समाजवादमाथिको लोकतान्त्रिक बहस

मानव अधिकार, न्यायिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता, राजनीतिक र वैचारिक बहुलवादप्रतिको पूर्ण प्रतिबद्धता सहितको समाजवाद नै महत्त्वपूर्ण प्रस्तावना हो ।
सुदर्शन आचार्य

काठमाडौँ — सन् १८४८ मा प्रकाशित कार्ल माक्र्सको प्रसिद्ध पुस्तिका ‘कम्युनिष्ट घोषणापत्र’ सार्वजनिक भएयता ‘समाजवाद’को विषय विश्वव्यापी रूपमा बहसकै विषय बन्न पुग्यो । तर माक्र्सले भन्दा पहिला समाजवादको विषय फ्रान्सका सेन्ट साइमन, फुरियर, जर्मनीका रोडबर्ट्स र बेलायतका रबर्ट अवेनले उठाइसकेका थिए ।

१७९९ को फ्रान्सेली राज्यक्रान्ति पश्चात स्वतन्त्रता र समानताको नारा युरोपभर फैलियो । जब हठात् १८१५ मा राज्यक्रान्तिको प्रवाह रोकियो, सचेत नागरिक अवाक भए । त्यही अवाकका बीच संघर्षको जितहारको कारणसहित समाजवाद र साम्यवादको बहसको विषय सतहमा आयो । समाजवादीहरूको लक्ष्य राजनीति क्रान्तिमात्र नभई आर्थिक क्रान्ति पनि भएकाले त्यसैको सेरोफेरोमा रहेर माक्र्स र एङ्गेल्सद्वारा लिखित कम्युनिष्ट घोषणापत्र सार्वजनिक भयो । १८८३ मा जब माक्र्सको मृत्यु भयो, त्यसताका समाजवादको विषय एङ्गेल्ससँगै एडबड बर्नस्टिन, कार्ल काउत्सकी, फ्रान्ज मेहरिन, अगस्त बेबेल आदिले अगाडि बढाए । जुन आजपर्यन्त विश्वव्यापी रूपमा बहसको विषय बनिनै रहेको छ ।

नेपालको सन्दर्भमा नयाँ संविधानले समाजवादको परिकल्पना गरेसँगै समाजवाद आज मुलुकमा विहंगम बहसको विषय बनेको छ । पछिल्लो समय निर्मित इतिहासमै स्थिर प्रकृतिको भनिएको वाम सरकारले लिने समाजवादी अर्थ व्यवस्थाबारे भने ‘पर्ख र हेर’कै अवस्था छ । लोकतान्त्रिक समाजवादले राजनीतिक र आर्थिक अर्थमा समानतालाई स्वीकार गरेको हुन्छ । वास्तवमा राजनीतिक अर्थमा समाजवाद भनेकै लोकतन्त्र हो । तर समाजवादमा निहित समानताको राजनीतिरूपी लोकतान्त्रिक समाजवादको परिभाषा र परिचालन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकारले कसरी गर्छ ? त्यो नहेरी सरकारले भन्न थालेको समाजवादबारे तत्काल टिप्पणी छिटो हुनेछ । १९१७ को क्रान्तिपछिको रूस वा आजको चीनमा पनि कुरा त समाजवादकै गरिएको हो र छ । तर आर्थिक पक्षमा मात्र समाजवाद खोजेर हुन्न, ती मुलुकमा राजनीतिक रूपमा समानता थिएन र छैन ।

Yamaha

कानुनीराज, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, जनताका मौलिक अधिकार, मानव अधिकार, राज्यका अंगहरूमा समावेशी र समानुपातिक प्रतिनिधित्व सहितको सामाजिक न्यायजस्ता विषय लोकतन्त्रका आधारभूत सर्त हुन् । नेपालको लोकतान्त्रिक आन्दोलनले यी र यस्ता नेपाली जनताका मौलिक अधिकारका सम्बन्धमा कोही कसैसँग सम्झौता गरेन । राजनीतिलाई लोकतान्त्रिक पद्धतिमा ल्याउन तीनवटा पुस्ताले राजनीतिक संघर्ष गर्नुपर्‍यो । आजसम्मको आन्दोलन केवल राजनीतिका लागिमात्र रह्यो । मुलुकले स्थायी रूपमा नत लोकतान्त्रिक पद्धति पायो, न आर्थिक समृद्धि नै ।

जनताको बलिदानीबाट प्राप्त गणतन्त्रमा अब आर्थिक समृद्धिको क्रान्ति नै ल्याउन जरुरी छ । जुन आर्थिक समानता र समृद्धिको यात्रा लामो प्रक्रिया भए तापनि मुलुक अब त्यो बाटोमा नगई सुखै छैन । तर त्यसका लागि नेकपा सरकारले समाजवादको मौलिक आधार भने जनताका सामु प्रस्ट्याउनु जरुरी छ । अन्यथा वैदेशिक लगानीसमेत भित्रिन्न ।

नेपालका सन्दर्भमा लोकतान्त्रिक समाजवाद चाहिएको नेपाली कांग्रेसका लागि हो । आज कांग्रेसको लोकतान्त्रिक समाजवादप्रतिको निष्ठा नै धुमिल छ । समाजवादी दृष्टिकोणको सन्दर्भमा कांग्रेस आफैं न हाँस न कागको चालमा छ । प्रजातन्त्र प्राप्तिपश्चात लामो समय शासनमा रहेको कांग्रेससामु लोकतान्त्रिक समाजवादबाट समृद्ध राष्ट्र निर्माण गर्ने भरपुर समय थियो । बीपीकालीन समयमा उनीसँग समाजवादी सपना थियो । तर समय भएन । कांग्रेसका पछिल्ला सरकारहरूले समय त पर्याप्त पाए, तर समाजवादी सपनै भएन । कांग्रेसले आफ्नो स्वर्णिम कालखण्डहरू घात/अन्तरघात र संसदीय व्यवस्था नै बदनाम बनाउने क्रियाकलापमै बितायो ।

लोकतान्त्रिक समाजवादका माध्यमद्वारा हतियार उठाउने वामपन्थीदेखि लोकतान्त्रिक पद्धति नै निस्तेज पार्न खोज्ने दक्षिणपन्थीसम्मलाई प्रजातान्त्रिक पद्धतिमा डोर्‍याउने ऐतिहासिक कार्यभार अहिले पनि कांग्रेसकै सामु छ । तर समुद्रको बीचमा कम्पास बिग्रिएको पानीजहाज बन्नपुगेको आजको कांग्रेसबाट यी ऐतिहासिक कार्यभार कसरी पूरा होला ? प्रजातन्त्रवादीका लागि चिन्ताको विषय हो । जब कांग्रेसले लोकतान्त्रिक समाजवादको मैदानमा जनताका ऐतिहासिक कार्यभारका विषयमा छलफल गर्न सक्दैन, त्यतिबेला समाजवादको मैदान स्वत: वामपन्थीको कब्जामा पुग्छ । त्यो हेक्का कांग्रेस नेतृत्वमा भएको देखिँदैन ।

मार्क्स भन्छन्– ‘आर्थिक समानता बिना प्राप्त हुने सम्पत्तिको अधिकारले मूलत: त्यस्तो समाज र राज्य संरचनाले पुँजीपतिको मात्र हित गर्नेछ ।’ उनी थप्छन्– ‘पुँजीपति वर्ग खासमा श्रमजीवी वर्गको काँधमा सवार वर्ग हो ।’ तर लोकतान्त्रिक समाजवादी व्यवस्थामा वर्ग–संघर्षको हिंस्रक बाटो नपनाई शान्तिपूर्ण प्रक्रियाको आधारमा समाजवादी बाटो खोजिन्छ । लोकतान्त्रिक समाजवादी व्यवस्थामा तत्कालीन अवस्थाको फ्रान्समा जस्तो गृहयुद्ध, जर्मनी र इटालीमा जस्तो फासीवाद र रूसमा जस्तो तानाशाही व्यवस्था हुने छैन ।

नेपालका सन्दर्भमा हेर्न बाँकी नै छ । तर छिमेकी मुलुक चीनको माओकालीन उदाहरण लिने हो भने विरोधाभाषपूर्ण देखिन्छ । माओ भन्थे– ‘सुन्दर समाज बनाउन समाजवादी बगैंचामा हजारौं फूलहरूलाई फक्रने अवसर दिनुपर्छ ।’ तर गराइमा चीनका लोकतन्त्रवादीले मुलुकलाई लोकतान्त्रीकरण गर्न खोज्दा तियानमेन स्क्वायरको नियति भोग्नुपर्‍यो । यी र यस्ता विश्व उदाहरण दर्जनौं छन् । जुन कदम आफैंमा विरोधाभाषपूर्ण छ ।

नेपाली समाजमा सदियौंदेखि जरा गाडेर बसेको परम्परागत मान्यतालाई विस्थापित नगरी लोकतान्त्रिक समाजवाद निर्माण हुन सक्दैन । तर जरा गाडेर बसेको परम्परागत मान्यता विस्थापन गर्ने नाममा माओ वा स्टालिनकालीन नरसंहार पनि स्वीर्काय हुँदैन । जोरजबर्जस्त रूपमा लादिएको समाजवाद स्थापित हुँदैन भन्ने उदाहरण खोज्न सोभियत संघको विघटन नै काफी छ । लेनिनवादी दर्शनको अध्ययनले राजनीतिमा कम्युनिष्ट पार्टीको एकाधिकार, समाजवादका नाममा सत्ताद्वारा केन्द्रीकृत अर्थतन्त्रजस्ता काम कम्युनिष्ट शासन पद्धतिको एउटा सामान्य प्रक्रिया भएको देख्न सकिन्छ । सरकारको नीति तथा कार्यक्रममा प्रेसलाई नीति बनाएर मर्यादित बनाइनेछ भन्ने वाक्य राखिएसँगै अन्य गतिविधिबाट सरकार अलोकतान्त्रिक बाटोमा जाँदैछ कि भन्ने आभाष लोकतन्त्रवादीले गर्न थालेका छन् ।

लोकतन्त्रवादीहरूले समाजवादी दार्शनिक कार्ल काउत्सकी, समाजावदी नेतृ रोजा लक्जेमवर्ग जस्ता व्यक्तित्वबाट समाजवादी अवधारणा सिक्न जरुरी छ । बोल्सेभिक क्रान्तिपछि रोजाले भनिन्– ‘वाक् स्वतन्त्रतता, स्वतन्त्र निर्वाचन र विचारको संघर्ष नभए हरेक संस्था प्राणहीन बन्छ । त्यस्तो वातावरणमा सर्वहारा वर्गको हैन, मुट्ठीभरका नेताहरूको अधिनायकत्व सुरु हुन्छ ।’ उता दार्शनिक काउत्सकी भन्छन्– ‘हाम्रा लागि लोकतन्त्र बिनाको समाजवाद कल्पना बाहिरको कुरा हो ।’ यी दार्शनिकहरूका दृष्टिले हेर्दा वास्तविक समाजवाद र समाजवादको लेपन लगाइएको सोभियत वा चिनियाँ मोडलको साम्यवादी अधिनायकवाद बीचको भिन्नतालाई छताछुल्ल पारिदिएको छ । निचोडमा भन्न सकिन्छ– मानव अधिकार, न्यायिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता, राजनीतिक र वैचारिक बहुलवादप्रतिको पूर्ण प्रतिबद्धता सहितको समाजवादनै महत्त्वपूर्ण प्रस्तावना हो, जुन समाजवाद उन्मुख हुँदै समृद्ध नेपाल निर्माण गर्ने भनेर संविधानको प्रस्तावनामै उल्लेख गरिएको छ ।

अन्त्यमा, नेपाली कांग्रेसले आफ्नो समाजवादी इतिहास स्मरण गर्दै आफूलाई रूपान्तरण गर्न जरुरी छ । सँगै राज्यसत्तालाई लोकतान्त्रिक समाजवादबाट किञ्चित विचलित र दायाँ–बायाँ नहुन र नगर्न सशक्त खबरदारी गर्न आवश्यक छ ।

प्रकाशित : असार १२, २०७५ ०७:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कांग्रेसमा पदमोह

कांग्रेसलाई सबल बनाए मात्रै लोकतान्त्रिक पद्धतिको जगेर्नासँगै गणतन्त्रको संस्थागत विकासमा टेवा पुग्छ ।
सुदर्शन आचार्य

काठमाडौँ — गुट र परिवार व्यवस्थापनमा मात्रै लाग्ने पार्टी नेतृत्व पंक्तिका कारण कांग्रेस दिनानुदिन खुम्चिँदै गएको छ । मूलत: पार्टीमा मिलाएर लैजाने दायित्व सभापतिको हो । सभापतिले एकलौटी रूपमा उपसभापति, महामन्त्री, सह–महामन्त्री र प्रवक्ताको चयन गर्नुभयो ।

तर त्यसमा जनताद्वारा स्वीकृत अनुहारले स्थान नपाउँदा जनतामा नकारात्मक सन्देश गएको छ । यसबाट राजनीति आदर्शका खातिर हो कि केवल सत्ता प्राप्ति र गुट सञ्चालनका लागि भन्ने सवाल उठेको छ ।

भनिन्छ– आदर्श ठम्याउन र पक्रन निकै गाह्रो छ । त्यसको पालना त झनै कठिन छ । देउवाको राजनीतिक इतिहास कांग्रेसमा लामै छ । तर सत्ताका लागि आफ्नो राजनीतिक इतिहास नै दाउमा लगाएर पार्टीसमेत तोडेको दृष्टान्त छ । चुनाव दुई उद्देश्यले हुन्छन्– सत्ता र सिद्धान्तका लागि । पछिल्लो निर्वाचनले वाम गठबन्धनलाई सुविधाजनक बहुमतका साथ सत्तामा पुर्‍याइदियो ।

सिद्धान्तत: अबको सत्तारुढ दलको बाटो कस्तो हुन्छ, हेर्नै पर्नेछ । तर सत्तालाई सही राजमार्गमा डोर्‍याउन प्रतिपक्षको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । प्रतिपक्ष आज नेतृत्वका कारण डगमगाउने खतरा छ । सिद्धान्तमा निष्ठापूर्वक अड्दामात्र जनसमर्थन प्राप्त हुने हो । नेतृत्वकै कारण कांग्रेसमा सिद्धान्त नै समाप्त हुने हो कि भन्ने संशय उत्पन्न भएको छ ।

लोकतान्त्रिक पद्धति चाहिएको कांग्रेसलाई हो । सम्भावित अधिनायकवादबाट मुलुकलाई जोगाउने दल कांग्रेस हो । तर कांग्रेसले कार्यकर्तालाई समेत परिचालन गर्नसकेको छैन । भारतमा गान्धी आफ्नो कालखण्डमा कार्यकर्तालाई दिने काम केही नहुँदा उनीहरूलाई जम्मा पारेर हरिकीर्तन गराउनुहुन्थ्यो । यहाँ भने सही ढंगले कार्यकर्तालाई परिचालन गर्न नसक्दा एकातिर पार्टीको लोकप्रियतामा ह्रास आउँदै गएको छ भने अर्कातिर कार्यकर्तामा स्वार्थले प्रश्रय पाउँदै गएको छ ।

पार्टीमा योगदान नदिएका परिवार र सत्य बोल्ने आँटै गर्न नसक्ने समूह पार्टी नेतृत्वको वरिपरि हावी हुँदा कांग्रेस क्षयीकरणको बाटोमा गएको हो । सभापति देउवाले आफू इतरकालाई पदाधिकारीमा मनोनित नगर्नुले पनि उहाँको अभिष्ट छर्लंग पार्छ । हालै सम्पन्न केन्द्रीय समिति बैठकमा नेतृत्वउपर नेताहरू तथ्यसहित आक्रामक रूपमा प्रस्तुत हुँदासमेत नेतृत्वमा सच्चिने चेत खुलेन ।

पञ्चायतमा झैं अहिले पनि कांग्रेसभित्र मेरो मूल्याङ्कन भएन भन्ने आवाज पर्याप्त सुनिन्छ । राजनीतिक जीवनचर्यामा लिन होइन, दिन जान्नुपर्छ । लिनकै लागि कांग्रेसको राजनीतिमा लागेकाहरूले पेसा छनोट नै गलत गरे । लिनका लागि धिरुभाइ अम्बानी वा विनोद चौधरीले झैं ठूलो लगानी गरेर कम्पनी खोल्नुपर्छ, नकि राजनीतिमा प्रवेश । तर दैनिक आर्थिक लाभ नआउँदा कांग्रेस नेतृत्वलाई विचलित बनाउँछ भन्नेहरूको कमी छैन, कांग्रेसमा । त्यो सत्य हो भने यसले आउँदा केही वर्ष कांग्रेसले क्षयीकरण नै बेहोर्नुपर्ने हुन्छ, किनकि विधि र विधान अनुसार अझै केही वर्ष कांग्रेसमा नेतृत्व परिवर्तनको सम्भावना छैन । नेतृत्वमा शीघ्र फल प्राप्तिको उत्कट अभिलाषा हुँदा ऊ आफैं र संस्थासमेत बर्बादीमा जान्छ ।

अग्रिम महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्दै भोलिको कांग्रेस बदलिन्छ र बदल्नुपर्छ भन्ने सन्देश सुदूर भविष्य बोकेका नेताले दिन जरुरी छ । कृष्णप्रसाद सिटौलादेखि गगनकुमार थापासम्मको नेतृत्व पार्टी र मुलुकले हेर्न पाएको छैन । प्रकाशमान सिंहदेखि गुरुराज घिमिरे र प्रदीप पौडेलसम्मको आवश्यकता भोलिको कांग्रेस र मुलुकका लागि उत्तिकै छ । अब सिटौलादेखि सिंह र थापादेखि पौडेलसम्मले विगतको कमी–कमजोरीबाट सिक्दै नयाँ ढंगले पार्टी सञ्चालन गर्ने अठोटका साथ जुट्नुपर्छ ।

मध्यरातमा यशोधरा र शिशु पुत्रलाई बिछ्यौनामा छाडेर सिद्धि र मुक्तिको खोजीमा वनवास जाँदा सिद्धार्थसँगै को नै थिए र ? तर सिद्धि प्राप्तिपछि गौतम बुद्धसँग आज अनुयायी थुप्रै छन् । पार्टी वा मुलुक निर्माणका सन्दर्भमा नेता कहिलेकाहीं एक्लो हुनसक्छ । तर उच्च मनोबलका साथ अगाडि बढ्दा भोलिका मितिमा पछ्याउनेहरू थुप्रै हुनेछन् । यसका लागि पदमोह भने त्याग्न जरुरी छ । रामको वनवास वा सिद्धार्थको दरबार त्याग कुनै पथभ्रष्ट थिएन । पार्टीलाई कम्पनी र पदलाई कम्पनीको मालिक ठानेर जब कमाउने माध्यम बनाइन्छ, त्यो नै हो– पथभ्रष्ट, जुन आज कांग्रेसमा भइरहेछ । यसैबाट मुक्त गरेर लोकतान्त्रिक दललाई सबल बनाउनुपर्छ, अनिमात्रै लोकतान्त्रिक पद्धतिको जगेर्नासँगै गणतन्त्रको संस्थागत विकासमा टेवा पुग्छ ।

प्रकाशित : जेष्ठ ४, २०७५ ०७:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT