बढ्दो सेल्फी क्रेज 

दिलिप बान्तावा

काठमाडौँ — बिश्वमा सर्बप्रथम सन् २००२ सेप्टेम्बर १३ मा एक अष्ट्रेलियन ईन्टरनेट फोरममा ‘सेल्फी’ शब्दको प्रयोग एउटा ‘ड्रिंक्स पार्टी’ मा खिचिएको सामुहिक फोटोको क्याप्सनमा सामान्य ‘स्ल्याङ वर्ड’ को रुपमा गरिएको थियो ।

बढ्दो सेल्फी क्रेज 

०६३ सालमा पहिलो पल्ट मोबाइल सेट हातमा परेको थियो, नोकिया ६३०० मोडल । उबेला फोटो, अडियो, भिडियो, खिच्नका लागि सान्दार मोबाइल मानिन्थ्यो त्यो । नजिकको फोटो खिच्न मिल्ने २ एमपी को प्राईमरी (पछाडी पट्टि) क्यामेरा थियो । सोही क्यामेरालाई आफुतिर फर्काएर जबर्जस्त पहिलो चोटि सेल्फी खिचेको थिएँ । रहरले गर्दा सोझ्याउन सकस पर्दापर्दै क्यामरा आफुतिर तेर्साएको थिएँ । त्यसरी खिचेको फोटोलाई त्यतिबेलासम्म सेल्फी भन्ने चलन खासै आइसकेको थिएन । आज मेरो हातमा स्मार्टफोन छ । त्यसबेला खिचेको सेल्फी र आज मेरो हातमा भएको फोनले खिचेको सेल्फी निक्कै फरक छन् । तर त्यसबेला जबरजस्त खिचेको सेल्फी मेरा लागि निक्कै सम्झना योग्य छ । हिजोआज सेल्फी खिचेर सामाजिक सञ्जालहरुमा पोष्ट् गर्नेहरुको लर्को छ । प्रविधिको विकास र पहुँचले गाउँगाउँसम्म प्रभाव पारेको छ ।


अक्स्फोर्ड डिक्स्नरी अनुसार “आफैले वा आफनै हातले स्मार्टफोनमार्फत खिचिएको आफनै फोटो नै सेल्फी फोटो हो । जुन सामाजिक सञ्जालहरुमा राख्न प्रयोग गरिन्छ ।” सेल्फीको ईतिहासलाई हेर्दा अमेरिकाका प्रसिद्ध फोटोग्राफर रोबर्ट कर्नेलियसले सर्वप्रथम सन् १८३९ मा सुरक्षित राख्न मिल्ने गरि आफैले आफ्नो फोटो खिच्न सफल भएको बिस्वास गरिन्छ । सन् १९०० मा पोर्टेबल कोडाक क्यामेराको बिकास भएपछि भने सेल्फ पोर्ट्रेट (सेल्फी) फोटो खिच्ने क्रम पनि बढेको पाईन्छ । त्यो समयमा क्यामेरालाई कुनै बस्तुमा अड्याएर वा ट्राईपोडमा राखेर आफुलाई ऐनामा देखाई आफ्नो फोटो खिच्ने गरिन्थ्यो । यसरी पहिलोचोटी ऐनामा आफ्नो फोटो खिच्ने १३ वर्षीय युवती रसियाकी अनास्तासिया निकोलाईभ्ना थिईन् ।


यो भन्दा अगाडि पनि अष्ट्रेलियनहरुले नै सन् ९० को दशकतिरका सामुहिक ‘सेल्फ पोर्ट्रेट’ फोटोहरु खिचेर सन २००१ मा ईन्टरनेट वेबपेज निर्माण गरि अप्लोड गर्ने अवधारणाको बिकास गरेका थिए । तर पनि ‘सेल्फी’ फोटोहरु भने सन् २००० को अन्त्यतिर देखि नै सामाजिक सञ्जाल ‘माईस्पेस’ मा निक्कै दोहोरिईसकेका थिए, सन् २००४ मा फेसबूकको सुरुवात नभएसम्म । सन् २००३ मा मोबाईल उत्पादक कम्पनी “सोनि ईरेक्सन" ले पहिलो चोटि “फ्रन्ट क्यामेरा" सहितको मोबाईल उत्पादन गर्यो, जसले “सेल्फी" फोटो खिच्न र भिडियो कल गर्न सकिन्थ्यो । अहिले आएर बिश्वका सबै मोबाईल उत्पादक कम्पनीहरुले “फ्रन्ट क्यामेरा" सहितको मोबाईल उत्पादन गरिरहेका छन् ।


सामाजिक सञ्जालहरुको लोकप्रियतासंगै मानिसहरुमा फरक खाले “फोटोजेनिक" बानीको बिकास भयो, जसले गर्दा परम्परागत तरिकाले टाढाबाट औपचारिक स्थान र भावभंगिमा खिचिने फोटोहरुभन्दा नजिकैबाट र अनौपचारिक ढंगले खिचिने फोटोहरुको लोकप्रियता पनि वृद्धि हुन पुग्यो । जुन फोटोहरुलाई ‘सेल्फी’ भनियो । सन् २०१० मा आइफोनको आगमन पछि भने सेल्फीले अझ परिस्कृत हुने मौका पायो । जसले ईन्स्टाग्राम, स्न्यापच्याट जस्ता फोटो शेयरिङ्ग सञ्जालहरुमा तत्काल फोटो राख्न र सेल्फीको विभिन्न फरक बिशेषताहरुको निर्माण गरेको थियो । पछिल्लो समय सेल्फी यति लोकप्रिय भयो कि एक तथ्यांक अनुसार दैनिक ५०० मिलियन सेल्फी फोटो ईन्स्टाग्राममा पोष्ट हुन्छ भने स्न्यापच्याटमा दैनिक १८० मिलियन ।


पछिल्लो समय ईन्स्टाग्राममा सेल्फीलाई ह्यासट्याग गर्ने चलन बढ्दो छ । सर्बप्रथम सन् २०११ मा जेनिफर ली नामक ब्यापारीले सेल्फीलाई ईन्स्टाग्राममा ह्यासट्याग गरेका थिए । खासगरी अष्ट्रेलियाबाट शुरुवात गरिएको सेल्फी शब्द सन् २०१३ को एउटा तथ्यांक अनुसार १८–३५ वर्ष उमेर समुहका अष्ट्रेलियन महिलाहरुको दुई तिहाई संख्याले सेल्फी खिचेर फेसबूकमा पोष्ट गर्ने गर्थे । सोही साल ‘टेलिग्राफ’ म्यागेजिनले मोबाईल उत्पादक कम्पनी ‘सामसुङ्ग’ को हवाला दिँदै ३० प्रतिशत सेल्फी १८–२४ वर्ष उमेर समुहको मानिसहरुले खिच्ने गरेको कुरा उल्लेख गरेको थियो । यसरी धेरै लामो समय अगाडिदेखि विभिन्न ढंगले अभ्यास गरिँदै आएको फोटो खिच्ने एउटा तरिका सन् २०१० को दशकमा आएर बिश्वब्यापी रुपमा ‘सेल्फी’ भनेर चिनियो । जब सन् २०१३ को नोभेम्बरमा अक्स्फोर्ड डिक्स्नरीले ‘सेल्फी’ लाई अष्ट्रेलियन उदगम र व्याख्यासहित ‘वर्ड अफ द ईयर’ घोषणा गर्यो ।


सेल्फी एउटा संस्कृति नै भएर फैलिएको छ । बढ्दो प्रविधिको बिकास, तिब्र बजारीकरण तथा व्यापक आर्थिक क्रियाकलापले मानव गतिबिधिमा तरलता आएको छ । हरेक गतिबिधिहरुलाई स्मार्टफोनको स्क्रीनमा कैद गर्ने र सामाजिक सञ्जालमा पोष्ट्याउने दैनिकी झै बनेको छ । दशक अघि मेरा लागि जुन काम जबरजस्त बनेको थियो । आज सबै उमेर समुहका लागि सजिलो काम यही भएको छ । विभिन्न भाव र मुद्रामा सेल्फी खिच्ने सामाजिक सञ्जालमा पोष्ट गर्ने र घण्टौ झुम्मिनेहरु बढिरहेका छन् । यसले मानिसको व्यक्तित्वलाई सामाजिक सञ्जालमा ऐना जसरी प्रष्टाएको छ । प्रभाव भने सकरात्मक भन्दा नकरात्मक धेरै छन् । भावनात्मक मुडका सेल्फीले सामाजिक दरार पनि ल्याएको छ । एउटा अध्ययनका अनुसार सेल्फीमा बढी लगाव राख्ने र सामाजिक सञ्जालहरुमा त्यस प्रकारको फोटोहरु नियमित रुपमा राखिरहने मानिसहरुको सामाजिक सम्बन्धहरु प्राय जोखिमपुर्ण अवस्थामा रहन्छन् । अझ अमेरिकन प्रोफेसर गेल डाएन्सले एउटा सन्दर्भमा सेल्फी संस्कृतिलाई पोर्नोग्राफ उन्मुख प्रबृती बनिरहेको भन्दै यसले महिलाहरुलाई पुरुषहरुको लागि सिर्फ भोग्य बस्तुको रुपमा परिणत गरिरहेको तर्क पेश गरेकी थिईन् । शिक्षाबिद् गर्जिया स्ट्रेटका अनुसार समाजले पुरुषहरुलाई सार्वजानिक वा प्रस्तुत हुनका लागि विभिन्न माध्यमहरु खुल्ला गरेको छ । तर महिलाहरुलाई त्यति धेरै बाटोहरु दिईएको छैन जति पुरुषहरुलाई दिईएको छ । त्यसैले त्यो एक्स्पोजको एउटा माध्यमको रुपमा महिलाहरुले सेल्फीलाई बढि प्रयोग गरिरहेका छन् ।


सेल्फी खिच्दा प्रयोग गरिने विभिन्न “ईफेक्ट्स“ सहितको फोटोले मान्छेको वास्तविक स्वरुपलाई लुकाएर आफू सुन्दर देखिन चाहनु तथा त्यस प्रकारको सुन्दरताहरु प्रति आकर्षित हुनुले विभिन्न सामाजिक दुर्घट्नाहरु समेत निम्तिरहेका छन् । नेपाली समाजको सन्दर्भमा युवापिंडी बैदेशिक रोजगारका लागि बिदेशिनु संगै परिवारहरुमा विग्रह उत्पन्न हुने, विभिन्न सार्बजानिक सेवासंग सम्बन्धित मान्छेहरुले समयमा सेवाग्राहीलाई सेवा उपलब्ध गराउन चुक्ने, आफ्ना दैनिक नियमितताहरुमा हेलचेक्र्याइँ गर्नाले ब्यक्तिगत दैनिकी चौपट हुने एबं सामाजिक मूल्य र मान्यताहरुमा स्खलन उत्पन्न हुने कारणहरु मध्ये सेल्फीले एउटा कारण बन्दै गएको छ । सेल्फी भन्ना साथ केवल फोटो खिच्नु मात्र सोँचिनु गलत हुदैछ अब । सेल्फी खिच्नुको उद्देश्य सामाजिक सञ्जालहरुमा पोस्ट गर्नु, विभिन्न खाले प्रतिक्रियाहरुको अपेक्षा गर्नु र त्यससंग निरन्तर जोडिईरहनु, साथीहरुलाई ब्यक्तिगत ईन्बक्समा पठाउनु र त्यसको बारेमा लामो समयसम्म गफिनु जस्ता क्रियाकलापले मानिसलाई अब वास्तविक सम्बन्ध र दैनिकी भन्दा पनि काल्पनिक (भर्चुअल) सम्बन्ध र दुनियाँतर्फ तिब्र गतिमा धकेलिरहेको छ ।


सेल्फी क्रेजले विभिन्न दुर्घट्नाहरु समेत भएका घट्नाहरु सार्बजानिक हुने गरेका छन् । सबैभन्दा पहिलो ‘सेल्फी मृत्यू’ सन् २०१४ जुन ३० मा भएको थियो । फिलिपिन्सकी १४ वर्षीय एक विद्यार्थी आफ्नो बिद्यालयको सिँढिबाट ओर्लँदै गर्दा साथीसंग सेल्फी खिच्ने क्रममा लडेर उनको मृत्यू भएको थियो । सोही घट्नालाई सेल्फी ईतिहासको पहिलो मृत्यू भनिएको छ । केही समय अगाडि सेल्फी खिच्ने क्रममा नेपाल मै पनि नम्रता सापकोटा नारायणी नदिमा खसेर बेपत्ता भएकी थिईन् ।

प्रकाशित : असार १७, २०७५ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?