कीटनाशक विषादीको असर

नेपालमा पहिलोपटक विषादी सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि अमेरिकाबाट आयात गरिएको थियो ।
डा. राकेश घिमिरे

काठमाडौँ — बालीनालीमा लाग्ने रोग, किरा कृषकहरूका लागि मुख्य समस्या बन्दै आएको छ । बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन र खेतीयोग्य जमिनलाई अन्य प्रयोजनमा बढाउँदै जाँदा खाद्य सुरक्षाका लागि किसानहरू आधुनिक कृषितर्फ लागेका छन् ।

यसरी आधुनिकीकरणमा जाँदा किसानहरूले रासायनिक विषादीको प्रयोग गर्न थालेका छन् । किटनाशक विषादीहरूको प्रयोग किरा र सुलसुले नियन्त्रणका लागि गरिन्छ ।

सन् १९४० मा विश्वमा पहिलोपटक सिन्थेटिक किटनाशक विषादी प्रयोग भएको थियो । त्यसपछि किटनाशकको खपत विश्वमा बढेको देखिन्छ । सन् २००१ को तथ्याङ्क अनुसार २.२६ मिलियन टन प्रयोग गरिएको थियो । विश्वव्यापी हेर्ने हो भने किटनाशक विषादी उत्पादन प्रतिवर्ष ११ प्रतिशतको दरले बढेको देखिन्छ, जुन सन् १९५० मा ०.२ मिलियन टनबाट बढेर २००१ मा ५ मिलियनभन्दा बढी उत्पादन भएको देखिन्छ ।

Yamaha

विश्व उत्पादनको करिब २५ प्रतिशत विकासशील देशहरूमा प्रयोग गरिन्छ । यसको दुरुपयोगबाट धेरैको मृत्यु भएको छ । एसियाली देशमा यसको प्रयोग बढेको देखिन्छ ।

तिनमा चीन विश्वकै ठूलो प्रयोगकर्ता (२.०–२.५ केजी प्रतिहेक्टर) निर्माता र निर्यातकर्ता रूपमा मानिन्छ । भारत एसियामा दोस्रो ठूलो प्रयोगकर्ता र निर्माणकर्ता हो । नेपालमा किटनाशक विषादीको औसत प्रयोग ३९६ ग्राम (खास विष) रहेको पीपीडी, २०१५ ले उल्लेख गरेको छ । नेपालमा पहिलोपटक विषादी सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि अमेरिकाबाट आयात गरिएको थियो । नेपालमा १७३ भन्दा धेरै सामान्य प्रकारका किटनाशक, ६२ प्रकारका ढुसीनाशक विषादी र २४ विभिन्न ब्रान्डका हर्बिसाइड्स/झारपात नाशक विषादी प्रयोग भएको पाइन्छ । विगतका वर्षहरूको तुलनामा नेपालमा किटनाशक विषादीको प्रयोग १०–२० प्रतिशत प्रतिवर्ष बढेको छ ।

किटनाशक विषादी बालीनालीमा लाग्ने पिराहा जीवहरूको नाश गर्न, पशु सम्बन्धी पिराहा जीव र रोगहरू नियन्त्रण गर्न र मानवीय रोगहरू ओसार्ने किरा नियन्त्रण गर्न प्रयोग गरिन्छ । बेमौसमी खेती विशेषगरी दैनिक उपभोग हुने तरकारीको उत्पादनका लागि विषादीको अधिक प्रयोग भएको पाइन्छ । यसको प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । रासायनिक किटनाशक विषादीको अनुचित प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असरसंँगै वातावरणमा ओजोन तहमा छिद्र, हावा तथा माटो प्रदूषण, जैविक विविधताको नाशजस्ता प्रभाव देखिँदै आएका छन् ।

किटनाशक विषादीहरूलाई रासायनिक समूहरूको आधारमा वर्गीकरण गर्न सकिन्छ । प्रमुख समूहरूमा अर्गानोक्लोरिन्स, अर्गानोफोस्फेट, कार्वामेट्स पाइरेथ्रोइड्स पर्छन् । विषालुपनको आधारमा विश्व स्वास्थ्य संगठनले विषादीको वर्गीकरण गरेको छ । तिनमा ज्यादै विषालु, विषालु, मध्यम विषालु) र कम विषालु) पर्छन् ।

विषादीसँग हुनसक्ने शारीरिक संसर्ग कम गराउन विषादीको उत्पादन, पैठारी, खुद्रा बिक्री, परिवहन, मिसावट र प्रयोग गर्ने कार्यमा संलग्न सबै सचेत हुन जरुरी छ। विषादी के कस्तो प्रकारबाट शरीरभित्र प्रवेश गर्न सक्छ र प्रवेश गरे कतिसम्म विष लाग्छ भन्ने राम्रो जानकारी राख्नुपर्छ । छाला, आँखा, फोक्सो, मुखको माध्यमबाट विषादी शरीरभित्र प्रवेश गर्न सक्छ । विषालुपना २ प्रकारका हुन्छन् :

१. कडा विषालुपन । २. दीर्घ विषालुपन । विषादीको धेरै मात्रा कुनै पनि माध्यमबाट शरीरभित्र पसेमा वा पटक–पटक ससानो मात्रा छोटो समयको अन्तरमा शरीरभित्र प्रवेश भएमा त्यसलाई कडा विषालुपन भनिन्छ ।

मानव शरीरमा हुने विषादीको तत्कालीन असरहरू अनिद्रा, रातो आँखा हुने, आँखा पोल्ने, नाक पोल्ने जस्ता साधारण असरदेखि धेरै पसिना बहनु, आँखीभौं फरफराउनु, आँखा धमिलो देखिनु, धेरै आँसु बहनु, नाक बगिरहनु, बढी र्‍याल चुहिने हुन्छ । पक्षाघात आक्रमण, मुच्र्छा, होश हराउने जस्ता कडा खाले असर पनि हुनसक्छ । लामो समयसम्म प्रत्यक्ष–अप्रत्यक्ष रूपमा विषादीको स–साना मात्रा सेवन हुनआएमा वा विषादीको अवशेषयुक्त उत्पादन (अन्न, फलफूल, तरकारी आदि) सेवन गर्दा त्यसबाट देखिने वा अनुभव गरिने नकारात्मक असरलाई दीर्घ विषालुपन भनिन्छ । यस्ता प्रभाव १ महिनादेखि १ वर्षसम्म वा बढी समयसम्म पनि रहन सक्छ ।

अनावश्यक विषादीको प्रयोगले मानिसमा देखिने असरमा पुरुषको सन्तान उत्पादन क्षमतामा ह्रास हुने, रोग प्रतिरोधात्मक क्षमतामा प्रत्यक्ष नकारात्मक असर देखिने, बालबालिकामा अपाङ्गता हुने जस्ता समस्या उत्पन्न गर्न सक्छ । त्यत्ति मात्रै नभई विषादीले क्यान्सर पनि गराउन सक्छ । विष लागेका लक्षण विषादीको किसिम र रासायनिक प्रकृतिमा निर्भर हुन्छ । तसर्थ विषादीको सम्पर्कमा आउने जोकोहीले विष लाग्दाका लक्षण र प्राथमिक उपचारका उपायबारे थाहा पाउनु जरुरी हुन्छ ।

प्राथमिक उपचार
प्राथमिक उपचारमा बिरामीलाई आधा झुकेको रूपमा टाउको निहुर्‍याएर राख्नुपर्छ । यसले बान्ता हुन दिँदैन । साथै प्रदूषित पहिरन हटाइदिनुपर्छ र छाला खासगरी हात, मुख, घांँटी र रौंलाई साबुन–पानीले धोइदिनुपर्छ । स्वस्थ हावा प्रवाह हुने व्यवस्था गर्नुपर्छ । त्यस्तै कुन विषादीबाट विष लागेको हो यथाशीघ्र पत्ता लगाउनुपर्छ । पीडितलाई यथाशक्य आरामपूर्वक राख्ने र सकभर चाँडो नजिकको उपचार केन्द्रमा पुर्‍याउँदा प्रयोग भएको विषादी पनि पहिचानको लागि लग्नु जरुरी हुन्छ ।

रोकथामका उपाय
किटनाशक विषादी प्रयोग गर्दा अपनाउनुपर्ने होसियारीमा रासायनिक विषादी भए त्यसको प्रयोग, सिफारिस मात्राको प्रयोग गर्ने, विषादी प्रयोग गर्ने साधन, तौरतरिका अनुरूप ठिक राख्नुपर्छ । विषादी छर्दा मास्क, पञ्जा, चस्मा, टोपी, जुत्ताहरूको प्रयोग गरी शरीरलाई विषादी नछिर्नेगरी पूर्णरूपले ढाक्नुपर्छ । विषादी मिसाउँदा वा छर्ने बेलामा कुनै पनि कुरा खान, पिउने वा धूमपान गर्न हुँदैन ।

विषादी छरिसकेपछि शरीरलाई सरसफाइ राम्रोसंँग गर्नुपर्छ । विषादी दुरुपयोग गरी आत्महत्या पनि गर्ने गर्छन् । २०७३/७४ मा प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आत्महत्या गर्न विषादी सेवन गर्नेको संख्या १२२४ जना छ । तसर्थ कृषकहरूमा दैनिक जीवनमा आइपर्ने विषादी सम्बन्धी समस्या समाधानका लागि उपयुक्त ज्ञान तथा सीप विकास र विषादी व्यवस्थापन सम्बन्धी प्राविधिक तथा व्यावसायिक सीप जरुरी हुन्छ । अन्यथा विषादी प्रयोग तथा कृषि उत्पादन गर्ने किसान र उपभोग गर्ने उपभोक्ता सधैं यसको सिकार हुनु पर्नेछ ।

घिमिरे त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका क्लिनिकल फर्माकोलोजीका उपप्राध्यापक हुन् ।

प्रकाशित : असार १९, २०७५ ०८:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

[विश्लेषण] नेयमर लयमा देखिए

नवीन न्यौपाने

काठमाडौँ — विश्वकप २०१८ मा ठूला टिम बाहिरिरहेको स्थितिमा साेमबार रातिका दुई खेलमा त्यस्तो भएन् । ब्राजिल र बेल्जियम बलिया टिम हुन् र उनीहरू दुवै क्वाटरफाइनल पुग्न सफल रहे ।

ब्राजिलले पहिलो खेलमा मेक्सिकोलाई २–० ले पन्छायो। ब्राजिलले खेलको सुरुमा सुरक्षालाई ध्यानमा राखेर खेलेको थियो र आक्रमणका लागि पर्खिरहेको देखिन्थ्यो।

मेक्सिकोले सुरुआती २४ मिनेटसम्म ब्राजिललाई दबाबमा राख्यो र खुलेर खेल्न नै दिएन। त्यसयता भने ब्राजिल लयमा देखिन सुरु भयो, तर पहिलो हाफमा गोल सम्भव भएन्। नेयमरले ५१ औं मिनेटमा पहिलो गोल गरे। दोस्रो हाफमा ब्राजिल लयमा देखियो, नेयमर आफै पनि लयमा देखिन थाले।

उनी विश्वस्तरीय खेलाडी हुन्, उनले यसअघि नै आफूलाई सिद्ध गरिसकेका छन्। लिग चरणमा नेयमारले जस्तो खेलेको थियो, त्यसको तुलनामा मेक्सिकोविरुद्ध उनले धेरै राम्रो खेले। उनको खेल यस्तै रहने हो भने ब्राजिलको विश्वकप यात्रा अझ लम्बिने छ। उनके पासमा रोबर्टो फिरमिनोले ८८ औं मिनेटमा दोस्रो गोल पनि गरे।

ब्राजिलका लागि नेयमर मात्र होइन, फिलिपे कोउटिन्हो र विलियन तीनै खेलाडीले राम्रो गरे। यो ब्राजिली टिमको एउटा प्रमुख कारण रह्यो। यता मेक्सिकोले भने ‘डिफेन्स टु एटायक’ खेलिरहेको थियो र सुरुमा त्यसमा सफल पनि देखियो। तर यसलाई अन्त्यसम्म कायम राख्न सकेन। उसका लागि गोलरक्षकले भने राम्रो गरे।

बेल्जियमले भने जापानविरुद्धको खेलमा गज्जब ‘कमब्याक’ गर्‍यो। नतिजा उसको पक्षमा ३–२ रह्यो। दुई गोल खाएर पनि तीन गोल फर्काउन सक्नुले पनि देखाउँछ, यो टिम वास्तवमै कति बलियो छ भनेर। अब अन्तिम आठमा यिनै दुई टिम भिड्ने छन् र यो साँच्चै हेर्न लायकको खेल हुनेछ।

जापानले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गरेको थियो र एक समय देखिएको थियो, अब यो टिम अन्तिम आठमा पुग्ने छ। तर यस्तो हुन सकेन। बेल्जियमका तर्फबाट ६९ औं मिनेटमा भान भेरटोनगेनले गोल गरे र खेल २–१ को स्थितिमा आयो। मेरो विचारमा खेलको ‘टर्निङ–प्वाइन्ट’ नै यही थियो।

कुनै पनि बलियो टिम जति बेला खेलमा पछाडि पर्छ, त्यसको कारण लगातार आक्रमण हुने गर्छ। जापानको दोस्रो गोल काउन्टर आक्रमणमा भएको थियो र यो त्यसै कारणले हो। तर बेल्जियमले लगातार आक्रमणको रणनीतिलाई भने छाडेन। बेल्जियमलाई जापानमाथि शारीरिक रूपमा पनि फाइदा देखियो। बेल्जियमका खेलाडी निकै बलिया र अग्ला देखिन्थे।

(न्यौपाने राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबका प्रशिक्षक छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)

प्रकाशित : असार १९, २०७५ ०७:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT