कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

मृत्यु संस्कारमा परिष्कार

आफूलाई असहज र अवैज्ञानिक लाग्ने परम्परा तोड्न व्यक्ति स्वयं नै अघि सर्नुपर्छ ।
रामेश्वरी पन्त

काठमाडौँ — उमेरले सत्तरी पुग्नै लागेका उच्च रक्तचाप र मधुमेहबाट ग्रस्त एकजना गुरुआमाको मृत्युपछि १३ दिने किरिया सकेर निस्कनाथ लगातार बान्ता हुनथालेपछि अस्पताल भर्ना हुनुभयो । जाँच गर्दा दुबै मिर्गौलामा असर परेको देखिएछ । कारण बन्यो– किरिया बस्दा जबर्जस्ती खाएको घ्यु–भात र गुलियो परिकार अनि लामो मृत्यु संस्कार र अनियमित औषधी सेवन अनि इन्सुलिनको अनियमितता । हाल उहाँले दुबै मिर्गौलाको हेमोडायलायसिस गराइरहनुएको छ ।

मृत्यु संस्कारमा परिष्कार

लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रस्त उहाँलाई परिवार र आफन्तको रुढीवादी सोच र व्यवहारकै कारण ‘परम्परा’ र ‘शास्त्र’ले जे भनेको छ, त्यही कुरा जबर्जस्ती खुवाउने गरिएछ । हामीकहाँ परिवारका सदस्यको मृत्युमा किरियापुत्री लगायत परिवारले १३ दिनसम्मै नुन बार्ने र अत्यधिक चिल्लो (घ्यु) र गुलियो खाने चलन छ ।

उच्च रक्तचाप र मधुमेह आम स्वास्थ्य समस्या भए पनि यस्ता रोगीले मृत्यु संस्कारमा पण्डितहरूले तोकिदिएको ‘भक्षाभक्ष्य’ कुरामा रुढीवादी कट्टरता त्याग्नसकेको पाइँदैन । पण्डितले भन्दा पनि ‘व्यक्तिको स्वास्थ्य’ले के तोकिदिएको छ, त्यो खानुपर्छ भन्ने चेतना नआउँदा मृत्यु संस्कार सम्पन्न गरेर बाहिर निस्कँदा अधिकांश मानिस गम्भीर रोगको आक्रमणमा परिसकेका देखिन्छन् ।

त्यसपछि पछुताउनुको विकल्प देखिँदैन । जसलाई यो चेत छ, उसलाई परम्परा तोडेर परिवार र समाजको विपक्षमा जान त्यति सजिलो हुँदैन, तर असम्भव भने छैन । यस अवस्थामा भातसँग घ्युको सट्टा साग प्रशस्त खानाले शरीरमा नुनको कमी पुरा गर्छ । स्वास्थ्य अनुकूलका फलफूल खानु उपयुक्त हुन्छ ।

किरिया बस्नुपर्ने व्यक्ति वृद्ध वा गम्भीर खालका रोगी भए पनि अत्यन्त कठोर नियमको पालना गरेर बस्नुपर्ने बाध्यताका कारण धेरैको जीवन संकटमा पर्दै गएको छ । हिन्दु धार्मिक परम्पराले तोकिदिएको १३ दिने मृत्यु संस्कार अविवेकी, अव्यावहारिक र असामयिक देखिएको भन्दै अहिले यसमा बहस सुरु हुनथालेको छ । १३ दिने काजकिरियालाई छोट्याउने बहस चलिरहेकै बेला डा. उपेन्द्र देवकोटाको मृत्युपछि उनको काजकिरिया ७ दिनमै सम्पन्न गरियो । हुन त पछिल्लो समयमा अरूले पनि मृत्यु संस्कारलाई सात दिनमा पुरा गरेका छन् ।

यो सकारात्मक परिवर्तनलाई ‘धर्म’ वा ‘संस्कृति’ विरोधीका रूपमा टिप्पणी गर्नुभन्दा यस परिवर्तनले व्यक्ति र समाजलाई दिने सन्देश र फाइदा केलाउनसके हामीभित्रका धार्मिक जडता विस्तारै पाखा लागेर जानेछन् । एकातिर व्यस्त जीवनशैलीले हाम्रा पुरातन संस्कार र परम्परालाई चुनौती दिनथालेका छन् भने अर्कोतिर मानव स्वास्थ्यले पनि त्यसरी नै सिंगौरी खेलिरहेको छ । १३ दिनसम्म किरिया बस्दाबस्दै अस्पतालको बेडमा पुग्नुपरेका वा मृत्युवरण गर्नुपरेका कैयौं दृष्टान्त छन् । यस्तो अवस्थामा परिवर्तनलाई आत्मसात् गर्नु नै श्रेयकर हुन जान्छ ।

केही समयअघि कलाकार मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको मृत्यु संस्कार ५ दिनमा सम्पन्न गरिएको थियो । यसले कुनै शास्त्र उल्लंघन गरेको थिएन । किनकि पास्कर गृह्य सूत्रमा पनि मृत्युकर्म अर्थात् पिण्डदान ३ दिनमात्र हुने उल्लेख भएको पाइन्छ । जति दिन किरिया बसे पनि पहिलो दिन ३, दोस्रो दिन ४ र तेस्रो दिन ३ वटा पिण्ड दान गर्नुपर्ने नियम भएकाले सामान्यत: पिण्डदानको कर्म पाँच दिनमा सकिने भनिएको पाइन्छ । त्यसकारण पनि पाँच दिन वा बढीमा सात दिनमा मृत्यु संस्कार सक्दा समय र स्वास्थ्य दुबै दृष्टिले उपयुक्त र शास्त्रसम्मत पनि हुन जान्छ ।

पितृ तर्ने–नतर्ने, मोक्ष हुने–नहुने कुरा भने कसैले देखेको छैन । यो सब एक कल्पना हो र कल्पनाको आधारमा निर्माण गरिएका संस्कार र परम्परालाई मानव चेतना र उसले भोग्दै आएको समयले परिस्कार गर्दै लैजान्छ पनि । यसै सन्दर्भमा ४० वर्षअघि बाग्लुङमा हाम्रो घरमा मजदुरी गर्न आउने एक दलित थियो रे । उसलाई दिनभर काम नगरे साँझ–बिहान परिवारको छाक टार्न मुस्किल पथ्र्यो ।

उसको बाबुको मृत्यु असारमा भएछ, किरिया बसे काम गर्न नपाइने, काम नगरे खान नपाइने अवस्थाको उसले बाबुको दाह संस्कार गरेर आएपछि ५ दिन जेनतेन किरिया बसेछ । छैटौं दिनमा उसले घोषणा गरेछ, ‘बाँकी किरिया माघमा गर्छु ।’ पास्कर गृह्य सूत्रादिले भने शूद्रलाई ३० दिन, ब्राह्मणलाई १० दिन र क्षत्रीयलाई १५ दिन अशोच लाग्ने भनेको छ । कसैले भनेन वा देखेन, उसको बाबुले मुक्ति पायो या पाएन । तर उसको चुनौतीले परिवर्तनको झिल्को भने सल्काएकै हो ।

परम्परागत सोच र संस्कारलाई सरक्क पन्छाएर देवकोटाका तीनवटी छोरीले उनको शवलाई काँध चढाएर आर्यघाट पुर्‍याए । आमासँगै रहेर तीनैले बाबुलाई दागबत्ती दिए र मृत्यु संस्कार पुरा गरे । उनीहरूले कुनै नौलो काम गरेका पनि होइनन् र शास्त्र बर्जित काम पनि गरेका होइनन् । उनीहरूले आफ्नो हक प्रयोग गरेका हुन् ।

कुनै पनि शास्त्रले छोरीहरूलाई बाबुआमाको मृत्यु संस्कार गर्न रोकेको छैन र अविवाहित छोरीहरूलाई छोरासरह नै कर्म गर्न भनेको पाइन्छ । बरु धेरैजसो शास्त्रले बुहारीहरूलाई सासू–ससुराको किरिया गर्ने बाध्यता नभएको उल्लेख गरेको पाइन्छ । पास्कर गृह्य सूत्र लगायतका ग्रन्थहरूमा स्त्रीहरू पनि शवयात्रामा सामेल भई श्मशानसम्म जान सक्ने उल्लेख भएबाट शास्त्रले विभेद नगरेको तर कालान्तरमा पुरुष सर्वोच्चता र स्त्री हीनताको सोचबाट ग्रस्त कर्मकाण्डी पुरोहित र उनीहरूबाट दीक्षित समाजले छोरीहरूलाई पाखा लगाउँदै गएको अनुमान लगाउन सकिन्छ ।

बाबुको शव बोकेर हिँडेका ती तीनवटी छोरीको तस्बीर छोरा जन्माउनकै लागि पटक–पटक छोरी भ्रूणको हत्या गर्ने प्रवृत्तिप्रति गतिलो झापड पक्कै हो । ‘वैतरणी नदी’ र ‘स्वर्गको ढोका’को चर्चा निकै हुने गरे पनि आजसम्म कसैले न स्वर्गको ढोका देखेको दाबी गरेको छ, न कुनै ज्युँदो मान्छेले कुनै मृतकले वैतरणी नदी पार गरेर पारि पुगेको या तर्न नसकेर वारि नै रहेको देखेको छ ।

मृत्यु संस्कार ‘मात्र एउटा परम्परा’ हो । यो परम्परा मानव सभ्यताको विकाससँगै मानिस आफैले विकास गर्दै लगेको हो । यो मानव समुदाय र जातजाति र धर्मपिच्छे फरक–फरक हुन्छ । हिन्दु धार्मिक परम्परा अरू धर्मभन्दा निकै प्राचीन र वैज्ञानिक हुँदाहुँदै पनि अलि कठोर छ । त्यो कठोरता कुनै एक निश्चित शास्त्रले तोकिदिएको भन्दा पनि वैदिक कालभन्दा निकै पछि विकसित भएको ‘कर्मकाण्डी’ वा ‘पुरोहित’ कालको उपज हो ।

यसअघि पनि यदाकदा छोरीहरूले बाबुआमाको शवलाई काँधमा बोकेर घाटसम्म पुगेको र मृतकलाई दागबत्ती दिएर किरिया बसेको समाचार बाहिर नआएका होइनन् । तर देवकोटा एक चर्चित व्यक्ति भएकाले पनि उनीसँग जोडिएका हरेक कुरा बढी चर्चामा आउनु अस्वाभाविक होइन ।

मलाई खुसी यस मानेमा लाग्यो कि यसअघि सेतो कोराको एक वस्त्रमा अर्धनग्न भएर छोरीहरूले बाबुआमाको किरिया बसेका तस्बीर छापिने पत्रिकामा देवकोटाका तीनै छोरी सेतो कुर्ता–सुरुवाल लगाएर किरिया बसेको र पूर्ण पहिरनमै रहेर दानादी शुद्धिकर्ममा लागेको तस्बीर देख्न पाइयो ।

पतिको मृत्युपछि एउटा कोराको टालोमा बेरिएर सार्वजनिक धारामा नुहाउँदै र सार्वजनिक रूपमै किरियाकर्ममा लाग्नुपर्ने पत्नीहरूको बाध्यतालाई देवकोटा पत्नीले तोडेको तस्बीर सार्वजनिक हुँदा अबका महिलाहरूले पतिको किरियामा भोग्नुपर्ने त्यो लज्जापूर्ण कष्टबाट मुक्ति पाउन केही सिक्नेछन् भन्ने आशा लाग्यो । त्यसो त केही वर्षअघि साहित्यकार जगदीश घिमिरेको मृत्यु हुँदा पत्नी दुर्गा घिमिरेले सामान्य धोती–चोलो लगाएर सिरक–डसनासहित बसेको र अरूले पकाएर दिएको खाना खाएको देखेकी थिएँ । उनले यसो गर्दा जगदीश घिमिरेको ‘मोक्ष–यात्रा’ पक्कै रोकिएन होला । ब्राह्मण समाजमा आमाबाबु तथा सासू–ससुराको किरियामा पाँच दिन वा १३ दिनसम्म नै छोरी वा बुहारीहरूले सिलाएको लुगा लगाउन हुँदैन भनेर एकसरो धोतीको सहारामा अर्धनग्न बस्नुपर्ने बाध्यतालाई तोडिनुपर्छ ।

गतवर्ष कमलमणि दीक्षितको मृत्युपछि उनकी छोरीले लेखे अनुसार दाजुहरूले दागबत्ती दिन घुम्दै गर्दा उनलाई पनि बुबालाई दागबत्ती दिन मन लाग्यो रे, तर आफ्ना दाजुहरूसँग भन्न सकिनछन् र सुटुक्क भाउजूसँग इच्छा जाहेर गरिछन् । भाउजूले दाजुहरूलाई भनिदिएपछि बल्ल पण्डितको अनुमतिमा बुबालाई दागबत्ती दिन पाइछन् ।

बाँचुन्जेल बाबुको सेवामा तल्लिन छोरीले मरेपछि उनैलाई दागबत्ती दिने अधिकारका लागि शिक्षित र सक्षम महिलासमेत कसरी खुम्चिन पुग्छन् भन्ने उदाहरणका रूपमा मैले उनलाई लिएकी थिएँ । आफूलाई असहज र अवैज्ञानिक लाग्ने परम्परा तोड्न व्यक्ति स्वयं नै अघि सर्नुपर्छ ।

प्रकाशित : असार २२, २०७५ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?