१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

स्वर्ग पर्दैन, स्वस्थ भएर बाँच्न दिऊँ

स्वर्ग नै बन्न नसके पनि सार्वजनिक अस्पतालमा सर्वसाधारणले सहज तरिकाले उपचार पाउन सक्ने वातावरण बनाउन सके पुग्छ ।

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घोष भएको छ : ‘नेपाल १० वर्षमा स्वर्ग हुनेछ ।’ अहिलेसम्म स्वर्ग यो ब्रह्माण्डमा अस्तित्वमा छ या छैन, त्यो अझै रहस्यको विषय बनेको छ । त्यसैले प्रधानमन्त्रीबाट प्रयुक्त शब्द स्वर्ग भौगोलिक स्थानभन्दा पनि अनुभूत गर्ने अवस्था हो, जहाँ शारीरिक आरोग्यता, मानसिक आनन्द र आत्मिक शान्ति प्राप्त हुन्छ ।

स्वर्ग पर्दैन, स्वस्थ भएर बाँच्न दिऊँ

दुई तिहाइ मत प्राप्त शक्तिशाली कार्यकारी प्रमुखबाट जनतालाई स्वर्गीय अनुभूति हुने वातावरण बनाउँछु भन्ने प्रतिबद्धता जाहेर हुनु खुसीकै कुरा हो । प्रधानमन्त्रीले समृद्धि र नागरिक कल्याणप्रति प्रतिबद्धता जनाउँदा सम्भावना र उपायको विश्लेषण गरिएकै होला भन्ने अपेक्षा गरौं । तर सरकार जनताका दैनन्दिनी जनजीविका, स्वास्थ्य, शिक्षा, रोजगारी, सुरक्षा, सहजता जस्ता सवालमा आफै कुहिरोमा हराएको कागजस्तो बन्न पुग्ने पो हो कि भन्ने लाग्छ ।


एकातिर स्वदेशमै रोजगारका अवसर सिर्जित भएपछि वैदेशिक रोजगारी नै बन्द हुनेछ भन्ने घोषणा गर्ने अनि अर्कोतिर यहाँको खर्च धानिरहेको रेमिटेन्स घट्न थाले सुर्ता गर्ने विरोधाभाष देखिनु विडम्बना हो । यो चुरोट, सुर्ती, मदिराको हानि र प्रतिबन्धबारे कुरा गर्ने, तर यिनै वस्तुको राजस्वमा निर्भर रहने प्रवृत्ति हास्यास्पद छ ।


उपचारबाट व्यक्तिलाई अमर बनाउन त सकिन्न, तर शरीरका लागि आवश्यक पर्ने आधारभूत सेवाको उपलब्धता हुने हो भने व्यक्तिको उमेरमा पनि उल्लेख्य वृद्धि ल्याउन सकिने तथ्य विश्वमा प्रमाणित भइसकेको छ । उदाहरण जापान लगायत नेपाल आफै पनि छ । ५० वर्षअघि ५० वर्ष रहेको व्यक्तिको उमेरमा ३० वर्ष बढोत्तरी भई जापानका महिलाहरूको उमेर ८६ वर्ष कटेको छ । त्यसो त वेद वाक्यले पनि स्वस्थ भई सय वर्ष बाचौं भनेको छ ।


नेपालमा पनि २५/३० वर्षमा मानिसको आयुमा राम्रै बढोत्तरी भएको छ । स्तरीय स्वास्थ्यसेवा भन्ने बित्तिकै राज्यबाट प्राथमिक स्वास्थ्यसेवा वा हेरचाहको प्रत्याभूति हुनु हो । कम्तीमा पनि जीवन या अंग बचाउन आवश्यक पर्ने आकस्मिक सेवा, संक्रामक रोग, मातृशिशु, पोषण, खोप र स्वच्छ हावापानी, स्वास्थ्य शिक्षा, सरसफाइ आदिजस्ता सवाल राज्यबाट निसर्त रूपमा प्रवाहित हुनुपर्ने सेवा हुन् ।


केही सार्वजनिक अस्पतालको स्तरोन्नतिका लागि केही वर्षदेखि उल्लेख्य मात्रामा खर्च गरिए अनुसारको ठोस उपलब्धि भयो कि भएन, त्यो मूल्यांकनको विषय बन्न सक्छ । तर राजधानीका वीरदेखि शैयाको दृष्टिले सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर अस्पताल लगायतका ठूला सार्वजनिक अस्पतालहरूको आकस्मिक सेवामा सुधार हुन नसक्नुलाई दु:खदायी मान्नुपर्छ । एक मात्रै पूर्ण सरकारी जनरल केन्द्रीय वीर अस्पतालमा चोटपटक लागि आकस्मिक सेवामा आउने बिमा नभएका गरिब बिरामीहरूको निशुल्क सेवा अभिवृद्धि हुनुपर्नेमा उल्टै उनीहरू त्यस किसिमका सेवाबाट बञ्चित भएको अवस्था छ ।


भरतपुर लगायतका मोफसलका ठूला सरकारी अस्पतालहरूको अन्य सेवामा अभिवृद्धि भए पनि विशेषगरी बहिरंग सेवा नचलेको अवधिमा आकस्मिक कक्षमा आउने गरिब बिरामीहरू सम्भव हुने स्तरीय सेवाबाट समेत बञ्चित भएको अवस्था छ । महँंगा अत्याधुनिक उपकरणमा ठूलो रकम खर्चिंदा जीवन बचाउनुपर्ने जिम्मेवारी बोकेको आकस्मिक सेवाको सुधारमा किन कसैको ध्यान जान्न ? हरेक विषयमा उल्लेख्य मात्रामा विशेषज्ञ चिकित्सकहरू रहेको अस्पतालको आकस्मिक कक्षप्रति सिफ्टैपिच्छे एकजना मेडिकल अधिकृत र एकजना चिकित्सा सहायकको भरमा मात्रै सञ्चालन हुनै सक्दैन ।


आकस्मिक कक्षलाई भरपर्दो र आकर्षक बनाउन जीवनदायिनी औषधी र सीपीआर सेवासहित चुस्त–दुरुस्त राख्नुपर्छ । सरकारले प्रदान गरेको १ हजार प्रतिदिनको ज्यालाको भरमा ड्युटी कोठाबिना जीपी सहितका विशेषज्ञ चिकित्सकलाई अनड्युटीमा राख्न सकिन्न । त्यसैले बहिरंग, अन्तरंग रुटिन शल्यक्रिया जस्ता दैनिक काम बाहेकका २४ घन्टे विशेषगरी रात्रि अनकल अनड्युटीमा सम्बन्धित विशेषज्ञ चिकित्सकहरू तुरुन्तै उपलब्ध हुने व्यवस्था मिलाउनुपर्ने आवश्यकता छ ।


त्यसका लागि यातायात सहितको ड्युटी कोठा र प्रतिअनकल छुट्टै आर्थिक सुविधा र सम्पादित काम अनुसारको थप आर्थिक सुविधा पनि प्रदान गर्नुपर्छ । बिरामी या तिनका आफन्तले चाहेको अवस्थामा बाहेक सम्बन्धित सेवा उपलब्ध हुंँदाहुंँदै रातको समयमा आएको बिरामीलाई अन्यत्र ‘रिफर’ गर्नु कति जायज छ ? चिकित्सक र अस्पतालले विवेक प्रयोग गर्नुपर्छ । कमजोर आर्थिक अवस्थाका कारणले अस्तब्यस्तताका बाबजुद पनि सरकारी अस्पतालको आकस्मिक सेवामा आउन बाध्य बिरामीलाई अनेक बहानामा अन्यत्र ‘रिफर’ गर्नु कति मानवोचित छ ?


आकस्मिक कक्षमा अन्य विषयमा जस्तै नाकबाट रगत बग्ने, घाँटीमा हड्डी लगायतका वस्तु अड्किने, कानको दुखाइ आदिजस्ता नाक, कान लगायतका आकस्मिक समस्या आउनसक्ने भएकाले त्यसका लागि आकस्मिक कक्षमा औषधी उपकरण सहितको विशेषज्ञ सेवा उपलब्ध गराउनै पर्ने हुन्छ । आकस्मिक शल्यक्रिया सहितको उपचार विधि तम्तयार, चुस्त–दुरुस्त राख्नुपर्छ । आकस्मिक सेवा चिकित्सक र उपकरणको उपलब्धतामा मात्रै सम्भव छैन । चिकित्सक बाहेकका अन्य सहयोगी, सहकर्मी तथा सुरक्षाको राम्रो प्रबन्ध अस्पतालले मिलाउनुपर्छ ।


विश्व स्वास्थ्य संगठनले शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा नै स्वस्थ रहेको अवस्थालाई स्वास्थ्य मानेको छ । कुनै पनि व्यक्ति शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रूपमा स्वस्थ रहन उसको वरपरको वातावरण तथा सम्बन्धले पनि भूमिका खेलेको हुन्छ । करिब ४० लाखजति बासिन्दा रहेको काठमाडौं खाल्डोमा रहेका सीमित सम्भ्रान्तहरू बाहेक सर्वसाधारणले वर्षौंदेखि भोग्नुपरेको सास्ती, कष्ट या सकस हेर्दा लाग्छ कि जीवनकालमा नै सुधारको अपेक्षा गर्नसक्ने स्थिति छैन ।


सरकार प्रमुखका आश्वासन र सपनाहरूको भरमा कहिलेसम्म बाँंचिरहने ? आकाश घन्किनेगरी सरकार प्रमुखका समृद्धि र सुशासनका उद्गारहरू प्रकट भइरहँदा जमिन या सतहमा के भइरहेको छ, हेक्का राख्नुपर्छ । अनि मात्र जनताप्रतिको प्रतिबद्धता पूरा हुनेछ । स्वर्ग नै बन्न नसके पनि सार्वजनिक अस्पतालमा सर्वसाधारणले सहज तरिकाले उपचार पाउन सक्ने वातावरण बनाउनसके पुग्छ ।


डा. पौडेल वीर अस्पतालका नाक, कान, घाँटी विभाग प्रमुख हुन् ।

प्रकाशित : असार १३, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?