डा. देवकोटाको हेलमेट नियम

काठमाडौँ — मेरा मित्रकाजीले मलाई एकाबिहानै फोन गरेर ‘विश्वास र उहाँको श्रीमतीको गम्भीर मोटरसाइकल दुर्घटना भएकोले हामी ठिमीे अस्पतालमा उहाँहरूलाई हेर्न जाँदैछौं’ भन्नुभयो । हामी अस्पताल पुग्ने बेलामा अरू साथीहरू पहिले नै पुगिसक्नु भएको रहेछ ।

डा. देवकोटाको हेलमेट नियम

विश्वासले भक्तपुरको मुख्य सडकमा मोटरसाइकल चलाउँदै गर्दा पछाडिबाट एउटा ट्रकले ठक्कर दिएको रहेछ, जसले गर्दा मोटरसाइकल अनियन्त्रित भई विश्वास र उहाँको श्रीमती हावामा उड्दै सडकमा बजारिन पुगेका रहेछन् । पहिले हामी विश्वासलाई अस्पतालको दोस्रो तलामा भेट्न गयौं । उनको पाखुरा र चिउँडोमा ताछिएको घाउ थियो र घाउको दुखाइ भए तापनि प्रस्टसँग बोल्न सक्ने अवस्थामा थिए ।

हामी उहाँलाई छोडेर चौथो तलामा रहेको आईसीयुमा मैयालाई हेर्न गयौं । उनी अचेत अवस्थामा थिइन् र भेन्टिलेटरको सहायताले श्वास फेर्दै थिइन् । दुर्घटनाको बेला उनको टाउको सडक छेउमा रहेको रेलिङमा ठोक्किएको रहेछ, जसको कारणले मस्तिष्कमा नराम्रो चोट लागेको थियो । हामीले उनलाई भेट्दा उनको मस्तिष्क मरिसकेको रहेछ । अब उनलाई कुनै पनि सर्जरीको मद्दतले जीवित गर्न सकिने अवस्था थिएन ।

करिब एक घन्टापछि हामीले विश्वासलाई जानकारी गरायौं कि मैयाको अवस्था नाजुक छ र उनको बाँच्ने सम्भावना निकै कम छ । यो सुनेर विश्वास डाँको छाडेर रोए । त्यसको भोलिपल्ट भेन्टिलेटर बन्द गरियो र मैयालाई मृत घोषणा गरियो । नेपालमा अधिकांश मोटरसाइकलमा सवार जोडीले जस्तै विश्वासले मात्र हेलमेट लगाएका थिए भने पछाडि बस्ने मैयाले लगाएकी थिइनन् ।

मैले डा. उपेन्द्र देवकोटालाई पहिलोपटक २०४७ मा भेटेको थिएँ । म पाटन अस्पतालको मेडिकल वार्डमा कार्यरत थिएँ । हामीसँग एकजना महिला बिरामी हुनुहुन्थ्यो, जसको गिदीमा पिप भरिएकोले अपरेसन गर्नुपर्ने थियो । हामी मध्येको एकजना डाक्टरले मलाई डा. देवकोटाको बारेमा बताएका थिए, जो भर्खरै स्कट्ल्यान्डबाट न्युरो सर्जरीको तालिम पूरा गरी नेपाल फर्किनुभएको थियो । मैले भेटेका डाक्टरहरूमध्ये उहाँ फरक हुनुहुन्थ्यो । त्यो उमेरमा उहाँको आत्मविश्वास र सकारात्मक ऊर्जाको कारणले मैले आफ्नो बिरामीलाई उहाँको हातमा सुम्पिन सहजै भरोसा गरेंँ । त्यसपछिका वर्षहरूमा मैले सजिलै आफ्ना धेरै बिरामीलाई उहाँकोमा पठाएँ । कहिलेकाहीं हाम्रो अस्पतालको अपरेटरले मलाई डा. देवकोटाको फोन आएको खबर गर्दा म अचम्मित हुन्थेँ ।

‘मार्क, हिजो राति हामीले ती महिलाको अपरेसन गर्‍यौं । उनको अवस्था अत्यन्त नाजुक छ, तर उनले संघर्ष गर्दैछिन् । हामीले उनको गिदीबाट २०० सिसी पिप निकाल्यौं । व्याक्टेरिया हो वा फङ्गस हो, हामी यकिन गर्न सक्दैनौं । हामी राम्रोको लागि आशा गरौं ।’ मैले धन्यवाद भनेपछि उहाँले फोन राखिदिनुभयो र केही महिनासम्म हाम्रो कुराकानी भएन । उहाँ नेपालको ठूलो अस्पतालमा काम गर्नुहुन्थ्यो । त्यसैले उहाँकोमा मैले बिरामीहरू पठाउनु आवश्यक थिएन । तर उहाँ आफू त्यहाँ सेवा दिन बसेको छु भन्ने व्यवहार देखाउनुहुन्थ्यो । चिकित्सा सेवा उहाँको मुख्य उद्देश्य थियो ।

सन् १९९९ मा मेरा मित्र जोन रोसलाई ढाड र खुट्टा दुख्ने समस्या भयो र एमआरआई रिपोर्ट अनुसार उनको मेरुदण्डमा भएको नरम हड्डीको सानो टुक्रा फाल्नुपर्ने देखियो । डा. देवकोटाले उनको शल्यक्रिया गर्नुभयो । वीर अस्पतालमा मैले जोन रोसको बेडको छेउमै विस्तरा लगाएर सुत्ने योजना बनाएको थिएँ । यो कुरा डा. देवकोटाले थाहा पाए लगत्तै उहाँले आफ्नो अफिस कोठामा रहेको सोफा मगाएर सुत्न कर गर्नुभयो र मसँग भएको ओढ्ने ओछ्यान आफै लिएर अफिस कोठामा लिएर जानुभयो । त्यो रात उपेन्द्रले अबेरसम्म मसँग गफ गर्नुभयो । उहाँको एउटा सपना थियो : नेपालमा एउटा पोष्ट ग्रयाजुयट कलेजको स्थापना गर्ने, जहाँबाट सबै विशेषज्ञ डाक्टरहरू उत्पादन गर्न सकियोस् ।

केही वर्षपछि उहाँ स्वास्थ्य मन्त्री भएको बेलामा म वीर अस्पतालमा बिरामी कुर्न बस्दा उहाँसँग भएको मसँगको कुराकानीलाई सम्झाएँ । त्यसको केही महिनापछि नै उहाँले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (नाम्स) सञ्चालन गर्नका लागि आवश्यक कर्मचारीहरू, नियम तथा कानुनलाई एकै ठाउँमा ल्याउनुभयो ।

हाम्रो मित्रताको फाइदा लिंँदै मैले एकपटक उहाँलाई पाटन अस्पतालले आयोजना गरेको अत्यधिक मदिरापान उपचार सम्बन्धी गोष्ठीमा निमन्त्रणा गरेको थिएँ । यो गोष्ठी कुनै भव्य रूपमा आयोजना नगरिएको भए तापनि उहाँले करिब एक घन्टा भाग लिनुभयो । एकजना मन्त्रीको लागि यस्ता सामान्य खालका कार्यक्रममा भाग लिन लगाउनु कति कठिन हुनेरहेछ भनेर मैले लामो समयसम्म पछि अनुभूत गरेंँ ।

स्वास्थ्य मन्त्री देवकोटाले लामो समय न्युरो सर्जनको रूपमा काम गर्दा देख्नुभएको र अनुभव गर्नुभएको महत्त्वपूर्ण विषयलाई समेटेर निर्णयात्मक काम गर्नुभयो । उहाँले मोटरसाइकल चालकले मात्र होइन, पछाडि सवार व्यक्तिले पनि अनिवार्य हेलमेट लगाउनुपर्ने नियम लागु गर्न मन्त्रिपरिषद्लाई मनाउनुभयो । उहाँले हेलमेट नलगाएको कारणले मोटरसाइकलको पछाडि सवार व्यक्तिले ज्यान गुमाएको वा मस्तिष्कमा चोट पुग्नाले जिन्दगीभर अपाङ्ग भएको थुप्रै मानिस देख्नु र उपचार गर्नुभएको थियो ।

यो नियम केही समयको लागिमात्र लागु भयो, जुन हामी सबैको मानसपटलमा अहिले पनि छ । दुर्भाग्यवश, त्यो समयको गहिरो राजनीतिक अस्थिरताको कारणले र नयाँ शक्ति सत्तामा आउने बित्तिकै यो नियमलाई हटाइयो ।

चिकित्साशास्त्र अनुसार यसमा कुनै वादविवाद छैन । ६१ वटा सम्बन्धित अनुसन्धानहरूको निचोडले देखाए अनुसार मोटरसाइकलमा सवार दुवै जनाले हेलमेट लगाएको बेलामा दुर्घटना भएमा टाउकोमा चोटपटक लाग्ने सम्भावनामा ६९ प्रतिशतले कम देखिनुका साथै मृत्यु हुने सम्भावना ४२ प्रतिशतले कम देखिएको छ ।

प्रत्येक दिन म सडकमा हिँड्दा श्रीमानले हेलमेट लगाएर मोटरसाइकल चलाएको, तर पछिल्लो सिटमा बस्ने उसको सुन्दर श्रीमती हावामा कपाल उडाउँदै र सानो बच्चालाई २ जनाको बीचमा पातलो क्यापमात्र लगाएर राखेको दृश्य दु:ख र त्रासले हेर्छु । के त्यो व्यक्तिमा आफ्नो प्रिय पत्नी र बच्चाको जीवनलाई कति खतरापूर्ण बनाएको छु भन्ने अनुभूति छैन ?

डा. देवकोटा अहिले हामीमाझ हुनुहुन्न । तपाईंहरूको यो सुन्दर देशमा म त एकजना पाहुनामात्र हुँ । तर म यहाँ एउटा प्रश्न नेपाल सरकारलाई उठाउन चाहन्छु : डा. देवकोटाले लागु गर्नुभएको हेलमेट सम्बन्धी नियमलाई पुन: लागु गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जली दिएको ठहरिनेछ ।

प्रकाशित : असार १६, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?