सार्वजनिक संस्थान सुधार्ने जुक्ति

सुनिता बराल

काठमाडौँ — समृद्धिको प्रमुख पक्ष आर्थिक समृद्धि हो । आर्थिक समृद्धिको लागि आर्थिक नीतिदेखि नै पुनरावलोकन र सामयिक परिमार्जन जरुरी छ । अर्थमन्त्री युवराज खतिवडाले काम नलाग्ने संस्थाहरू बन्द गर्ने र काम गर्नसक्ने संस्थाहरू खोल्दै जाने घोषणा गर्नुभएको छ ।

करिब ४० संस्थान सञ्चालनमा छन् । सरकारले विभिन्न समयमा फरक–फरक उद्देश्यसाथ सार्वजनिक संस्थानहरू स्थापना गरेको पाइन्छ । यस्ता संस्थानको उद्देश्य सार्वजनिक हित र कल्याणका दृष्टिले जनताको मन जित्नेगरी दक्षतासाथ सञ्चालन गर्नु हो । अधिकांश संस्थानहरू सरकारी अनुदानमा नै भर पर्ने गरेका छन्। राज्यको संरक्षण सहितको एकाधिकारमा पनि संस्थानहरूको वित्तीय सक्षमता र व्यावसायिक कार्यकुशलता राम्रो देखिएको छैन । सार्वजनिक संस्थानलाई निजीकरणमा पुर्‍याउने एउटा ठूलो आन्तरिक रोग यो पनि हो ।

सार्वजनिक संस्थानका सेवाको बजार माग अत्यधिक रहँदारहँदै पनि प्रभावकारी रूपमा सेवा प्रदान गर्नसकेका छैनन्। अर्कोतर्फ संस्थानहरू घाटामा रहनाले सरकारले आर्थिक बोझ बेहोर्नुपर्ने बाध्यता छ । आखिर किन यस्तो हुन्छ ? माग बढी भएपछि त उत्पादन र आपूर्ति बढाउनुपर्ने होइन र ? किन सधैं घाटामा रहने ? यसमा प्राविधिक पक्ष अन्य पनि भेट्टाउन सकिएला, तर प्रमुख पक्ष भने नेतृत्वको विषय हो ।

Yamaha

संस्थानका प्रमुखहरूमा हुने गरेको राजनीतिक नियुक्ति यसको कारण हो । सरकार बदलिएसँगै परिवर्तन हुने राजनीतिक नियुक्तिका पदहरू आफैमा गलत नहोलान् । तर यस्ता नियुक्तिमा दक्षता, सम्बन्धित क्षेत्रप्रतिको विशेषज्ञता विचार नगरी गरिने सिफारिसका अभ्यास भने गलत छन् । यस्ता संस्थानमा जबसम्म यो जागिरमात्रै होइन, यो सामाजिक उत्तरदायित्व हो भन्ने मनोभावनासाथ कार्ययोजना भएको व्यक्ति जाँदैनन्, तबसम्म यो समस्या कायम रहन्छ । सरकार मातहतमा रहँदा अत्यधिक नियन्त्रण हुने र निजी क्षेत्रलाई दिँदा बढी नाफामुखी मात्रै हुने भएकाले छुट्टै कानुन निर्माण गरी लोककल्याणकारी संस्थाका रूपमा विकसित गर्नुपर्छ यी संस्थानहरूलाई।

औद्योगिक क्षेत्रमा ७ वटा संस्थानमध्ये जनकपुर चुरोट कारखाना बन्द भएको छ । व्यापारिक क्षेत्रमा कृषि सामग्री केन्द्र, राष्ट्रिय बिउबिजन कम्पनी लि., नेसनल ट्रेडिङ लिमिटेड, नेपाल खाद्य संस्थान, नेपाल आयल निगम लिमिटेड र दि टिम्बर कर्पोरेसन अफ नेपाल लि. छन् ।

सेवा क्षेत्रका संस्थानहरूमा नेपाल नागरिक उडड्यन प्राधिकरण, नेपाल वायुसेवा निगम, औद्योगिक क्षेत्र व्यवस्थापन लि., नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र लिमिटेड, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लि. र नेसनल कन्सट्रक्सन कम्पनी छन् । यिनमा नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी सेवा केन्द्र लि. र नेसनल कन्सट्रक्सन कम्पनी सञ्चालनमा छैनन् । सञ्चालनमा रहेका यी संस्थानका परिणाम पनि मिश्रित देखिन्छ । सामाजिक क्षेत्रमा गोरखापत्र संस्थान, सांस्कृतिक संस्थान, जनक शिक्षा सामग्री केन्द्र लि., नेपाल टेलिभिजन र राष्ट्रिय आवास कम्पनी लि. छन् ।

तिनमा पनि अधिकांश संस्था कोही ठूलो मात्रामा र कोही न्यून मात्रामा घाटामा छन् । जनउपयोगी क्षेत्र अन्तर्गतका नेपाल दूरसञ्चार कम्पनी लि., नेपाल विद्युत प्राधिकरण र नेपाल खानेपानी संस्थान भने केही लाभमा सञ्चालन भएका छन् । उल्लेखित संस्थानहरूलाई हेर्दा निकै ठूलो उद्देश्य र अपेक्षासाथ स्थापना भएको देखिन्छ । आखिर किन अपेक्षित परिणाम आउँदैन, संस्थानबाट ? अहिले सरकारले नै समृद्धिको समय भनी उद्घोष गरिसकेकाले संस्थाहरूले पनि कामको प्रभावकारिता बढाउन जरुरी छ । उद्देश्य अनुरूपको कामको परिणामका लागि दक्षता र कार्यकुशलता बढाउनुपर्छ । नियुक्ति अनुभव र उत्कृष्टताको आधारमा गरियो भने मात्रै काममा जोश, जाँगर र ऊर्जा भरिन्छ ।

कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार भएका बेला सार्वजनिक संस्थानहरूलाई क्रमश: बलियो बनाउनैपर्छ । समाजवादमा जाने घोषणा गरेको सरकारले नागरिकको आधारभूत आवश्यकताको परिपूर्तिको स्रोत कसको कब्जामा छोड्ने भन्ने नीतिगत मुद्दाले सधैं घचघच्याउने नै छ ।

सार्वजनिक संस्थानहरूलाई प्रभावकारी र कामयावी बनाउन प्रथमत: कानुनी पुनर्संरचना हुन जरुरी छ । नियुक्तिसंँगै अनुकूल कार्ययोजना लागू गर्नसक्ने वातावरण, पारदर्शी छनोट प्रणाली (सोचपत्रमा आधारित चयन प्रक्रिया), कार्यकालको सुनिश्चितता लगायतका कुरालाई कानुनी बाटोबाटै सुरक्षित गर्नु जरुरी छ । राजनीतिक नेतृत्वले चाहेको बखत फेर्न सक्ने कुराले सार्वजनिक संस्थान ध्वस्त भएको हो ।

विषयविज्ञ र सक्षमलाई छाडेर आफ्नै पार्टीको, पार्टीभित्र पनि गुटको, गुटभित्र पनि वंशजको र त्यसभन्दा पनि आफ्नोलागि अलिक बढी चासो दिने, भनेका मान्छेहरूलाई भर्ती गरिदिने, गाडी लगायतका सुविधाको सूची घरमै पठाउने खालका भ्रष्ट र गतिछाडाहरूको खोजी हुनसक्ने खतराबाट जोगाउन जरुरी छ । संस्थानको नेतृत्व सम्पत्ति बेचेर कर्मचारीलाई तलब खुवाउने निर्णयको फाइल बोक्ने खालको नभएर कर्मचारीलाई क्षमताका आधारमा परिचालन गरेर उत्पादकत्व बढाएर नाफा देखाउने खालको होस् ।

Esewa Pasal

प्रकाशित : असार १९, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कीटनाशक विषादीको असर

नेपालमा पहिलोपटक विषादी सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि अमेरिकाबाट आयात गरिएको थियो ।
डा. राकेश घिमिरे

काठमाडौँ — बालीनालीमा लाग्ने रोग, किरा कृषकहरूका लागि मुख्य समस्या बन्दै आएको छ । बढ्दो जनसंख्या, अव्यवस्थित सहरीकरण, जलवायु परिवर्तन र खेतीयोग्य जमिनलाई अन्य प्रयोजनमा बढाउँदै जाँदा खाद्य सुरक्षाका लागि किसानहरू आधुनिक कृषितर्फ लागेका छन् ।

यसरी आधुनिकीकरणमा जाँदा किसानहरूले रासायनिक विषादीको प्रयोग गर्न थालेका छन् । किटनाशक विषादीहरूको प्रयोग किरा र सुलसुले नियन्त्रणका लागि गरिन्छ ।

सन् १९४० मा विश्वमा पहिलोपटक सिन्थेटिक किटनाशक विषादी प्रयोग भएको थियो । त्यसपछि किटनाशकको खपत विश्वमा बढेको देखिन्छ । सन् २००१ को तथ्याङ्क अनुसार २.२६ मिलियन टन प्रयोग गरिएको थियो । विश्वव्यापी हेर्ने हो भने किटनाशक विषादी उत्पादन प्रतिवर्ष ११ प्रतिशतको दरले बढेको देखिन्छ, जुन सन् १९५० मा ०.२ मिलियन टनबाट बढेर २००१ मा ५ मिलियनभन्दा बढी उत्पादन भएको देखिन्छ ।

विश्व उत्पादनको करिब २५ प्रतिशत विकासशील देशहरूमा प्रयोग गरिन्छ । यसको दुरुपयोगबाट धेरैको मृत्यु भएको छ । एसियाली देशमा यसको प्रयोग बढेको देखिन्छ ।

तिनमा चीन विश्वकै ठूलो प्रयोगकर्ता (२.०–२.५ केजी प्रतिहेक्टर) निर्माता र निर्यातकर्ता रूपमा मानिन्छ । भारत एसियामा दोस्रो ठूलो प्रयोगकर्ता र निर्माणकर्ता हो । नेपालमा किटनाशक विषादीको औसत प्रयोग ३९६ ग्राम (खास विष) रहेको पीपीडी, २०१५ ले उल्लेख गरेको छ । नेपालमा पहिलोपटक विषादी सन् १९५२ मा मलेरिया नियन्त्रणका लागि अमेरिकाबाट आयात गरिएको थियो । नेपालमा १७३ भन्दा धेरै सामान्य प्रकारका किटनाशक, ६२ प्रकारका ढुसीनाशक विषादी र २४ विभिन्न ब्रान्डका हर्बिसाइड्स/झारपात नाशक विषादी प्रयोग भएको पाइन्छ । विगतका वर्षहरूको तुलनामा नेपालमा किटनाशक विषादीको प्रयोग १०–२० प्रतिशत प्रतिवर्ष बढेको छ ।

किटनाशक विषादी बालीनालीमा लाग्ने पिराहा जीवहरूको नाश गर्न, पशु सम्बन्धी पिराहा जीव र रोगहरू नियन्त्रण गर्न र मानवीय रोगहरू ओसार्ने किरा नियन्त्रण गर्न प्रयोग गरिन्छ । बेमौसमी खेती विशेषगरी दैनिक उपभोग हुने तरकारीको उत्पादनका लागि विषादीको अधिक प्रयोग भएको पाइन्छ । यसको प्रयोगले मानिसको स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ । रासायनिक किटनाशक विषादीको अनुचित प्रयोगले मानव स्वास्थ्यमा प्रतिकूल असरसंँगै वातावरणमा ओजोन तहमा छिद्र, हावा तथा माटो प्रदूषण, जैविक विविधताको नाशजस्ता प्रभाव देखिँदै आएका छन् ।

किटनाशक विषादीहरूलाई रासायनिक समूहरूको आधारमा वर्गीकरण गर्न सकिन्छ । प्रमुख समूहरूमा अर्गानोक्लोरिन्स, अर्गानोफोस्फेट, कार्वामेट्स पाइरेथ्रोइड्स पर्छन् । विषालुपनको आधारमा विश्व स्वास्थ्य संगठनले विषादीको वर्गीकरण गरेको छ । तिनमा ज्यादै विषालु, विषालु, मध्यम विषालु) र कम विषालु) पर्छन् ।

विषादीसँग हुनसक्ने शारीरिक संसर्ग कम गराउन विषादीको उत्पादन, पैठारी, खुद्रा बिक्री, परिवहन, मिसावट र प्रयोग गर्ने कार्यमा संलग्न सबै सचेत हुन जरुरी छ। विषादी के कस्तो प्रकारबाट शरीरभित्र प्रवेश गर्न सक्छ र प्रवेश गरे कतिसम्म विष लाग्छ भन्ने राम्रो जानकारी राख्नुपर्छ । छाला, आँखा, फोक्सो, मुखको माध्यमबाट विषादी शरीरभित्र प्रवेश गर्न सक्छ । विषालुपना २ प्रकारका हुन्छन् :

१. कडा विषालुपन । २. दीर्घ विषालुपन । विषादीको धेरै मात्रा कुनै पनि माध्यमबाट शरीरभित्र पसेमा वा पटक–पटक ससानो मात्रा छोटो समयको अन्तरमा शरीरभित्र प्रवेश भएमा त्यसलाई कडा विषालुपन भनिन्छ ।

मानव शरीरमा हुने विषादीको तत्कालीन असरहरू अनिद्रा, रातो आँखा हुने, आँखा पोल्ने, नाक पोल्ने जस्ता साधारण असरदेखि धेरै पसिना बहनु, आँखीभौं फरफराउनु, आँखा धमिलो देखिनु, धेरै आँसु बहनु, नाक बगिरहनु, बढी र्‍याल चुहिने हुन्छ । पक्षाघात आक्रमण, मुच्र्छा, होश हराउने जस्ता कडा खाले असर पनि हुनसक्छ । लामो समयसम्म प्रत्यक्ष–अप्रत्यक्ष रूपमा विषादीको स–साना मात्रा सेवन हुनआएमा वा विषादीको अवशेषयुक्त उत्पादन (अन्न, फलफूल, तरकारी आदि) सेवन गर्दा त्यसबाट देखिने वा अनुभव गरिने नकारात्मक असरलाई दीर्घ विषालुपन भनिन्छ । यस्ता प्रभाव १ महिनादेखि १ वर्षसम्म वा बढी समयसम्म पनि रहन सक्छ ।

अनावश्यक विषादीको प्रयोगले मानिसमा देखिने असरमा पुरुषको सन्तान उत्पादन क्षमतामा ह्रास हुने, रोग प्रतिरोधात्मक क्षमतामा प्रत्यक्ष नकारात्मक असर देखिने, बालबालिकामा अपाङ्गता हुने जस्ता समस्या उत्पन्न गर्न सक्छ । त्यत्ति मात्रै नभई विषादीले क्यान्सर पनि गराउन सक्छ । विष लागेका लक्षण विषादीको किसिम र रासायनिक प्रकृतिमा निर्भर हुन्छ । तसर्थ विषादीको सम्पर्कमा आउने जोकोहीले विष लाग्दाका लक्षण र प्राथमिक उपचारका उपायबारे थाहा पाउनु जरुरी हुन्छ ।

प्राथमिक उपचार
प्राथमिक उपचारमा बिरामीलाई आधा झुकेको रूपमा टाउको निहुर्‍याएर राख्नुपर्छ । यसले बान्ता हुन दिँदैन । साथै प्रदूषित पहिरन हटाइदिनुपर्छ र छाला खासगरी हात, मुख, घांँटी र रौंलाई साबुन–पानीले धोइदिनुपर्छ । स्वस्थ हावा प्रवाह हुने व्यवस्था गर्नुपर्छ । त्यस्तै कुन विषादीबाट विष लागेको हो यथाशीघ्र पत्ता लगाउनुपर्छ । पीडितलाई यथाशक्य आरामपूर्वक राख्ने र सकभर चाँडो नजिकको उपचार केन्द्रमा पुर्‍याउँदा प्रयोग भएको विषादी पनि पहिचानको लागि लग्नु जरुरी हुन्छ ।

रोकथामका उपाय
किटनाशक विषादी प्रयोग गर्दा अपनाउनुपर्ने होसियारीमा रासायनिक विषादी भए त्यसको प्रयोग, सिफारिस मात्राको प्रयोग गर्ने, विषादी प्रयोग गर्ने साधन, तौरतरिका अनुरूप ठिक राख्नुपर्छ । विषादी छर्दा मास्क, पञ्जा, चस्मा, टोपी, जुत्ताहरूको प्रयोग गरी शरीरलाई विषादी नछिर्नेगरी पूर्णरूपले ढाक्नुपर्छ । विषादी मिसाउँदा वा छर्ने बेलामा कुनै पनि कुरा खान, पिउने वा धूमपान गर्न हुँदैन ।

विषादी छरिसकेपछि शरीरलाई सरसफाइ राम्रोसंँग गर्नुपर्छ । विषादी दुरुपयोग गरी आत्महत्या पनि गर्ने गर्छन् । २०७३/७४ मा प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आत्महत्या गर्न विषादी सेवन गर्नेको संख्या १२२४ जना छ । तसर्थ कृषकहरूमा दैनिक जीवनमा आइपर्ने विषादी सम्बन्धी समस्या समाधानका लागि उपयुक्त ज्ञान तथा सीप विकास र विषादी व्यवस्थापन सम्बन्धी प्राविधिक तथा व्यावसायिक सीप जरुरी हुन्छ । अन्यथा विषादी प्रयोग तथा कृषि उत्पादन गर्ने किसान र उपभोग गर्ने उपभोक्ता सधैं यसको सिकार हुनु पर्नेछ ।

घिमिरे त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका क्लिनिकल फर्माकोलोजीका उपप्राध्यापक हुन् ।

प्रकाशित : असार १९, २०७५ ०८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT