२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

कहिलेसम्म ट्राफिक जाम ?

स्वरूप आचार्य

काठमाडौँ — ‘काठमाडौंको कुनचाहिं सडक जाममुक्त होला ?’ यो प्रश्नको उत्तर खोजिरहनै पर्दैन । यसको सिधा जवाफ छ– ‘त्यस्तो कुनै सडकै छैन ।’ हुन पनि हो । काठमाडौंका हरेक साना–ठूला सडकमा दिनको कुनै न कुनै समय जाम हुन्छ नै । ठूला फराकिला भनिएका सडकमा सार्वजनिक बस, माइक्रो, ट्याम्पु र ट्याक्सीले जाम हुन्छ भने साना सडक भने बाटै ढाकिने गरी लाज पचाएरै पार्किङ गरिएका निजी सवारीसाधन वा मोटरसाइकलले गर्दा ।

कहिलेसम्म ट्राफिक जाम ?

काठमाडौंको सबैभन्दा धेरै लामो जाममा परिने क्षेत्र भनेको कलंकी आसपास, नारायणगोपाल चोक र कोटेश्वर नै हो । यी क्षेत्रमा जामको मुख्य कारक सार्वजनिक यातायात नै हुन् । जाम हुने क्षेत्रको सडकलाई नियाले त्यहाँ केही समानता पाइन्छ । सबैभन्दा पहिला त जाम हुने क्षेत्रमा ट्राफिक लाइट नै छैनन् । त्यसपछि अर्को मुख्य समानता भनेको ती चौबाटोहरूको चारैतर्फको चोकमै सार्वजनिक बसका यात्रु चढाउने र ओराल्न बनाइएका बस बिसौनी छन् । त्यसमा अविवेकी चालक र अबुझ पैदलयात्रुले उक्त सामान्य जामलाई कठिन बनाइदिन्छन् । त्यसमा सधैं हतारमा हुने नेपाली ‘भ्यालेन्टिना रस्सी’हरूले थप प्रेसर थपिदिन्छन् ।

ट्राफिक प्रहरी, चालक र यात्रुहरू सबैले विवेक नपुर्‍याउने हो भने काठमाडौंका सडक जति नै फराकिला बनाइए पनि जामको समस्या हट्नेवाला छैन । सबैको संयुक्त प्रयास भएमा काठमाडौंमा हुने घन्टौं लामो जामको समस्या पूर्ण रूपमा त हट्ला न हट्ला, तर कम भने अवश्य नै हुन्छ ।

ट्राफिक लाइटको अभाव
काठमाडौंको बानेश्वर र नारायणगोपाल चोकबाहेक अन्य कुनै पनि चोकका ट्राफिक लाइटले काम गर्दैनन् । जामको मुख्य समस्या सडक यात्रालाई सुरक्षित र सजिलो बनाउन अत्यावश्यक मानिएको ट्राफिक लाइट नहुनु हो । ट्राफिक लाइट अभावमा अहिले ‘धुलाम्मे’ ट्राफिकहरू हातमा दिनको समयमा ‘स्टप/गो’ लेखिएको प्लेकार्ड र साँझ ट्राफिक ब्यटन (बत्ती बल्ने रड) बोकेर सवारी आवागमन चुस्त राख्न प्रयत्नरत हुन्छन् । तर, यही प्रयत्न कतिपय समय उनीहरूले पनि पत्तो नै नपाई जामको कारक बनिदिन्छ ।

‘ट्राफिक प्रहरी आफैं जामका कारक हुन्’ भन्ने टिप्पणीले लगभग १८ घण्टा सडकमा खटिने राष्ट्र सेवकहरूको चित्त नबुझ्न सक्छ । त्यो जायज पनि हो । तर, केही काम यस्ता हुन्छन् जसको जस जति अरूलाई जान्छ र अपजस जति आफ्ना थाप्लामा पर्छ । सडकमा खटिने ट्राफिकको काम पनि त्यही प्रकृतिको हो । ‘जाम कम भए हाकिमले गरेर, जाम भए आफ्नो गल्ती,’ यहाँको चलन नै यस्तै छ ।


यस्तै चलनमा ‘बिचरा’ ट्राफिकले पनि गरून् के ? एकतर्फ सिनित्तै पारेर मात्रै अर्कोतर्फको सडक खोल्नु काठमाडौंको ट्राफिक जाम र व्यस्त चोकमा हुने दुर्घटनाका पनि प्रमुख कारक हुन् । यो तथ्यको औपचारिक रूपमा कुनै अध्ययन गरिएको छ कि छैन त सम्बन्धित निकायले नै जानून् । तर, सडक किनारमा बसेर नियाल्ने मात्रै हो भने पनि बिनाकुनै अध्ययन नै यो भनाइमा सत्यता छ भन्न गाह्रो पर्दैन ।

उदाहरणका लागि कोटेश्वरको चोकमा खटिएको ट्राफिकले बालकुमारीबाट जडीबुटीतर्फ जाने सडक खोल्दा तीनकुने र जडीबुटीबाट आइरहेका सवारी साधनलाई रोक्नुपर्ने हुन्छ । अब बालकुमारीबाट आएका गाडी ननिख्रिउनजेलसम्म दुईतर्फका सडक अवरुद्ध गर्दा त्यसको ‘चेन इफेक्ट’ तीनकुनेतर्फ शान्तिनगरसम्म र जडीबुटीतर्फ लोकन्थली र पेप्सीकोलासम्म पर्छ । यी त भए सिधा देखिने असर । त्यसपछिका साहयक मार्गदेखिका सडकमा पर्ने असरको त चर्चा गरेरै सकिन्न ।

ट्राफिक लाइटले जसरी एउटा नियमित अन्तरालमा सबैतर्फका सडकका ट्राफिकलाई खोल्ने काम गर्छ, त्यसरी नै ट्राफिक प्रहरीले पनि घडी नै हेरेर नियमित गरे हुन्न ? त्यसो नगर्दा पहिला त जाम खुलेको बेलामा चोकबाट गाडी पार गराउन तँछाड–मँछाड नै चल्छ । त्यो जायज पनि हो । किनभने ट्राफिकले सडक रोकिदियो भने फेरि कतिबेला खुल्छ पत्तो नै हुँदैन । एउटा निश्चित सयममा सडक खुल्छ भन्ने भयो भने जो पनि आफ्नो पालो कुरेर बस्न तयार हुन्छ । तर पेलेर जाने अगाडि बढेको बढ्यै र लाइनमा बस्ने सधैं कुरेको कुर्‍यै हुने भएपछि ‘कुर्ने त कुरै आउँदैन, हुँइकाउने हो’ भन्ने मानसिकता सवारी चालकमा हावी भएको देखिन्छ ।त्यसैले कि त चोकमा बस्ने ट्राफिकलाई निश्चित समयको हेक्का राख्न पनि सिकाइनुपर्‍यो, नभए सजिलो उपाय पनि छ– चोकचोकमा भएका ट्राफिक लाइट मर्मत गर्ने ।

चोकको मुखमै बस बिसौनी
हरेक नयाँ, पुराना चोकको मुखमै बस बिसौनी किन छ ? ट्राफिकले व्यस्त चोकको मुखमै यात्रु चढाउन र ओराल्न किन दिन्छ ? चोकको मुखैमा रहेका यस्ता बिसौनीले त्यहाँको सडकलाई अस्तव्यस्त नै बनाइरहेका छन् ।चोकको जाम खुल्नेबित्तैकै पारि गएर यात्रु चढाउने र ओराल्ने सार्वजनिक यातायातको प्रतिस्पर्धाले अन्य सवारीलाई मार पर्छ ।

विशेष गरेर माइक्रो र बसले दायाँ कुनाबाट बायाँ कुनामा रहेको बिसौनीमा गाडी पुर्‍याउन गर्ने होडबाजीले अन्य गाडीलाई छास्स–छुस्स छुनु त सामान्य नै भयो, कहिलेकाहीं भने गम्भीर दुर्घटना पनि हुन्छ । त्यसपछि अगाडि रहेको गाडीले यात्रु कुरेर बसेपछि त्यसको पछाडि रहेका गाडीको लाइनले सडक जाम गरिदिन्छ । त्यहाँ खटिएका ट्राफिक प्रहरीले गाडीलाई त अगाडि बढ भन्दैनन् । तर गाडीले सडक छेकेर रोकेको झोंकमा कसैले हर्न बजाए भने कारबाही हुन्छ ।

यसमा चालकको अविवेकी पारा त छर्लंग हुन्छ नै यात्रुहरूको अल्छीपना पनि देखिन्छ । जति अविवेकी चालक छन्, त्यति नै ‘मूर्ख’ यात्रुहरू पनि छन् । उनीहरू दुई पाइला चाल्नलाई अल्छी मान्छन् र जाममा पर्दा ट्राफिक र गाडीलाई सराप्छन् ।हरेक यात्रुलाई आफू चढ्ने र ओर्लने ठाउँमै बस बिसौनी हुनुपर्छ । अफिस, घर वा कुनै रेस्टुरेन्ट नै किन नहोस्, त्यसैको बाहिर हात दिनेबित्तिकै गाडी रोकिनुपर्छ भन्ने मान्यताले यात्रुलाई गाँजेको छ । त्यो मान्यतालाई नहटाएसम्म जामको एउटा कारक यात्रु आफैं पनि हुन् ।

‘मूर्ख’ पैदल यात्री
सडकमा पैदलै हिँड्नेले गाडीहरूका कारण जाम भएको गनगन गरे पनि त्यो जामको एक कारक उनीहरू आफैं पनि हुन् । जेब्राक्रसमा खुट्टा परेपछि गाडी रोकिनुपर्छ भन्ने मात्रै उनीहरूलाई थाहा छ । तर ढल्की–ढल्की गफिँदै सडक काट्दा हजारौं यात्रुलाई असर पर्छ भन्नेमा उनीहरूलाई मतलबै हुँदैन । एकैछिन कुरेर केही मान्छे जम्मा भएपछि समूहमा सडक काटे सवारी आवागमनको गतिमा धेरै बाधा पर्दैन । एक–एकजना गरी सडक काट्ने हो भने त सडकमा गाडी हैन मान्छे हिँडे हुन्छ ।

सधैं हतारमा हुने मोटरसाइकल
राजधानीमा मोटरसाइकल चलाउने जति सबैले आफूलाई कुनै न कुनै रूपको ‘रेसर’ र ‘स्टन्टम्यान’ सम्झिन्छन् । यसरी सडकमा ‘रेसर’ वा ‘स्टन्टम्यान’ भएर बत्तिनेहरूले आफ्नो बाइक हुँक्याउने क्षमता कहीँकतै साबित गर्ने मौका पाउँछन् कि पाउँदैनन् त्यो त थाहा भएन तर आफूलाई विवेकहीन भने हरपल साबित गरिरहेका हुन्छन् ।

जाममा सकेसम्म पर्न नपरे हुन्थ्यो भन्ने सबैलाई लाग्छ । मोटरसाइकल चालकहरूलाई झन् बढी लाग्छ । त्यसैले त कहिलेकाहीं त पैदलयात्रु हिँड्ने फुटपाथलाई उनीहरू राजमार्ग देख्छन् र जाममा रोकिएका गाडीहरूबीचको ‘ग्याप’लाई बाटो देख्छन् । त्यस्ता बाटा कहिलेकाहीं अचानक साँघुरो भइदिँदा उनीहरू ‘इरिटेट’ बन्छन् । उनीहरूलाई न लेनको मतलब हुन्छ न पालो कुरेर बसिरहेका अन्य गाडीहरूकै ।

उनीहरूले एक्सिलेटर बटार्दा मोटरसाइकल हुइँकियो भने ठीक छ, होइन भने चोकमा बसेका राष्ट्रसेवक ट्राफिक प्रहरीहरू निकम्मा हुन्छन्, पैदलयात्रु ‘मूर्ख’ र गाडी चालकहरू मिचाहा ।

प्रकाशित : असार १०, २०७५ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?