कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

यस्तै छ कोरियामा हाल !

गोकुल थोकर

काठमाडौँ — नयाँ कम्पनीमा आएको दुई हप्तामात्रै भयो । ज्यान दुखेर हैरान छु । काम त सजिलै देखिन्छ । त्यही देखिनेले झुक्यायो । साना साना डम्बा छन् । त्यसलाई मिलाएर अलि ठूलो कार्टुनमा हाल्नु र टेप लगाएर चलिरहेको बेल्डमा गुडाउनु, बस् त्यति हो, मैले गर्नु पर्ने । काम कन्फर्म गर्नु पहिले सजिलै देखेरै आउँछु हुन्छ भनेको हुँ ।

यस्तै छ कोरियामा हाल !

पहिलेको कम्पनीमा प्लास्टिकको सामान बन्थ्यो । ठूलो भाँडा फलामको तातो मेसिनमा प्लास्टिकका भाँडा बन्ने दाना हालिन्थ्यो । बजारबाट जस्तो खालको प्लास्टिक भाँडा डिमान्ड आयो । त्यस्तै डिजाइनमा बन्थ्यो । काम त त्यो पनि गाह्रो होइन । तर तातो हुने । बाहिर फुस फुस हिउँ पर्दा पनि आफू भने पुरै पसिनाले भिज्नु पर्ने ।


जोखिम पनि थियो । भाँडाको आकार बन्नका लागि प्लास्टिकका दाना दुई सय डिग्रीमा झोल नहुन्जेल पगालिन्थ्यो । कतै झुक्किएर ज्यानमा परे के हुन्थ्यो भन्नै परेन । दुई वर्षअघि एउटा भियतनामी काम गर्दा गर्दै चिप्लेर लड्दा हात टेक्यो रे । अनि हात डढ्यो । कम्पनीमा काम गर्न सकेन । थोरै पैसा दिएर कम्पनीले निकाल्देको रे । पहिलेदेखि काम गर्दै आएका फिलेहरु(फिलिफिन्स नागरिक)अंग्रेजीमा कुरा सुनाउँथे । मलाई पनि त्यति राम्रो कोरियन आउँदैन । त्यसैले अंग्रेजीमै बोल्दिन्छु ।


एक वर्ष एउटै कम्पनीमा काम गरे वार्षिक भत्ता (थेजिकम) आउँथ्यो नी । जबरजस्ती बस्ने प्रयास त गरेकै हुँ । तर गर्मी मौसम लागेपछि मेसिनको तातो र बाहिरको तातोले मर्नुभयो । काम गर्दा जति पानी खाए पनि जिउबाट पसिना भएर बग्ने । पिसाब त आउँदै नआउने । पन्ध्र दिन दिउँसो पन्ध्र दिन राति काम गर्ने नियम थियो । गर्मीको पन्ध्र दिन दिउँसो काम गरेपछि बिरामी नै परेँ । नेपालमा हुँदा एक लाख रुपैयाँ महिनाको पाए जस्तो काम पनि गर्छु भन्ने मेरो आत्मविश्वास फेल खायो ।


अनि ‘थेजिकम सेजिकम हान गोली’ भनेर मैले एक दिन डराउँदै डराउँदै टुटेफुटेका कोरियन भाषालाई मिलाएर साहुलाई मलाई यता काम गर्दा सन्चो भएन कृपा गरेर लेटर दिनुस न भने ।


लेटर दिनु भनेको साहुले मुटु कलेजो दिनु भनेको सुनेछ कि क्याहो चिम्से आँखा झन्डै बाहिर निस्किने गरी हेर्‍यो । सेता गाला रिसले राता भए । एक शब्द नबोली फन्केर हिँड्यो । त्यसपछि आफ्नो हालत बिजोग भो । ग्लानी, रिस र खै केले हो मेरो टाउको निहुरिएको निहुरिएकै भयो । शायद एक लाखको बिटोले थिचेको होला कि ? विचरा म, साहुका लागि कामदार भन्दा अरु केही थिइनँ । फगत एउटा भाडाको मान्छे ।


शरिरमा शक्ति त थिएन नै । भएको अलिअलिको जाँगर पनि मरेर गयो । जतिखेर पनि साहुले आँखा तरेको मात्रै मनमा आएपछि बिरामी झन् बढ्यो । सायद ‘फ्रस्टेशन’ले पनि काम गर्‍यो होला । घरबाट फोन आँउथ्यो । म काम तिरै छु भन्दिन्थेँ । महिना मरेपछि पैसाका कुरा गरे । मैले ‘हुन्डीको रेट’ बढेको छ । अलि घटे पछि पठाउला भनेँ ।


विचरा घरका मान्छेलाई छोराले रुपैयाँ छापेको छापेकै छ भन्ने लागेको हुँदो हो । म पनि नेपालतिर हुँदा त्यस्तै सम्झन्थेँ । विदेश पुगेका पैसाका रुखैमा चढ्छन् । गाँउघरमा डालेघाँस झारे जस्तै भकाभक झार्छन् । अनि भारी बाँध्छन् घर फर्कन्छन् ।


झन्डै दुई महिना ओछ्यान सुतेको सुतेकै गरिदिएँ । पहिलेपहिले त बिरामी भएरै सुतेको थेँ । पछि त तन ठीक थियो, मन बिरामी भो । कम्पनीमा काम गर्ने अरु दुई जना नेपाली थिए । ती साथी मलाई हेरेर चिन्ता गर्थे । भन्थे ‘विदेश हो भाइ अलि अलि दु:ख त सहनु पर्‍यो नी । नत्र कसरी पैसा कमाइन्छ त ?’


तिनका कुरा बेठीक थिएनन् । मेरो मन मात्र बेठीक थियो । मलाई लाग्यो यो कम्पनी छाड्न पाए तातोले सातो जान लागेको म बाँच्छु । अनि अर्को कम्पनीको काम हेरेर सजिलो काम भए मात्र गर्छु । मन एक तमासको भो ।


म दुब्लाएर मरन्च्यासे भएँ । हावाको एक झोक्का आयो भने पनि उडाएर लैजाला जस्तो । पच्हत्तर किलोको म एक्कसी पचपन्न किलोको भएँ । खाने कुरा खानै मन नलाग्ने । जे हेरे पनि वाक्क लाग्ने । साथीहरु बिहानै उठ्थे । खाने कुरा पकाउँथे । अनि काममा जान्थे । भात खाने समयमा ती आउँथे । मलाई पनि भाग लाउँथे । म कहिले खान्थे कहिले खान्न थेँ । धन्न यी साथी थिए र पो म टिकेको छु ।


साथीहरुले महिना महिनामा हिसाब सुनाउँथे । तेरो भागमा यति पर्‍यो । म टाउको हल्लाउँथे । हुन्छ तिरौला भन्ने भावमा । कोठाको पैसा तिर्न पर्दैनथ्यो । कम्पनीले नै बस्नेको व्यवस्था गरेको थियो । खासै खर्च के हुन्थ्यो र ? बाहिर घुम्न जाँदैन्थेँ । म काठमाडौं हुँदा एक घन्टा फुर्सद् हुँदा पनि साथीभाइसँग चिया गफ नगरी बस्न नसक्ने । दुई महिना एउटै कोठामा बस्न सक्छु भनेर सोचेको पनि थिइनँ ।


सबै सोचेको जस्तो कहाँ हुन्छ र ? बल्ल लेटर पाएँ । अर्को कम्पनीको लागि अवसर । नोदोम्बो (अर्को कम्पनी खोजी दिने सरकारी कार्यलय) गएँ । सोल नजिक जता भए पनि हुने गरि कम्पनी खोजेँ ।


यो कम्पनीमा नेपाली धेरै छन् । काम सजिलै लागेकोथ्यो । अहिले गाह्रो भाको छ ।अर्को महिना घर तिर पैसा पठाउनु छ । त्यही भएर यस्ता दुखाई र अप्ठ्यारा मतलब नगरी खट्नु छ । जता पनि पेलिनु पर्ने । निरन्तर । निरन्तर । यस्तै छ कोरियामा हाल !

प्रकाशित : असार १२, २०७५ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?