१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अन्धविश्वासको नग्नता

सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणद्वारा मात्रै समाजमा व्याप्त अन्धविश्वास र बेतिथि हटाउन सकिन्छ ।
कल्पना धमला

काठमाडौँ — गरिब र अविकसित देशमा समाज अदृश्य शक्ति, बोक्सी, भूतप्रेत, पिचास, देवीदेवताको दोषजस्ता अन्धविश्वास र रुढीवादबाट ग्रसित छन् । रोग लाग्नु, प्राकृतिक प्रकोप आउनुको कारण भूतप्रेत, बोक्सी, देवीदेवताको दोष र श्राप रहेको ठानेर झारफुक, पाठपूजा गर्ने प्रचलन हुन्छ । अदृश्य शक्तिमाथि विश्वास गर्नेहरूले पनि समाज र प्रकृतिका प्रतिकूल वातावरणले रोग लाग्छ, प्राकृतिक प्रकोप आउँछन् भन्ने कुरा स्वीकार गर्दैनन् ।

अन्धविश्वासको नग्नता

वस्तुले चेतना निर्धारण गर्छ, त्यसैले प्रकृति, समाज र विज्ञानको अन्योन्याश्रित सम्बन्ध हुन्छ भन्ने कुरा बुझ्न नसकेका समाज र क्षेत्र अन्धविश्वासबाट बढी ग्रसित छन् । हाम्रो देशमा खासगरी गरिबीको रेखामुनि रहेका पिछडिएका जाति, समुदाय, क्षेत्र र लिङ्गमा अन्धविश्वासले बढी घर गरेको देखिन्छ । आफूलाई सभ्य ठान्ने अरूका अगाडि लाज मानेर आफू अन्धविश्वासमा संलग्न भएको देखिन नचाहने तर भित्रभित्रै भने आस्था र विश्वासमा लिप्त रहनेहरू पनि कम छैनन् । मानिसले धार्मिक आस्थाका आधारमा पुस्तौंदेखि यस्ता कुरामा विश्वास गर्दै आएका छन् । उनीहरू यस्ता कुरा अकाट्य रहेको भ्रममा छन् । अन्धविश्वासको मुख्य प्रभावित क्षेत्र स्वास्थ्य बनिरहेको छ र धेरै नेपालीले अकालमै मृत्युवरण गर्नु परिरहेको छ । यसको प्रभाव विभिन्न रूपमा देशैभरि वर्ग, जाति, क्षेत्र र समुदायमा देखिइरहेकै छन् ।

जीवनमा पर्ने र परिरहेका समस्याबाट निकास खोज्न देवीदेवता भाक्ने, पाठपूजा गर्ने, धामी–झाँक्री हेराउने र छाउगोठमा राख्ने जस्ता उपाय खोज्नेहरूका कारण समाजमा विभिन्न खालका समस्या देखिएका छन् । जस्तो– छाउगोठमा महिला बलात्कृत हुने, सर्पले डसेर मर्ने जस्ता घटनाको निरन्तरता, बोक्सी भनेर महिलाले नै महिलालाई घृणा, यातना, प्रताडना र हत्या गर्ने, बकाउने बहानामा बर्बर यातना साधु, सन्त, धर्मगुरु, झाँक्रीहरूबाट बलात्कार हुनु । प्राय: गरिब र एकल महिलालाई बोक्सी भनेर मलमूत्र खुवाई यातना दिएर हत्या गरेको देखिन्छ । गैरदलितले दलितलाई अछूत भनेर दुव्र्यवहार गरेको पनि पाइन्छ । दलितभित्रै पनि उँचनिचको भावना अनुसार व्यवहार हुने गरेको पाइन्छ ।

अन्धविश्वास र सामाजिक स्वार्थ
अन्धविश्वासबाट समाजका सामन्तवादी, पितृसत्तात्मक सोच र विचार बोकेका आफूलाई टाठाबाठा भनी ठान्नेहरूले वर्गीय, लैंगिक र जातीय उत्पीडन तथा पुरोहितावादको स्वार्थ पूरा गर्दै आएको पाइन्छ । अन्धविश्वासमा अवस्तुवादी, अवैज्ञानिक आस्था र विश्वाससँगै स्वार्थको गन्ध पनि लुकेको छ भन्न सकिने आधार समाजमा घट्ने र देखिने गरेका घटनाबाट थाहा पाउन सकिन्छ । कुनै काल्पनिक शक्ति छ, जसले आफ्नो रहस्यमय बलले आफूले चाहेको जस्तो अरूको अहित गर्न सक्छ, त्यो काल्पनिक शक्ति खुसी वा दु:खी हुन्छ, त्यसलाई रिझाउनु या तह लगाउनुपर्छ भन्ने खालका अवैज्ञानिक, अवस्तुवादी चिन्तन र विश्वास व्याप्त हुनु समाज विकासको बाधक हो ।

हिन्दु धर्म र परम्परा लैंगिक भेदभावमा बढी आधारित भएकाले पनि समाजमा पुरुष र महिला बीचको भेदभाव गहिरिएको हो । धर्म र सामाजिक परम्परालाई आधार बनाउने समाज, जाति, क्षेत्र र समुदाय आजसम्म पनि अन्धविश्वासको चक्रव्यूहमा रुमलिएको छ भने विज्ञान र विकासको गतिभन्दा निकै पछाडि परिरहेको प्रस्ट नै देखिन्छ । प्रकृति, समाज र वस्तुका विशेषताको आधारमा जीवनको हरेक कुरालाई वैज्ञानिक प्रयोग गर्नसक्नु र सिकाउनु समाजमा अग्रगामी चेतना भएकाहरूको दायित्व हो । ज्ञान–विज्ञानका आधारमा प्रयोग गरेर सत्यतथ्य पत्ता लगाइसकेको विज्ञानको नियम र विचारद्वारा पुरानो रुढीवादी, कुसंकार, धर्मपरम्परा र अन्धविश्वास अन्त्य गर्न सामाजिक अभियान समाजका अगुवाहरूले नै गर्नुपर्छ । राज्यले धर्म निरपेक्षताको संवैधानिक व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।

अछाम छउगोठ घटना
महिनावारी प्रकृतिक रूपले नै सन्तान उत्पादन गर्नसक्ने परिपक्वताको नियमित प्रक्रिया हो, जुनबेला बाह्य सरसफाइ, पोषिलो आहारविहार र आराम आवश्यक पर्छ, तर महिनावारी हुँदा महिला बिटुलो हुने, छुन नहुने, त्यसो गरे देवीदेवता रिसाएर दु:ख दिन्छन्, महिला स्वयम्लाई पाप लाग्छ र मरेपछि पनि सुख हुँदैन, पापले नर्कमा पुर्‍याउँछ भन्ने जस्ता अन्धविश्वासले महिलाको दिमाग घुमाइदिएको छ । एक्काइसौं शताब्दीको वैज्ञानिक परिवेश बुझेका महिला, पुरुषले पनि यस्तो अन्धविश्वासमा परी महिनावारीका बेला बार्ने गर्छन् ।

सुदूर पश्चिममा महिनावारी बार्ने नाममा घरमा समेत बस्न नदिएर टाढा छुट्टै गोठ बनाएर राख्ने परम्परा छ । त्यही कारण महिला सरसफाइ, पोषिलो खानपान र आराम नपाएर पाठेघर खस्ने समस्याले पीडित हुने गरेका छन् । छाउगोठमा बलात्कृत हुने, सर्पले डसेर मृत्यु हुने जस्ता घटना घटिरहेका हुन्छन् । अछाममा केही साताअघि १८ वर्षीया किशोरी पार्वती बुढाको छाउगोठमा सर्पले डसेर मृत्यु भयो । धर्म, परम्पराका नाममा घटेको यस्तो घटना लज्जास्पद छ । यस्ता कुरीति अन्त्य गर्ने पहल कसले गर्ने ?

गैरजिम्मेवार राज्य
संविधानको धारा १८ (३) मा समानताको हक अन्तर्गत ‘राज्यले नागरिकबीच उत्पत्ति, धर्म, वर्ण, जातजाति, लिङ्ग, आर्थिक अवस्था, भाषा, क्षेत्र, वैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा भेदभाव गर्ने छैन । तर सामाजिक वा सांस्कृतिक दृष्टिले पिछडिएका महिला, दलित, आदिबासी जनजाति, मधेसी, थारु, मुस्लिम, उत्पीडित वर्ग, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, किसान, श्रमिक, युवा, बालबालिका, ज्येष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक, अपांगता भएका व्यक्ति, गर्भावस्थाका व्यक्ति, अशक्त वा असहाय पिछडिएको क्षेत्र र आर्थिक रूपले विपन्न खस–आर्य लगायत नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानुन बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको मानिने छैन’ लेखिएको छ ।

तर आज धर्म, संस्कृति र परम्पराको नाममा छाउगोठमा किशोरीको मृत्यु शृंखलाबद्ध भइराख्दा सरकारले किन छाउगोठ भत्काउने योजना बनाउन सक्दैन ? समाजमा व्याप्त अन्धविश्वास, परम्परा, कुसस्ंकार वैज्ञानिक चेतनाको अभाव र गरिबीसँगै गाँसिएका छन् । पिछडिएको क्षेत्र र चेतना नभएका ठाउँमा वैज्ञानिक चेतना जगाउने कार्यक्रम चलाउने, घटनामा सम्मिलितलाई दण्ड–सजायको कानुनी व्यवस्था गर्न राज्य उदासीन देखिन्छ । सामाजिक, सांस्कृतिक, आर्थिक रूपले विपन्न र पिछडिएको क्षेत्रका नागरिकको संरक्षण, सशक्तीकरण वा विकासका लागि विशेष व्यवस्था गर्न सरकार र सत्तारुढ पार्टीहरू किन मौन छन् ? संविधानमा गरेको व्यवस्था तत्काल कार्यान्वयन गर्नु राज्यको दायित्व हो ।

निष्कर्ष
समस्याको समाधान घटना विशेषमा होइन, सारमा खोजिनुपर्छ । संविधान र कानुन औपचारिक लेखाइ र भनाइमा मात्र होइन, व्यावहारिक कार्यान्वयन गर्नुपर्छ । समाजमा व्याप्त अन्धविश्वास, कुसंस्कार, वैज्ञानिक चेतनाको अभाव र राज्यको उदासीनताका कारण ज्युँकात्युँ छन् । त्यसैले विज्ञान र अन्धविश्वास बीचको बहसलाई सामाजिक जागरणका रूपमा अगाडि बढाउनु आवश्यक छ । राज्य पनि जिम्मेवार बन्नुपर्छ । राज्यले वैचारिक र व्यावहारिक चेतना दिने पाठ्य–सामग्री, सामाजिक अभियान तथा आर्थिक उत्पादनका कार्यक्रम सञ्चालन र समतामूलक वितरण प्रणाली, घटनाका दोषीहरूलाई दण्ड–सजायको कानुनी व्यवस्था गर्नुपर्छ । सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपान्तरणद्वारा मात्रै समाजमा व्याप्त अन्धविश्वास र बेतिथि हटाउन सकिन्छ ।

नयाँ शक्ति पार्टीकी नेतृ धमला पूर्व विज्ञान तथा प्रविधिमन्त्री हुन् ।

प्रकाशित : असार ११, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?