कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाल–अष्ट्रेलिया बिजनेस फोरमको औचित्य

नारायण खड्का

अष्ट्रेलिया — मेलबर्नमा केही दिनअघि नेपालमा अष्ट्रेलियाका ब्यवसायीहरुको लगानी बढाउने उद्देश्य राखेर एउटा कार्यक्रमको आयोजना भयो । कार्यक्रमको उद्देश्य नेपालमा अहिले देखिएको लगानीका अवसरहरु, देशमा भएका परिवर्तनहरु र नियम कानुनका बारेमा जानकारी थियो । कार्यक्रमपछि भने लक्षित लगानीकर्ता वा ब्यवसायीहरु समक्ष प्रत्यक्ष सन्देश पुऱ्याउन कति सकियो त भन्ने चर्चा सुरु भएको छ ।

नेपाल–अष्ट्रेलिया बिजनेस फोरमको औचित्य

नेपालको पछिल्लो परिवर्तित अवस्था अनुसार नेपालको बिभिन्न क्षेत्रहरुमा लगानी आवश्यक रहेको र लगानीको वातावरण पनि राम्रो भएको भन्दै दुतावास र भिक्टोरियाको अवैतनिक वाणिज्य दुतावासले कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा लगानी बोर्डका प्रमुखसहित आएर बिभिन्न प्रस्तुती सहित सहभागीहरुलाई नेपालमा लगानी गर्न आग्रह गर्दै लगानीको सुरक्षाको ग्यारेन्टी भएको जानकारी दिएका थिए । कार्यक्रम आफैमा धेरै राम्रो थियो यद्यपी कार्यक्रमले जुन उद्देश्य समेटेको थियो त्यो उद्देश्य अनुसार स्थानीय ब्यवसायीहरुको सहभागिता भने देखिएन ।


नेपाल–अष्ट्रेलिया बिजनेस फोरम नाम दिएर नेपालको बारेमा जुन जानकारी दिन खोजिएको थियो त्यो वास्तवमै यहाँका ब्यवसायीहरुले बुझ्न आवश्यक थियो र अझै छ किनकी अहिले पनि अष्ट्रेलियाले नेपालमा बिभिन्न ६७ वटा क्षेत्रहरुमा लगानी गरिरहेको छ र यो लगानीको क्षेत्रहरु बढ्न सक्नेमा कुनै शंका छैन । अहिले पनि यहाँका ब्यवसायीहरु मात्र नभएर पर्यटकका रुपमा नेपाल पुग्नेहरुले नेपालको सुरक्षा, राजनीतिक स्थिरतालगायतका बारेमा चिन्ता प्रकट गर्ने गर्दछन् । यो कार्यक्रमले अहिलेसम्म यहाँका बिदेशीलाई नेपालको बारेमा रहेको भ्रम चिर्ने र वास्तविकता उनीहरुको सामुन्ने ल्याउने काम भने अवश्य गरेको छ । त्यतिमात्र नभएर बर्षौंदेखि नेपाल नगएका नेपालीहरुलाई नै नेपालको वर्तमान अवस्थाको बारेमा धेरै जानकारी प्रदान गरेको छ भने केहीलाई त लगानी गर्ने मनस्थिती बनाउन समेत प्रेरणा दिएको छ ।


कार्यक्रममा लगानी बोर्डका प्रमुख महाप्रसाद अधिकारीले पटकपटक नेपालमा दिगो सरकार रहेको, लगानी सुरक्षित हुने वातावरण रहेको जानकारी दिएका थिए । त्यतिमात्र नभएर नेपालमा कुन कुन क्षेत्रमा लगानी गर्दा कस्तो प्रतिफल उपलब्ध हुन्छ र त्यसका लागि सरकारले उपलब्ध गराउने सेवासुविधालगायतका बिषयमा समेत चर्चा गरेका थिए । तर भइदियो के भने, जति प्रमुख अध्यक्षले जानकारी दिइरहेका थिए त्यसलाई सुन्न र मनन गर्न अष्ट्रेलियाबाट ठुलो अनुपातमा देश र विदेशमा लगानी गरिरहेका वा लगानी गर्न चाहने ब्यक्तिहरुको भने कमी थियो । हुनत शेष घले, भवन भट्टलगायतका ठुला ब्यवसायीको सक्रिय सहभागिता रहेको थियो तर अष्ट्रेलियाका रैथाने ब्यवसायीहरुको भने कमी देखिन्थ्यो ।


कार्यक्रमले अष्ट्रेलिया बिशेष गरेर भिक्टोरिया राज्यमा रहेर राष्ट्रिय र अन्तराष्ट्रिय तहमा ब्यापार ब्यवसायलाई अघि बढाइरहेकाहरुको सहभागितामा अलि बढी ध्यान दिन सकेको भए राम्रो हुन्थ्यो । कार्यक्रममा सहभागिता उल्लेख्य रहेपनि लक्षित वर्गको सहभागिता न्युन भएपछि कार्यक्रमबाट प्रेषित जानकारीले नेपालमा लगानी कसरी बढ्ने हो भन्ने कुरामा सहभागीहरु नै अन्योलमा देखिन्थे ।


कार्यक्रममा सहभागी भिक्टोरियाका अर्थमन्त्री रबिन स्कट, विदेश बिभागकी नेपाल प्रमुख फियोना म्याक्ग्युलगायतको सहभागिताले कार्यक्रमको महत्व बढाएको मात्र थिएन कि उनीहरुले पनि यस्ता कार्यक्रमहरुको आवश्यक्ता रहेको र नेपाल सरकारसँग मिलेर काम गर्न तयार रहेको प्रतिबद्धता जनाउनु सकरात्मक थियो ।

हुनत, सबै कार्यक्रमले सय प्रतिशत अंक पाउछ भन्ने हुँदैन । शुरुवात गर्नुपनि आफैमा राम्रो पक्ष हो । पछिल्लो समयमा नेपालीहरुको जनसंख्या र पहिचान बढ्दै गएकाले समेत यसप्रकारको कार्यक्रम आवश्यक थियो र यसको शुरुवात दोस्रो ठुलो शहर भिक्टोरियाबाट भयो । राजदुत लक्की शेर्पा र अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले पनि लगानीलाई अभिप्रेरित गर्ने कार्यक्रमको टड्कारो आवश्यक्ता देखिएकाले कार्यक्रम गरिएको सुनाए ।


उनीहरु नेपालमा एउटै कार्यक्रमबाट लगानी भित्र्याउने भन्दापनि नेपालको बारेमा वास्तविक अवस्था सबैको अगाडि ल्याउनु जरुरी रहेको बताउँदै थिए । यस अर्थमा भने कार्यक्रमलाई असफल भन्न मिल्दैन । लगानी भित्र्याउन यो कार्यक्रमले कतिको मद्दत पुरयाउने हो त्यसको निर्क्यौल नभएपनि कार्यक्रममा सहभागी भएकाहरुलाई नेपाल कम्तिमा एकपटक घुम्न जानैपर्छ भन्ने उत्साह र प्रेरणा भने थपिदिएको छ ।


केही गर्दै नगर्नु भन्दा निश्चित उद्देश्यका साथ कार्यक्रम गरिसकेपछि त्यसको प्रतिफल ढिलो चाँडो अवश्य आउँछ र आयोजकहरु पनि यसैमा आशावादी छन् । अब अन्य राज्यहरुमा रहेका अवैतनिक महावाणिज्यदुतावासले आयोजना गर्ने भनिएको यस्तै लगानी अभिबृद्धि सम्बन्धि कार्यक्रममा भने अष्ट्रेलियाका ब्यवसायीहरुलाई समेट्न सकियो भने कार्यक्रमले लगानीलाई अभिप्ररित गर्नसक्छ । किनकी, नेपालले दोहोरो अंकको आर्थिक बृद्धि गर्नका लागि अर्बौं डलरको वार्षिक लगानी आवश्यक रहेको तथ्यबाट नेपाल सरकार मात्र नभएर दुतावास, अवैतनिक वाणिज्यदुतावासहरु र ब्यवसायीहरुसमेत जानकार छन् । र यस्तै कार्यक्रम प्रभावकारी रुपमा गर्न सकियो भने केही थप लगानी अष्ट्रेलियाबाट भित्रिनेमा आशा गर्न सकिन्छ ।


प्रकाशित : असार १९, २०७५ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?