् ।

जो समाज, देशका लागि केही गरौं भन्छन्, मानव दुनियाँका लागि केही गरौं भन्छन् । त्यस्तो मान्छे समाजमा थोरै हुन्छन् र आदरणीय हुन्छन् । यस पंक्तिकारसँग समाजका विभिन्न क्षेत्र, वर्गका मान्छेसँग साक्षात्कार हुने गरेको छ । कहिले मजदुर, ज्यालादारी काम गरेर बिहान–बेलुकीको छाक टार्नेहरूसँग भेटघाट हुने गरेको छ । उनीहरूसँग गफगाफ, भेटघाट गर्दा म छुट्टै आनन्दको अनुभूति गर्छु । किनभने उनीहरूको सरलता र सहजताभित्र आफ्नोपनको आभास गर्छु ।

ठूलाठालुको देखावटीपनबाट वाक्क लागेको बेला यिनीहरूको सरलपन मेरो एउटा औषधी बन्ने गरेको छ । कहिलेकाहीं देशको उपल्लो तह सम्हाल्ने मान्छेहरूसँग पनि साक्षात्कार हुने गरेको छ । उनीहरू मध्ये थोरैले मात्र आफ्नोपन देखाउने गरेका छन् । उपल्लो तहमा पुग्नेहरूमध्ये थोरैको मात्र अरूका लागि पनि सोच रहेको पाउँछु म, आम मान्छेको बारेमा चिन्ता र चिन्तन रहेको देख्दा आफैंमा आह्लादित हुन्छु । भित्रभित्रै श्रद्धाले भरिन्छ, मन ।

अहिलेका मान्छेको प्रवृत्ति हेर्दा लाग्छ, सबैभन्दा स्वार्थी जात भनेकै मान्छे हो । हुन पनि हो, मान्छे आफ्नै स्वार्थमा बाँच्छ र हाँस्छ । यदि मान्छेको समूह र जमातभित्र पनि सबै एकै खालका मान्छे कहाँ हुन्छन् र ? थोरै मान्छेले अरूका लागि पनि सोच्छन् र आफ्नो देश र समाजका लागि पनि सोच्छन् । त्यस्तै मान्छे खोज्दै तिनीहरूको विचार जोख्दै, चाख्दै बितेका छन्, कैयौं दिनहरू मेरा । सबै खालका विचार बोक्ने मान्छेलाई उत्तिकै सम्मानजनक व्यवहार गर्ने गरेको छु ।

मैले जिन्दगीमा यी मान्छेहरूबाट के सिकँे भने आखिर जीवन बाँच्नु त छँदैछ, तर मान्छेका प्रवृत्ति अनेक खालका हुन्छन् । किनभने तिनीहरू फरक–फरक परिवेशबाट आएका हुन्छन् । तिनीहरूको मनोभावना पनि अनेक खालका हुन्छन् । त्यसैले मानव दुनियाँ पनि कहाँ सुखी र खुसी छ र ? अनेक खालका पीडा, दु:खहरू छन्, ती मान्छेका । यी पीडाहरू निकाल्दा कति खुसी हुने गरेका छन् † बाँड्न नसके पनि अलिकति पीडामात्र सुनिदिँंदा पनि मान्छे कति प्रफुल्ल हुन्छन् । यहाँ मान्छेको मुहारमा प्रफुल्लता देख्दा मनमा आनन्दको भाव जाग्छ । यही मान्छेलाई प्रगेल्ने क्रममा यो पंक्तिकारले यस्ता मान्छेलाई पनि भेट्ने गरेकी छे, जो समाजका लागि केही योगदान दिन चाहन्छन् र वर्षाैंदेखि गुनासो पालेर बसेका छन्, मनभरि एक प्रकारको कुण्ठा बोकेर बसेका छन् । यी मान्छेलाई भेट्दा लाग्छ, यिनले समाजमा गर्ने कामको मेलोमेसो भेटाएकै छैनन् ।

हाम्रो समाजमा यस्ता मान्छेहरू पनि छन्, जो जीवनको अर्थ सामाजिक काम गरेर खोजिरहेका छन् । आफ्नो आत्मसन्तुष्टि पनि यसैमा भेट्टाइरहेका छन् । अनि जीवनदेखि खुसी छन् । साँच्चै यस्ता मान्छेलाई भेट्दा गर्वको बोध हुन्छ । हुन त सबै मान्छेले आफ्ना–आफ्ना क्षेत्रबाट समाजलाई नै थोरबहुत योगदान गरिरहेका हुन्छन् । यहाँ केही मान्छे छन्, जो केही पनि गर्दैनन्, समाजमा काम गर्नेहरूको पनि बाधक बनिरहेका हुन्छन् । यस्ता मान्छेले चाहिँ जीवन आफ्नो त व्यर्थ फाल्छन्–फाल्छन्, अरूको पनि जीवन व्यर्थमा फालिदिन खोज्छन् । जो आफ्नोमात्र स्वार्थ ठूलो ठान्छन्, सानोभन्दा सानो कुरामा पनि अधिक समय लिन्छन् ।

आफैमात्र खुसी हौं भन्ने मान्यता राख्छन् । आखिर मान्छेको जीवन न हो, जति खुसी आफ्ना लागि मात्र थुपारे पनि त्यो सारा छोडेर एकदिन छोडेरै सबैले जानैपर्छ । त्यसैले यस पंक्तिकारको के मान्यता छ भने सबै मान्छेले जहाँ जे जुनसुकै क्षेत्रमा होस्, त्यो व्यक्तिले आफ्नो वरिपरिको वातावरण साँच्चै अरूका लागि रमाइलो बनाओस् । जीवन आफ्नै लागिमात्र हो भन्ने सोचबाट अलिकति माथि उठेर जीवन र जगतलाई हेरोस् । त्यसका लागि अलिकति आफ्नो स्वार्थ त्याग्नुपर्छ । अनि मात्र अरूलाई पनि आफ्नै ठानेर प्रेम गर्न थाल्छ । अनि मात्र जीवन सृष्टिका लागि काम लाग्छ । समाजका लागि काम लाग्छ । अनि विश्व जगतका लागि काम लाग्छ ।

प्रकाशित : असार ९, २०७५ ०८:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT