कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कीटनाशक विषादीको असर

नेपालमा पहिलोपटक विषादी सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि अमेरिकाबाट आयात गरिएको थियो ।
डा. राकेश घिमिरे

काठमाडौँ — बालीनालीमा लाग्ने रोग, किरा कृषकहरूका लागि मुख्य समस्या बन्दै आएको छ । बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन र खेतीयोग्य जमिनलाई अन्य प्रयोजनमा बढाउँदै जाँदा खाद्य सुरक्षाका लागि किसानहरू आधुनिक कृषितर्फ लागेका छन् ।

कीटनाशक विषादीको असर

यसरी आधुनिकीकरणमा जाँदा किसानहरूले रासायनिक विषादीको प्रयोग गर्न थालेका छन् । किटनाशक विषादीहरूको प्रयोग किरा र सुलसुले नियन्त्रणका लागि गरिन्छ ।

सन् १९४० मा विश्वमा पहिलोपटक सिन्थेटिक किटनाशक विषादी प्रयोग भएको थियो । त्यसपछि किटनाशकको खपत विश्वमा बढेको देखिन्छ । सन् २००१ को तथ्याङ्क अनुसार २.२६ मिलियन टन प्रयोग गरिएको थियो । विश्वव्यापी हेर्ने हो भने किटनाशक विषादी उत्पादन प्रतिवर्ष ११ प्रतिशतको दरले बढेको देखिन्छ, जुन सन् १९५० मा ०.२ मिलियन टनबाट बढेर २००१ मा ५ मिलियनभन्दा बढी उत्पादन भएको देखिन्छ ।

विश्व उत्पादनको करिब २५ प्रतिशत विकासशील देशहरूमा प्रयोग गरिन्छ । यसको दुरुपयोगबाट धेरैको मृत्यु भएको छ । एसियाली देशमा यसको प्रयोग बढेको देखिन्छ ।

तिनमा चीन विश्वकै ठूलो प्रयोगकर्ता (२.०–२.५ केजी प्रतिहेक्टर) निर्माता र निर्यातकर्ता रूपमा मानिन्छ । भारत एसियामा दोस्रो ठूलो प्रयोगकर्ता र निर्माणकर्ता हो । नेपालमा किटनाशक विषादीको औसत प्रयोग ३९६ ग्राम (खास विष) रहेको पीपीडी, २०१५ ले उल्लेख गरेको छ । नेपालमा पहिलोपटक विषादी सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि अमेरिकाबाट आयात गरिएको थियो । नेपालमा १७३ भन्दा धेरै सामान्य प्रकारका किटनाशक, ६२ प्रकारका ढुसीनाशक विषादी र २४ विभिन्न ब्रान्डका हर्बिसाइड्स/झारपात नाशक विषादी प्रयोग भएको पाइन्छ । विगतका वर्षहरूको तुलनामा नेपालमा किटनाशक विषादीको प्रयोग १०–२० प्रतिशत प्रतिवर्ष बढेको छ ।

किटनाशक विषादी बालीनालीमा लाग्ने पिराहा जीवहरूको नाश गर्न, पशु सम्बन्धी पिराहा जीव र रोगहरू नियन्त्रण गर्न र मानवीय रोगहरू ओसार्ने किरा नियन्त्रण गर्न प्रयोग गरिन्छ । बेमौसमी खेती विशेषगरी दैनिक उपभोग हुने तरकारीको उत्पादनका लागि विषादीको अधिक प्रयोग भएको पाइन्छ । यसको प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । रासायनिक किटनाशक विषादीको अनुचित प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असरसंँगै वातावरणमा ओजोन तहमा छिद्र, हावा तथा माटो प्रदूषण, जैविक विविधताको नाशजस्ता प्रभाव देखिँदै आएका छन् ।

किटनाशक विषादीहरूलाई रासायनिक समूहरूको आधारमा वर्गीकरण गर्न सकिन्छ । प्रमुख समूहरूमा अर्गानोक्लोरिन्स, अर्गानोफोस्फेट, कार्वामेट्स पाइरेथ्रोइड्स पर्छन् । विषालुपनको आधारमा विश्व स्वास्थ्य संगठनले विषादीको वर्गीकरण गरेको छ । तिनमा ज्यादै विषालु, विषालु, मध्यम विषालु) र कम विषालु) पर्छन् ।

विषादीसँग हुनसक्ने शारीरिक संसर्ग कम गराउन विषादीको उत्पादन, पैठारी, खुद्रा बिक्री, परिवहन, मिसावट र प्रयोग गर्ने कार्यमा संलग्न सबै सचेत हुन जरुरी छ । विषादी के कस्तो प्रकारबाट शरीरभित्र प्रवेश गर्न सक्छ र प्रवेश गरे कतिसम्म विष लाग्छ भन्ने राम्रो जानकारी राख्नुपर्छ । छाला, आँखा, फोक्सो, मुखको माध्यमबाट विषादी शरीरभित्र प्रवेश गर्न सक्छ । विषालुपना २ प्रकारका हुन्छन् :

१. कडा विषालुपन । २. दीर्घ विषालुपन । विषादीको धेरै मात्रा कुनै पनि माध्यमबाट शरीरभित्र पसेमा वा पटक–पटक ससानो मात्रा छोटो समयको अन्तरमा शरीरभित्र प्रवेश भएमा त्यसलाई कडा विषालुपन भनिन्छ ।

मानव शरीरमा हुने विषादीको तत्कालीन असरहरू अनिद्रा, रातो आँखा हुने, आँखा पोल्ने, नाक पोल्ने जस्ता साधारण असरदेखि धेरै पसिना बहनु, आँखीभौं फरफराउनु, आँखा धमिलो देखिनु, धेरै आँसु बहनु, नाक बगिरहनु, बढी र्‍याल चुहिने हुन्छ । पक्षाघात आक्रमण, मुच्र्छा, होश हराउने जस्ता कडा खाले असर पनि हुनसक्छ । लामो समयसम्म प्रत्यक्ष–अप्रत्यक्ष रूपमा विषादीको स–साना मात्रा सेवन हुनआएमा वा विषादीको अवशेषयुक्त उत्पादन (अन्न, फलफूल, तरकारी आदि) सेवन गर्दा त्यसबाट देखिने वा अनुभव गरिने नकारात्मक असरलाई दीर्घ विषालुपन भनिन्छ । यस्ता प्रभाव १ महिनादेखि १ वर्षसम्म वा बढी समयसम्म पनि रहन सक्छ ।

अनावश्यक विषादीको प्रयोगले मानिसमा देखिने असरमा पुरुषको सन्तान उत्पादन क्षमतामा ह्रास हुने, रोग प्रतिरोधात्मक क्षमतामा प्रत्यक्ष नकारात्मक असर देखिने, बालबालिकामा अपाङ्गता हुने जस्ता समस्या उत्पन्न गर्न सक्छ । त्यत्ति मात्रै नभई विषादीले क्यान्सर पनि गराउन सक्छ । विष लागेका लक्षण विषादीको किसिम र रासायनिक प्रकृतिमा निर्भर हुन्छ । तसर्थ विषादीको सम्पर्कमा आउने जोकोहीले विष लाग्दाका लक्षण र प्राथमिक उपचारका उपायबारे थाहा पाउनु जरुरी हुन्छ ।

प्राथमिक उपचार
प्राथमिक उपचारमा बिरामीलाई आधा झुकेको रूपमा टाउको निहुर्‍याएर राख्नुपर्छ । यसले बान्ता हुन दिँदैन । साथै प्रदूषित पहिरन हटाइदिनुपर्छ र छाला खासगरी हात, मुख, घांँटी र रौंलाई साबुन–पानीले धोइदिनुपर्छ । स्वस्थ हावा प्रवाह हुने व्यवस्था गर्नुपर्छ । त्यस्तै कुन विषादीबाट विष लागेको हो यथाशीघ्र पत्ता लगाउनुपर्छ । पीडितलाई यथाशक्य आरामपूर्वक राख्ने र सकभर चाँडो नजिकको उपचार केन्द्रमा पुर्‍याउँदा प्रयोग भएको विषादी पनि पहिचानको लागि लग्नु जरुरी हुन्छ ।

रोकथामका उपाय
किटनाशक विषादी प्रयोग गर्दा अपनाउनुपर्ने होसियारीमा रासायनिक विषादी भए त्यसको प्रयोग, सिफारिस मात्राको प्रयोग गर्ने, विषादी प्रयोग गर्ने साधन, तौरतरिका अनुरूप ठिक राख्नुपर्छ । विषादी छर्दा मास्क, पञ्जा, चस्मा, टोपी, जुत्ताहरूको प्रयोग गरी शरीरलाई विषादी नछिर्नेगरी पूर्णरूपले ढाक्नुपर्छ । विषादी मिसाउँदा वा छर्ने बेलामा कुनै पनि कुरा खान, पिउने वा धूमपान गर्न हुँदैन ।

विषादी छरिसकेपछि शरीरलाई सरसफाइ राम्रोसंँग गर्नुपर्छ । विषादी दुरुपयोग गरी आत्महत्या पनि गर्ने गर्छन् । २०७३/७४ मा प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आत्महत्या गर्न विषादी सेवन गर्नेको संख्या १२२४ जना छ । तसर्थ कृषकहरूमा दैनिक जीवनमा आइपर्ने विषादी सम्बन्धी समस्या समाधानका लागि उपयुक्त ज्ञान तथा सीप विकास र विषादी व्यवस्थापन सम्बन्धी प्राविधिक तथा व्यावसायिक सीप जरुरी हुन्छ । अन्यथा विषादी प्रयोग तथा कृषि उत्पादन गर्ने किसान र उपभोग गर्ने उपभोक्ता सधैं यसको सिकार हुनु पर्नेछ ।

घिमिरे त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका क्लिनिकल फर्माकोलोजीका उपप्राध्यापक हुन् ।

प्रकाशित : असार १९, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?