मनमा एउटा र बाहिर अर्कै कुरा

नवीन रायमाझी

काठमाडौँ — भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्र प्रसादले भारतीय समाजको बारेमा भनेका थिए, "जब पैसा बोल्न सुरु गर्छ, त्यसपछि सबै चुप लाग्छन्" अर्थात् समाजमा धनीले जे गरे पनि गरिबले सहन्छन् वा धनीसँग असहमति प्रकट गर्न सक्दैनन् ।

चालिसको दशकको भारतीय समाजको बारेमा उल्लेख भएको यो प्रसंग अहिले पनि मिल्दोजुल्दो छ र सायद पहिलेको भन्दा पनि बढि । बलेको आगो ताप्ने र मौसम अनुसारको ट्युनिक लगाउने हाम्रो समाज पनि डा. प्रसादले उल्लेख गरेको जस्तै छ । हाम्रो समाजमा मान्छेको मूल्यांकन सबैभन्दा पहिले रुप र धनबाट हुन्छ, दुवै पक्ष ठिक छ भने त सुनमा सुगन्ध भयो तर धेरैजसो अबस्थामा रुपलाई पनि धनले नै जितेको हुन्छ ।

Yamaha

मेरो एक छिमेकी संयुक्त परिवारमा बस्छन्, बाबुआमा, तीन बिबाहित छोरा बुहारी र उनीहरुका बच्चाहरु तथा एक अबिबाहित छोरासहित १३ सदस्यीय परिवारमा सबै एकै प्रकारको आर्थिक अबस्था भएको हुने कुरा भएन । करेसो जोडिएको घर भएको कारण नचाहेरै पनि धेरै कुरा देखिन्थ्यो र बुझिन्थ्यो । कमाई राम्रो हुनेको चुरीफुरी हुने नै भयो र उनीहरुको अगाडी सबै नतमस्तक हुने नै भए, जसको कमाई राम्रो थिएन उसले घरको सबै काम गरेर पनि चौबिसै घण्टा गाली खानु पर्थ्यो । लगभग उस्तै उमेरका भए पनि अरुले धनीको बच्चालाई गर्ने ब्यबहार र गरिबको बच्चालाई गर्ने ब्यबहारमा आकाश पातालको फरक थियो । धनीको बच्चा रोए भने उसलाई फकाउन कोहि गीत गाउने त कोहि नाच्ने गर्थे र गरिबको बच्चा रोए भने "हरे यो कति रुन्छ" भनेर मुख बिगारेर झनै तर्साउथे । यस्ता ब्यबहार त मैले बाहिरबाट मात्र देखेर अनुमान लगाएको हो, घर भित्र कस्तो ब्यबहार हुन्थ्यो होला त्यो म अनुमान लगाउन सक्दिन । उसैपनि कुनै घरमा दुई वा दुई भन्दा बढि बुहारीहरु छन् भने जो सबैभन्दा गरिब छ वा जसको माइती कमजोर छ उसलाई त्यसै पनि हेप्ने गरिन्छ ।

मेरो एक आफन्तको घरमा एक बुहारी बिधवा छिन् । आर्थिक रुपमा असक्षम र खासै नपढेकी उनको अबस्था मध्ययुगिन दासको जस्तै छ । घरको हरेक काम गरेर पनि पेट भरि खान नपाउनु उनको नियति बनेको छ । त्यसमा पनि कोहि घर बाहिर जान लाग्यो भने उनले बाहिर देखिनु हुँदैन, कतै गएर लुक्नु पर्छ, यदी त्यस्तो समयमा बाहिर निस्कन लागेको मान्छेले उनलाई देख्यो भने साइत बिग्रिन्छ भन्छन् उनका घरका सदस्यहरु । मैले आजसम्म कसरी साइत बन्छ वा बिग्रिन्छ त्यो बुझ्न सकेको छैन, सायद अल्पज्ञानको कारणले हुनुपर्छ ।

एकदिन म त्यो घरमा काम विशेषले बिहानको करिब सात बजे नै गएको थिएँ । म पुग्दा नै उनलाई सबैले तथानाम गाली गरिरहेका थिए । करिब आधा घण्टा म त्यो घरमा बस्दा उनी माथि धारा प्रबाह गालीको बर्षा भइरह्यो । कुरा बुझ्दा के थाहा भयो भने त्यो घरको एउटा सदस्यले उठ्ने बित्तिकै पहिले उनको अनुहार देखेको रहेछ, उसको भनाइमा बिहान बिधवाको अनुहार देख्यो भने दिन भरि नराम्रो समाचार मात्र सुन्नु पर्छ, तर मेरो बिचारमा गाली गर्नेको भन्दा गाली खानेको साइत बिग्रेको हुनुपर्छ किनकी उसको अनुहार देख्ने बित्तिकै बिना कुनै अपराध अपशब्द सुन्नु पर्यो ।

त्यस्तै बोल्ने बेलामा दायाँ बायाँ नसोचेर बोल्ने अनि पछि रिस उठेको बेलामा के के बोलियो वा रक्तचाप बढेर रिस थाम्न सकिएन भनेर भन्ने गरिन्छ । यो रिस भन्ने जिनिस पनि बढो अच्चमको छ आफु भन्दा कमजोर को अगाडी मात्र उठ्छ, शक्तिशाली को अगाडी बसेको बस्यै गर्छ । पियनको रक्तचाप बढेर हाकिमलाई थप्पड हानेको कुरा मैले आजसम्म सुनेको छैन तर हाकिमको रक्तचाप बढेर पियन माथि कुटपिट र अभद्र ब्यबहार भएको समयसमयमा सुनिन्छ । यसको मतलब यो रक्तचाप बढ्ने कुरा शतप्रतिसत वाहियात हो, रक्तचाप बढेको निहुँमा आफु भन्दा कमजोर माथि थिचोमिचो गरेको हो ।

आफूभन्दा कम उमेरको मान्छेलाई र विशेष गरेर घरघरमा सासुले बुहारीलाई बिना काम थिचोमिचो गर्ने गरेको पाइन्छ । कुनै कारणले सहनशक्तिले नभ्याएर सानो मान्छेले प्रतिकार गर्यो भने सबै एक मुख लगाएर बुढाबुढी मान्छे कचकच गर्छन् हामीले सहनु पर्छ भनेर निशुल्क ज्ञान दिन्छन् । मैले नबुझेको कुरा कुन उमेर पार गरेपछि अर्को मान्छेको भावनामा ठेस पुर्याउन पाइन्छ वा अरुको चित्त दुखाउने "लाइसेन्स" प्राप्त हुन्छ? मेरो व्यक्तिगत अनुभवमा पनि चित्त नबुझेको कुरामा असहमति जनाउने स्वभाव भएको कारण धेरैले मलाई रुचाउँदैनन् । आफ्नो ह्दयले ठिक मानेको कुरा गर्दा अरु कसैको "क्यारेक्टर सर्टिफिकेट" को जरुरत पर्दो पनि रहेनछ ।

यसको बिपरित हाम्रो समाज दुई वटा कुरामा भने निकै उदार छ । पहिलो, अमेरिकासँग सम्बन्धित ब्यक्ति र उनीहरुको गतिबिधि र दोश्रो, पुरुषले लगाउने कोट पाइन्ट (सुट) । अमेरिकामा बस्ने ब्यक्तिलाई गर्ने ब्यवहार र उसको कुरालाई दिएको इज्जत हेर्दा उनीहरु कुनै अर्कै ग्रहबाट आएको प्राणी जस्तो लाग्छ । नेपालमा अर्काको छोरी बुहारीलाई सानोसानो कुरामा चरित्र हत्या गर्नेहरुले पनि अमेरिकामा जति सुकै गति छाडेर हिडेको कुरालाई पनि सजिलै पचाउँछन् । नेपालमा गर्नै नहुने भनेको कुरा पनि अमेरिकामा गर्दा भने यता चल्छ भनेर स्वीकार गर्छन्, यस्तो उदारता किन? अमेरिकी डलर एकको एक सय भन्दा बढी हुने भएर त होला । त्यस्तै तपाईंले जति सुकै पुरानो डिजाइनको सुट लगाउनुस् कसैले खिसी टिउरी गर्दैन । यद्यपि सुटको पनि आफ्नै नियम छ । राती लगाउने र दिउँसो लगाउने, जाडोमा लगाउने र गर्मीमा लगाउने फरकफरक किसिमका सुट हुन्छन् भन्ने कुरा जानकारहरुले पंक्तिकारलाई बताएका छन् । अरु कुरा भयो भने तिललाई पहाड बनाउने हाम्रो समाज सुटको लागि भने किन यति उदार छ त्यो मैले बुझ्न सकेको छैन । सायद त्यो किसिमको लुगा बनाउन अरु किसिमको लुगा बनाउनु भन्दा आर्थिक रुपले महँगो परेर हो कि?

कुल मिलाएर नेपाली समाज धनको पछाडी दौडिने छ र त्यही समाजमा जन्मे हुर्केको कारण पंक्तिकार पनि कुनै अपवाद होइन । हामी मुखले पैसा भनेको त के हो र आउँछ/जान्छ तर सम्बन्ध ठुलो कुरा हो भनेर भन्छौं । तर पैसाको कारणले रगतको सम्बन्ध पनि चकनाचुर भएको देखिएको छ । त्यसैले आफ्नो जीवनमा जे महत्वपूर्ण हुन्छ त्यही कुरा मन खोलेर भन्ने साहस गर्नु पर्छ, बाहिर एउटा र भित्र अर्को कुरा गर्नु शतप्रतिसत पाखण्ड मात्र हो ।

@twitter#naviinr

Esewa Pasal

प्रकाशित : असार ११, २०७५ १८:५५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाली सिनेमा किन हेर्ने?

नवीन रायमाझी

काठमाडौँ — मेरा परिचितहरु मध्ये करिब ७५ प्रतिशतले नेपाली सिनेमा नहेर्ने बताउँछन्, उनीहरु हेर्दै हेर्दैनन् कि हेरेर पनि झुट बोल्छन् । त्यो उनीहरुलाई नै थाहा होला । तर म धेरै पछिसम्म पनि नेपाली सिनेमाको नियमित दर्शक थिएँ, पछि विभिन्न कारणले नेपाली सिनेमा हेर्न छोडें ।

आफुलाई अंग्रेजी सिनेमाको दर्शक बताउँदा गर्व गर्ने मान्छेहरु पनि भेटेको छु । तर म अंग्रेजी सिनेमा हेर्दिन, पहिलो त म अंग्रेजी बुझ्दिन र दोश्रो त्यस्ता सिनेमाको कथामा रहेको परिवेशसँग म तारतम्य राख्न सक्दिन ।

कुनैबेला मलाई ब्रुस लि र ज्याकी चाङ्गको सिनेमा हेर्न निकै रमाइलो लाग्थ्यो, त्यो पनि कथा बुझेर भन्दा पनि त्यस्ता सिनेमामा देखाइने स्टन्टको कारण, त्यसै गरेर अपवादको रुपमा अंग्रेजी सिनेमा पनि हेरियो, त्यो भने सिनेमा भित्र हुने नायक र नायिकाको चुम्बन र अन्तरंग दृश हेर्नको लागि । कोहि कोहि आफुलाई सभ्य र आधुनिक भन्न रुचाउनेहरुले कोरियन र इरानी सिनेमा हेर्ने बताउँछन्, अब त्यस्ता सिनेमाहरु कस्ता हुन्छन् त्यो मलाई थाहा छैन, पारखीले बुझाइ दिए अनुग्रहित हुने थिएँ । आजकल मैले नियमित हेर्ने भनेको हिन्दी सिनेमा हो र मलाई हास्य "जनरा" को सिनेमा हेर्न मन लाग्छ ।

म सिनेमाको ज्ञाता होइन र सिनेमा निर्माण गर्न के कस्ता बाधा तथा अबरोध छिचोल्नु पर्छ त्यसको पनि ज्ञान छैन । मेरो बिचारमा एउटा सामान्य दर्शकलाई सिनेमा निर्माण गर्न कति मेहनत पर्छ वा कुन क्यामराले खिच्यो भन्ने जस्ता नितान्त प्राबिधिक बिषयहरुसँग त्यति मतलब होला जस्तो पनि लाग्दैन । यसको साथै सिनेमा निर्माण गर्नु अत्यन्तै कठिन काम हो भनेर नथाक्नेहरुको अगाडी एउटा नौ वर्षको बालकले सिनेमा निर्देशन गरिदिन्छ र त्यो सिनेमा यति स्तरीय बन्छ कि कुरै नगरौं । यो पनि मैले आजसम्म बुझ्न सकेको छैन ।

सिनेमा निर्माण भनेको बिशुद्ध ब्यापार हो र सबैले नाफा कमाउनको लागि गर्ने भएको कारणले मन नपरी नपरी पनि नेपाली सिनेमालाई माया गर्नको लागि मात्र सिनेमा हेर्नु पर्ने बाध्यता कसैलाई छैन । भारतीय समाजसँग सामाजिक अबस्था र भाषा धेरै हदसम्म मिल्ने हुनले सिनेमाको कथामा पनि केहि समानता आउनु स्वभाविक हो । तर हरेक फ्रेम हुबहु नक्कल भएका नेपाली सिनेमा हेर्नु भन्दा हिन्दी सिनेमा नै किन नहेर्ने ? यसमा नेपाली सिनेमासँग सम्बन्धित ब्यक्तिहरुको के विचार होला? बजारमा दशौं किसिमका चाउचाउ छन् भने नमिठो लागेर पनि नेपालमै बनेको चाउचाउ खानु पर्ने बाध्यता जसरी उपभोक्तालाई छैन । त्यसरी नै नेपाली सिनेमा नै हेर्नु पर्ने बाध्यता दर्शकलाई छैन र हुनु पनि हुँदैन ।

केहि यस्ता प्रसंग छन्, जुन प्रसंगहरु हिन्दी सिनेमामा नै पचासौं पटक दोहरिइसकेका छन् भने त्यस्तै बासी प्रसंग फेरी नेपाली सिनेमामा हेर्दा एउटा दर्शकको आँखा कति बिझाउला । त्यो सम्बन्धित ब्यक्तिहरुले महशुस गर्नुपर्ने हो । यस्तै केहि पटक पटक हरेक सिनेमामा दोहरिइरहने प्रसंग यँहा उल्लेख छ :

प्रसंग १ : सिनेमाको नायिका कुनै पार्कमा खुशी भएर गीत गाएर नाच्दै छिन् । उनले नाच्दानाच्दै उस्तै लुगा लगाएका एक हुल ठिटीहरु आएर नायिकालाई काउकुती लगाउँछन् र जान्छन् । त्यस्तै उनीहरुले गीतको बीचबिचमा तीन चार पटक काउकुति लगाउँछन् र बेपता हुन्छन्, मानौ त्यो समुह नायिकालाई काउकुती लगाउनको लागि मात्र नियुक्त गरिएको हो ।

प्रसंग २ : नायक र नायिका आफ्नो प्रेममा परेको अबरोध सहन नसकेर घरबाट भाग्छन्, बीच बाटोमा पराल भएको एउटा ट्रक आउँछ, त्यसैमा चढेर लडिबुढी खेल्दै र गीत गाउँदै कता पुग्छन् । त्यो सायद निर्देशकलाई पनि थाहा हुँदैन होला भने दर्शकले कसरी थाहा पाउने?

प्रसंग ३ : कलेजको पुस्तकालयमा किताब छान्दै जाँदा नायक नायिका को भेट हुने र एउटा मात्र पुस्तक पाइने र त्यो दुबैलाई चाहिने वा कुनै पसलमा बचेको एउटा मात्र सामान दुबैलाई चाहिने । अब यो प्रसंगमा कुनै सिनेमामा झगडा गर्ने र कुनैमा मेलमिलाप मै छुट्टिने हुन्छ, तर जे भए पनि कालान्तरमा प्रेम बस्ने निश्चित छ ।

प्रसंग ४ : नायिकाले बनमा घाँस काट्न जानु र नायक सहरबाट घर आउने एउटै समय मिल्नु । नायिकाले गाईबस्तु धपाउँदै गीत गाउँदै जाँदा गीत सकिने बेलामा नायक नायिका आमने सामने हुनु ।

प्रसंग ५ : खोला किनारमा नायिका अर्ध नंग्न अबस्थामा नुहाई रहेको हुनु र त्यो दृश नायक वा खलनायकले देख्नु । यदी नायकले देख्यो भने प्रेम गाँसिने र खलनायकले देख्यो भने बलात्कार हुने निश्चित छ, तर बलात्कार भएको अबस्थामा पनि पछि नायक कताबाट झुल्किन्छ त्यो दर्शकले बुझ्न सक्दैनन् ।

यस्ता अरुपनि अनेकौं प्रसंगहरु छन्, जसमा अब यस्तो हुँदैछ भनेर पहिले नै दर्शकले थाहा पाउँछन्, मेरो बिचारमा पहिले नै दर्शकले यस्तो यस्तो हुन्छ भनेर अनुमान लगाउनु एउटा निर्देशकको असफलता हो ।

त्यस्तै, हिन्दी सिनेमाबाट ठ्याक्कै अनुबाद गरेर राखिएको सम्वाद, एउटा भाषाबाट अर्को भाषामा अनुबाद गर्दैमा त्यो समाजको परिबेशसँग नमिल्ने पनि हुन्छ । जस्तै, यो क्षेत्र तथा काम मेरो लागि होइन भनेर भन्न अँग्रेजीमा एउटा भनाइ छ, "दिस इज नट माइ कप अफ टी", अब यसैलाई नेपालीमा अनुबाद गरेर "यो मेरो चियाको कप होइन" भनेर भन्यो भने कति हाँसो लाग्दो होला । यसको लागि नेपाली भाषामा भन्ने अरु नै भनाइहरु छन् ।

यस्तै गरेर हुबहु अनुबाद गरेर राखिएका केहि सम्बादमा, जो आफै खराब छ उसले अरुलाई खराब भन्नु हुँदैन भन्ने सन्दर्भमा भनिएको एउटा सम्बाद, "चिनोय सेठ जिसके अपने घर शिशेका हो ओ दुसरों पर पत्थर फेंका नही करते" (हिन्दी), "हर्के साहु ऐनाको घरमा बसेर अरुलाई ढुङ्गा हान्नु हुँदैन" (नेपाली) । त्यस्तै उर्दु भाषामा कसैले बिना मतलब झर्को लगाउने प्रश्नहरु सोधेर हैरान गरिरहेको छ भने, "अरे मेरे बाप मुझे बक्स करो" अर्थात् मलाई यो कुरा नसोध्नु भनिन्छ, अब यस्तै प्रसंगमा एउटा सिनेमामा "ए मेरो बाउ अब तिमि जाउ" भनिएको छ, जो हस्यास्पद छ ।

अर्को कुरा नेपाली सिनेमा क्षेत्रमा एक प्रतिशत काम र ९९ प्रतिशत कुरा हुन्छ जस्तो लाग्छ । पत्रपत्रिकामा आएको समाचार अनुसार रिलिज पुर्व सबै सिनेमा यस्तो भब्य निर्माण भएका हुन्छ कि कुरा गरेर साध्य छैन । तर जब सिनेमा रिलिज हुन्छ त्यो सिनेमा आकाशबाट जमिनमा पुग्छ । दर्शकको लागि निर्माण गरेको सिनेमालाई दर्शकले नै अस्वीकार गरेपछि बढ्ता कुरा गर्नुको कुनै फाइदा होला जस्तो लाग्दैन । त्यस्तै एक करोड रुपियाँको लागतमा निर्माण भएको सिनेमाले एक हप्ता मै तीन करोडको ब्यापार गरेको प्रचार गरिन्छ । अब यो अनुपातमा मुनाफा कमाउने सायदै अर्को ब्यापार होला, मैले नबुझेको यदी यस्तो मुनाफा हुने हो भने निर्माताहरु किन दोहोरिंदैनन् ?

हालै एक सिनेमा निर्माता नक्कली नोट प्रकरणमा पक्राउ परेका छन् । प्रहरीमा बयान दिने क्रममा उनले आफुले सिनेमाको सुटिङ्गमा प्रयोग गर्न त्यो नोट छापेको बयान दिएका छन् । आज संसारमा प्रविधिले यत्रो फड्को मारेको छ कि चार जना मान्छेको भिडलाई खिचेर लाखौंको भिड देखाउन सकिन्छ भने पैसा चाहिएमा पैसा नै छाप्नेकुरा सजिलै पचाउन सकिंदैन । यदी कुनै सिनेमामा युद्धको छायांकन गर्नु पर्यो भने के त्यस स्थानमा मान्छे मार्ने नै हो?

यस्तै माथि उल्लेखित कुराहरु जस्तै म मनोरन्जन लिन नसकेर मैले नेपाली सिनेमा नियमित हेर्न छोडेको करिब दश बर्ष भयो । यसबीच दुई तीन वटा सिनेमा हेरेको थिएँ र ति सिनेमाहरुले मन छोएको थियो, तर त्यो सिनेमा बनाउने निर्देशकले पनि पुन सिनेमा निर्माण गरेको सुन्न पाएको छैन । नेपाली सिनेमाले हिन्दी सिनेमासँग प्रतिस्पर्धा कुनै हालतमा गर्न सक्ने होइन, यसैले सानो भए पनि नेपाली सिनेमाको आफ्नै बजार बनाउने हो । यदी यस्तो गर्न नसक्ने हो भने सिनेमा निर्माण गरेर तँ नायक र म निर्देशक हुँ भन्ने बाहेक अर्को कुनै उपलब्धि हुँदैन र सिनेमा निर्माण आत्मरतिमा गएर टुङ्गिन्छ ।

​@twitter#naviinr​

प्रकाशित : असार १, २०७५ १७:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT